मकवानपुर । दरबारभित्र घटेको हत्याकाण्डको सम्झनामा सोमबार हेटौंडामा दीप प्रज्वलन गरिएको छ। १९ जेठ २०५८ मा राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, राजकुमार दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको हत्या भएको थियो।
दरबार हत्याकाण्डकाे २४ वर्ष भएकाे छ । २४ औं स्मृतिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्ध चोकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले बत्ती बालेर दिवंगत राजपरिवारप्रति श्रद्धा प्रकट गरेका थिए । हातमा दीप बोकेर मौन प्रार्थना समेत गरिएकाे थियो ।
दिप प्रज्वलन कार्यक्रममा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले दरबार हत्याकाण्ड सम्बन्धी सरकारी प्रतिवेदनले जनताको जिज्ञासा नमेटाएको बताए । ‘दरबार हत्याकाण्डकाे सत्यतथ्य बाहिर आउनु पर्छ’ उनले भने । राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाका अध्यक्ष विवेक विक्रम शाहीले राजा वीरेन्द्र राष्ट्रप्रेमी राजा भएकाे बताउँदै राजपरिवारलाई हामीले बिर्सन नहुने बताए ।
दिप प्रज्वलनमा सहभागीहरुले दरबार हत्याकाण्ड अझै रहस्यमय रहेको भन्दै घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन्। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी स्याङतान, नुरल बज्राचार्य, गिरिबहादुर तामाङ, डम्बर तामाङ राप्रपा केन्द्रीय सदस्य राम थोक्कर, रामहरी न्यौपाने, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुर जिल्ला अध्यक्ष किशोर केसी लगायतकाे उपस्थिति रहेको थियो।

