मकवानपुरमा ५३ जना कोरोना संक्रमित, विश्वमा प्रति १५ सेकेण्डमा कोरोनाको कारण १ जनाको मृत्यु
Tags: No Comments
मकवानपुर/ पछिल्लो चौबिस घण्टामा मकवानपुर जिल्लामा ३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या ५३ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिका–५ भालुखोलाका स्थानीय ७० वर्षीय पुरुषलाई बुधबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको विद्यालयहरु बन्द गरेको छ । यस अघि केही सातादेखि भौतिक दुरी कायम गर्दै जोर विजोर रोल नम्बरका विद्यार्थीहरुलाई आलोपालो गर्दै विद्यालयहरुमा पठनपाठन सुरु गरिएको थियो ।
यसैगरी बुधबार हेटौंडा–९ की ४६ वर्षीया महिला र हेटौंडा–२ का २२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनु भयो ।
देशभर पछिल्लो २४ घन्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यस्तै १ सय ३० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा २४ घन्टामा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको हो । नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । नयाँ संक्रमितमध्ये सबैभन्दा बढी पर्सा जिल्लाको रहेका छन ्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पर्सा जिल्लामा १ सय ५१, काठमाडौंमा ५७ जनामा संक्रमण देखिएको छ ।
यसैबीच विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको विज्ञहरुले बताएका छन् । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ६ सय ४७ पुगेको छ ।
कोरोनाबाट अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत र भारतमा सबैभन्दा बढी मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १ लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ४७ लाख ७१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको देखिन्छ । पछिल्लो समय अमेरिका र ल्याटिन अमेरिकी देशहरु कोरोना भाइरसको इपिसेन्टर बनेका छन् । सुरुमा ल्याटिन अमेरिकी देशहरुमा संक्रमण कम भए पनि पछिल्लो समय ब्राजिललगायतका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको छ । हालसम्म विश्वभर संक्रमितको संख्या १ करोड ८५ लाख नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी निको भएका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस विरुद्धको खोप निर्माणमा विभिन्न मुलुकले गरेका अनुसन्धानहरुमा आशा गर्ने ठाउँ भए पनि कहिले बन्छ भनेर भन्न नसकिने बताएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडहानोम गेहब्रेयससले कोरोनाको खोप निर्माण ‘जादुको छडी’ नभएको बताएका छन् ।
उनले कोरोनाविरुद्धको खोप कहिल्यै नबन्ने सम्भावना पनि रहेको उल्लेख गर्दै मास्कको प्रयोग र आवश्यक दूरी कायम गर्नु नै संक्रमण रोकथामको उत्तम विकल्प भएको बताएका छन्
।
मकवानपुर/बितेको एक वर्षको अवधिमा बागमती प्रदेशका १० जिल्लामा दर्ता भएका मुद्दाहरु मध्ये ४९ प्रतिशत मात्रै फैसला भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा अनुसार उपत्यकाका ३ जिल्लाबाहेक प्रदेशका अन्य १० जिल्लामा दर्ता भएका कुल ४ हजार ५ सय ८६ वटा मुद्दा मध्ये ४९ दशमलब १९ प्रतिशत अर्थात २ हजार २ सय ५३ वटा मुद्दाहरु मात्रै फर्स्याैट भएका छन् ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरिक्षक बसन्त कुमार लामाका अनुसार १० जिल्लाका प्रहरी कार्यालयमा परेका उजुरी मध्य २ हजार ३ सय ३३ वटा मुद्दाको फर्स्याैट हुन बाँकी रहेको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मध्ये ८ सय ६६ वटा मुद्दामा ५ सय १८ वटा मुद्दाको मात्रै किनारा लागेको छ । त्यसैगरी चितवन प्रहरीमा १ हजार २ सय ६६ वटा मुद्दामा ७ सय ४५ वटा मुद्दा फर्स्याैट भएका छन् । सिन्धुली जिल्लामा ३ सय ३४ वटा मुद्दामध्ये ५४ वटा,रामेछाप जिल्ला प्रहरीमा १ सय ९९ वटा मुद्दा दर्ता भएकोमा ५४ वटा,दोलखा जिल्लामा २ सय ४० मध्ये १ सय २ वटा, काभ्रे जिल्ला प्रहरीमा ५ सय ५७ वटा मुद्दा दर्ता भएकोमा ३ सय १ वटा फस्र्यौट भएको लामाले बताउनु भयो ।
यसैगरी सिन्धुपाल्चोक जिल्लामा ३ सय ६१ मध्ये १ सय ४९ वटा,नुवाकोट जिल्लामा २ सय ५८ मध्ये १ सय १४ वटा, धादिङमा ४ सय ५७ मध्ये १ सय ९० वटा तथा रसुवा जिल्ला प्रहरी कार्यालयका ५२ मध्ये २६ वटा मुद्दा फैसला भएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुरको ३ सय ४८, चितवनको ५ सय १७,सिन्धुलीको २ सय ८०, रामेछापको १ सय ४५, दोलखाको १ सय ३२,काभ्रेको २ सय ५६,सिन्धुपाल्चोकको २ सय ९२, नुवाकोटको १ सय ४४ वटा, धादिङको २ सय ६७ तथा रसुवा जिल्लाको २६ वटा मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेको छ ।
प्रहरीमा परेका मुद्दाहरु दोषी फेला नपर्नु, आरोपित फरार हुनु, आत्महत्याका मुद्दामा दोषी पत्ता नलाग्नु, भवितव्य भएका मुद्दामा दोषी नदेखेका कारण मुद्दाको कम फर्स्याैट भएको डीआइजी लामाले बताउनु भयो । कोरोना संक्रमणपछि आत्महत्या र हिंसाका घटना बढेको र समग्र अपराधका घटना कम भएको उनले जानकारी दिए ।
मकवानपुर / मकवानपुर जिल्लाको विकट क्षेत्रहरु मध्ये राक्सिराङ गाउँपालिका एक हो । सिमान्तकृत प्रजाति चेपाङ तथा तामाङ जातिहरुको बाहुल्यता रहेको छ । प्रस्तुत छ, यसै गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लसँग समसामयिक विषयमा गरिएको कुराकानीः
अध्यक्ष ज्यु, गाउँपालिकाको समग्र अहिलेको अवस्था के छ ?
मकवानपुरको राक्सिराङ गाउँपालिका विकट गाउँपालिकामा मध्येको एक हो । बागमती प्रदेशको कर्णाली जस्तै । राक्सिराङ गाउँपालिकामा अधिकांश विपन्न परिवार बसोबास गर्छन् । मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गाविसहरु राक्सिराङ्, काँकडा, खैराङ् र सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३ फागुन २७ को निर्णयले राक्सिराङ् गाउँपालिका गठन भएको हो ।
चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो । शेपाङ जातिको उत्थान हाम्रो जिम्मेवारीमा छ । चेपाङ जातिको विपन्न जीवनी हाम्रो चुनौति हो । यो गाउँपालिकाभित्र विभिन्न चुनौतिसँगै अवसरहरु पनि छन् ।
- शेपाङ जातिको उत्थान हाम्रो जिम्मेवारीमा छ । शेपाङ जातिको विपन्न जीवनि हाम्रो चुनौति हो । यो गाउँपालिकाभित्र विभिन्न चुनौतिसँगै अवसरहरु पनि छन् ।
- विपदहरुमा यस गाउँपालिको कार्यपालिका बैठक बसेर विपदको सामनामा जुट्ने गरेका छौ । अवस्था हेरेर राहत र उद्वार गर्दै आएका छौं ।
- राक्सिराङका ठुलो समस्या भनैेको नै विजुली र बाटो हो । गाउँपालिकामा रहेका सबै ठाउँमा विद्युतिय सुविधा छैन । वर्षायाममा बाटाे असाध्यै कठिनायियुक्त हुन्छन् ।
- यस गाँउपालिका आइपुग्ने बाटो परेवाभीरले अहिले सामाजिक सञ्जाल नै तताएको छ, खासमा हामी काम देखाउन लागिपरेका छौ हल्ला हैन ।
गाउँपालिकाको भौगालिक, आर्थिक अवस्था अनुसार विपद्को समयमा झन् धेरै चुनौतिहरु पक्कै छन् भन्ने लाग्छ,कोरोना माहामारी, बाढी पहिरो जस्ता विपदको समयमा कसरी काम गरिरहनुभएको छ ?
हुन त अहिले देश नै कोरोना तथा बाढी पहिरोको चपेटामा छ । यस्ता विपदहरुमा यस गाउँपालिको कार्यपालिका बैठक, वडा कार्यालय सहित हामी सबै गाउँपालिकाको टिम मिलेर विपद्सँग जुधिरहेका छौं । अवस्था हेरेर राहत र उद्धार समेत गर्दै आएका छौं । गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका अपाङ्ग बृद्धबृद्धाहरुलाई त्रिपाल हस्तान्तरण गरिसकेका छौं ।
यस्तै खरको छानो भएको गाउँपालिकाका १०/११ घरलाई जस्तापाता वितरण गरिसकेको छौं । स्थानीयको आवश्यकता हेरेर हामीले गाउँपालिकाको उपस्थिती देखाउने गरेका छौ ।
गाउँपालिकाका अधिकांश जनता गरिब विपन्न वर्गका रहेका छन् । उनीहरुको बस्नका लागि राम्रो घर छैन । सानो झुपडीमा रमाएर बसिरहेका छन् । पानी परेपछि भिजेर बस्नुपर्ने हुन्छन् । गाउँपालिकाले गरिब अपाङ्ग, विपन्न समदायका व्यक्तिहरुलाई त्रिपाल जस्तापाता वितरण कार्यक्रम गरेको छ ।
हिँउदमा भन्दा वर्षायाममा गाउँपालिकामा समस्या धेरै हुन सक्छन, यो वर्षको वर्षामा अब के गर्दै हुनुहुन्छ ?
राक्सिराङका सडकहरु धेरै जसो हिउँदे छन् । वर्षामा जोखिम मोलेर चलाएका मालबाहक सवारीहरु पनि हिलाम्मे हुन्छन् । राक्सिराङका ठुलो समस्या भनैकै बाटोको नै हो । गाउँपालिकामा रहेका सबै ठाउँमा विद्युतिय सुविधा पनि छैन । अधिकांश ठाउँका कार्यालय, वडा कार्यालय स्वास्थ्य चौकीहरुमा विशेष गरि ब्याट्री, इन्र्भटर सोलारलगायत वैैकल्पिक उर्जाहरुको प्रयोग र्गछन् । कार्यालयहरुमा समेत वर्षाको कारण घाम नलागेर सोलार चल्न समस्या हुने गरेको छ । यो वर्ष विद्युतिकरण तथा इन्टरनेटको व्यवस्था गर्न लागि परेका छौ ।
यस गाँउपालिका आइपुग्ने बाटो परेवाभीरले अहिले सामाजिक सञ्जाल नै तताएको छ, खास के हो ?
हामीलाई सँधै वर्षाको तगारो बनेको परेवाभीरको बाटो यो वर्षको दशैं तिहारपछि बनाउने अठोट लिएका छौं । सबै तहका जनप्रतिनिधिहरुसँग पनि छलफल भईरहेको छ । यसैबाटोको लागि बजेट राख्ने नराख्ने, पहल गर्ने नगर्ने विषयलाई लिएर मुख्यमन्त्री, माननियहरु, जनप्रतिनिधि, जिल्लाका पत्रकाहरु तथा स्थानीय पत्रकारहरुले समेत सामाजिक सञ्जालमा विभिन्न मतहरु राख्दै आएको कुरा सर्वत्र छिपेको छैन । हामीले विवाद भन्दा पनि काम गरेर देखाउने जमर्को गरिरहेका छौ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा सबै वडामा हेलिप्याड बनाएर सुविधायुक्त बनाएको थिए भने यसपाली इन्टरनेट जडान गरी नयाँ तरिकाले अगाडी बढ्ने भएका छन् । परेवाभीरको बाटो ठेक्काको लागि यहि साउनकै २०/२५ गतेबाट सुरु गर्ने तयारी गरेका छौं ।
परेवाभीर मात्रै नभई गाउँपालिकामा ३ सय ३ वटा भौतिक पुर्वाधारको योजना मध्ये लगभव ९९ प्रतिशत योजना सम्पन्न भइसकेका छन् । भौतिक पुर्वाधारहरु शिक्षा, स्वास्थ्य चौकी निर्माण, सडक कार्ययोजना, खानेपानी, सवारी ऊर्जा, अन्य खेलकुदका कार्यहरु सम्पन्न भएका छन् ।
गत वर्ष एक वडा एक हेलिप्याडको योजना ल्याएर चर्चा आउनुभएको थियो, यो वर्ष नयाँ योजना के छ ?
राक्सिराङको भौगोलिक दृष्टिकोणको कारण एक वडा एक हेलिप्याडको योजना ल्याएका हौं । चर्चाको लागि भन्ने चैं होइन, आवश्यकताको आधारमा ल्याएका हौं । यस्तै यो वर्ष गाउँपालिकाकालाई आधुनिकता जोड्न प्रत्येक वडामा विधुत र इन्टरनेटको पहुँच पु-याउने तयारी गरिएको छ । अन्य धेरै चेपाङ र निम्न स्तरका जनताको लागि धेरै योजनाहरु ल्याएका छौं ।
थाहा सन्देश दैनिककाे सहयाेगमा तयार पारीएकाे
मकवानपुर / मकवानपुरको भिमफेदी कारागारबाट नौ महिना अगाडि भागेका कैदीलाई प्रहरीले आज आइतबार पक्राउ गरेको छ । सुरक्षा घेरा भित्र रहेको कारागारबाट गत कातिकमा ३० गते फरार कैदी सुनसरी रामधुनी नगरपालिका– ७ का वर्ष २५ कुलदिपराज धामीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
मकवानपर प्रहरीले पुर्वि नवलपरासिको रजहर पुलबाट पक्राउ गरेको प्रहरी उपरिक्षक सुशिलसिंह राठोरले बताउनु भयो । सुनसरी जिल्लाका धामी २०७१ सालमा चितवन जिल्लाका रोजिन गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै जन्मकैद सजाय तोकिएका कैदी हुन् । नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरालाई तोडेर फरार भएका धामीको खोजी जारी राखेको प्रहरीले कञ्चनपुरबाट चितवन तर्फ आउँदै गर्दा रजहरबाट पक्राउ गरेको मकवानपुरका प्रहरी उपरिक्षक राठोरले बताउनु भयो । प्रहरीले धामीलाई साउन १६ गते पक्राउ गरे पनि ३ दिनपछि आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका धामीलाई सजाय भुक्तानको लागि भिमफेदी कारागार पठाइने प्रहरीले जनाएको छ । कैदजीवन बाँकी नै रहँदा फरार भएका धामीले अब भुक्तान गर्न बाँकी कैदको डेढ गुणा बढी सजाय भोग्नुपर्ने प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।
मकवानपुर / विगत ६ वर्षदेखि स्वास्थ्य उपचारमा समस्या भोग्दै आएको भिमफेदी कारागारमा अब छुट्टै स्वास्थ शाखा तयार गरिएको छ । कारागार भित्रको स्वास्थ्य शाखामा जानको लागि स्वास्थ्यकर्मीहरु उत्साहि नहुने र आर्थिक व्यवस्थापनमा समेत सधैंजसो समस्या हुने गरेको कारण कैदीबन्दीहरुलाई व्यवस्थित स्वास्थ्योपचार सेवा हुन सकेको थिएन ।
प्रेसर,सुगरलगायतको औषधि नियमित सेवन गर्नुपर्ने कैदीबन्दीहरुलाई समेत यस अघि औषधि उपलब्धतामा समस्या थियो । हाल कारागारको बाहिरी परिसरमा अक्सिजन सहितको २ शैयाको छुट्टै मेडीकल कक्ष स्थापना गरिएको कारागार प्रशासन प्रमुख प्रकाश खनाल बताउनु भयो । ‘कारागारको आन्तरिक प्रशासनलाई मेडीकलको व्यवस्था गर्न दिन विभिन्न चुनौति हुने देखिएपछि आफ्नै निगरानिमा रहने गरी छुट्टै मेडीकल कक्षको व्यवस्था गरे’ खानालले भन्नुभयो ।
नेपाल हेल्थ सोसाइटीको सहयोगमा एकजना स्टाफ नर्स उक्त मेडीकलमा रहने व्यवस्था प्रशासनले गरेको छ । खनालका अनुसार ८१ प्रकारका औषधिहरु हाल व्यवस्था गरिएको छ भने झण्डै ३ महिनालाई पुग्ने सेनिटाइजर मौज्दात रहेको छ । मेडीकल व्यवस्थापनको लागि छुट्टै बजेट प्राप्त नहुँदा, आन्तरीक खर्च कटौति गरेर हालको व्यवस्था गरिएको उहाँले बताउनु भयो । मेडीकल कक्ष अबकाे २/३ दिन भित्र मै सुचारु गर्ने गरी तयारी थालिएको उहाँले बताउनु भयो ।
कोरोनाबाट सुरक्षित कारागार
कारागारमा हाल ९ सय ३१ जना कैदीबन्दी रहेका छन् । हावापानीको दृष्टिले समेत अति उत्तम रहेको यो कारागारमा कैदीबन्दीको सधैं चाप हुने गरेको छ । कोरोनाको संक्रमणको कारण लकडाउन जारी रहदा पनि अदालतहरु चल्न थालेपछि कैदीबन्दीहरु ल्याउने लैजाने कार्य जारी रहने नै भयो । कारागार प्रशासनको उच्च सतकर्ताको कारण हालसम्म कारागारभित्र कोरोना संक्रमण नभेटिएको खनालले बताउनु भयो ।
उहाँका अनुसार कारागारभित्र २ वटा क्वारेण्टाइन निर्माण गरिएको छ । जसमा लकडाउनको अवधिमा ११ जनासम्म कैदीबन्दी राखिएको थियो । हाल उक्त क्वारेण्टाइनमा २ जना कैदीबन्दी रहेको खनालले बताउनु भयो । ‘कारागारमा दीर्घ रोगि तथा वृद्धहरु समेत भएकोले धेरै नै स्वास्थ्य सतकर्ता अपनाएका छौ’ उहाँले भन्नुभयो । कोरोना संक्रमणको कारण कैदीबन्दी भेटघाटमा समेत उच्च स्वास्थ्य सतकर्ता अपनाउने गरिएको उहाँले बनाउनु भयो ।
कारागार मै थन्कियो कैदीबन्दीको सिर्जना

कोरोना संक्रमणको कारण लकडाउन भएपछि कैदिबन्दीहरु पनि मारमा परेका छन् । कारागार भित्र रहदा मन बहलाउँदै तयारी गरिएको बाँसका मुडा, माला (पोते), गलैचालगायतको सामग्री खपत नभएपछि मकवानपुरको भिमफेदी गाउँपालिकामा रहेको भिमफेदी कारागारमा तयारी अवस्थाका सामग्रीहरु भण्डारणमा नै थन्किएका छन् । कोरोना संक्रमणको कारण नेपालमा लकडाउन हुनुभन्दा अगावैदेखिका उत्पादनहरु कारागारको भण्डारण कक्षमा थन्केका छन् ।
कारागारमा उत्पादन गरिएका यस्ता सामग्रीको मुख्य बजार चीन हो । चीनमा कोरोना संक्रमण सुरु भए लगतै माग आउन बन्द भएको कारागारका चौकिदार सुरेश मोक्तानले बताउनु भयो । ‘हाम्रा उत्पादनहरु अब कुहिने डर भयो, सरकारले विकल्प खोजिदिनु प-यो’ उहाँले भन्नुभयो ।
कारागार प्रशासनका अनुसार यहाँ बाँसका मुडाहरु मात्रै ३ हजार थानभन्दा बढी छन् । विश्वव्यापि माहामारीको कारण उत्पादित सामग्रीहरुको खपत रोकिएको र कच्चा पदार्थ ल्याउनमा समेत समस्या भएको कारागार प्रशासन प्रमुख प्रकाश खनालले बताउनु भयो । कार्यालय, घरहरु तथा होटलहरुमा प्रयोगमा ल्याइने ठुला मझौला तथा साना विभिन्न आकारका डाइनिङ टेबल, तथा कुर्सि आकारमा मुडाहरु कारागारमा थन्किएका छन् ।

कारागारमा निर्माण भएका मुडाहरु अतेन्तै बलियो र आकर्षक भएको भिमफेदी गाउँपालिका उपप्रमुख पार्वती रानाले बताउनु भयो । ‘एकदम राम्रा र बलिया मुडाहरु निर्माण हुन्छन् तर खपत मै समस्या देखिएको छ’ उपाध्यक्ष रानाले भन्नुभयो । कारागारमै आएपछि एकअर्काबाट सिकेर विभिन्न सिपको विकास गर्दै थोरै भएपनि आम्दानीको स्रोतको रुपमा लिइएको गलैचा उद्योगहरुको उत्पादनले बजार नपाएपछि समस्या भएको कारागारका चौकिदार मोक्तानले बताउनु भयो ।