मकवानपुर/बितेको एक वर्षको अवधिमा बागमती प्रदेशका १० जिल्लामा दर्ता भएका मुद्दाहरु मध्ये ४९ प्रतिशत मात्रै फैसला भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा अनुसार उपत्यकाका ३ जिल्लाबाहेक प्रदेशका अन्य १० जिल्लामा दर्ता भएका कुल ४ हजार ५ सय ८६ वटा मुद्दा मध्ये ४९ दशमलब १९ प्रतिशत अर्थात २ हजार २ सय ५३ वटा मुद्दाहरु मात्रै फर्स्याैट भएका छन् ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरिक्षक बसन्त कुमार लामाका अनुसार १० जिल्लाका प्रहरी कार्यालयमा परेका उजुरी मध्य २ हजार ३ सय ३३ वटा मुद्दाको फर्स्याैट हुन बाँकी रहेको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मध्ये ८ सय ६६ वटा मुद्दामा ५ सय १८ वटा मुद्दाको मात्रै किनारा लागेको छ । त्यसैगरी चितवन प्रहरीमा १ हजार २ सय ६६ वटा मुद्दामा ७ सय ४५ वटा मुद्दा फर्स्याैट भएका छन् । सिन्धुली जिल्लामा ३ सय ३४ वटा मुद्दामध्ये ५४ वटा,रामेछाप जिल्ला प्रहरीमा १ सय ९९ वटा मुद्दा दर्ता भएकोमा ५४ वटा,दोलखा जिल्लामा २ सय ४० मध्ये १ सय २ वटा, काभ्रे जिल्ला प्रहरीमा ५ सय ५७ वटा मुद्दा दर्ता भएकोमा ३ सय १ वटा फस्र्यौट भएको लामाले बताउनु भयो ।
यसैगरी सिन्धुपाल्चोक जिल्लामा ३ सय ६१ मध्ये १ सय ४९ वटा,नुवाकोट जिल्लामा २ सय ५८ मध्ये १ सय १४ वटा, धादिङमा ४ सय ५७ मध्ये १ सय ९० वटा तथा रसुवा जिल्ला प्रहरी कार्यालयका ५२ मध्ये २६ वटा मुद्दा फैसला भएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुरको ३ सय ४८, चितवनको ५ सय १७,सिन्धुलीको २ सय ८०, रामेछापको १ सय ४५, दोलखाको १ सय ३२,काभ्रेको २ सय ५६,सिन्धुपाल्चोकको २ सय ९२, नुवाकोटको १ सय ४४ वटा, धादिङको २ सय ६७ तथा रसुवा जिल्लाको २६ वटा मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेको छ ।
प्रहरीमा परेका मुद्दाहरु दोषी फेला नपर्नु, आरोपित फरार हुनु, आत्महत्याका मुद्दामा दोषी पत्ता नलाग्नु, भवितव्य भएका मुद्दामा दोषी नदेखेका कारण मुद्दाको कम फर्स्याैट भएको डीआइजी लामाले बताउनु भयो । कोरोना संक्रमणपछि आत्महत्या र हिंसाका घटना बढेको र समग्र अपराधका घटना कम भएको उनले जानकारी दिए ।

