- नगेन्द्रराज पाैडेल
एउटा सांग पुरुष र महिलाका लागि उसका यौनांग सुन्दरताका प्रतीक मानिन्छन् । स्त्री पुरुषको समागमबाट सन्तानोत्पादनका लागि यौनांग आवश्यक मात्र होइन, विकसित, स्वस्थ र कामयावी हुन पनि जरुरी छ । अझ महिलाका हकमा त यौनांगको पूर्ण विकास सन्तानोत्पादका लागि जरुरी छ । यसैबाट महिलाको व्यक्तित्वमा समेत निखारता झल्किन्छ । यसैकारण आजको दुनियाँमा यौन र यौनिकता’ बारे खुलेर बहस हुने गर्दछ ।
एउटा चिकित्सकका हातमा परेको कैचींले बिरामीको ज्यान बचाउँछ, त्यही कैंची एउटा दुष्ट मानिसका हातमा पर्दा कसैको ज्यान जान सक्छ । महिलाको यौनांगको महत्व, सुन्दरता र यौनिकताको विकास नबुझ्ने वा बुझेर पनि धैर्यतामा बस्न नसक्ने समाजका केही दुुष्ट प्रवृत्तिका व्यक्तिबाट यतिबेला महिला खासगरी योनी भएकै कारणले असुरक्षित हुन पुुगेका छन् ।
हाल मात्रै कलाकार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिका समीक्षा अधिकारीमाथि बलात्कार गरेको उजुरी परी उनी पक्राउ परेका छन् । कैलालीका निर्मला पन्त बलात्कार र त्यसपछि हत्या प्रकरण सेलाएकै छैन । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कारकै आरोपमा जेल चलानपछि सफाइ पाएर फर्किसकेका छन् । पूर्वमुख्यमन्त्री शेरधन राईविरुद्ध बालिका खड्काले बलात्कारको आरोप लगाउन छाडेकी छैनन् । केही दिनअघि मात्र सांसद मोहन बानियाँ नेपालगन्जस्थित अप्सरा होटलमा ४० वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा अघिल्लो सोमबार पक्राउ परेका छन् । गत साता मोरङ लेटाङकी १२ वर्षीया किशोरीलाई सोही ठाउँका ६४ वर्षीय दीपक गिरीले बलात्कारपछि हत्या गरेको खबर सार्वजनिक भएको छ । यी घटनाले आजभन्दा ४० वर्षअघि पोखरामा घटेको नमिता, सुनिता काण्ड त छायामा परेका छन् नै केही वर्षअघिको निर्मला पन्त बलात्कार र हत्या प्रकरणसमेत नेपथ्यमा पारेको छ ।
तथ्यांक बोल्छः
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८÷७९ माघसम्म १ सय ४६ जना महिला जबर्जस्ती करणीको सिकार भएका मध्ये ९६ जना बालिका मात्रै छन् । सबैभन्दा धेरै ६१ बालिका ११ देखि १६ वर्ष उमेरका छन् भने १७ देखि १८ वर्षका २१ जना छन् । अर्थात् जबर्जस्ती करणीको सिकार हुनेमध्ये ११ देखि १८ वर्ष उमेर समूहका बालिकाको संख्या मात्रै कुल पीडितको ५६ प्रतिशत छ । यो तथ्यांकले हाम्रा किशोरी जबर्जस्ती करणीजस्ता गम्भीर अपराधको घटनाबाट सबैभन्दा धेरै जोखिममा भएको पुष्टि गर्दछ । यो तथ्यांक त नेपाल प्रहरीमा गरेको उजुरी जाहेरीको आधारमा मात्र हो । यौन हिंसा र शोषणका सबै घटना सावर्जनिक हुँदैनन् । झन् किशोरी पीडित भएका घटनामा त यस्ता विषय मुस्किलले मात्र बाहिरिन्छन् । कतिपय घटना त गाउँ, घर, छर छिमेकमा नै मिलापत्रका नाममा सामसुम पार्ने चलन अद्यापि छ ।
भारतमा सन् २०१८ मा गरिएको एक अध्ययनले त्यहाँ ७० प्रतिशत बालबालिकाले आफूमाथि भएको हिंसा विभिन्न कारणले सार्वजनिक गर्दैनन् भन्ने देखाइएको छ । नेपालमा पनि लगभग उस्तै अवस्था छ । पीडितलाई सुरक्षा र उचित मनोपरामर्श दिनेभन्दा पनि सामाजिक रूपमा उल्टै तिरस्कार गर्ने र पीडककै पक्षमा उभिने परिपाटीले गर्दा यस्ता घटना गुपचुप पार्ने चलन हामीकहाँ छ ।
यौन व्यवस्थापनको कमजोरीले गर्दा व्यक्तिको नैतिक पतनदेखि जीवनलीला स्वाहा हुन बेर लाग्दैन
महिला पनि मानव हो यसकारण जैविक कारणले परिपक्वतासँगै यौन, उसका लागि पनि आवश्यक छ । तर, सांस्कृतिक कारणले पुुरुष जातिले जबर्जस्त गर्नैपर्छ भन्ने गलत मनोभावना आज पनि व्याप्त छ । यसैकारण आममहिला हिंसा, बलात्कार र अपमानको सिकार भएका छन् । महिलासँगको सानिध्य सम्बन्धलाई ‘मिसयुज’ गरेका घटना दोहोरिइरहेका छन् । बलात्कारीलाई लिंगछेदनदेखि फाँसीसम्मका मागहरू यसैकारण बढ्न थालेका छन् । अवैध यौन वा बलात्कार कानुनी अपराधभन्दा पनि मास्लोको आवश्यकता सिद्धान्तअनुसार अनिवार्य आवश्यकताका कारण यसलाई अपराध नठानी यौन विचलन ठान्ने प्रवृत्तिका कारण पनि यसको मात्रा बढ्दो छ । कतिपय अवस्थामा यौन व्यवस्थापन गर्न नसक्दा बलात्कार हुने गर्दछ भनेर पनि उन्मुक्तिको भाषा बोल्ने गरेको देखिन्छ । यसले पनि बलात्कारीलाई प्रोत्साहन गरेको देखिन्छ ।
सन्त नेता भनेर चिनिने कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेला उनीसँग कलेजका छात्राले महिला हिंसासम्बन्धी गुनासो राख्दा प्रतिउत्तरमा उनले हरेक महिलालाई नङ पाल्न र गोजीमा खुर्सानीको धुलो लिएर हिँड्न सुझाएथे भन्ने सुुनिन्थ्यो । उनले उतिबेला आफ्नो सुरक्षा आफैं गर्नुपर्ने सन्देश दिँदा खुब आलोचना भएको थियो । कुनै बेला आफू गृहमन्त्री हुँदा रामबहादुर थापाले पुँजीवाद नै बलात्कारको मुख्य कारण हो भनी संसद्मा जवाफ दिएका थिए । विद्यालयमा हुने बलात्कारका विषयमा शिक्षामन्त्रीको त प्रतिक्रिया नै सुनिँदैन । मानौं उनको प्राथमिकतामा यो विषय नै पर्दैन । मनोविद्काअनुसार बलात्कारका अनेक कारण हुन्छन् र तीमध्ये अनुकूल परिस्थिति र कामुक वातावरण पनि मुख्य कारण हो । साहित्यको श्रृंगार रसले त एकान्त बसाइ, जुनेली रातलाई समेत यौन उत्तेजक परिवेश ठान्दछ । विद्यालयले यस मामलामा सचेतता र निगरानी दुुवै अपनाउन जरुरी छ । तर, अधिकांश विद्यालयसमेत यसका लागि सुरक्षित छैनन् ।
कारकको खोजीः
बलात्कारीलाई मृत्युदण्ड सजाय नभएर वा कानुन कडा नभएकोले बलात्कारका घटना बढेको भन्ने पनि गरिन्छ । तर, मृत्युदण्ड दिने देशहरूमा पनि यस्ता घटना घटेकै छन् । खासगरी जीवशास्त्री बलात्कारी चरित्र भएका मानिसको जैविक बनोट र स्वभाव नै अरूभन्दा भिन्न हुने तर्क अघि सार्छन् । यौन असन्तुष्टि बलात्कारको एउटा कारण होला तर उनीहरू यसलाई मात्र बलात्कारको मुख्य कारक मान्दैनन् । जे भए पनि आगोको छेउमा राखेको घिउ पग्लिन्छ भन्ने मान्यता छ । विज्ञानले पनि आगो नफुकी धुँवा निस्किँदैन भन्छ ।
खप्तड स्वामी हरेक मान्छेमा रहेको विचारअनुसारको परिणाम निस्कने कुरा गर्छन् । विचार २ प्रकारको हुन्छ ः सुविचार र कुविचार । सुविचारले सबैका लागि राम्रो र कुविचारले नराम्रो स्थिति पैदा गराउँछ । विचार उत्पन्न गराउनका लागि परिवेश, समाज र संगत जिम्मेवार हुन्छन् । यसैकारण हिजोआज स्कुले छात्राले लगाउने अत्यन्त छोटा कपडा (मिडी, फ्रक आदि) र घरघरमा राखिएका इन्टरनेटको माध्यमबाट हेरिने पोर्न साइट किशोरकिशोरीको लत बिगार्ने महत्वपूर्ण माध्यमका रूपमा लिने गरिएको पाइन्छ । अनुकूल परिस्थिति र कामुक वातावरणमा कुविचार उत्पन्न हुन्छ । यसैकारणले होला एक अध्ययनले पोर्नोग्राफी हेर्नेहरू बढी कामुक हुन्छन् र मौका मिल्नासाथ बलात्कार गर्छन् भन्ने तथ्य फेला पारेको छ । यद्यपि नेपालमा पोर्नसाइट बन्देज भए पनि विकल्पमा अनेकौं सञ्जाल कायम नै छन् । प्रतिबन्ध लागेका यस्ता विषय भूमिगत शैलीमा झनै चलायमान देखिन्छन् र यसका लागि प्रयोगकर्ताले प्रशस्त चोरबाटा पछ्याउने गर्छन् ।
पोखरामा घटेको नमिता–सुनिता काण्ड छायामा परेका छन् नै, निर्मला पन्त बलात्कार र हत्या प्रकरणसमेत नेपथ्यमा परेको छ
पुरानैशैलीः
नेपाली समाजमा विपरीत लिंगीबीचको सम्पर्क, सम्बन्ध नौलो होइन । लामो समयसम्म सम्पर्क भएर पनि वियोगान्तमा पुुगेका घटना धेरै छन् । मन मिल्दासम्म सहमति, सम्बन्ध र सहकार्यमा जस्तोसुकै हर्कत पनि गर्ने, मन नमिलेको अवस्थामा जबरजस्तीको आरोप लगाएर कतै हत्या गर्ने, कतै मुद्दा मामिला गर्ने प्रचलन बढ्दो छ । यसरी हेर्दा पल–समीक्षा प्रकरणलाई महरा– रोशनी प्रकरणकै नयाँ संस्करण मान्दा हुन्छ । यसो त अपराध संहिता–२०७४ लागू भइसकेपछि लोग्नेले स्वास्नीविरुद्ध सम्बन्ध विच्छेदका लागि उजुरी गर्ने गरेको पनि पाइन्छ । पाँच÷सातवटा सन्तानकी आमाले समेत लोग्नेद्वारा बलात्कृत भएको भनी अदालतमा मुद्दा हालेका घटना पनि सुनिन थालेका छन् । आफ्नै श्रीमतीले बलात्कारको आरोप लगाउने मुलुकमा अर्काकी श्रीमतीले मन नमिल्दाको अवस्थामा यौन हिंसा, बलात्कार वा जबरजस्ती करणीको आरोपमा कारबाही गरें भन्नु खासै नौलो कुरा भएन ।
मनोविज्ञान भन्छः
जतिसुकै नकारात्मक रूपले हेरे पनि यौन मानव जीवनको एउटा अनिवार्य आवश्यकता भने हो । अमेरिकी मनोविद् अब्राहम मास्लोका अनुसार आवश्यकताका पाँचौं तह छन् र यीमध्ये पहिलो तहमा शारीरिक आवश्यकता पर्दछ । शारीरिक आवश्यकताअन्तर्गत मास्लोले गास, बास, कपास यौन, सुरक्षा आदिलाई लिएका छन् । उनका अनुसार मानिसलाई जसरी खाना चाहिन्छ त्यसरी यौन पनि अनिवार्य रूपमा चाहिन्छ । आचार्य रजनिशको त ‘सेक्स से समाधितक’ दर्शन नै छ । अर्का मनोवैज्ञानिक सिग्मण्ड फ्रायडले बच्चाले आमाको स्तनपान गर्दा समेत यौन आकांक्षा उत्पन्न हुन्छ भन्छन् । उनका अनुसार छोरा आमासँग र छोरी बाबुसँग नजिकिनुका पछाडि पनि यही मनोवैज्ञानिक कारण छ ।
यौन जैविक पक्षसँग सम्बन्धित भएकाले पनि होला अधिकांश मान्छेहरू विचलित भएकै हुन्छन् । यसलाई उमेर, वाद, जात, धर्मले कमै छेक्छ । जतिसुकै कडा दर्शन बोकेको विचारक पनि यस मामलामा कमजोर ठहर्छ भन्ने कुरा ‘हजारांै गोलीका छर्राले नढलेको एक योद्धा यौनको लालसाले सहजै ढल्छ’ भन्ने लेनिनको भनाइले पुष्टि गर्छ । यौन व्यवस्थापनको कमजोरीले गर्दा व्यक्तिको नैतिक पतनदेखि जीवनलीला स्वाहा हुन बेर लाग्दैन ।
स्वभाव आ–आफ्नाः
मान्छे कामवासनाबाटै जन्मेको हो, यसैकारण जति बढी कामवासनाको पूर्ति गर्न सक्यो त्यति मात्रामा मानिस खुसी हुन्छ भन्ने भनाइ फ्रायडले राख्दछन् । उनका अनुसार मानिसको ‘इद’मा रहेको स्वभावले यौन चाहना गरी नै रहन्छ र हर सम्भवले यसको पूर्तितर्फ ऊ लाग्दछ । यसलाई उनी जीवनको जैविक आवश्यकता नै ठान्छन् ।
नेपोलियन २५ वर्षसम्म नारीप्रति आकर्षित नै भएनन् । कामवासनाको कुरो त परै जाओस् । बुद्धले पत्नी नै त्यागे । विवाहित भएर पनि रामकृष्ण परमहंस योगीसरह रहे । मानवीय स्वभाव हेर्दा पुरुष बढी यौनात्तुर देखिए पनि नीतिले पुरुषमा भन्दा महिलामा आठगुणा बढी कामवासना हुन्छ भन्दछ । उनीहरू दबाउन सक्छन्, पुरुष सक्दैन फरक यत्ति हो । सन् २०१३ को अगस्त १५ मा ७७ वर्षीय भारतीय धर्मगुरु आशारामले आफ्नै भक्तकी छोरी १६ वर्षीया किशोरीलाई आफ्नै आश्रम जोधपुरमा बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । नेपालमा पनि बेला बेलामा महाराजजी चुक्ने गरेका छन् । पर्खालमन्त्री, रोपाइँमन्त्री आदिका नामले केही उच्च पदस्थहरू पनि कतै न कतै यस मामलामा बिटुलिएका छन् । मूल कुरो कुरा मिल्ने अवस्थासम्म यस्ता घटनाहरू गुपचुप राखिने र मनमुटाव पैदा भएपछि आरोपित गर्ने प्रवृत्तिका कारण अनैतिक कार्यकलापमा कमी आउन सकेको छैन । कतिपय व्यक्ति हत्याको कारक समेत बनेर आएका छन् । यो प्रवृत्तिलाई बेलैमा दुरुत्साहन गर्न जरुरी छ । राजधानी दैनिकबाट
मकवानपुर/राष्ट्रिय मानव अधिकार आयोगले सातै प्रदेशमा शुक्रबार र शनिबार मानव अधिकार रक्षकहरुको सम्मेलन गर्दैछ ।
मानव अधिकार रक्षकहरुको अवस्थामा विश्लेषण, चुनौतिमाथि बहस तथा समाधानको लागि सरकारलाई सुझाव पेश गर्ने उद्देश्यका साथ आयोगले सम्मेलन गर्न लागेको हो । विहीबार बागमती प्रदेशको राजधानी हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोगले यसबारे जानकारी गराएको हो ।
शुक्रबार विहान ९ बजे सातै प्रदेशमा एकै चोटी सम्मेलनको उद्घाटन गरिने आयोगका बागमती प्रदेश कार्यलयका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले बताए । अधिकारकर्मीहरुलाई सहज काम गर्ने अवस्था नभएको, सूचना दिंदा नै धम्की आउने क्रम नरोकिएकोले स्वतन्त्र पुर्वक काम गर्ने वातावरणको मागमा नै समय खर्चनु परेको अधिकारीले बताए ।
मावन अधिकारकर्मीहरुलाई चुनौती मोलेर काम गरे वापत आत्मा सम्मान समेत प्राप्त नभएको आयोगको सदस्य लिलि थापाले बताइन् । “मानव अधिकार रक्षकहरुलाई उनीहरुको योगदानको कदर, सुरक्षाको प्रत्याभुती त परको कुरा आत्मा सम्मान समेत छैन” सदस्य थापाले भनिन् ।
आयोगले रक्षकको अवस्था सबैभन्दा बढी चासो दिदै आएको र पहिलो पटक मानव अधिकार रक्षकहरूको प्रदेश सम्मेलन गर्न लागिएको अधिकारीले बताए । यो सम्मेलनले सबैभन्दा तल्लो तहमा मानव अधिकारको अवस्था बारे जानकारी अवगत गराउने र रक्षकको अवस्था के छ, चुनौती के छ भन्ने बारे बहस गर्ने उनले बताए । प्रदेश स्तरमा मानव रक्षकको अवस्था, आवश्यक संयन्त्र, चुनौती बहस हुने र सो सुझाव नेपाल सरकारलाई पेश गरिने सदस्य थापाले बताइन् ।
बागमती प्रदेशमा हुने सम्मेलनमा प्रदेशको १३ जिल्लाको ३० भन्दा बढी मानव अधिकार रक्षाको क्षेत्रमा कार्यरत संघसंस्थाका १ सय ३० प्रतिनिधिले सहभागिता जनाउने छन् । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेसम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मकवानपुर । बागमती प्रदेशमा ६ हजार बालबालिका निकृष्ट बालश्रममा रहेकाे पाइएकाे छ । स्वतन्त्रता अभियान नेपालको तथ्याङ्क अनुसार देशभरमा २ लाख बालबालिका निकृष्ट बालश्रममा रहेकाेमा बागमतीमा ३ दशमलव १ प्रतिशत अर्थात् ६ हजार २ सय जना बालबालिका निकृष्ट बालश्रममा रहेकाे हेटाैडामा भएकाे बालश्रमको अबस्था निबारण सम्बन्धी प्रदेश स्तरीय कार्यक्रममा बताइएकाे छ ।
स्वतन्त्रता अभियानको सक्रिय परियोजनाको आयोजना, बिश्व शिक्षाको सहयोगमा र राष्टिय बाल संरक्षण संजालको सहकार्यमा हेटाैडामा भएकाे बालश्रम निबारण सम्बन्धी प्रदेश स्तरीय छलफल कार्यक्रममा सक्रिय परियोजना संचालन गरिरहेको संस्थाहरु जिएमएसएस, सिडिएस, मांक, युईएमएस,र प्रयास नेपालको संयुक्त प्रस्तुतीको रुपमा जिएमएसएसका अनुगमन तथा मुल्याकन अधिकृत सोम बाहादुर स्यागंतानले बागमती प्रदेशको बाल श्रमको अबस्थाको बारेमा उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
तथ्याङ्क अनुसार देशभर ११ लाख बालबालिका बालश्रममा रहेका छन् । स्वतन्त्रता अभियान नेपाललले बागमतीको विभिन्न स्थानका सम्बन्धित निकायसँग समन्वय गरेर तथ्याङ्क संकलन गरिएको संस्थाका प्रतिनिधि सोम बहादुर स्याङतानले बताए । अध्ययनले बालश्रममा लाग्नुको मुख्य कारण गरीबी देखाएको उनले बताए । बालबालिकाहरु श्रममा लाग्नुपर्ने मुख्य कारण अभिवाभक नै रहेको उनले बताए । घरको आर्थिक अवस्था नाजुक हुदाँ बालबालिकाहरु श्रमको क्षेत्रमा गइरहेको पाइएको छ ।
तथ्याङ्क अनुसार बालश्रम गर्ने मध्ये १० वर्ष मूनिका १३ दशमलव १ प्रतिशत, १० देखि १३ वर्ष उमेर समुहका १९ प्रतिशत र १४ देखि १९ वर्ष समुहका ६७ दशमलव २ प्रतिशत रहेका छन् । बालश्रममा रहेकामध्ये बागमती प्रदेशका १ हजार ५ सय ३५ जना बालश्रमिकहरुमा गरिएको अध्ययनले काम छोड्न चाहना राख्नेहरु कमै मात्रामा पाइएको छ । निकृष्ट बालश्रमिकमध्ये ३ प्रतिशत बालबालिकाहरु २० घण्टासम्म काममा खटिनु परेकाे परेको तथ्याङ्क सार्वजनिक भएकाे छ ।
तथ्याङ्क अनुसार कतिपय बालबालिकाहरुले दिनमा १६ देखि २० घण्टासम्म श्रम गरिरहेको पाइएको छ । राष्ट्रिय बाल संरक्षण सञ्जालको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बाल श्रमको क्षेत्रमा कार्यरत संस्था र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुले बनेका नीतिको कार्यन्वयनमा कमजोरी देखिएका कारण बालश्रमको अन्त्य हुन नसकेको बताएका छन् । बागमती प्रदेश समाजिक बिकास मन्त्रालयकका उपसचिब गोपाल कडेलले प्रदेश सरकारले बाल श्रम अन्त्यका लागि ऐन बनाएरै कार्य गरिरहेको छ ।
प्रदेश निती तथा योजना आयोगका उपसचिब श्री हरिहर पोखरेलले बालबालिकाहरुको अधिकार सुनिश्चितताका लागि सरकारी तथा गैरसरकारी संस्थाहरु मिलेर जानुपर्ने बताए । श्रम कार्यालय मकवानपुरका प्रमुख छन्दनारायण श्रेष्ठले बालश्रमिकहरुको संख्या धेरै भएपनि बालश्रमको विरुद्धमा एउटा पनि मुद्धा नपरेको बताए । उनले बाल श्रमीक राख्ने रोजगारदातालाई कारबाही गर्न सहयोगको लागि सरोकारबालाहरुलाई आग्रह गरे । उधोग बाणिज्य संघ बागमती प्रदेश सदस्य एबं मकबानपुर उधोग बाणिज्य संघका पुर्ब सभापती जीवनकाजी माकाजुले उधोग बाणिज्य सघले बालश्रम अन्त्यका लागि धेरै पहिले देखिनै कार्य गरिरहेकोमा औपचारिक क्षेत्रमा बालश्रम नरहेको बताए ।
यसै गरि राष्ट्रिय बाल संरक्षण संजालको केन्द्रीय अध्यक्ष प्रकाश खतिवडाले बालश्रम बिश्व भरि नै बाल अधिकारको संरक्षण अभियानको बाधकको रुपमा रहेको बताए । ‘बालश्रम बालमैत्री घोषणाको लागि समेत बाधक भएकाे छ’ खतिवडाले भने– ‘सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्ने प्रतिबद्धता सरकारले गरेकाेमा बालश्रम निबारणकाे राष्टिय गुरु योजना तयार भएकाेले बालश्रम अन्त्य अपरिहार्य रहेकाे छ ।’
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष हर्क माया स्याङ्तान, संजाल अध्यक्ष आरती पाठक, ईन्सेक बागमती प्रदेश प्रतिनिधि गणेश भण्डारी, राडो नेपालका दिपेन्द्र पाठक, नारि संरक्षण केन्द्रका राम मिजार, ट्रेड युनियन बागमति प्रदेश का घनश्याम चापागाई, हेटौडा उपमहानगरपालिक महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटा, मनहरी गाउँपलिकाकी शान्ती अधिकारी, एस्थार बेन्जामीनका बुद्ध लामा र डेक नेपालका मान बाहादुर बाईबा लगायतले मन्तब्य ब्यक्त गरेको थिए ।
- अनिता कोइराला
साँझ र बिहानको हिँडाइले शरीरमात्र होइन, मन र मस्तिष्क पनि चंगा हुन्छ। मेरो घरबाट मातातीर्थ नजिकै पर्छ। हिँडाइको गन्तव्य चन्द्रागिरि डाँडाको काखसम्म हुन्छ।
एकदिन मातातीर्थको पानी पिएर पिपलको बोटमा थकाइ मार्दै थिएँ। एक जना आमालाई थकाइ मार्दै गरेको भेटें।
बाक्लो कुर्ता सुरूवाल, स्पोर्ट्स जुत्ता, तातो टोपी मिलाएर लगाएको। अग्लो, गोरो, पोटिलो ज्यान। हातमा नोकियाको स्मार्ट फोन, मीठो बोली। आफ्नो गफमा जो कोहीलाई पनि तान्न सक्ने अद्भूत क्षमता।
मैले उहाँलाई निकै अगाडिदेखि चिनेको थिएँ। उहाँले पनि मलाई र मेरो घर परिवार सबैलाई राम्रोसँग चिन्नुहुँदो रहेछ।
एक्कासि भन्नुभयो, ‘नानीजस्तै मेरो पनि बुहारी भैदिए कस्तो हुन्थ्यो। एकादशीको त्यो दिन मन्दिरमा हार्मोनियम बजाएर गाएको भजन कहिल्यै बिर्सिन्नँ। यस्ता उमेरमा पनि धर्मकर्ममा मन लाग्या। साह्रै भाग्यमानी छन् तिम्रा सासू-ससुरा सधैं तिम्रो प्रशंसा गरिरहन्छन्। आफूलाई त डाहा चल्छ बाबै! आफ्नो त खप्परै गतिलो भए पो।’
मैले हाँस्दै भनेँ, ‘आमा! मेरा सासू महान् हुनुहुन्छ। हजुरसँग मेरो प्रशंसा गर्नुभयो। मान्छे पूर्ण कोही हुँदैन। ममा पनि कति अवगुण होलान्। मेरा कमीकमजोरीहरूलाई मेरो सासूले नजरअन्दाज गरिदिनु भयो। तपाईंलाई सुनाउँदा राम्रोमात्र भन्नुभयो। तपाईंलाई हेर्दा तपाईं पनि, अभागी जस्तो त लागेन। बिहान, बेलुकै यस्तो वातावरणमा घुम्न पाउनु भएको छ। अनुहारमा तेज छ। शरीर स्वस्थ देख्छु। यो उमेरमा पनि हिँडाइमा दम छ। साँच्चि आमा! हजुरको छोरा बुहारी छैनन् र ?’
आमाको अचानक अनुहारको रंग बदलियो।
‘छन् त छन् त नि तर…।’
गुनासो र असन्तुष्टिले भरिएको आवाज थियो।
‘किन आमा! मैले गलत प्रश्न गरें?, किन अनुहार अँध्यारो बनाउनु भएको।’
‘नानी! अरूलाई त भन्नुहुँदैन, नानी त छोरीजस्ती मान्छे भएरमात्रै भनेको। मेरी कान्छी बुहारी साह्रै नहुने छ। छोट्टा छ, न समयमा भात, न चिया मेरो त वास्तै गर्दिन। मलाई देख्नेबित्तिकै अँध्यारो अनुहार लगाएर ठ्वाँस पर्छे। खानेकुरा पनि सबै आफू लुकाएर मात्र खान्छे। छोराछोरी पनि आमाकै गोता गा’छन्। छोराको मुखबाट बुहारी बोल्छे। राज गरेकी छ मेरो छोराको कमाइमा।’ सुँक्कसुँक्क गरेर रून थाल्नुभयो।
‘आमा! कान्छी बुहारी भन्नुभयो, तपाईंका अरू छोरा बुहारी पनि पक्कै छन् होलान्। किन यस्ती बुहारीसँग बस्नुभएको त ? कति वर्ष भयो सँगै बसेको? अरू छोराछोरीसँग बसे पनि हुन्छ नि ? कि कान्छो छोरोले अंश धेरै राखेको छ?’
‘भयो नानी! सत्र अठार वर्ष। बुवा स्वर्ग भएपछि अब आमा एक्लै नबस्नु गाउँमा भनेर कान्छो छोरोले लिएर आएको। सम्पत्ति कसैलाई केही दिएको छैन। भएको पाखो जमिन गाउँमै। नानी! छोरा त देउतै छ नि तर के गर्नु बुहारी सुपर्नखा नै छे ,राक्षसनी।’
मुहारमा बुहारीप्रति निकै घृणा देखिन्थ्यो।
‘आमा बुहारीले कुटपिट गर्छिन्? खाना दिन्नन्? के-के गर्छिन् त्यस्तो, राक्षसनी नै भन्नुभयो त! मलाई त हजुरको बुहारीलाई हेर्न पो मन लाग्यो।’
‘नानी! दुई छोरा दुई छोरी छन्। जेठो छोरोको आफ्नै व्यापार छ, चाबहिलमा चार तले घर छ। जेठो छोराको छोरो अस्ट्रेलिया गएको छ। छोरी नर्स पढ्न क्यानडा पठाएको छ। छोरीहरूको पनि राम्रो छ। दुइटा छोरीहरूकै काठमाडौंमा घर छ। मेरा नातिहरू असल छन्। मलाई असाध्यै माया गर्छन् दिनकै फोन गर्छन्। हालखबर सोधिरहन्छ्न्। छोरीहरूलाई सुख छ। सासू ससुराको करकर छैन। ज्वाइँहरू ईश्वर नै छन्। छोरीहरूकै राज छ। जेठी छोरीको एउटा मात्र छोरो छ। नाति डाक्टर पढ्दै छ। कान्छी छोरीको पनि एउटा छोरी छ, त्यो नातिनी भर्खर १२ सकाएर के जाति हो कुन्नी मलाई भन्न पनि आएन।’
अनुहारमा बेजोडको खुसी छताछुल्ल देखिन्थ्यो।
भित्रैबाट सन्तुष्टि ओतप्रोत भएको पाएँ।
मैले सोधिहालें, ‘आमा! अनि कान्छो छोराको त कुरै गर्नु भएन त। के गर्नुहुन्छ तपाईंको कान्छो छोरो ,बुहारी अनि नातिनातिना?’
‘छोरो खरदार छ, बुहारीको काम छैन, केटो आठमा पढ्छ, सानी फुच्ची पाँचमा पढ्दैछे।’ कुनै उत्साह उमंग थिएन अनुहारमा। कान्छो छोरोको कुरा गर्दा।
एकचोटि पनि छोराका सन्तानलाई नातिनातिना भन्नुभएन। जसरी जेठो छोरा बुहारी, छोरी ज्वाइँ र छोरीका सन्तानहरूको कुरा गर्दा खुसी छर्लंग मुहारमा देखिन्थ्यो।
कान्छो छोरोको घरको पनि कुरै गर्नुभएन।
आमा बस्ने घर मैले देखेको थिएँ।
मैले नै सोधेँ,‘आमा हजुरहरूले कति सालमा यहाँ घर बनाउनु भएको?’
‘ए मेरा बा! के कुरा गर्नु आफ्नो घर होइन नि… ! डेरामा बसेका। तीन कोठा छन्। छोरालाई स्वास्नी र छोराछोरी पाल्दै ठिक्क छ।
‘जेठो छोरोको चार तले घर छ भनेको होइन।’
‘हुन त हो नि मेरा बा…! बुहारी जागिरे छ। फुर्सद हुँदैन। छोरा बाहिर हिँडिरहनु पर्छ। मलाई अस्पताल गइरहनु पर्छ। के गर्नु जेठो छोरोको त गाडी पनि छ। नानी ! बुढाबुढी भएपछि पाहुना पनि आउँछन्। छोरी ज्वाइँहरू, नातिनातिनाहरू पनि बेलाबेला आउँछन्। बराकठा जेठी बुहारी केही गर्न भ्याउँदिनन। कहिलेकाहीँ छोरो गाडी लिएर मलाई लिन आउँछ। एक दुई दिन बस्छु अनि यही ल्याइदिन्छन्। जेठो छोरोले मनग्य कमाएको छ। मलाई पनि खानेकुरा ल्याइदिन्छन् लुगाफाटो र दुई चार हजार दसैं र औंसीमा दिन्छन्। निकै मनकारी छ जेठी बुहारी।
नानी! यी यो मोबाइल पनि जेठी बुहारीले दिएको। उसलाई छोरीले नयाँ मोबाइल पठाइ दिइछ, अनि मलाई यो महंगो मोबाइल दिएकी। कान्छी बुहारीले पैसा चिनेकी छे। थुतुनो कहिल्यै उज्यालो देख्दिनँ। घोसे छे, कहीँ नभाकी कप्टी।’
आमाका कुरा सुनेपछि म सोच्न थालें ‘कान्छो छोरो र बुहारीको अनुहार किन अँध्यारो हुन्छ होला भन्ने अनुमान भित्रभित्रै लगाउन थालें।
इमान्दार खरदारको तलब। दुइटा बच्चा, आमा, श्रीमती अनि डेराको बसाइ। कति अप्ठ्यारो होला खर्च पुर्याउन। कति चिन्ता होला। आमा जतिसुकै बेला छोरीहरू र जेठो छोरा बुहारीको मात्र गीत गायरहने। अपवादलाई छोडेर हेर्दा,जहाँ बुढाबुढी बसेका हुन्छन् ,जहाँ सेवा पाएका हुन्छन्। त्यो घर अनि त्यही बुहारी काम नलाग्ने लाग्छ्न्। जहाँ बसेका हुन्छन् त्यही घर नर्कझैं लाग्छ किन होला?
जुन बुहारी बिहान बेलुका तातो लगाएर खान दिन्छे। बिरामी पर्दा अस्पताल दौडाएर लैजान्छे, सेवा गर्छे। पाउना आउँदा स्वागत गर्छे। घरमा बुढाबुढीको साथी हुन्छे तर घर बाहिरका आफन्त बुढाबुढीलाई निकै प्यारा हुन्छ्न्।
एक किलो स्याउ बोकेर ल्याउनेले माया गरेको हुन्छ। एक कल फोन गर्नेले सम्मान गरेको हुन्छ। तर अभाव र अप्ठ्यारोमा पनि दिनरात सेवा गर्ने बुहारी पुतना अनि सुपर्नखा हुन्छे।’
‘नानी के भयो किन टोलाएको ?’
‘केही होइन आमा!’
मैले सोचेकै कुरा आमा भन्न थाल्नु भयो, ‘छोरीहरूले पनि अघोर माया गर्छन्। मेरा नातिहरूले फोन गरिरहन्छ्न्। छोरीहरू त झन् दिनको चार पाँच चोटि फोन गर्छन्। के खाइस्,के गर्दैछेस्, सोधिरहन्छ्न्। निकै विचार गर्छन् नानी। तर यो राक्षसनीले मेरा छोरीहरूले फोन गरेको पनि देखिसहन्न। रिस गर्छे, डाहा गर्छे मेरा छोरीहरूको।’
बुहारीप्रति निकै क्रोध थियो मुहारमा।
‘नानी! नजिकै छ कोठा, चिया खाएर जानू , बरा! मलाई त कस्तो माया लागेर आयो नानीसँग कुरा गर्न पाउँदा आफ्नै छोरीहरू भेट्याझैं भयो।’
आमाले हात समातेर आफ्नो डेरातिर लैजानुभयो।
मलाई पनि कान्छी बुहारी हेर्ने मन लागेको थियो।
बुहारी तरकारी केलाउँदै हुनुहुँदो रहेछ। चिरपरिचित अनुहार। कयौं पटक देखभेट भएको।
‘नमस्कार मेडम’ भन्दै मैले आफ्नो परिचय दिएँ। उहाँले पनि मलाई चिन्नुभयो। आमाकै कोठामा गयौं। सफा तन्ना ओछ्याएको, मोटो कपासको सिरक, फाइबरको अर्को सिरक, कुनामा स्टिल दराज, चुटुक्क परेको सानो टेबल, टेबलमाथि थर्मस, गिलास, हर्लिक्सको भाँडो, भुइँमा मोटो कार्पेट ओछ्याएको, छेउमा सानो हिटर, बाक्लो पर्दा।
आमाको कोठा हेर्दा आमाले भनेको कुरा गलत साबित हुँदै थिए। बुहारीले थालभरी फलफूल खाटेर ल्याउनुभयो।
एउटा स्याउको टुक्रा लिँदै मैले भनेँ, ‘मलाई खोकी लागिरहेको छ, मलाई एक गिलास तातो पानीमात्र है।’
‘म कचौरा लिएर आउँछु ,आमालाई पनि सधैं तातो पानीमा डुबाएर फलफूल खान दिने गरेको छ, तपाईं पनि तातो पानीमा डुबाएर खानुस्,केही हुँदैन।’ भनेर फलफूल ल्याउनुभयो।
अर्को कोठामा बच्चाहरू खेलिरहेका थिए।
भान्साको खाटभरी शिक्षक सेवा आयोगका किताबहरू छरपस्ट थिए। म आमाको कोठामा पुनः फर्किएँ।
आमा दराजबाट खानेकुरा झिक्दै हुनुहुँदो रहेछ। एक मुठी काजु र बदाम मलाई पनि दिनुभयो। मैले मुठीमै कसेर राखें।
‘एक नम्बर कि छ यो, छेपाराले रंग फेर्याझै रंग फेर्छे। नानीलाई देखेर हो जाति पल्टेकी।’कानैमा फुसफुस गर्नुभयो।
मलाई उकुसमुकुस भयो मैले आमालाई भनेँ, ‘आमा एउटा कुरा भन्छु गहिरिएर सोच्नुस् है। बिहान बेलुका यही बुहारीले पकाएको तातो भात खानु हुन्छ। बिरामी पर्दा यही बुहारी चाहिन्छ। सत्र वर्षदेखि डेरामा तपाईंलाई साथमा राखेका छन्। चार तले घर र टन्न पैसा हुने छोराले डेरामा बस्ने भाइलाई आमा जिम्मा लगाएका छन्। चार महिना पनि हिँड्नु आमा हाम्रो घरमा बसौं कोही भन्दैनन्। नजिकै छन् कोठाहरू। दिनरात तपाईंको सेवा गर्नुछ,उसैको खेदो काड्नु छ।
छोरी त के बुहारीलाई दिने माया पनि दिनसक्नु भएको छैन जस्तो छ। बिचरा बुहारी तपाईंको यो व्यवहार देखेर अँध्यारो मुख नलगाएर के गरोस् त! बाह्र वर्षमा खोलो त फर्किन्छ भन्छन्।
सत्र सत्र वर्षदेखि डेरामा सँगसँगै आमा भनेर लिएर हिँडेका छन्, तपाईंका छोरा बुहारी महान हुन्। योभन्दा बढी के चाहियो तपाईंको छोरा बुहारीलाई चिन्न। समयमा चिन्नुस् यस्ता छोराबुहारीलाई। जोसँग पनि घरका कुरा गर्नु राम्रो हुँदैन। आफ्नै इज्जत जान्छ। जुन थालमा खायो, उही थालमा, छेर्यो जस्तै भएन त’।
मैले पनि अघि तपाईंको कुरा सुन्दा कस्ता होलान् छोराबुहारी यस्ती आमालाई पनि सास्ती दिएर राखेका भन्नेझैं लागेको थियो। बुढाबुढीको आँखामा आँसु देख्दा दोष जति सबैले छोराबुहारीलाई दिन्छन्। तपाईंको गुनासो सबले पत्त्याउँछन्।
बुहारी आयोगको जाँचको तयारी गर्दैछिन्। बिहान बेलुका आफ्ना साथीहरूसँग बुहारीका कुरा काट्नुको साटो, घरमा तरकारी काटी दिनुस्। आफूले गर्ने सक्ने कामहरू गर्नु। जुठा भाँडा मोल्न नसके पनि पूजा भाँडा आफैंले मोल्नुस्। बिहान ध्यान गर्नु, प्रणायाम गर्नु ,सत्संग सुन्ने गर्नु। टिभी छ बिहान बिहान ‘जीवन विज्ञान’ भन्ने कार्यक्रम आउँछ सुन्नुस्।
छोरीहरू परबाट फोन गरेर हालखबर सोधपुछ गर्दा औधी माया गरेको हुने तर बुहारी यतिका वर्षदेखि तपाईंकै सेवा गर्दा पनि किन तपाईंको नजरमा बुहारी पुतना र सुपर्नखा हुन पुगी? तपाईंले कहिले यो छोरा बुहारीको पीडा बुझ्ने कोसिस गर्नुभएको छ? तपाईंले कहिल्यै?
बुहारी किन तिम्रो अनुहार अँध्यारो देख्छु त के समस्या छ मलाई भन। म पनि तिम्रो आमा हुँ। सोध्नु भएको छ? बुहारीलाई आफूले सक्दाखेरी तिमी पढ् म खाना बनाउँछु भन्नुभएको छ? नरिसाउनु है आमा! मलाई पनि तपाईं आफ्नै आमाजस्तो लागेर सम्झाएको। तपाईंका आफन्त भनाउँदाहरूले सम्झाउँदैनन् ? कि तपाईंलाई उचाल्न मद्दत गर्छन्?’
‘कान्छी छोरीले त कराउँछे, सम्झाउन खोज्छे तर नानी! यी लगौंटीका जुम्रालाई केको सम्मान गर्नु। मेरै गोरू जोतेर खाएकी छ, सुक्को कमा छैन।’
म तीन छक्क परें कस्तो शब्द हो बुहारीलाई सासूले प्रयोग गर्ने मैले सम्झाउने कोसिस गरें, ‘मेरो कुरा ध्यान दिएर सुन्नुस् है। कति आमाहरू छोराबुहारीको दुर्व्यवहारले सडकमा पुगेका छन्। आमा बाको सम्पत्ति झुक्याएर लिएका छन्।
आफ्नै छोराछोरीको कारणले कैयौं आमा बुवा वृद्धाश्रममा पुगेका छन्। यतिको आनन्दले बाँच्न पाउनु भएको छ। छोरीसँग बुहारी दाँजेर घरमा कहल नगर्नूस्। कुरौटे बानीले छोरी र बुहारीको पनि सम्बन्ध बिग्रन्छ सक्छ। सोच्नु आमा! मेरो सासूआमा जस्तै राम्रो कुरा मात्र अरूलाई सुनाउनु। सकारात्मक काममा मनलाई लगाउनुस्।’ दुई हात जोडेर भनेँ।
‘नानी! भगवानले आज तपाईंसंग भेट गराएछन्। कस्ता राम्रा तरिकाले सम्झाएकी। कान्छी छोरी पनि यस्तै भन्छे। मेरा घैंटोमा घाम यतिका वर्ष लागेन। स्वर्गजस्तो घरलाई नर्क ठानेर बसें। यस्ती व्यवहारिक बुहारीलाई सुपर्नखा र पुतनासम्म भनेँ। तिम्रो जय होस्।
‘ए! साँच्चि तिमी ध्यान केन्द्रमा सासूलाई लिएर जान्छौ हैन? कुन बारमा हो त्यहाँ जाने? अबदेखि तिम्रो सासूलाई लिएर जाँदा मलाई पनि डाक है।’
‘हस् , आम! भोलि शनिबार छ एघार बजे मातातीर्थमा भेटौं अनि ध्यान केन्द्र जाऔंला।’
‘मेरो मन निकै उत्साहित भयो। सोच्दै ओरालो झरें। शिक्षा, वातावरण र सत्संगले व्यवहारमा असर पार्छ। आमा बरू एकचोटि सम्झाउँदा, परिवर्तनको लागि तयार हुनुभयो।। तर यहाँ कयौं घरमा शिक्षित सासू ससुराबाट बुहारीहरू प्रताडित भएका छन्।
कतै शिक्षित भनाउँदा छोराबुहारीले सासूससुरालाई जीवन मरणको अवस्थामा पुर्याएका छन्। खाँचो छ सकारात्मक चिन्तनको। खाँचो छ नैतिक शिक्षाको। आवश्यक छ सत्संग र ध्यानको। सबै सासू-ससुरा र छोराबुहारीलाई बुझ्न जरूरी छ। सेताेपाटी डटकमबाट
मकवानपुर । अनलाइनमा यौनशोषण बालअधिकार, साईबर अपराध लगायत बालसंरक्षणका विषयमा प्रहरीसँग अन्तरक्रिया गरिएकाे छ । सिविन नेपालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा मकवानपुर जिल्लाका अधिकृत स्तरका प्रहरीहरुसँग छलफल कार्यक्रम भएको हाे ।
बालबालिकाहरुलाई डर देखाउने र धम्क्याउन, यौन आशयका सन्देश पठाउने , बाल अश्लिनता, छलकपट, अनलाइन खेल तथा सञ्जालको लत, हाल घटिरहेको घटनाहरुको प्रकारहरु, बालसंरक्षण, विद्युदिय कारोवार ऐन २०६३, बालमैत्री सेवा प्रवाहमा नेपाल प्रहरी एवं बालहेल्पलाइन १०९८ को भूमिका विषयमा १ दिने अभिमुखिकरण कार्यक्रम गरिएकाे सिविन बालहेल्पलाइन मकवानपुरका मेनेजर झबिन्द्र ज्ञवालीले जानकारी दिए ।
कार्यक्रममा साईबर अपराध ब्यरो काठमाण्डौका डीएसपी दिपेश जोशीले सहजीकरण गरेका थिए । प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले साईबर अपराध र बालबालिका सम्बन्धी विषयमा प्रहरीहरुको लागि प्रशिक्षण हुनु राम्राे भएकाे बताए । मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले कार्यक्रमबाट सिकेका विषयहरुलाई बालबालिकासम्म पुर्याउने पर्ने विषय भएकाे बताए ।
कार्यक्रममा सिविन बालहेल्पलाइन मकवानपुरका मेनेजर ज्ञवालीले कार्यक्रममा बालबालिकाहरुलाई बालअधिकार, बाल संरक्षण, बालबालिकाहरुको उद्धार, परामर्श, बालबालिकाहरुको सन्र्दभमा कसरी बालहेल्पलाइन १०९८ र नेपाल प्रहरीसँग समन्वय गरि कार्य गर्दा प्रभावकारी हुन्छ भन्ने सन्दर्भमा सहजीकरण गरेका थिए ।
सिविन नेपालका अध्यक्ष माधव प्रधानको अध्यक्षता, जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा डीएसपी जयश्वर रिमाल, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्लाका सबै इलाका प्रहरी कार्यालयका, वडा प्रहरी कार्यालयका, प्रहरी चौकीका इन्चार्ज लगायतकाे सहभागीता रहेको थियाे ।