मकवानपुर । अनलाइनमा यौनशोषण बालअधिकार, साईबर अपराध लगायत बालसंरक्षणका विषयमा प्रहरीसँग अन्तरक्रिया गरिएकाे छ । सिविन नेपालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा मकवानपुर जिल्लाका अधिकृत स्तरका प्रहरीहरुसँग छलफल कार्यक्रम भएको हाे ।
बालबालिकाहरुलाई डर देखाउने र धम्क्याउन, यौन आशयका सन्देश पठाउने , बाल अश्लिनता, छलकपट, अनलाइन खेल तथा सञ्जालको लत, हाल घटिरहेको घटनाहरुको प्रकारहरु, बालसंरक्षण, विद्युदिय कारोवार ऐन २०६३, बालमैत्री सेवा प्रवाहमा नेपाल प्रहरी एवं बालहेल्पलाइन १०९८ को भूमिका विषयमा १ दिने अभिमुखिकरण कार्यक्रम गरिएकाे सिविन बालहेल्पलाइन मकवानपुरका मेनेजर झबिन्द्र ज्ञवालीले जानकारी दिए ।
कार्यक्रममा साईबर अपराध ब्यरो काठमाण्डौका डीएसपी दिपेश जोशीले सहजीकरण गरेका थिए । प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले साईबर अपराध र बालबालिका सम्बन्धी विषयमा प्रहरीहरुको लागि प्रशिक्षण हुनु राम्राे भएकाे बताए । मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले कार्यक्रमबाट सिकेका विषयहरुलाई बालबालिकासम्म पुर्याउने पर्ने विषय भएकाे बताए ।
कार्यक्रममा सिविन बालहेल्पलाइन मकवानपुरका मेनेजर ज्ञवालीले कार्यक्रममा बालबालिकाहरुलाई बालअधिकार, बाल संरक्षण, बालबालिकाहरुको उद्धार, परामर्श, बालबालिकाहरुको सन्र्दभमा कसरी बालहेल्पलाइन १०९८ र नेपाल प्रहरीसँग समन्वय गरि कार्य गर्दा प्रभावकारी हुन्छ भन्ने सन्दर्भमा सहजीकरण गरेका थिए ।
सिविन नेपालका अध्यक्ष माधव प्रधानको अध्यक्षता, जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा डीएसपी जयश्वर रिमाल, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्लाका सबै इलाका प्रहरी कार्यालयका, वडा प्रहरी कार्यालयका, प्रहरी चौकीका इन्चार्ज लगायतकाे सहभागीता रहेको थियाे ।

