मकवानपुर/राष्ट्रिय मानव अधिकार आयोगले सातै प्रदेशमा शुक्रबार र शनिबार मानव अधिकार रक्षकहरुको सम्मेलन गर्दैछ ।
मानव अधिकार रक्षकहरुको अवस्थामा विश्लेषण, चुनौतिमाथि बहस तथा समाधानको लागि सरकारलाई सुझाव पेश गर्ने उद्देश्यका साथ आयोगले सम्मेलन गर्न लागेको हो । विहीबार बागमती प्रदेशको राजधानी हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोगले यसबारे जानकारी गराएको हो ।
शुक्रबार विहान ९ बजे सातै प्रदेशमा एकै चोटी सम्मेलनको उद्घाटन गरिने आयोगका बागमती प्रदेश कार्यलयका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले बताए । अधिकारकर्मीहरुलाई सहज काम गर्ने अवस्था नभएको, सूचना दिंदा नै धम्की आउने क्रम नरोकिएकोले स्वतन्त्र पुर्वक काम गर्ने वातावरणको मागमा नै समय खर्चनु परेको अधिकारीले बताए ।
मावन अधिकारकर्मीहरुलाई चुनौती मोलेर काम गरे वापत आत्मा सम्मान समेत प्राप्त नभएको आयोगको सदस्य लिलि थापाले बताइन् । “मानव अधिकार रक्षकहरुलाई उनीहरुको योगदानको कदर, सुरक्षाको प्रत्याभुती त परको कुरा आत्मा सम्मान समेत छैन” सदस्य थापाले भनिन् ।
आयोगले रक्षकको अवस्था सबैभन्दा बढी चासो दिदै आएको र पहिलो पटक मानव अधिकार रक्षकहरूको प्रदेश सम्मेलन गर्न लागिएको अधिकारीले बताए । यो सम्मेलनले सबैभन्दा तल्लो तहमा मानव अधिकारको अवस्था बारे जानकारी अवगत गराउने र रक्षकको अवस्था के छ, चुनौती के छ भन्ने बारे बहस गर्ने उनले बताए । प्रदेश स्तरमा मानव रक्षकको अवस्था, आवश्यक संयन्त्र, चुनौती बहस हुने र सो सुझाव नेपाल सरकारलाई पेश गरिने सदस्य थापाले बताइन् ।
बागमती प्रदेशमा हुने सम्मेलनमा प्रदेशको १३ जिल्लाको ३० भन्दा बढी मानव अधिकार रक्षाको क्षेत्रमा कार्यरत संघसंस्थाका १ सय ३० प्रतिनिधिले सहभागिता जनाउने छन् । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेसम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

