मकवानपुर । हेटाैंडामा रहेकाे हिरण्य नेपालले बालबालिकाहरुमा हुने याैन दुर्व्यवहार विरुद्ध सचेतना कार्यक्रम गरेकाे छ ।
बालबालिकाहरुमा हुनसक्ने गलत छुवाइबाट कसरी बच्ने, संभावित दुर्व्यहारबाट कसरी बच्ने र दुर्व्यहार भइहालेमा त्यसकाे उजुरी कहाँ कसरी गर्ने, परिवार,विद्यालय,यात्रालगायतकाे स्थलमा सुरक्षित कसरी रहने भन्नेबारे प्रशिक्षण गराइएकाे हाे । उनीहरुलाई संस्थाकाे सचिव तथा मनाेविमर्षकर्ता एलिना ढुङ्गानाले प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा हेटाैंडा उपमहानगरपालिकाकाे १९ वटै वडाकाे वडा बालसञ्जालकाे अध्यक्ष/सचिवहरु, नगरस्तरीय बाल सञ्जालकाे अध्यक्ष/सचिवहरु र विभिन्न बाल गृहमा बस्दै आएका प्रतिनिधि बालिकाहरुकाे उपस्थिति रहेकाे थियाे । बालबालिकाहरुलाई नैतिक शिक्षा, बाल समूह तथा सञ्जाल सञ्चालनकाे क्रममा बैठक व्यवस्थापन,माइन्युट लेखन सिप बारे पनि कक्षा सञ्चालन गरिएकाे थियाे ।
यसै गरी बालबालिकाहरुलाई रिस व्यवस्थापन तथा तनाव व्यवस्थापनबारे पनि प्रशिक्षण गराइएकाे हिरण्य नेपालकाे अध्यक्ष कल्पना शर्माले बताइन् ।
प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्दै हेटाैडा उपमहानगरपालिका २ नम्बर वडा सदस्य तथा बालमैत्री सम्पर्क व्यक्ति सुरज बर्ताैलाले बालबालिकाहरुलाई हर क्षेत्रमा सुरक्षित राख्नकाे लागि आवश्यक पर्ने सिप, क्षमता विकास जस्ता कार्यमा सहकार्य गर्न स्थानीय सरकार तयार रहेकाे बताए । यसैगरी ग्रामीण असायह बालबालिका सामुदायिक पुनर्थापना केन्द्रका प्रमुख देपेन्द्र राईले विशेषगरी बालिकाहरुलाई आत्मारक्षाकाे सिप आवश्यक रहेकाे बताए ।
प्रशिक्षण कार्यक्रममा सरिता दाहाल, हार्दिका राउतले सहजिकरण गरेका थिए । कार्यक्रम ग्रामीण असायह बालबालिका सामुदायिक पुनर्थापना केन्द्रकाे आर्थिक सहयाेग तथा हिरण्य नेपालकाे आयाेजनामा भएकाे थियाे ।
मानव बेचविखनको रुप फेरियो, चुनौती उस्तै
Tags: No Comments
मकवानपुर । नेपालको संबिधान २०७२ मा मौलिक हक अन्तर्गत धारा २९ मा शोषण विरुद्धको हकको व्यवस्था गरिएको छ । जसमा “(१) प्रत्येक व्यक्तिलाई शोषण विरुद्धको हक हुनेछ, (२) धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन, (३) कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन, (४) कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन” भनिएको छ ।
तर मानव बेचविखनको स्वरुपमात्रै परिवर्तन भएको छ, अझै पनि चुनौती उस्तै छन् । मानव बेचबिखन तथा ओसारपसारलाई अनियमित बसाँइसराई, मानव तस्करी आदिबाट पृथक राख्ने गरेको पाइन्छ । बेचबिखन तथा ओसारपसारमा परेकाहरूलाई बल प्रयोग गरी वा त्रासमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्नहरूको माग पूरा गर्न बाध्य पारेको पाइन्छ ।
यस्तै चुनौतीहरु मुकाविला गर्दै मानव बेचविखन विरुद्ध सामूहिक ऐक्यवद्धता जनाएका छन् । माइती नेपाल मकवानपुरले ‘हाम्रो आवाजःमानव वेचविखनबाट मुक्त समाज’ भन्ने नाराका साथ मानव वेचविखन तथा ओसारपसार विरुद्ध यातायात व्यवसायी र होटेल व्यवसायीसंग अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो ऐक्यवद्धता जनाएका हुन् ।
शुक्रबार हेटौंडामा आयोजना गरिएको कार्यक्रममा पीडितलाई सांस्कृतिक, भाषिक रूपमा एक्ल्याई शारीरिक चुनौतिपूर्ण वातावरणमा राखिने, कानुनी पहिचान र न्यायमाथिको पहुँचबाट टाढा पु-याइने जस्ता चुनौतीबारे छलफल गरिएको थियो ।
पछिल्लो समय विदेशमा कामका प्रलोभनहरुमा पारेर बेचविखन हुने गरेको माइती नेपाल मकवानपुर प्रमुख माया तामाङ्ले बताइन् । फ्रि भिसा, फ्रि टिकेट, निःशुल्क बसोबासको व्यवस्था, निःशुल्क खानपानको व्यवस्थाको प्रलोभनमा पारेर डक्टर, नर्स, इन्जिनियर, टेक्निसियन, विद्यार्थी, कलाकार, व्यापारी, जो कोही पनि बेचिन सक्ने तामाङले बताइन् ।
देहव्यापार, मनोरञ्जनको क्षेत्रमा प्रयोग, अश्लिल सामाग्री निर्माणमा प्रयोग, दास जस्तै बनाएर काममा लगाउने, बालबालिकाको किनबेच, गैर कानूनी रुपमा धर्म सन्तानको रुपमा किनबेच, अनघिकृत रुपमा बालगृहमा ओसारपसार गर्ने र राख्ने, बालबालिकालाई उँट चालकको रुपमा प्रयोग, कानून बमोजिम बाहेक मानव अंग झिक्ने, बेच्ने, माग्ने बनाएर जस्ता रुपमा मानव बेचबिखन हुने गरेको उनले बताइन् ।
कार्यक्रममा आफ्नो टोलमा हुने घटना न्यूनीकरणको लागि आफूआफै पनि लागिपर्नु पर्ने हेटौंडा उपहानगरपालिका वडा नं. १० को वडा सदस्य गोमा सुनारले बताइन् । संस्थाले गर्ने जनचेतनामुलक काममा सहकार्य गर्नुपर्ने सुनारले बताइन् । विकाससंगै चेतनाको स्तर बढाउन जनप्रतिनिधिले ध्यान दिनुपर्ने उनले बताइन् ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा उपकेन्द्रको अध्यक्ष प्रदिप कडेलले प्रहरीसंगको सहकार्यमा बेचबिखन विरुद्ध अनरवत लागिरहेको बताए । कार्यक्रममा होटेल एशोसिशनको महासचिव हरिगोपाल सापकोटा, प्रहरी सहायक निरीक्षक अरुणकुमार सिंह, मानव बेचविखन तथा ओसारपसार विरुद्धको प्रदेश स्तरीय समितिको सदस्य प्रकाश खतिवडा, मानव अधिकार संगठनको अध्यक्ष सर्मिला श्रेष्ठ, हिमराइट्स मकवानपुरको कार्यक्रम संयोजक कुमारी वाइवा, साना हातहरु नेपालको स्टेशन म्यानेजर डिकम्बर रुपाचा, कोशिशको पैरवी अधिकृत सुनिरा लामा, अस्मिता नेपालको कार्यक्रम संयोजक शान्ती कार्की, नारी संरक्षण केन्द्रको अस्मिता प्रजा, मकवानपुर महिला समुहको कार्यक्रम अधिकृत निशा लामालगायतको उपस्थिति थियो ।
मकवानपुर । गैरकानूनी कार्य रोक्नको लागि कानून कार्यान्वयनको पाटोमा कसरत जरुरी भएको बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले बताएका छन् ।
नेपालमा केही वर्षसम्म गैरकानूनी कार्यलाई रोक्न कानुनकै अभाव थियो । कानूनमा नै समानता नभएको कारण बेचविखन जस्ता गैरकानूनी कार्यको कारण पीडितहरुको अवस्था नाजुक थियो । अहिले धेरै सवालमा कानून प्रभावकारी बनेको तर कार्यान्वयनको पाटा सशक्त नभएको सभामुख पाठकले बताएका हुन् ।
“पहिलो सजायको व्यवस्था नहुदा बेचबिखनको घटनाबढी थिए, अहिले कानुनी व्यवस्था राम्रो छ, प्रक्रिया स्वरुप परिवर्तन भएको छ, चुनौती बढेको छ, तर कानुनी व्यवस्था राम्रो भएकोले कार्यान्वयन पाटो दरिलो बनाउन पर्छ” पाठकले भने । अब महिला मात्रै हैन बालबालिका तथा मानव बेचिने घटना बढेकोले त्यसमा निगरानी आवश्यक भएको उनले बताए ।
गैर कानूनी कार्यम संलग्नहरु संगठित र संस्थागत रुपमै लागेकोले बेचबिखन गर्ने प्रयासलाई निस्जेत पार्नुपर्ने उनले बताए । बेचिएकाहरु विभिन्न रोगले संक्रमित भएर फर्केको अवस्थामा झन् सुरक्षा आवश्यक हुने उनले बताए । “राज्यले यस्तो बेला जसरी सम्बोधन गर्नुपर्ने हो,त्यो छैन, पुनस्थापना केन्द्र सांकेतिक छन् तर व्यवस्थित र राम्रा छैनन्, यिनिहरुलाई व्यवस्थित र राम्रो बनाइनु पर्छ” पाठकले भने ।
प्रदेशको कहाँ कहाँ कस्ता तरिकाले पुनस्थापना केन्द्रहरु सञ्चालित छन् त्यसको अनुगमन हुनुपर्ने उनले बताए । धेरैजसो पुनस्थापना केन्द्रहरु साधन स्रोत, जनशक्ति जस्ता समस्याबाट माथी उठ्न नसकेको उनले बताए ।
शनिबार मकवानपुरको हेटौंडामा महिला कानून र विकास मञ्चले आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार विरूद्धको प्रादेशिक कानुन विषयक छलफल कार्यक्रम पाठकले यस्तो बताएका हुन् ।
कार्यक्रममा महिला अधिकार तथा विकास मन्चको संस्थापक वरिष्ठ अधिवक्ता मिरा ढुड्डानाले समाज तथा परिवारमा एकले अर्कालाई सम्मान गर्ने संस्कारको विकास नभएकोले समस्या भएको बताइन् । नेपालको संविधानको धारा २० मा न्याय सम्बन्धी हकको उपधारा १० मा “असमर्थ पक्षलाई कानून बमोजिम निःशुल्क कानूनी सहायता पाउने हक हुनेछ“ भनिएको तर यो व्यवहारमा सहज भएको वरिष्ठ अधिवक्ता ढुङ्गानाले बताइन् ।
‘अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुर्नस्थापना, क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ’ भनिएको छ तर त्यसमा पनि विभेछ । पुरुष पीडित भएमा उनीहरुको लागि पनि पुर्नस्थापना केन्द्र चाहिन्छ, पुनस्थापना केन्द्रहरु महिलाको लागि मात्रै बनेका छन् । “कसैलाई पनि मानव बेचविखन गर्न, दास वा बाधा बनाउन पाइने छैन” भनेर संविधानले नै भनेको छ, त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूति पाउने हक हुनेछ यसलाई पनि सशक्त रुपमा कार्यान्वयनमा ल्याउन नसकिएको सहभागीहरुले बताए ।
धारा २८ मा “महिला विरुद्ध शरीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिसाजन्य कार्य वा शोषणा गरिने छैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ” पुरुषको सवालमा सम्बोधन गरिएको छैन । यस्ता विभिन्न त्रुटीलाई शंसोधन गर्नुपर्ने र पीडित महिला, पुरुष वा अन्य जो भए पनि न्यायमा पाउनु पर्ने सम्बोधन हुनुपर्ने वरिष्ठ अधिवक्ता ढुङ्गानाले बताइन् ।
संघीयताको कार्यान्वयनसँगै नेपाल सरकारले स्थापना गरेका पुर्नस्थापना केन्द्रलाई प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गर्न चाहेमा नेपाल सरकारले त्यस्ता केन्द्र प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न सक्नेछ भनिएको छ । आगामी दिनमा प्रदेश तथा स्थानीय सरकार मातहतमा यस्ता पुनस्थापना केन्द्रहरु ल्याउदा/सञ्चालन गरिदा विभेद नहुने गरी सञ्चालन गर्न सुझाव दिइएको थियो ।
कुनै संस्थाले तोकिए बमोजिम स्वीकृति लिई उपदफा पुनर्स्थापना केन्द्र स्थापना र सञ्चालन गर्न सक्ने प्रावधान अनुसार सरकारले त्यस्तो संस्था तथा संस्थाद्वारा स्थापित पुनर्स्थापना केन्द्रको नियमित र प्रभावकारी अनुगमन गर्नुपर्ने अधिवक्ता ढुङ्गानाले बताइन् ।
कार्यक्रममा अधिवक्ता रोजिना श्रेष्ठले पुनर्स्थापना कोषको बारेमा नेपालको कानुनले मौलिक हकको रुपमा सुनिश्चित गरेकोले प्रदेश सरकारलाई पनि दायित्व थपिएको बताइन् । यसैगरी बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखाका अधिकृत लक्ष्मण पुडासैनीले मन्त्रालयद्वारा निर्मित मानव बेचविखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेश स्तरीय संरक्षण नीति, २०८० बारे जानकारी गराएका थिए ।
प्रदेशमा जोखिम परिस्थितिमा रहेका व्यक्ति, विशेषगरी महिला तथा बालबालिकाको क्षेत्रमा भएका सुरक्षा एवं प्रगतीलाई विकासका प्रमुख सूचकको रुपमा लिइन्छ । विगतमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा गरिएका प्रयासबाट सफलता हासिल भएता पनि बेचबिखन तथा ओसारपसारको बदलिदो स्वरुपबाट समस्या भएको कार्यक्रममा छलफल गरिएको थियो ।
विशेषगरी महिला तथा बालबालिका अझै पनि यो अपराधको जोखिममा रहेका बागमती प्रदेशमा मानव बेचबिखन तथा ओसारपसार कार्यलाई अन्त्य गरी प्रदेशको मानव विकास सूचकाङ्कमा सुधार ल्याई समग्र विकासका लागि प्रभावकारी नीति तथा कार्यनीति मार्फत मानव बेचबिखन तथा ओसारपसार विरुद्धका कार्यलाई व्यवस्थित गर्नु जरुरी रहेको पृष्ठभुमिमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेश स्तरीय संरक्षण नीति, २०८० नीति बनाइएको शाखा अधिकृत पुडासैनीले बताए ।
नेपालको संविधानको धारा २९ ले प्रत्येक नागरिकलाई शोषण विरुद्धको हक प्रत्याभूत गरेको तथा धारा ३८ को महिलाको हक र धारा ३९ को बालबालिकाको हकको व्यवस्थाबाट मानव बेचबिखन तथा ओसारपसारको कार्यलाई निषेध गरिएको सन्दर्भमा प्रदेशमा मानव बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराध हुन नदिनु नीतिको ठम्याई रहेको उनले बताए छ ।
बेचबिखन तथा ओसारपसारबाट पीडितको उद्दार तथा संरक्षणलाई प्रभावकारी बनाउनु, न्यायमा पहुँच सुनिश्चित गर्नु, तथा पीडितको पारिवारिक एवं सामाजिक पुनर्मिलन/ पुनःस्थापना कार्यलाई सहज बनाउने प्रदेश सरकारको दायित्व रहेको पुडासैनीले बताए ।

संविधान प्रदत्त शोषणको उपभोग गर्ने परिवेश सुनिश्चित गर्नु जोखिममा रहेका समूह/समुदायको सामाजिक–आर्थिककरण गर्नु, निरोधात्मक अभियान मार्फत मानव बेचविखन तथा ओसारपसार न्यूनीकरण गर्नु मानव बेचविखन तथा ओसारपसारबाट पीडित तथा प्रभावितको उद्वार संरक्षण र न्यायमा पहुँचका सेवालाई प्रभावकारी बनाउनु पुनः विकास र विस्तारको समन्वय र सहकार्यम पुनएकीकरण मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।
यसैगरी कुशल व्यवस्थापन गर्नु, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र जनसहभागिता अभिवृद्धि गर्नु जस्ता उद्देश यो नीतिले ल्याइएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभाको विभिन्न समिति सभापतिहरु, सांसदहरु, जिल्लामा सक्रिय अधिकारकर्मीहरु र पत्रकारहरुको समेत उपस्थिती रहेको अधिवक्ता ललिता श्रेष्ठले बताइन् ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकाकाे अर्काे एक विद्यालय बालमैत्री स्थानीय शासनयुक्त विद्यालय घोषणा भएको छ । शुक्रबार हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माध्यामिक विद्यालय बालमैत्री स्थानीय शासनयुक्त विद्यालय घाेषणा गरिएकाे हाे ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले विद्यालयलाई बालमैत्री घोषणा गरेकी हुन् । यसअघि हेटौंडा उपमहानगरपालिकाका दुई वटा सामुदायिक र १ संस्थागत विद्यालय बालमैत्री घोषणा भएका थिए । सामुदायिक तर्फ हेटौंडा १६ मा रहेकाे जनप्रिय मावि, हेटौंडा–८ मा रहेकाे चन्द्रोदय मावि र संस्थागत तर्फ हेटौडा २ मा रहेकाे बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल बालमैत्री विद्यालय घोषणा भएका थिए ।
बालमैत्री विद्यालय घाेषणा कार्यक्रममा विद्यालयले वडा कार्यालय, बालमैत्री वडा सम्पर्क व्यक्ति, वडा सहजकर्ता, वडाका टोल विकास संस्था, आमा समूह, बाजा समूह, बाल समूहलाई कदरपत्र प्रदान गरेको छ । यस्तै विद्यालयका समाचार सम्प्रेण गरी बालमैत्री अभियानमा सहयाेग गरेकाे भन्दै पत्रकार सुरेश श्रेष्ठलाई सम्मान गरिएकाे थियाे ।
बालमैत्री विद्यालय घोषणा सभामा विद्यार्थीले नृत्यकला प्रस्तुत गरेका थिए । विद्यार्थीले विभिन्न शैक्षिक क्रियाकलाप, विज्ञान विषयको प्रदर्शनी समेत गरेका थिए । घोषणा अघि विद्यार्थी, शिक्षक,अभिभावकलगायतकाे सहभागितामा पञ्चेबाजासहित प्रभातफेरी आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयमा अध्यनरत १ देखि ८ कक्षा सम्मका बिद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिएको थियो ।
अमर बाल समुह अध्यक्ष विकल्प अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, १ नम्बर वडाध्यक्ष सविन न्यौपाने, १० नम्बर वडाध्यक्ष फुर्वा दोर्जे लामा, कार्यपालिका सदस्य इश्वरी रसाईली, वडा सदस्य मनु दाहाल, महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतम र प्रधानाध्यापक मालती उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । बालबालिकाहरुमा माइन्युट लेखन भाषण कला तथा असल संस्कार अभ्यास आवश्यक रहेकाे हेटाैडा उपमहानगरपालिका वडा २ काे सदस्य तथा बाल अधिकार सम्पर्क व्यक्ति सुरज बर्ताैलाले बताएका छन् ।
बालबालिकाहरुमा भाषण कलाकाे सिपले उनीहरुलाई विद्यालयस्तरमा हुने विभिन्न प्रतियाेगिताहरुमा अब्बल बनाउने, बैठक व्यवस्थापन, माइन्युट लेखनकाे अभ्यासले क्लब तथा संस्था सञ्चालनकाे सिप सेमत विकास हुने विश्वास उनले व्यक्त गरे ।
वडा कार्यालयकाे आर्थिक सहयाेग तथा साझ जगत मल्टीमिडियाकाे आयाेजनामा बाल समूहका सदस्यहरुकाे लागि भाषण कला, माइन्युट लेखन तथा असल संस्कार सम्बन्धी अभिमुखीकरण कार्यक्रमकाे उद्घाटन गर्दै बर्ताैलाले यस्ताे बताएका हुन् ।
उपमहानगरपालिका बालमैत्री स्थानीय शासन लागु भएकाे घाेषणाकाे तयारीमा रहंदै गर्दा बालबालिका लक्षित कार्यक्रमहरुमा स्थानीय सरकारले चासाे प्रकट गर्ने गरेकाे उनले बताए । उनीहरुलाई पारिवारीक तहमा असल संस्कारदेखि विद्यालय, बालसमूह तथा अन्यत्र सहभागिताकाे लागि पनि लक्षित सिपकाे विकासले नेतृत्वमा पुग्न सहज हुने बर्ताैलाले बताए । ‘अहिलेकाे समय भनेकाे हरेक सवालमा कडा प्रतिष्पर्धा छ, आफूमा सबै अब्बल हुनु आवश्यकमात्रै हैन अनिवार्य भएकाे छ,हामी चाहन्छाै हाम्राे वडाका बालबालिकाहरु अन्यत्रकाभन्दा अब्बल हाेउन् ’ बर्ताैलाले भने ।
यसैगरी वडा सदस्य इन्द्रप्रसाद रिजालले बालबालिकाहरुलाई शिक्षासँगै असल संस्कारकाे ज्ञान अनिवार्य भएकाे बताए । अभिभावकसँग कसरी, कस्ताे व्यवहार गर्ने, बालबालिकाहरुले आफ्नाे कर्तव्य कसरी पुरा गर्ने भन्ने सवाल पनि आवश्यक महसुस गरेर यस्ताे कार्यक्रममा राखिएकाे उनले बताए ।
हेटाैडा उपमहानगरपालिका वडा २ मा गठन भएका १९ वटा बाल समूहका ६१ जना सदस्यहरु सहभागी रहकाे कार्यक्रममा पत्रकारहरु आशिष दुलाल र सरिता दाहालले प्रशिक्षण दिएका थिए । कार्यक्रमपछी भाषण कलाकाे बारेमा आधारभूत सिप विकास भएकाे बालजागृति बाेर्डिङ स्कुलकी छात्रा देविना सञ्जेलले बताइन् । बाल क्बलकाे सचिवहरुकाे लागि माइन्युट लेखन सिप नहुदा समस्या खेप्दै आएकाे र आगामी दिनमा लेखन कार्यमा धेरै सुधार आउने बनस्खण्डि बाल समूहकी गरिमा भट्टराइले बताइन् ।

शनिबार हेटाैडाकाे सिद्धार्थ माविमा भएकाे कार्यक्रममा वडा २ का वडा सचिव रामप्रसाद गुरागाईं, वडाकाे बालमैत्री सहजकर्ता राहुल शर्मा, २ नम्वर वडा स्तरीय बाल सञ्जाल अध्यक्ष कृषाङ्गी अर्याल, उपाध्यक्ष भाेजराज सञ्जेल, बाल क्लबकाे संरक्षक अभिभावकहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।