मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकाकाे अर्काे एक विद्यालय बालमैत्री स्थानीय शासनयुक्त विद्यालय घोषणा भएको छ । शुक्रबार हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माध्यामिक विद्यालय बालमैत्री स्थानीय शासनयुक्त विद्यालय घाेषणा गरिएकाे हाे ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले विद्यालयलाई बालमैत्री घोषणा गरेकी हुन् । यसअघि हेटौंडा उपमहानगरपालिकाका दुई वटा सामुदायिक र १ संस्थागत विद्यालय बालमैत्री घोषणा भएका थिए । सामुदायिक तर्फ हेटौंडा १६ मा रहेकाे जनप्रिय मावि, हेटौंडा–८ मा रहेकाे चन्द्रोदय मावि र संस्थागत तर्फ हेटौडा २ मा रहेकाे बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल बालमैत्री विद्यालय घोषणा भएका थिए ।
बालमैत्री विद्यालय घाेषणा कार्यक्रममा विद्यालयले वडा कार्यालय, बालमैत्री वडा सम्पर्क व्यक्ति, वडा सहजकर्ता, वडाका टोल विकास संस्था, आमा समूह, बाजा समूह, बाल समूहलाई कदरपत्र प्रदान गरेको छ । यस्तै विद्यालयका समाचार सम्प्रेण गरी बालमैत्री अभियानमा सहयाेग गरेकाे भन्दै पत्रकार सुरेश श्रेष्ठलाई सम्मान गरिएकाे थियाे ।
बालमैत्री विद्यालय घोषणा सभामा विद्यार्थीले नृत्यकला प्रस्तुत गरेका थिए । विद्यार्थीले विभिन्न शैक्षिक क्रियाकलाप, विज्ञान विषयको प्रदर्शनी समेत गरेका थिए । घोषणा अघि विद्यार्थी, शिक्षक,अभिभावकलगायतकाे सहभागितामा पञ्चेबाजासहित प्रभातफेरी आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयमा अध्यनरत १ देखि ८ कक्षा सम्मका बिद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिएको थियो ।
अमर बाल समुह अध्यक्ष विकल्प अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, १ नम्बर वडाध्यक्ष सविन न्यौपाने, १० नम्बर वडाध्यक्ष फुर्वा दोर्जे लामा, कार्यपालिका सदस्य इश्वरी रसाईली, वडा सदस्य मनु दाहाल, महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतम र प्रधानाध्यापक मालती उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

