मकवानपुर । हेटाैडा उपमहानगरपालिका ९ नम्वर वडा कार्यालयकाे आयाेजनामा महिलाहरुमा हुने प्रजनन स्वास्थ रुग्णता सम्बन्धी समस्याको स्क्रीनिङ्ग शिविर भएकाे छ ।
शिविरबाट २६० जनाले सेवा प्राप्त गरेकाे वडा अध्यक्ष सुक्रराम केसीले बताए । नेपाल परिवार नियाेजनसंघ मकवानपुर शाखाकाे सहकार्यमा शिविर गरिएकाे थियाे । जसमा पाठेघर खस्ने समस्याको स्क्रीनिङ्ग रिङ्गप्रेशरी राख्ने, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर स्क्रीनिङ्ग र प्रेषण सेवा, यौनरोगको परिक्षण, परामर्श तथा उपचार सेवा, किशोर किशोरीका लागि यौन तथा प्रजनन् स्वास्थ्य सेवा, लामो अवधिको परिवार नियोजन सेवालगायतकाे सेवाहरु उपलब्ध गराइएकाे परिवार नियाेजन संघ शाखा प्रबन्धक ममता श्रेष्ठले बताइन् ।

शिविरबाट १३० जनाले निशुल्क औषधि सेवा लिएका थिए । लामसुरे शहरी स्वास्थ्य केन्द्रमा आयाेजना गरिएकाे शिविरमा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा स्पतालकाे डाक्टर ज्योती मुडवरी, शहरी स्वास्थ केन्द्र लामसुरेका इन्चार्ज प्रकाश श्रेष्ठ, स्वास्थकर्मी अनमी सरिता महत,अहेव अन्जिता रिमाललगायतकाे संलग्नतामा स्वास्थ्य जाँच गरिएकाे हाे ।
शिविरमा यसकाे ९ नम्वर वडाका जनप्रतिनिधिहरु, नेपाल परिवार नियाेजनसंघ केन्द्रीय सदस्य निगम श्रेष्ठ, मकवानपुर शाखा सभापति इश्वर पण्डित, वडा कार्यालयका कर्मचारीहरु समेतकाे संलग्नता रहेकाे थियाे । शिविर समापन गर्दै वडा अध्यक्ष केसीले वडावासीकाे स्वास्थ्य अधिकारकाे सम्मान गर्दै र उनीहरुकाे स्वास्थ्यप्रति सचेत हुँदै शिविर राखिएकाे बताए । शिविर समापनपछी स्वास्थ्यकर्मीहरुकाे समूहलाई मायाकाे चिनाे वितरण गरिएकाे बालमैत्री वडा सहजकर्ता आशिष खतिवडाले बताए ।

