मकवानपुर । बागमती प्रदेशको स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय जुनसुकै विपदमा पनि जनताको सुरक्षाका लागि तत्पर रहेको बताएका छन् । शुक्रबार २० औं विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा भएकाे कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाको सहकार्यमा गरिएको कार्यक्रममा स्वास्थ्य मन्त्री श्रेष्ठले धेरै पटक रगत दिएर सहयोग पुर्याएको भन्दै रक्तदाता र संघसंस्थालाई सम्मान व्यक्त गरे । हरेक विपदमा आई पर्ने समस्यामा स्वास्थ्य मन्त्रालयले यस्तै प्रकारका कार्यको योजना बनाई १३ वटै जिल्लामा कार्यक्रम गरी अघि बढ्ने उनले जानकारी दिए । वर्षायाम शुरु भएसंगै जनधनको क्षति हुन सक्ने भन्दै मन्त्री श्रेष्ठले सुरक्षित रहन समेत आग्रह गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र मकवानपुरले रक्तदान गरि मानवीय कार्यमा सहयोग पुर्याएको भन्दै १ सय ५१ संस्था तथा व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको थियो ।
यसैगरी दिवसको अवसरमा हेटौंडामा शुक्रबार बिहान रक्तदान कार्यक्रम गरिएकाे छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, रक्तसञ्चार केन्द्र हेटौंडा र नेपाल स्वयम्सेवी रक्तदाता समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । ४ जना महिला र ३४ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएकाे छ ।
नेपाल रेडक्रस मकवानपुरका लाल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका दिपक तिवारी,सशस्त्र प्रहरी वल १४ नं गण मकवानपुरका ज्ञान प्रसाद भुर्तेल,जनस्वास्थ्य कार्यालय मकवानपुर प्रमुख राजेन्द्रप्रसाद यादव, नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

