मकवानपुर । बागमती प्रदेशमा कृषि क्षेत्रबाट उत्पादन गरेको सवै वस्तु ६६ दशमलव ४ प्रतिशत कृषकले घरायसी उपभोगमा खर्च गर्ने गरेका छन् । कृषि पेशबाट प्राप्त हुने केही कृषि उपच बिक्री गर्ने २५ प्रतिशत रहेकाे एक तथ्याङ्कले देखाएकाे छ । यस्तै केही घरायसी प्रयाेजनकाे लागि राख्ने बाँकी सबै बिक्री गर्ने ७ दशमलव ४ प्रतिशत रहेका छन् भने कृषिबाट उत्पादिन सबै वस्तु बिक्री गर्ने शुन्य दशमलव ९ प्रतिशत रहेका छन् ।
हेटाैडामा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा बामगमती प्रदेशमा करिव ५६ प्रतिशत परिवार कृषि आम्दानीले खान नपुग्ने रहेका छन् । तथ्याङ्क अनुसार प्रदेशमा कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान नपुग्ने परिवार ५५ दशमलव ९ प्रतिशत रहेकाे देखिन्छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले प्रदेशमा कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने ४४ दशमलव १ प्रतिशतमात्र रहेकाे देखाएकाे छ ।
कृषि गणना, २०७८ काे प्रतिवेदनमा उल्लेखित तथ्याङ्क समेटिएकाे छ । नेपाल राज्यभर भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्की बताउँछन । बागमतीमा ७२ दशमलव ६ प्रतिशत परिवारकाे आम्दानीको मुख्य स्रोत कृषि रहेको छ ।
तथ्याङ्क अनुसार कृषिमा पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पाओरट्रिलर प्रयोग गर्नेको संख्यामा बृद्धि भएको छ । तर पनि कृषि पेशालाई प्रमुख पेशकाे रुपमा अपनाउन नसकेकाे तथा झारा टराइ खेती लगाउने प्रचलन बढेकाेले कृषि पेशमा आश्रीत परिवार घट्दै गएकाे देखिन्छ ।
यसैगरी बागमतीमा १४ दशमलव ८ प्रतिशत फलामे हलो, ३० दशमलव ८ प्रतिशत ट्रयाक्टर र १६ दशमलव ७ प्रतिशत पाओरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले जानकारी दिए । तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा बृद्धि भएकाे तथ्याङ्कले देखाएकाे छ । तर बाली सघनता भने घटेकाे छ । वर्षमा २ पटक भन्दा बढी बाली लगाउन सकिने अवस्थमामा दाहाेर्याए बाली लगाउने चलन प्रायः हराउन थालेकाेले वर्षमा बढीमा बाली २ पटक मात्रै लगाएको देखिन्छ । बागमती प्रदेशमा १५ लाख ७० हजार भन्दा घरपरिवार संख्या रहेकाेमा ६ लाख ६८ हजार १ सय ७७ कृषक परिवार रहेको निर्देशक कार्कीले बताए ।
उनका अनुसार प्रदेशमा २ लाख ८२ हजार २ सय ९२ हेक्टर जमिन कृषि चलनमा प्रयोग भएको छ । नेपालमा सरदर १ दशमलव ९१ प्रतिशत बाली सघनता रहेता पनि प्रदेशमा भने २ पटक सम्म बाली लगाएको पाइएको कार्की बताउँछन् । प्रदेशमा बगैँचाको रुपमा आँप ५ सय ३२ हेक्टरमा, केरा १ हजार १ सय २० हेक्टरमा, सुन्तला ६ सय ८८ हेक्टरमा, कागती ४ सय ६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको उनले बताए ।
त्यस्तै, प्रदेशमा गाईगोरुको पालन घट्दो छ । २०६८ को गणना अनुरुप घट्दै गइरहेको देखिन्छ । गाईगोरु र राँगाभैसी भन्दा खसीबाख्रा र संगुरबंगुरको संख्या भने धेरै बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा पछिल्लो समय कृषकमा महिलाको संख्या भने बढ्दो क्रममा रहेकाे छ । विगत तीन दशक देखिको तथ्याङ्कले समेत महिला कृषकको संख्यामा बृद्धिभएको निर्देशक कार्कीले जानकारी दिए ।
नेपालमा ३२ दशमलव ४ प्रतिशत महिला कृषकको रुपमा रहेका छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रुपमा महिला ३७ दशमलव २ प्रतिशत र पुरुष ६५ दशमलव ८ प्रतिशत रहेका छन् । २०५८ को गणनामा महिला ८ दशमलव १ प्रतिशत र पुरुष ९१ दशमलव ९ प्रतिशत कृषक थिए । युवा जनशक्ति पुरुष पढ्न तथा कामकाे शीलशीलामा विदेसिएकाले समेत कृषीमा महिलाकाे सहभागिता बढ्दै गएकाे अनुमान गरिएकाे छ ।
यसैगरी बागमतीमा ४८ प्रतिशत कृषकले सिँचाईको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यको लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवं आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल र उन्नत वीउबीजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शुन्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको बताइएकाे छ ।
पानामाकाे कारण घाटा जोखिममा केरा व्यवसाय
Tags: No Comments
मकवानपुर । घर खर्चको सामान्य जोहो केरा विक्रीबाट गर्दै आएकी मकवानपुरगढी गाउँपालिका ५ कि रञ्जु न्यौपानेलाई अहिले केरामा पाग्ने पानामा रोगको भयले सताएको छ । “व्यसायिक रुपमा केरा खेती त हैन, तर केराबाट सामान्य घरखर्च चल्ने गरेको कारण त्यै पनि गुम्ने डर छ” उनले भनिन् ।
उनी व्यवसायिक पुशपालक किसान हुन् । केराको आम्दानीले पशुबाट भएको आम्दानी बचत हुने गरेको उनले बताइन् । पशुमा लाग्ने लम्पी स्किन प्रकोप नियमन्त्रणको पहल चलिरहदा फेरी फलफूलतर्फ अर्को प्रकोप देखा परेको छ । केरामा लाग्ने पानामा रोगको कारण व्यवसायिक केरा खेती गर्दै आएका किसानहरुलाई समस्या पर्ने देखिन्छ । तर क्षेतिको विवरण प्राप्त भइनसकेको प्रदेशको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ ।
एक महिना अघि नेपालमा पहिलो पटक केरामा लाग्ने पानामा रोग भेटिएको दाबि गरिएको थियो । केरामा पानामा रोग (टिआर–४) फेला परेपछि मन्त्रालयले सचेतताको लागि आवश्यक तयारी भने थालेको छ । नेपालमा कैलालीको टीकापुर क्षेत्रमा पहिलो पटक यो रोग फेला परेको पुष्टि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गरेको छ ।
एक महिना अगाडि नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले पत्रकार सम्मेलन गरी रोगबारे जानकारी गराएको थियो । अहिले यसको संक्रमण विभिन्न जिल्लाहरुमा फैलिदो अवस्थामा रहेको भन्दै सचेतना अभियान सुरु गरिएको छ । रोग प्रसारित नहोस् भनेर व्यवसायिक किसानहरुलाई गोष्ठि तथा जनचेतनाको कार्यक्रम सुरु गरेको प्रदेशको कृषि तथा पशुपंन्छि विकास मन्त्रालयले जनाएको छ ।
“पानामा रोग केराका लागि निकै खतरनाक मानिन्छ” बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि विज्ञ तथा सूचना अधिकारी अनुप अधिकारीले भने “यस अघि नेपालमा टिआर–१ मात्र फेला परेको थियो । पानामा माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै सर्न सक्ने र किसान, व्यापारी तथा अन्य सरोकारवाला सचेत रहनुपर्ने कृषि विज्ञ अधिकारीले बताए । चितवनको रैथाने जातको रुपमा रहेको मालभोग जातको केरामा पानामा रोग देखिन थालेको छ । उक्त रोगका कारण किसानले केराको प्रजाति नै परिवर्तन गर्न शुरु गरेका छन् ।
पानामा रोगको संक्रमणबारे चर्चा हुन थालेपछि आफ्नो तर्फबाट सचत भएको तर स्थानीय सरकारले हासम्म कुनै कार्यक्रम र सहयोग नगरेको चितवन जिल्ला रत्ननगर नगरपालिका–१२ का ठाकुर सापकोटाले बताए । उनले झण्डै २८ बिघा जमिनमा केराखेती गर्दै आएका छन् । दश वर्षदेखि केराखेती गर्दै आएका उनीलाई २०७८ सालमा पनि मालभोग केरामा लागेको रोगले घाटा व्यहोरेका थिए । अहिले चितवनका अधिकांश केरा किसान आफ्नो केराखेतीमा देखिएको पानामा रोगका कारण चिन्तित भएका छन् । केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खापर्ने समस्या देखिएको छ । रत्ननगर–१२ का किसान नारायणदत्त पन्त पनि केरा व्यवसायबाट घाटा हुने भयले ग्रस्त छन् उनले करीब पाँच बिघा जमिनमा केराखेती गरेका छन् ।
यस्तो छ प्रदेश सरकारको योजना ?
बागमती प्रदेशमा सबैभन्दा बढी केरा खेती चितवन जिल्लामा छ । प्रदेश मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार बागमती प्रदेश भर ४ हजार हेक्टर जमिनमा केरा खेती गरिएको छ । जसमध्ये चितवन जिल्लामा मात्रै ३ हजार हेक्टर जमिनमा केरा खेती गरिएको छ । पानामा रोगको संक्रमण पुष्टि हुन साथ प्रदेशको कृषि मन्त्रालय र निर्देशनालयले फिल्ड भिजिट गरेर आवश्यक जनचेतनाको कार्यक्रम गरेको छ । “विशेष गरी व्यवसायिक रुपमा केराको खेती भएको फिल्डको निरीक्षण ग-यौ” मन्त्रालयका कृषि विज्ञ अधिकारीले भने “फिल्डको निरीक्षणपछि छलफल ग-यौ, रोगबाट बाली सुरक्षित गर्नको लागि अपनाउनु पर्ने उपायहरु जानकारी गराउन प्राविधिक सल्लाह फिल्डमै गएर दिएका छौ ।” अधिकारी भन्छन् “धेरै हदसम्म त व्यवसायि आफैं पनि जानकार रहनुभएको र सचेत रहेको हामीले पायौं, उहाँहरु नै विज्ञ हुनुहुन्छ ।”
सरकारको तर्फबाट निर्देशनालमार्फत अनुगमन गरिको उनले बाताए । यसैगरी अधिकारीका अनुसार संघीय सरकारको तर्फबाट प्राविधिक टोली गठन भएको छ । यो टालीले केरामा लागेको यो संक्रमणबारे अनुगमन र निराकरणको उपाय खोज गर्दछ, प्रदेश सरकारको पनि यसका सहयोग र समन्वय हुने उनले बताए ।
सचेतता अपनाउँदा अपनाउँदै पनि क्षति भएमा किसानलाई राहत दिने कार्यक्रम पनि प्रदेश सरकारसँग रहेको उनले बताए । संघीय सरकारले सम्बोधन नगरेमा प्रदेश सरकारले क्षतिपुर्तिको व्यवस्था गर्नेछ” अधिकारीले भने । मन्त्रालयमा कृषिक्षत्रको क्षतिपुर्तिमा राहत दिनकै लागि ५ करोड बजेट विनियोजन गरिएको छ । यो बजेट फलफूलको लागि मात्रै नभएर समग्र कृषि पशुपंक्षि सबैको लागि हो । अघिल्लो वर्षको स्वीकृत कार्यविधि अनुसार फलफूल बालिको हकमा प्रतिहेक्टर ३० हजार रुपियाँ एकमुष्ट राहत दिने व्यवस्था छ ।

यसमा केही परिमार्जन गर्नुपर्ने आवश्यक भएको उनले बताए । किसानले क्षति भए बराबरकै रकम नभए पनि केही राहत हुने उनले बताए । “पहिले त बाली बचाउन कै लागि हाम्रो प्रयास रहन्छ, र क्षति भैहालेमा राहतको थोरै व्यवस्था छ” अधिकारीले भने । देशलाइ केरामा आत्मानिर्भर बनाउने हो भने तीनै तहको सरकारले यस्ता व्यवसायिहरुलाई आइपर्ने समस्यामा सहयोग गर्नुपर्ने उनले बताए ।
के हो पानामा रोग ?
केरामा लाग्ने पानामा रोगको कारक फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सि ढुसीको एक अत्यन्त खतरनाक प्रजाति ट्रोपिकल रेस ४ (टि आर ४) रोग हो । नेपालका कैलाली जिल्लाको टिकापुरमा २०८० साल श्रावण महिनामा अवलोकन गरिएका नौ वटा केरा बगैंचा मध्ये ४ वटा बगैचामा ४ देखि ५० प्रतिशतसम्म विरुवामा पानामा रोगको संक्रमण देखिएको थियो । ट्रोपिकल रेस ४ (टि आर ४), फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सि ढुसीको पछिल्लो प्रजाती हो ।
फ्युज्यारियम ढुसीका कारण केरा बिरुवा ओइलाउने “पानामा रोग “लाग्दछ । यस रोगको कारक ढुसी माटोमा पाइने भएकाले माटोलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने जुनसुकै वस्तुवाट यो रोग फैलिन मदत मिल्दछ । हालसम्म यो रोग व्यवस्थापनका लागि कुनै पनि विधिहरु प्रभावकारी नभएको अवस्था भएकोले केरा बगानमा प्रयोग भएका सम्पुर्ण सामाग्रीहरुलाई निर्मुलीकरण गरेर नै रोगलाई एक ठाउँबाट अर्को ठाउँमा फैलनबाट रोक्न सकिन्छ ।
पानामा रोग लागेको कसरी थाहा पाउने ?
पानामा (टिआर–४) ले खास गरी जिनाइन, विलियम हाइब्रिडलगायत धेरै जसो केराका जातमा आक्रमण गर्ने गर्छ । यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुने, त्यसपछि पातको किनारा पहेँलिन थाल्ने र पात सुकेर डाँठ भाँचिने गर्छ । केराको थाम चिरेर भित्र हेर्दा खैरो गानाबाट माथिसम्म फैलिएको देखिन्छ ।
त्यसका जराहरू काला हुन्छन्, सड्छन् र बिस्तारै केराको बोट नै ढल्ने गर्छ । यो ढुसीका चार वटा रेस (प्रजाति) हुन्छन् । तीमध्ये रेस २ र ३ जंगली जातको केरामा लाग्ने कृषि विज्ञहरुको भनाइन छ । यो रोग फ्युजारियम अक्सिस्पोरियम क्युवेन्सिको नामक दुसीबाट लाग्दछ। यो रोगको ढुसीले आक्रमण गरेको चारदेखि पाँच महिनापछि बिरुवामा लक्षण देखाउँछ । रोग सङ्क्रमित बिरुवा रोपण गरेमा रोग लागेको दुई महिनाभित्र लक्षण देखिन सक्छ । एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलने गर्दछ ।
यो ढुसी प्रतिकुल वातावरणिय अवस्थामा कडा विजाणु (क्यालमाइडोस्पोर) को रुपमा सुसुप्त अवस्थामा माटोमा ३० वर्ष भन्दा बढि समयसम्म पनि बाँचिरहन सक्छ ।
केराको थामहरु फुट्न थाल्छन विरुवा मर्नुभन्दा पहिला जराबाट धेरै नयाँ पालुवाहरु आउन थाल्छन् । रोगको प्रकोप बढि भएको अवस्थामा केरामा फल लाग्दैन, लागी हाले पनि कोसाहरु साना हुन्छन् ।
रोगको ढुसी हुरी, उच्च बर्षात्, बाढि, र सिंचाईको श्रोत वा कुलो बाट पनि सर्न सक्दछन् । कतै कतै त पानामा रोगको ढुसी खपटे किराहरु, केराको थाममा लाग्ने घुन, तथा गवाँरोको मध्यमबाट समेत सर्न सक्ने देखिएको छ ।
कसरी बचाउँने ?
पानामा सङ्क्रमित माटो, पानी र औंजारहरु नै यो रोग विस्तारका प्रमुख श्रोत हुन् । पानामा रोगको संक्रमणबाट बच्न निम्न कार्य गर्न बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडा, मकवानपुरले सूचना मार्फत प्रचार प्रसार गरेको छ ।
– यो रोग माटो, पानी, कृषि औजार, उपकरण र रोग संक्रमित बिरुवा एवम विरुवाजन्य वस्तुहरुवाट फैलन सक्ने भएकोले शंकास्पद केरा बगैंचामा जादा जुत्ता, चप्पललाई सुज कवर वा प्लाष्टिकले ढाकेर मात्र जाने र केरा बगैचाबाट निस्कनु पूर्व गहिरो खाडलमा गाड्ने वा सुरक्षित साथ जलाएर नष्ट गर्ने ।
– संक्रमित बगैचाबाट केराका विरुवा तथा विरुवाजन्य उपजहरू जथाभावी अन्यत्र नलैजाने ।
– तन्तु प्रजनन तरिकाबाट उत्पादित रोग रहित स्वस्थ बिरुवा मात्र रोपण गर्ने ।
– केरा बगैचामा प्रयोग हुने औजार, उपकरणलाई १ प्रतिशत सोडियम हाइपोक्लोराइड वा १० प्रतिशत ब्लिच (९०० एम एल पानीमा १०० एम एल ब्लिच) मा उपचार गरेर मात्र अकी फिल्डमा प्रयोग गर्ने ।
– केरा तथा केराका बिरुवा तथा बिरुवाजन्य वस्तुहरू ओसारपसारगर्ने दुवानीको साधनहरू शंकास्पद बगैचाभित्र प्रवेश गर्न नदिने ।
– रोग ग्रसित बगैचामा प्रवेश निषेध गर्न साइन बोर्ड टाँस्ने, रोग संक्रमित बिरुवालाई रातो रिवन वा ट्यागले छुटयाउने र सो क्षेत्रमा मानिस र जनावारको प्रवेश निषेध गर्ने ।
– बगैचालाई झारपात र केराका रोगी, सुकेका र झरेका पातपतिङ्गरबाट मुक्त राख्ने, थोपा सिँचाई प्रविधि अवलम्बन गर्ने ।
– रोग संक्रमित बगैचावाट अन्य बगैचाबाट पानी बग्न नदिने, भारतीय नाकाबाट भित्रीने केराको काइयो वा हत्ता बाहेक अन्य कुनै पनि भाग भित्रन नदिने ।
– केरा व्यवसायीले केरा बोक्ने गाडीको चक्का सफा पानीले धोई १० प्रतिशत ब्लिचले निसंक्रमण उपचार गरेपछि मात्र भित्रिन दिने
– केरा बगैचामा रोगको लक्षण देख्ने वित्तिकै स्वस्थ र रोग ग्रसित सबै विरुवामा ढुसीनासक विषादी कावेन्डाजिम ५० प्रतिशत डब्युपी (wp) को १ देखि ३ ग्राम प्रतिलिटर पानीमा मिसाई तयार गरिएको झोल जराको वरिपरि ३ देखि ५ लिटर प्रति बोटका दरले जरा भिज्ने गरी १५/१५ दिनको अन्तरालमा ५ पटक ड्रेनचिङ गर्ने ।
यसका साथै केरा बोक्ने गाडीको टायर, जुत्ता, चप्पलमा टाँसिएको माटोमार्फत एक खेतबाट अर्को खेतमा रोगको सङ्क्रमण सर्ने सम्भावना रहेकाले औजार र स्वास्थ्य सुरक्षामा बिशेष ध्यान दिनु पर्ने अधिकारीले बताए ।
यसैगरी केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै सवारीको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि प्रवेश दिनेगराउन तर्फ सम्बन्धित निकायले ध्यान दिनु जरुरी भएको विज्ञहरुको सल्लाह छ ।
व्यवस्थापनमा ध्यान दिन्नु पर्ने कुराहरु
यो रोग माटो, पानी, कृषि औजार, उपकरण, र रोग संक्रमित बिरुवा एवं बिरुवाजन्य वस्तुहरुबाट फैलन सक्ने भएकाले संकास्पद केरा बगैचामा जाँदा जुत्ता चप्पललाई सुज कभर वा प्लास्टिकले ढाकेर मात्र जाने र केरा बगैचावाट निस्कनु पूर्व गहिरो खाडलमा गाड्ने वा सुरक्षित साथ जलाएर नष्ट गर्ने तथा संक्रमित बगैंचावाट केराका विरुवा तथा विरुवाजन्य उपजहरु जथाभावी अन्यत्र नलैजाने गर्नुपर्छ ।
यसैगरी तन्तु प्रजनन् प्रविधिबाट उत्पादित रोग मुक्त स्वस्थ बिरुवा मात्र रोपण गर्ने, केरा बगैचामा प्रयोग हुने औजार, उपकरणलाई १ प्रतिशत सोडियम हाईपोक्लोराइट वा १० प्रतिशत ब्लिच (९०० एम एल पानीमा १०० एम एल व्लिच) मा उपचार गरेर मात्र अर्को फिल्डमा प्रयोग गर्ने, केरा तथा केराका बिरुवा तथा बिरुवाजन्य वस्तुहरु ओसारपसार गर्ने ढुवानीको साधनहरु शंकास्पद बगैंचाभित्र प्रवेश गर्न नदिने,रोग ग्रसित बगैंचामा प्रवेश निषेध गर्न साईन बोर्ड टाँस्ने, रोग संक्रमित विरुवालाई रातो रिवन वा ट्यागले छुट्याउनु पर्दछ । सो क्षेत्रमा मानिस र जनावरको प्रवेशलाइ निषेध गर्नु पर्दछ ।
पानामा रोगलागेको केराको बोटमा फलेको फल खाँदा मानव स्वास्थमा भने कुनै नकरात्मक असर पर्दैन । पानामा रोग लागेको खेतमा काम गर्ने कामदारको स्वस्थ्यमा पनि टि आर ४ को कारण कुनै असर गर्दैन ।
बगैंचामा रोगको लक्षण देख्ने वित्तिकै स्वस्थ र रोग ग्रसित सवै विरुवामा ढुसीनासक विषादी कावेन्डाजिम ५०% डब्युएल (WL) प्रतिलिटर पानीमा १ देखि ३ ग्राम मिसाई झोल तैयार गर्ने,यसरी तैयार पारिएको मिश्रण बिरुवाको वरिपरि ३ देखि ५ लिटर प्रति बोटका दरले १५ दिनको अन्तरालमा ५ पटक जरा भिज्ने गरी ड्रेन्चिंग गर्ने, बगैंचालाई झारपात र केराका रोगी, सुकेका र झरेका पातपतिंगरबाट मुक्त राख्नु पर्दछ ।

थोपा सिंचाई प्रविधि अवलम्बन गर्नु उपयुक्त हुन्छ । रोग संक्रमित बगैंचाबाट अन्य बगैंचामा पानी बग्न दिनु हुँदैन । भारतिय नाकावाट भित्रिने केराको काइयो वा हत्ता वाहेक अन्य कुनैपनि भाग भित्रिन नदिने,व्यवसायीले केरा वोक्ने गाडीको चक्का सफा पानीले धोइ १० प्रतिशत व्लिचले निसंक्रमण उपचार गरेपछि मात्र भित्रिन दिने, सोहि प्रकृयाबाट गाडीका चालक, सहचालकलगायतका कामदारहरुले जुत्ता चप्पल निसंक्रमण गर्ने जस्ता कुरामा ध्यान दिनुपर्छ ।
इतिहास यस्तो छ
भारतमा सन् २०१५ मा यो रोग देखिए थियो । नेपालमा भने यो संक्रमण पहिलो पटक देखिएको बताइएको छ । करिब १४ वर्ष अघि नेपालमा पानामा रोगको रेस–१ भारतबाट भित्रिएको अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बागमती प्रदेशको चितवन जिल्लामा यो रोग सात वर्षअघि पनि व्यापकरूपमा फैलिएको थियो । “रेस–१ ले मालभोगलगायतका स्थानीय जातलाई निकै नोक्सान पु-याएको थियो ।
नयाँ जात जि–नाइन, विलयम हाइब्रिड, चिनयाँ चम्पालगायत जातले रेस–१ लाई पूर्णतया सहन सक्ने तर “नयाँ प्रजाति पानामा (टिआर–४) ले भने नेपालमा खेतीका लागि उपलब्ध सबै केराका जातलाई पूर्णतया नष्ट गर्नसक्ने क्षमता राख्ने अनुसन्धानबाट पत्ता लागेको दाबि गरिएको छ ।
यसैबीच नेपालको भैरहवा भन्सार नाका भारतीय केरा आयात गर्ने मुख्य भन्सारको रुपमा रहेकोमा यस नाको हुँदै भारतका अधिकांश स्थानबाट केरा नेपाल आयात गर्न रोक लगाइएको छ । आव २०७९/८० मा भैरहवा भन्सार हुँदै एक अर्ब पाँच करोड ९७ लाख ३३ हजार मूल्य बराबरको ३७ हजार ६ सय ३८ मेट्रिक टन केरा आयात भएकोमा थियो । चालु आवको भदौ महिनाभित्र १९ करोड ४६ लाख ३५ हजार मूल्य बराबरको ४ हजार ६ सय १९ मेट्रिक टन केरा आयात भएको छ ।
तस्बिर साैजन्य: अनुप अधिकारी (कृषि तथा पशुपन्छि विकास मन्त्रालय बागमती प्रदेश), फेन्चु लामा (युवा कृषि उद्यमी)
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा माइती नेपालले एकीकृत कृषि फार्म निर्माण गर्ने भएकाे छ । माइती नेपालले निर्माण र संचालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मंगलबार शिलान्यास गरिएकाे छ । माइती नेपालले द कोकाकोला फाउण्डेशनसँगको सहकार्यमा निर्माण गर्ने कृषि फार्म तथा तालिम भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मकवानपुरको गढीगाउँपालिका ५ सानोसुकौरामा शिलान्यास गरेका छन् ।
मुख्यमन्त्री जम्कट्टेलले एकीकृत कृषि परियोजनाले मानव बेचबिखन रोकथाम र महिला अधिकार प्रबर्द्धन ग्रामीण, कृषि र आर्थिक विकासमा सहयोग पु¥याउने भएकाले प्रदेश सरकारले समेत सहयोग गर्ने बताए । ‘बामगती प्रदेश सरकारले लगानीबाट लक्षित वर्ग र समुदायमा उपलब्धी पुग्ने गरी काम गरिरहेको छ’ उनले भने ।
बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले कृषि तथा पशुपालन सम्बन्धी तालिमसँगै महिलाहरुलाई आयआर्जनमा जोड्ने योजना धेरै राम्रो रहेकोले आवश्यक सहयोग गर्ने बताइन् । नेपाली काँग्रेस बागमती प्रदेश सभापती एवं प्रदेश सांसद ईन्द्रबहादुर बाँनियाले जिवनसँग संघर्ष गरिरहेका दिदीबहिनीहरुलाई सीपसँग जोडेर काम गर्ने उदेश्य लिएकाेले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई जग्गा उपलब्ध गराईएको बताए ।
माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रले एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर महिलाहरुलाई आर्थिक रूपमा सशक्तिकरण गर्ने बताइन् । ‘पहिले तालिम पछि मेसिन (सिलाई) दिएर पठाउँथे, अब उहाँहरुलाई गाई, भैंसी, बाख्रा दिएर पठाउँछौं,’ काेइरालाले भनिन्, ‘तालिम लिएपछि दिदीबहिनीहरुले दुध कहाँ लाने भनेर चिन्तै लिनु पर्दैन, हाम्ले नै किन्छौ र दुग्धजन्य पदार्थ बनाउँछौं ।’
१८–१९ बर्ष पहिलेदेखी महिलालाई बैदेशिक रोजगारमा जान विरोध गरिरहेको बाताउँदै काेइरालाले भनिन् ‘अहिले बैदेशिक रोजगार टाउँको दुःखाई भईरहेको छ ।’ कृषि फार्म तथा तालिम केन्द्र संचालनबाट चेलिबेटी बेचबिखन र बैदेशिक रोजगारीको रोकथाम हुने दाबी गर्दै बागमती प्रदेशकी पूर्व प्रदेश प्रमुख समेत रहनु भएकी कोईरालाले बैदेशिक रोजगारीमा ऐस, आराम नहुने, बैदेशिक रोजगारको नाममा चरम ठगी, शोषण र अत्याचार भईरहेकाले युवापुस्तालाई सचेत रहन आग्रह गरिन् ।
कार्यक्रममा माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले मानव बेचविखन एउटा जटिल सामाजिक समस्याको रुपमा आएको र आर्थिक समस्या, गरिबी र महिला माथिको विभेद प्रमुख कारण देखिएकाले माइती नेपालले महिलाहरुलाई प्रविधि सहितको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र संचालन गरिने बताए ।
६५ रोपनी जग्गामा १ करोड ९२ लाख लागतमा आवासीय सुबिधा सहितको तालिम केन्द्र, कृषि तथा पशुपालन फार्म बनाउन लागिएको हो । सुकौरा एग्रो प्रालिले माईती नेपाललाई उक्त जग्गा भाेगचलन गर्न १० बर्षका लागि निःशुल्क उपलब्ध गराएको हाे । एकीकृत कृषि फार्ममा व्यवस्थित तालिम हलसहित ग्रीन हाउस, हाइटेक नर्सरी, आधुनिक बाख्रा, कुखुरा र गाई पालन गरिने बताईएको छ । मानव बेचबिखनमा परेका र पर्न सक्ने सम्भावित समुदाय, क्षेत्रका जोखीम उन्मुखहरुलाई तालिम दिई समाजमा पुर्नस्थापना गर्नका लागि एकीकृत कृषि तथा पशुपालन तालिम केन्द्र स्थापनाको तयारी गरिएको माइती नेपालले जनाएको छ ।
माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बामगती प्रदेशकी सांसद कन्चनचन्द्र बाडे, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेपाली काँग्रेसका बागमती प्रदेशका महामन्त्री चन्द्र पहाडी, मकवानपुर सभापती बुद्ध लामा, नेकपा एमाले मकवानपुरका अध्यक्ष एवं प्रदेश सांसद एकालाल श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुर्य प्रसाद सेढाईं, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, बागती प्रदेश प्रहरी कार्यालय र द कोकाकोला फाउण्डेशनका प्रतिनिधी लगायतको उपस्थिति थियो ।
मकवानपुर । दारको ठेकी र मकवानपुर कुनै समय देशमै चिनिन्थ्यो । पछिल्लो समय काठको ठेकी लोप हुँदै गएको छ भने दार प्रजातीको रुखको संरक्षण नहुदा हराउदै गएको छ ।
कुनै समय मकवानपुरमा बनेका ठेकी देशभरी बिक्रि हुन्थे । मानिसहरु खोजिखोजि मकवानपुरे ठेकी लिन आउथे तर अहिले यो लोभ भएको छ । यो ठेकी बन्ने काठ चाही के को हो भनेर सोध्यो भने यो दार हो भन्ने हामी मध्ये धेरैलाई थाहा छैन । मकवानपुर जिल्लामा दार करिव नगन्य र लोप हुने अवस्थामा छ ।
यसै तथ्यलाई मध्यनजर गरेर डिभिजन वन कार्यालय मकवानपुरले यसको प्रवर्धन गर्न अभियान नै संचालन गरिरहेको छ । मकवानपुरको चिनारी दार र काठको ठेकीको संरक्षण गर्दै पहिचान कायम राख्न मकवानपुर जिल्लामै पहिलो पटक दार पकेट क्षेत्र घोषणा गरिएको छ ।
डिभिजन वन कार्यालय राप्ती मनहरीको सहयोग तथा दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूह भीमफेदी गाउँपालिका १ को ब्यबस्थापनमा दार पकेट क्षेत्र घोषणा गरिएको हो । विहीबार बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञप्रसाद दाहाल र गाउँपालिकाका अध्यक्ष हिदम लामाको उपस्थितिमा दार पकेट क्षेत्र घोषणा गरिएको हो ।
भीमफेदी १ स्थित दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूहको जमिनमा दारका बिरुवा रोप्ने तथा संरक्षण समेत गर्ने लक्ष्यले पकेट क्षेत्र घोषणा गरिएको हो । सामुदायिक वनको करिब २ हेक्टर क्षेत्रफल जमिनमा १ हजार ४ सय ५० वटा दारको बिरुवा रोप्ने लक्ष्य लिइएकोले पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।
डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा भएको दार वृक्षरोपणअन्तर्गत पहिलो चरणमा ८ सय वटा विरुवा र दोस्रो चरणमा ६ सय ५० वटा विरुवा रोप्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए । लोपोन्मुख दारको संरक्षणमा सबै सामुदायिक वनकर्मीहरू लाग्नुपर्ने उनले बताए ।
दारको ठेकी लोप हुँदै गएपछि मकवानपुरमा दारको वृक्षारोपण तथा संरक्षण कार्यलाई डिभिजन वन कार्यालयले निरन्तरता दिदै आएको छ । डिभिजन वनको सक्रियतामा बकैया गाउँपालिका–१२ चपकीमा समेत १ हजार दारको विरुवा रोपिएको थियो ।
मकवानपुर । ७७ वर्षीय सिताराम र ७१ वर्षीया कान्छीमाया घिमिरे हेटौंडा बजारमा ठेलामा तरकारी बेच्छन् । मकवानपुर जिल्लामा मकवानपुरगढी गाउँपालिका वडा ७ का उनीहरु तरकारी बेचेर दैनिक एक हजारदेखि ३ हजारसम्म बचत गर्छन । उनीहरु आफ्नो खर्च यतै जुटाउँछन् । उनीहरुका दुई छोराहरु दुबै कुबेतमा छन् । छाेराहरुले कमाएकाे पनि बचत हुन् ।
उनीहरु जग्गा बिहीन हैनन् । गाउँमा जग्गा छ तर बाँझै छ, बसोबास नभएकोले घर जिर्ण थियो, २०७२ को भुकम्पले त्यो पनि जमिनमा मिलायो । दशक हुनलाग्यो उनीहरु गाउँ फर्केका छैनन् । उनीहरु भडा तिरेर हेटौंडा बस्छन् । “हामीले सकिञ्जेल खनि खोस्री ग¥यौ, छोराहरु त्यहाँभन्दा विदेशमा रमाए” सितारमा भन्छन् “हुन पनि हामीले वर्षभरी दुःख गर्दा ३/४ महिनालाई खान पुग्थ्यो, अरु बेसाउनु पथ्र्यो, छोराहरुले ३/४ महिनामा वर्षभरी खान पुग्नेगरी कमाउँछन् ।” दुबै छोराहरुको विहे गर्न बाँकी छ । “अब विहेपछि पनि गाउँ जाने संभावना छैन भन्छिन” कान्छी घिमिरे । यो ठेलामा पनि दुख नगर भन्छन् छोराहरु हामीले बसिवियाँलो गरेका” उनले भनिन् ।
यसै वडामा सावित्री र लक्ष्मण सञ्जेलको दम्पत्ति पनि हेटौंडा बस्छन् । दम्पत्ति मिलेर दुई वटा गाई पालेका छन् । ३ छोरा उनीहरुमा सबै आ–आफ्नो पेशामा अब्बल छन् । दुई छोरा शिक्षण पेशामा र एक वैदेशिक रोजगारको क्रममा स्वीडेन छन् । बुहारीहरु पनि आफै व्यवसाय सञ्चालन गरेर बसेका छन् । गाउँमा झण्डै ३४ कठ्ठा जमिन बाँझै छ । “पहिले बाक्लो गाउँ अब पातलिएको छ, को छ र गाउँमा, बसेकाहरुलाई जग्गा कमाइ गरेर खानु भन्दा पनि रोजिछाडी छ, मान्दैनन्” लक्ष्मणले भने “अन्न वा पैसा दिनु पर्दैन कमाएर खानु भन्दा पनि बाँदर कसले कुछै भन्छन् ।”
मकवानपुर जिल्लाका लक्ष्मण र सिताराम उदाहरण मात्रै हुन् । ग्रामीण भेगमा खेतीयोग्य जमिन बाँझो राखेर वैदेशिक रोजगार जाने वा कुनै न कुनै व्यवसाय गरेर शहरीक्षेत्रमा बसोबास गर्नेहरु बढेका छन् । यसले शहरी बस्ति बाक्लिनुका साथै विभिन्न प्रकारको प्रदुषण बढाएको छ, भने कृषिजन्य उपभोग्य सामग्रीको मुल्यृद्धिको मार खेप्नु परेको छ । बागमती प्रदेशमा रहेको खेती योग्य जमिन मध्ये ३८ हजार ६३५ हेक्टर जग्गा बाँझो रहेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशमा रहेको कुल खेती योग्य जमिन मध्ये उल्लेखित परिणामको जग्गा बाँझो रहेको छ । सिँचाइको अभावले पनि जग्गा बाँझो रहेको मन्त्रालयको विश्लेषण छ । प्रदेशमा रहेको ५ लाख १३ हजार ७१८ हेक्टर खेतीयोग्य जमिन मध्ये १ लाख ५९ हजार ७८२ हेक्टरमा मात्रै सिँचाइ सुविधा छ । यद्यपि ३ लाख ८८ हजार ९८५ हेक्टर जग्गामा खेती भइरहेको प्रदेशको कृषि मन्त्रालयका सूचना अधिकारी कृषि अर्थ विज्ञ अनुप अधिकारीले बताए ।“बाँझो रहेको उक्त जमिन पनि खेती योग्य नै हो” प्रदेशको कृषि मन्त्रालयका कृषि अर्थ विज्ञ अधिकारी भन्छन् “सिचाईको कमी, कृषि उत्पादन लागत मुल्य बढ्दा किसानले खेती गर्न छोडन थाले, विदेश पलायन र खेती योग्य जग्गा घडेरीकरण हुँदा पनि बाँझो बढी देखिएको हो ।”
कुन जिल्लामा कति जग्गा बाँझाे ?
प्रदेशको १३ जिल्लामा सिन्धुपाल्चोकमा सबैभन्दा खेती योग्य जमिन रहेको छ । यहाँ ७३ हजार ७१० हेक्टर खेतीयोग्य जमिन छ । यो मध्ये ४७ हजार ४७५ हेक्टरमा मात्रै हाल खेती भइरहेको छ भने ६ हजार ८९२ हेक्टर जग्गा बाँझो राखिएको छ । यसैगरी ६२ हजार ७१३ हेक्टर खेतीयोग्य जमिन भएको सिन्धुली जिल्लामा जम्मा ४९ हजार ७८९ हेक्टरमा मात्रै खेती गरिएको छ । यहाँको ४ हजार ५८ हेक्टर जमिन बाँझा छन् ।यसैगरी ६१ हजार ५९८ हेक्टर खेतीयोग्य जमिन रहेको काभ्रेपलाञ्चोक जिल्लामा ४ हजार ९६ हेक्टर खेतीयोग्य जमिन खालि छ । प्रदेशको तेस्रो ठुलो खेतीयोग्य जमिन भएको काभ्रेपलाञ्चोकमा ६१ हजार ७१० हेक्टर जमिन खेती योग्य छ । जहाँ ४४ हजार ७७५ हेक्टर जग्गामा मात्रै खेती भएको छ ।
यसैगरी नुवाकोट जिल्लामा ४८ हजार २५३ खेतीयोग्य मध्ये १ हजार ४ हेक्टर जमिन बाँझो रहेको छ । प्रदेशको धादिङ जिल्लामा ४८ हजार १३६ हेक्टरमध्ये ४ हजार २९ हेक्टर, चितवन जिल्लामा ४८ हजार ५३७ हेक्टरमध्ये ५७६ हेक्टर, दोलखा जिल्लामा ४४ हजार ५१३ हेक्टरमध्ये २ हजार ९२७ हेक्टर, मकवानपुर जिल्लामा ३५ हजार ७७९ हेक्टरमध्ये २ हजार ५०५ हेक्टर जग्गा बाँझो रहेको मन्त्रालयको तथ्याङले देखाएको छ ।
यसैगरी प्रदेशको रामेछाप जिल्लामा २८ हजार ४३४ हेक्टरमध्ये १ हजार ९५६ हेक्टर, काठमाडौ जिल्लामा २१ हजार २०० हेक्टर मध्ये ३ हजार ३३ हेक्टर बाँझो छ । यसैगरी रसुवा जिल्लामा १६ हजार ८११ हेक्टर खेतीयोग्य जमिनमध्ये १ हजार ६३२ हेक्टर, ललितपुर जिल्लामा १५ हजार २९६ हेक्टरमध्ये ४ हजार ३८२ हेक्टर र भक्तपुर जिल्लामा कुल १२ हजार ७३८ हेक्टर खेतीयोग्य जमिन मध्ये १ हजार ५५४ हेक्टर जग्गा बाँझो रहेको छ ।केही बाध्यता र केही लहैलहैको कारण ग्रामीण भेगका खेती योग्य जमिन बाँझो हुने क्रम बढेको छ भने शहरी क्षेत्रका जमिन बसाइसराइकै कारण आवासले भरिने क्रम बढेको छ । खेतीयोग्य जमिन प्लटिङ गरेर घडेरीमा विक्री भएपछि आवास नबनेका जमिन पनि टुक्राटुक्रा भएर बाँझो नै छ ।
हेटौंडामा पत्रकार प्रताप विष्ट गाउँवासीले लहैलहैमा गाउँ छाड्ने गरेको बताउँछन् । केहीको बाध्यता होला तर धेरै जसो देखासिकीमै बजारमा बसाइसराइ गर्ने गरेको पाइएको उनले बताए । “सन्तानको उच्च शिक्षा, कार्यालय आउने जाने गर्ने सहजताको लागि पनि धेरैजसोले गाउँको जग्गा बाँझै राखेर, घर बन्द गरेर बजार झरेका छन्” विष्टले भने “ग्रामीण क्षेत्रमा सबै प्रकारको विकासको संरचना अझै पुगेको छैन, यसैले पनि शहर आकर्षणको केन्द्र बनेको हो ।”
कृषिमा पर्याप्त प्रविधिको प्रयोग हुन नसकेको कारण पनि आधुनिक युवालाई आकर्षित गराउन नसकिएको अगुवा किसानहरुको भनाई छ । “युवाहरु सहजै उत्पादन गर्न खोज्छन, अब परम्परागत रुपमा जस्तो शारिरीक मेहनत गरेर कृषिकर्म संभव पनि छैन, कृषिलाई प्रविधिसँग जोड्न सकेमा आकषर्ण बढाउन सकिन्छ नत्र संभव छैन” मकवानपुरमा अगुवा कृषक तथा मकवानपुरगढी गाउँपालिका वडा ६ को पूर्व वडा अध्यक्ष टीका दाहालले भने ।मानव बस्ति कम भएपछि सिमित जग्गामा लगाइएको बालीमा बाँदर, बँदेल, सुगालगायतको कारण समस्या हुने गरेको मकवानपुर जिल्ला भिमफेदी गाउँपालिकाकी पार्वती घलानले बताइन् । यसो त मकवानपुरगढी गाउँपालिकाले वनसँग समन्वय गरेर वन्यजन्तुको कारण समस्या भोगेका कृषकहरुलाई अनुसन्धान गरेर क्षति दिने कार्यको थालनी गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । क्षतिको प्रमाण हेरेर, विभिन्न प्रक्रिया पुरा गरेपछि उहाँहरुलाई केही राहत रकम दिइने गरेको चौधरीले बताए ।
बाँझो जग्गामा कृषिको लागि भूमी बैंक कार्यक्रम प्रस्ताव
जग्गा बाँझो राख्ने प्रवृती बढ्दो रहेपछि बाँझो जग्गा प्रयोगमा ल्याउन प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिमा आकार्षण गर्ने कार्यक्रम ल्याउने योजना बनाएको छ । यस अन्तरगत मन्त्रालयले भूमी बैंक कार्यक्रम ल्याउने भएको छ ।
“कसै न कसैले बाँझो जग्गामा खेती गरेर कृषिमा योगदान गरुन भन्ने हाम्रो योजना हो” कृषि अर्थ विज्ञ अधिकारीले भने भूमी बैंक कार्यक्रम अन्तरगत कोही जग्गा धनीको आफ्नो जग्गा बाँझो छ र उसले आफ्नो जग्गा कसैलाई करारमा खेती गर्न दिन चाहेमा मन्त्रालयमा सुचिकृत हुनु पर्ने छ । र कोही जमिन नभएका तर करारमा जमिन लिएर खेती गर्न चाहने पनि मन्त्रालयमा सूचिकृत हुनुपर्ने छ । त्यसपछि मन्त्रालयले दुबैपक्षलाई सझौता गराएर जग्गा उपलब्ध गराउने छ । र उक्त जग्गाको भाडा चाही प्रदेश सरकारले प्रदान गर्ने छ ।यस अन्तरगत जग्गाको भाडा दरबारे भने अहिले छलफलको क्रम जारी छ । यो हुँदा जग्गा नहुनेले खेती गर्न अभावको सामना गर्नु नपर्ने र जग्गा हुनेको जमिन पनि प्रयोगमा आउने अधिकारीले बताए । “यसबारे हामी कार्यविधि निर्माणको चरणमा छौ” अधिकारीले भने ।
नेपालको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ दशमलव १२ रहेको छ । प्रदेश सरकारको पहिलो आवधिक योजना आर्थिक वर्ष २०७६/०७७–२०८०/०८१ ले प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको आधार वर्षको योगदान १३ प्रतिशतबाट १० दशमलव ३ मा सिमित गर्ने लक्ष्य लिएको छ । बागमती प्रदेशको कुल जनसङख्याको ५५ प्रतिशत अर्थात करिब ३३ लाख ६५ हजार जना कृषि पेशामा आवद्ध छन् ।
कृषि बालीमा देखिने रोग, कीराको समस्या, जलवायु परिवर्तनको कारणले सुख्खा खडेरी तथा अतिवृष्टि, माटोमा प्राङ्गारिक पदार्थ घटदै जानु तथा कृषि उत्पादन लागत बढ्नु मुख्य चुनौतीको रुपमा रहेको छ । धान, मकै, गहु बाहेक अन्य कृषि उपजमा न्यूनतम समर्थन निर्धारण मूल्य नहुनु जस्ता समस्या रहेका छन् । जसका कारण कृषि पेशाप्रति युवावर्गको विकर्षण बढेको छ र पेशाबाट पलायन हुने दर बढेको छ । यसैगरी कृषिमा लगानी न्यून हुनु, कृषि अनुसन्धान र प्रसारमा कमी हुने गरेको छ ।
यस्ता छन् कृषिमा आकर्षण गर्ने अरु योजना
कृषि क्षेत्रमा देखिएको समस्याबाट माथि उठ्न रुपान्तरणका रणनीति अवलम्बन गरिएको मन्त्रालयका सचिव डाक्टर शरण पाण्डेले बताए । यसको लागि कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, अनुदानलाई प्रतिफलमा आधारित बनाउदै लैजाने, कृषि प्रविधि र पुर्वाधारमा लगानी बढाउन विभिन्न योजनाहरु बढी बढाइएको छ ।
कृषि, पशुपन्छी तथा मत्स्यजन्य कृषि व्यवसाय सञ्चालनको लागि बाली वस्तुहरुको उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धि कार्यको सुरुवाती चरणमा निर्वयाजी बिउँपूजी उपलब्ध गराई कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने साना सिचाई संरचना निर्माण, दूध उत्पादनमा आधारित अनुदान, बीमा आधारित अनुदानको कार्यक्रम लागु गरिएको पाण्डेले बताए ।