मकवानपुर । मकवानपुर जिल्लाकाे पूर्वी क्षेत्रमा रहेका बागमती गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा गाउँपालिकाको झुरझुरेमा सामुदायिक आँखा केन्द्र उद्घाटन गरिएको छ ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारीले संयुक्त रुपमा शुक्रबार सामुदायिक आँखा केन्द्र उद्घाटन गरेका हुन् । केन्द्रमा शुक्रबारदेखि नै आँखा जाँच कार्यक्रम शुरु भएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष घलानले आँखाका बिरामीहरुलाई हेटौंडासम्म जानुपर्ने बाध्यता हटाउन घर आँगनमा नै सहज उपचार गर्न आँखा केन्द्र संचालनमा ल्याइएको बताए । उनले समयानुसार केन्द्रको सेवा विस्तारमा सहयोग गर्दै जाने जानकारी दिए ।
नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठले बागमती गाउँपालिकामा हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना हुनपूर्वदेखि नै आँखा सेवा पुर्याउँदै आएकोमा अहिले व्यवस्थित रुपमा गर्न पाएको खुशी व्यक्त गरे ।
केन्द्रमा आँखाजाँच, चश्मा जाँच, औषधि सेवा, सामान्य शल्यक्रिया र नियमति आँखा शिविरहरुको पनि कार्यक्रम रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालले जानाएको छ । बागमती गाउँपालिकाले आँखा केन्द्र स्थापनाका लागि भवनको व्यवस्थापन गरेको हाे । तिलगंगा आँखा प्रतिष्ठानले १७ लाख रुपैयाँ बराबरको उपकरण केन्द्रमा राखेको छ ।
यस्तै बागमती गाउँपालिकाले आँखा केन्द्रमा रहने एकजना नेत्र सहायक र एकजना सहयोगी कर्मचारीको मासिक तलब खर्चवापत करिब ६० हजार रुपैयाँ खर्च व्यहोर्नेछ । उद्घाटनको दिन ५० जनाले सेवा लिएको आँखा केन्द्रमा दैनिक औसत २० जनाले सेवा लिने छन् ।
मकवानपुर / खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले दुग्ध पदार्थको स्वच्छता तथा गुणस्तर अभिवृद्धिको लागि सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा खाद्य अनुसन्धान अधिकृत प्रगती अधिकारीले डेरी क्षेत्रमा बिद्यमान खाद्य स्वच्छताको अवस्था र चुनौतीबारे जानकारी गराएकी थिइन् ।
नेपालमा डेरी क्षेत्रको नियमन, दूध तथा दुग्ध पदार्थको स्वच्छाता एवम् गुणस्तर निर्देशिका २०७५ ले निर्देश गरेको मापदण्ड, असल उत्पादन अभ्यासका पुर्वाधारलगायतको बारेमा जानकारी गराईएको अधिकारीले बताइन् ।
कार्यक्रममा उपभोक्ता मंच नेपाल बागमती प्रदेश अध्यक्ष बासु खतिवडाले स्वदेशी उद्योगलाई पलायन गराउने र बिदेशी उद्योगले टिकाउ हुने मौका पाउने गरि नीति निर्माण हुँदै आएकोमा गुनासो गरे । दुग्ध विकास बोर्डलगायतले दुधको स्वच्छता र व्यवस्थापनको लागि सोच्नुपर्ने खतिवडाले बताए । किसानलाई सुसूचित गराउने, चेतनशील बताउने काममा दुग्ध उत्पादक सहकारीहरूले पहल गर्नुपर्ने उनले बताए ।
दूध संकलन कै क्रममा फिल्डमै पुगेर अनुगमन र नियमन गर्नुपर्ने उनले बताए । जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष बासुदेब अधिकारीलगायत जिल्लाको विभिन्न १२ वटा डेरिको सन्चालक तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख वरिष्ठ अनुसन्धान अधिकृत छितिज श्रेष्ठ, केन्द्रिय कार्यालय काठमाडौको खाद्य अनुसन्धान अधिकृत रोजिना श्रेष्ठले सहभागीहरूलाई सहजीकरण गरेका थिए ।
मकवानपुर/हेटौंडा भेन्ट्रान्स क्लबको आयोजनामा ८ ए साइड भेट्रान्स कप फुटबल प्रतियोगिता मंसिर २७ गतेबाट सुरु हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी भेट्रान्स कपको सातौँ संस्करण मंसिर २७ गतेबाट हेटौंडा–५ पिप्ले स्थित क्याम्पा रंगशालामा हुने क्लबले जनाएको छ । प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने भएको प्रतियोगिताका संयोजक मणिराज गौतमले जानकारी दिए ।
प्रतियोगिता लागि करिब १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब अफ मकवानपुरलगायत अन्य संघसस्थाहरुले सहयोग गरेका छन् । खेल अवधिभर स्वास्थ्य मापदण्डको पालना गर्न खेलाडी, दर्शकहरुलाई निशुल्क मास्क र स्यानिटाइजरको पनि व्यवस्था गरिने संयोजक गौतमले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वितीय हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । उत्कृष्ट विधा अन्रतरगत कोच, फरवार्ड, गोलकिपर, डिफेन्स र मिडफिल्डरले समान ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
हेटौंडा भेट्राक्स क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा छैठौँ भेट्रान्स कपका संयोजक कविन संगामी, सदस्यहरु सञ्जय थापा, कृष्ण महर्जन, सुदीप शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । दक्षिण अफ्रिकामा पछिल्लो समय काेराेना भाइरसकाे नयाँ भेरियन्ट भेटिएकाे विश्व स्वास्थ्य संगठनले बताएकाे छ । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा पुष्टि भएको नयाँ भेरिएन्ट बी.१.१.५२९ अर्थात ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिरहँदा नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।
यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन संगठनले समेत आग्रह गरेको छ । दक्षिण अफ्रिकासँगै यो भेरियन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि पुष्टि भइसकेको छ । बेलायत, अमेरिकालगायत विश्वका धेरै देशले संक्रमण फैलिन सक्ने भन्दै दक्षिण अफ्रिका जान–आउन प्रतिबन्ध लगाइसकेका छन् ।
काेराेनाकाे नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताए ।
दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वारेटिनको व्यवस्था गरेको उनले बताए । नयाँ भेरियन्ट नेपालमा नदेखिएकाले आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रुपमा अपनाउनुपर्ने अधिकारी बताउँछन । “हाल नेपालमा कोभिड–१९ सङ्क्रमितको सङख्या मात्र कम भएको हो, जोखिम कम भएको छैन । स्वास्थ्य मापदण्ड सबैले अनिवार्य पालना गर्नुपर्छ ” उनले भने ।
वायु मण्डलमा प्रदुषण ह्वात्तै बढेको कारण मकवानपुरलगायत बागमती प्रदेशको सबैजसो जिल्ला र आसपासमा पनि मौसम प्रतिकुल भएको छ । वायुमण्डलमा बढेको यो प्रदुषण वर्षा नभई तथा तिव्र बेगको हावा नचलि निको नहुने मौसमविद्हरुले बताएका छन् । मौसममा आएको बदलापको कारण २ दिन यता चिसो पनि बढेको छ ।
चिसोसँगै बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको छ । प्रतिकुल मौसमको कारण रुघा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्निहरुको दुखाई तथा करकर खाने समस्याहरु सुरु भएका छन् । यो संगै पछिल्लो साता देशभर कोरोना संक्रमणको दर पनि बढ्न थालेको छ । चिसोकै कारण कोरोना संक्रमितहरुको दर बढ्न थालेको आशंका स्वास्थ्यकर्मीहरुले गरेका छन् । चिसोमा कोरोना भाइरस बढी सक्रिय हुने भएकोले पनि चिसो मौसममा संक्रमणको दर बढ्ने गरेको विगतको अनुभवले नै देखाएको छ ।
दुई चरणको कोरोना महामारीको कारण थिलोथिलो भएको स्वास्थ्य,अर्थ,शिक्षालगायत क्षेत्र विस्तारै सामान्य हुँदै गर्दा पुनः संक्रमणको दर बढ्न थालेकोले फेरी पनि समस्या देखिने प्रायः निश्चित भएको छ । चिसो मौसममा कोरोना संक्रमणसँगै हुनसक्ने अन्यअन्य संक्रमणबाट बच्नको लागि विशेष ध्यान पु-याउने गरौं । शरिर ढाक्ने कपडा लगाउने, सन्तुलित भोजन सेवन गर्ने, तातो र रसिलो कुराहरु पर्याप्ता खाने, मनतातो पानी प्रसस्त पिउने जस्ता स्वास्थ्य सतर्कता अपनाउनाले पनि संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ । सचेत बनौं, स्वास्थ जटिलता हुनबाट बचौं । स्वास्थ्यमा कुनै खराबी देखिएमा स्वास्थ्य जाँच गराऔं ।