मकवानपुर । दक्षिण अफ्रिकामा पछिल्लो समय काेराेना भाइरसकाे नयाँ भेरियन्ट भेटिएकाे विश्व स्वास्थ्य संगठनले बताएकाे छ । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा पुष्टि भएको नयाँ भेरिएन्ट बी.१.१.५२९ अर्थात ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिरहँदा नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।
यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन संगठनले समेत आग्रह गरेको छ । दक्षिण अफ्रिकासँगै यो भेरियन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि पुष्टि भइसकेको छ । बेलायत, अमेरिकालगायत विश्वका धेरै देशले संक्रमण फैलिन सक्ने भन्दै दक्षिण अफ्रिका जान–आउन प्रतिबन्ध लगाइसकेका छन् ।
काेराेनाकाे नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताए ।
दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वारेटिनको व्यवस्था गरेको उनले बताए । नयाँ भेरियन्ट नेपालमा नदेखिएकाले आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रुपमा अपनाउनुपर्ने अधिकारी बताउँछन । “हाल नेपालमा कोभिड–१९ सङ्क्रमितको सङख्या मात्र कम भएको हो, जोखिम कम भएको छैन । स्वास्थ्य मापदण्ड सबैले अनिवार्य पालना गर्नुपर्छ ” उनले भने ।

