वायु मण्डलमा प्रदुषण ह्वात्तै बढेको कारण मकवानपुरलगायत बागमती प्रदेशको सबैजसो जिल्ला र आसपासमा पनि मौसम प्रतिकुल भएको छ । वायुमण्डलमा बढेको यो प्रदुषण वर्षा नभई तथा तिव्र बेगको हावा नचलि निको नहुने मौसमविद्हरुले बताएका छन् । मौसममा आएको बदलापको कारण २ दिन यता चिसो पनि बढेको छ ।
चिसोसँगै बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको छ । प्रतिकुल मौसमको कारण रुघा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्निहरुको दुखाई तथा करकर खाने समस्याहरु सुरु भएका छन् । यो संगै पछिल्लो साता देशभर कोरोना संक्रमणको दर पनि बढ्न थालेको छ । चिसोकै कारण कोरोना संक्रमितहरुको दर बढ्न थालेको आशंका स्वास्थ्यकर्मीहरुले गरेका छन् । चिसोमा कोरोना भाइरस बढी सक्रिय हुने भएकोले पनि चिसो मौसममा संक्रमणको दर बढ्ने गरेको विगतको अनुभवले नै देखाएको छ ।
दुई चरणको कोरोना महामारीको कारण थिलोथिलो भएको स्वास्थ्य,अर्थ,शिक्षालगायत क्षेत्र विस्तारै सामान्य हुँदै गर्दा पुनः संक्रमणको दर बढ्न थालेकोले फेरी पनि समस्या देखिने प्रायः निश्चित भएको छ । चिसो मौसममा कोरोना संक्रमणसँगै हुनसक्ने अन्यअन्य संक्रमणबाट बच्नको लागि विशेष ध्यान पु-याउने गरौं । शरिर ढाक्ने कपडा लगाउने, सन्तुलित भोजन सेवन गर्ने, तातो र रसिलो कुराहरु पर्याप्ता खाने, मनतातो पानी प्रसस्त पिउने जस्ता स्वास्थ्य सतर्कता अपनाउनाले पनि संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ । सचेत बनौं, स्वास्थ जटिलता हुनबाट बचौं । स्वास्थ्यमा कुनै खराबी देखिएमा स्वास्थ्य जाँच गराऔं ।

