मकवानपुर/हेटौंडा भेन्ट्रान्स क्लबको आयोजनामा ८ ए साइड भेट्रान्स कप फुटबल प्रतियोगिता मंसिर २७ गतेबाट सुरु हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी भेट्रान्स कपको सातौँ संस्करण मंसिर २७ गतेबाट हेटौंडा–५ पिप्ले स्थित क्याम्पा रंगशालामा हुने क्लबले जनाएको छ । प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने भएको प्रतियोगिताका संयोजक मणिराज गौतमले जानकारी दिए ।
प्रतियोगिता लागि करिब १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब अफ मकवानपुरलगायत अन्य संघसस्थाहरुले सहयोग गरेका छन् । खेल अवधिभर स्वास्थ्य मापदण्डको पालना गर्न खेलाडी, दर्शकहरुलाई निशुल्क मास्क र स्यानिटाइजरको पनि व्यवस्था गरिने संयोजक गौतमले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वितीय हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । उत्कृष्ट विधा अन्रतरगत कोच, फरवार्ड, गोलकिपर, डिफेन्स र मिडफिल्डरले समान ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
हेटौंडा भेट्राक्स क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा छैठौँ भेट्रान्स कपका संयोजक कविन संगामी, सदस्यहरु सञ्जय थापा, कृष्ण महर्जन, सुदीप शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो ।

