मकवानपुर /नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको प्रदेश सभापतिको लागि भीमसेन दास प्रधान, इन्द्रबहादुर बानियाँ र जगदीश्वरनरसिंह केसीको उम्मेदवारी दर्ता भएको हो ।
बागमती प्रदेशको हेटौंडामा जारी अधिवेशनमा सभापतिको लागि दासले कृष्णप्रसाद सिटौला पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएको प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार, उम्मेदवार भीमसेन दास प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागाई र सर्मथकमा कुन्दनराज काफ्ले रहेका छन् ।
यसैगरी नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि इन्द्रबहादुर बानियाँले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनले शेरबहादुर देउवा पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएका हुन् । बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा रहेका छन् ।
यसैगरी बागमती प्रदेशको सभापतिकै लागि जगदीश्वरनरसिंह केसीले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनले रामचन्द्र पौडेल पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएका हुन् । कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन बिहिबारबाट हेटौंडामा सुरु भएको छ । जारी अधिवेशन अन्तरगत आज दोस्रो दिन मनोनयन दर्ता गराउने समयतालिका अनुसार, सभापतिमा ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता काफ्लेका अनुसार, भोलि १८ मंसिरको बिहान९ बजेदेखि मतदान हुनेछ ।
प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका करिब २ हजार १ सय प्रतिनिधिले प्रदेश समिति निर्वाचनमा मतदान गर्नेछन् । उक्त अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।
In: प्रदेश, मुख्य खबर, राजनीति
Tags: No Comments

