मकवानपुर । नेपाल हृदयराेग निवारण प्रतिष्ठान मकवानपुर सभापतिमा विजयकुमार वैद्य चयन भएका छन् । शनिबार हेटौडामा भएकाे प्रतिष्ठान मकवानपुर शाखाकाे १८ ओैँ बार्षिक साधारण सभा तथा अधिवेशनले वैद्यकाे अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे ।
अधिवेशनले प्रतिष्ठानकाे उपसभापतिमा ध्रुव भुजेल, सचिवमा प्रल्हाद घिमिरे, काेषाध्यक्षमा अनिता न्याैपाने, सहकाेषाध्यक्षमा निर्मला व्लाेन, सदस्ययहरुका त्रैलाेक्य माेहन ठिके, कृष्णगाेपाल बर्ताैला, पम्फा बानियाँ लगायत रहेका छन् ।
साधारण सभा तथा अधिवेशनलाई सम्बाेधन गर्दै सामाजिक विकास मन्त्री कुमारी मुक्तानले मकवानपुर जिल्ला विगतकाे इतिहासमा टेकेर धेरै अघि वढिसकेकाे बताइन् । ‘मकवानपुर जिल्ला ड्राइभरहरुकाे जिल्ला भनेर चिनिन्थ्याे तर स्वास्थ्य क्षेत्रमा फड्काे मारेकाे छ’ उनले भनिन् ‘हाल जिल्लामै विश्वविधालय स्थापनाकाे लागि प्रक्रियागत रुपमा अघि वढेकाे छ ।’
मुक्तानले जिल्लामा मुटु अस्पताल बनाउने साेच रहेकाे र त्याे पुरा गर्ने बताइन् । उनले सरकारी नेतृत्व तहमा रहेकाे बेला हाेस या नभएकाे बेला आफूले निरन्तर सहयाेग गर्ने प्रतिबद्दता व्यक्त गरिन् ।
हेटौंडा शाखा सभापति हरिवंश भेटुवालकाे सभाध्यक्षता तथा सामाजिक विकास मन्त्री मुक्तानकाे प्रमुख आतिथ्यतामा भएकाे साधारण सभा तथा अधिवेशनमा जिसस प्रमुख ललित बहादुर घलान, संविधान सभा सदस्य प्रहाल्द लामिछाने, नेपाल हृदयराेग निवारण प्रतिष्ठान बागमती प्रदेश संयाेजक भाेजराज पौडेल, प्रतिष्ठानका सल्लाहाकार तथा विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष ह्याग्रिव आचार्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मनाेसामाजिक स्वास्थ्य समस्या अनुभव गरेका व्यक्तिहरुले स्वास्थ्य मन्त्रालय बागमतीमा ज्ञापन पत्र बुझाएका छन् । मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालाई उनीहरुले विशेष सवालमा सम्बाेधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको तर्फबाट धिरज लामा,मायादेवी गौतम, प्रर्मिला बरैली, बन्दना थिङ तामाङ, विशाल मोक्तान, पुतली स्याङबो, रन्जना ढुङगानालगायतले ज्ञपान पत्र बुझाएका हुन् । मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यको विषयलाई बजेट विनियोजन मार्फत् प्राथमिकतामा राखी सम्बोधन गरिदिने उनीहरुले माग गरेका छन् ।
मानसिक स्वास्थ्य विना पूर्ण स्वास्थ्य सम्भव नभएकाे बताउँदै उनीहरुले प्रदेश सरकारको बार्षिक बजेट परिचालन गरि मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत संस्थाहरुसंग साझेदारी गरिनु पर्ने, मानसिक स्वास्थ्य सेवामा टेलिमेडिसिन सेवालाई स्थानीय तहका अस्पतालमा जोड्ने कार्यक्रमहरु गरिनुपर्ने, प्रदेशले सञ्चालन गर्ने जनस्वास्थ्यका सबै कार्यक्रमहरुमा मानसिक स्वास्थ्य सेवालाई एकिकृत गरिनुपर्ने, प्रदेश अर्न्तगत रहेका अस्पतालहहरु तथा केन्द्रद्वारा सञ्चालित अस्पतालहरुबाटनै भर्ना गरि मानसिक स्वास्थ्य सेवा दिने व्यवस्था मिलाइनुपर्ने माग गरेका हुन् ।
बिमाबाट उपलब्ध औषधीको व्यवस्थापन गरी समस्या भएको व्यक्तिको आवश्यकता अनुसार अति आवश्यक औषधीहरु निःशुल्क प्रदान गरिनुपर्ने, प्रदेश अन्तगतका निकायहरुमा एक कार्यलय एक मनोविमर्शकर्ताको ब्यबस्था गरिनुपर्ने, पहुँच नपुगेका क्षेत्रका व्यक्तिहरुको मानसिक स्वास्थ्यको सेवामा पहुंच बढाउन त्यस्ता क्षेत्रहरुलाई समेट्ने गरि त्रैमासिक रुपमा मानसिक स्वास्थ्य सेवा क्याम्प सञ्चालन गर्ने नीति बनाईनुपर्ने, मानसिक अपांगता भएका व्यक्तिहरुलाई अत्यावश्यकताको आधारमा बिषेश प्याकेज मार्फत् सहुलियत सहितको विषेश सेवा प्रदान गर्ने कुराहरुलाई नीतिगत रुपमा समावेश गरिनुपर्ने माग गरेकाे समन्वय तथा सहजिकरण गर्दै आएकाे संस्था काेशिश मकवानपुरकी पैरवी अधिकृत सुनिरा लामाले बताइन् ।
नेपालको राष्ट्रिय जनगणना २०७८ काे तथ्याङ्क अनुसार कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता छ । त्यसैगरी कुल अपाङ्गताको ४.२८ प्रतिशतमा मनोसामाजिक अपाङ्गता छ । मनोसामाजिक अपाङ्गताको विवरण अनुसार नेपालमा महिला १३ हजार ७२ र पुरुष १४ हजार ९७३ जना छन् । यसैगरी बागमती प्रदेशमा महिला २ हजार ७९७ र पुरुष २ हजार ८६३ जनामा मनोसामाजिक अपाङ्गता छ । मकवानपुर जिल्लामा महिला २३० पुरुष २९४ जना छन् । यसैगरी हेटौंडा उपमहानगरपालिकामा महिला ७८ पुरुष १०७ जनामा मनोसामाजिक अपाङ्गता छ ।
मकवानपुर । मकवानपुर जिल्लाकाे मनहरी गाउँपालिकामा आँखा शिविर सञ्चालन गरिएकाे छ । मनहरीकाे वडा नम्बर २ मा शनिबार ८ नं वडामा आइतबार आँखा शिविर सञ्चालन भएको हो ।
मनहरी गाउँपालिकाले आयोजना गरेकाे शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेकाे थियाे । शनिबार मनहरीकाे २ नम्बर वडामा सञ्चालन गरिएकाे आँखा शिविरमा २ सय ३३ जनाले सेवा लिएका थिए । सेवा लिएकाहरुमध्ये २४ जनामा मोतिविन्दु देखा परेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।
यस्तै आइतबार ८ नम्बर वडामा सञ्चालन भएकाे शिविरमा आयोजीत शिविरमा २ सय ३१ जनाले सेवा लिएको दाहालले बताए । उनीहरुमध्ये १५ जनामा मोतिविन्दु देखा परेको छ । मोतिविन्दुको समस्या देखिएकाहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यकृया गरिने उनले बताए ।
चैत ६ गते २ नम्बर वडाका २४ जना र चैत ७ गते ८ नम्बर वडाका १५ जनाको माेतिविन्दुकाे शल्यक्रियाका लागि आँखा अस्पताल लैजाने तयारी गरिएको छ दाहालले जानकारी दिए । दाहालका अनुसार आगामी दिनमा सबै वडाहरुमा आँखा शिविर सञ्चालन गरिने छ ।
मकवानपुर । कति वर्ष हुनुभयो ? आँखाको जाँच नियमित गराइरहनु भएको छ ? सचेत बन्नुहोस् सुटुक्कै दृष्टि चोरिएला है ?
जलविन्दु अर्थात ‘सुटुक्क दुष्टि चोर्ने रोग’को नामले चिनिने रोगले सदाको लागि आँखाको ज्योति चोर्न सक्छ । पूर्वानुमान वा अड्कलबाजी गरेर ढुक्क हुन नसकिने ज्योति घातक रोग हो जलबिन्दु । आज १६ मार्च अर्थात जलविबन्दु सप्ताहकाे अन्तिम दिन । हरेका वर्ष मार्चको दोस्रो सातालाई जलविन्दुको रुपमा मनाइन्छ । आखाँको ज्योती गुम्ने ५ कारणहरु मध्येमा चौथो नम्बरका पर्छ जलबिन्दु । मोति बिन्दु, सुगरको कारण ज्योति गुम्न खतरा पहिलो र दोस्रो नम्बरमा छ ।
“जलबन्दिुको चर्चा मोतिबिन्दुको तुलनामा कमै हुन्छ तर, भविष्यमा भयाभव अवस्था आउन सक्ने रोगको रुपमा जलबिन्दुलाई लिन्छन्” हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली भन्छन् “बिरामीको भोगाई, अनुभुती शेयरीङले पनि सचेतनता बढाउन सकिन्छ, सचेतनाको पाटो अत्यवश्यक छ ।”
उनका अनुसार यो अस्पतालमा औषत दैनिक १० बिरामी जलबिन्दुको उपचारको लागि आउने गर्छन । आँखाको सामान्य नसा सुक्दै जाँदा यो समस्या हुन्छ । बिरामीले शंका नै गर्न नपाई ज्योति गुमिसक्ने खतरा अधिक हुन्छ । “अन्तिम अवस्थामा आउदा उपचार संभावना छैन” अस्पताल प्रमुख थकालीले भने “यही कारण विश्वमा वार्षिक ८० लाख जनसङ्ख्याको आँखाको ज्योती जान्छ ।”
थकालीका अनुसार आँखामा हुने पानीको उत्पादन र विषर्जनको सन्तुलन नमिल्दा यो समस्या हुन्छ । “सन्तुलत नहुँदा आँखाको प्रेसर बढ्छ अनि नसा सुक्छ, नसा सुकेपछि ज्योती गुम्दै जान्छ” थाकालीले भने । ‘दृष्टिको मौन चोर’ रोग पनि भन्ने गरिने जलबिन्दु हुुनुमा खानपानको भने कुनै कारण छैन ।
जलबिन्दुले गर्दा क्षति भइसकेको दृष्टि फर्काउन सकिँदैन तर समयमै नियमित उपचारले जलबिन्दुबाट हुनसक्ने अरु नोक्सानबाट बचाउन सकिने थकाली बताउँछन् । आँखाको प्रेसर कम राख्ने र अप्टिकल नर्वलाई अरु क्षतिग्रस्त हुन नदिनु जलबिन्दु उपचारको प्रमुख उद्देश्य हो।
विश्व स्वास्थ्य संगठनका अनुसार जलविन्दु, विश्वभर दृष्टिविहीन गराउने प्रमुख कारणहरु मध्ये दोस्रो समस्या हो । नेपालमा भने आँखाको उपचार सेवा प्रदायक विभिन्न अस्पतालमा हरेक बर्ष करिब २०० जनाको शल्यक्रिया हुने गरेको बताइएको छ।
डा. थकालीका अनुसार जलबिन्दु हुँदा आँखाको भित्री भागको आकार बढ्दै जान्छ र आँखाको नानीमा पानी जस्तो तरल पदार्थ देखा पर्न थाल्छ। कहिलेकाँही आँखाको भित्री भागमा रहेको तरल पदार्थ बढी मात्रामा उत्पादन पनि हुनसक्छ। यस्तो अवस्थामा आँखामा पे्रसर बढ्छ। यसले विस्तारै दृष्टिक्षमतालाई क्षति गर्दै जान्छ ।
नेपालमा ४० वर्ष माथिको उमेर समूहमा प्रत्येक २०० जनामध्ये एक जनालाई जलबिन्दुको समस्या देखिने गरेको छ । त्यस्तै ८० वर्षको उमेरभित्रमा प्रत्येक २०० जनामध्ये ८ जनालाई हुने गर्दछ ।
के हो जलबिन्दु, कसरी हुन्छ उपचार ?
जलबिन्दु जन्मजात नै समेत हुन्छ । यसैगरी बंशाणुगत पनि हुन सक्छ । यसको पूर्ण निदान नभएको तर रोकथाम संभव भएकोले उपचारमा ढीलाइन गर्न नहुने थकालीले बताए । उनका अनुसार सामान्य आँखाको प्रेसर १० देखि २१ मिलिमिटर मर्करी हुनुपर्छ । जलबिन्दु जाँचको लागि आर्थिक रुपमा समेत महङ्गो नभएकोले समयमै आँखाको सुरक्षा गर्न उनको सुझाव छ । जलबिन्दु भएका तेस्रो स्टेजको बिरामीलाई सल्यक्रिया वा लेजर उपचार नै अन्तिम हो । ज्योती गुमिसकेपछि कुनैपनि हालतमा फिर्ता गराउन सकिदैन ।

जलबिन्दुले आँखाको दृष्टि सम्बन्धी स्नायुमा क्षति पु¥याएपछि विस्तारै ज्योती कम हुँदै जान्छ । जलबिन्दुको प्रारम्भिक चरणमा सामान्य लक्षण मात्र देखिने वा कहिलेकाँही कुनै पनि लक्षण नदेखिने पनि हुने डक्टर थकाली बताउँछन् । उनका अनुसार परिवारमा कसैलाई जलविन्दु लागेको भए बंशाणुगतरुपमा पछिल्लो पुस्तामा सर्दै जाने हुनाले परिवारका नयाँ सदस्यहरुमा पनि यसको जोखिम रहन्छ ।
आँखा रोग विशेषज्ञहरुका अनुसार शरीरको जसरी प्रेसर हुन्छ त्यसरी नै आँखाको पनि प्रेसर हुन्छ । आँखाको चाप सामान्यबाट बढेर विस्तारै आँखाको दृष्टि कम हुँदै जाँदा जलबिन्दु हुन्छ । यो समस्या जन्मजात, बाल्यवस्था, वयस्क वा वृद्धवृद्धा सबैमा देखापर्न सक्छ । त्यस्तै धेरै पावर भएको चस्मा लगाउने, उच्च रक्तचाप, मधुमेह, आँखामा चोटपटक लाग्ने जस्ता कारणले जलबिन्दु हुने सभावना हुने नेत्र रोग विशेषज्ञहरु बताउँछन् ।
मोतिबिन्दु जस्तो विभिन्न भुगोलमा शिविर आयोजना गरी समस्या पहिचान र उपचारको दायरामा ल्याउनको लागि उपकरणको अभाव भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शुधिर श्रेष्ठले बताए । “समुदाय तहमा पुगेर आँखामा समस्या भए नभएको स्क्रिनिङ (जाँच पडताल) गर्ने उपकरणको अभाव छ” श्रेष्ठले भने । स्थानीय तहहरुसँग सहयोगको लागि अपिल गरिएको उनले बताए ।
जलबिन्दु कसरी थाहा पाउने, लक्षण कस्ता हुन्छ ?
प्राय मानिसमा यसका कुनै लक्षणहरु नै देखिँदैन । जब यसले आँखाको पुरै नसालाई छोप्छ तबमात्र जलबिन्दु भएको थाहा हुन्छ। त्यस्तो अवस्थामा यसको कुनै उपचार नै हुँदैन ।
यसबाहेक जुन आँखामा जलबिन्दु भएको छ त्यो पाटोको टाउँको दुख्ने, वा पुरै टाउको अत्यधिक दुख्ने, वान्ता आउने, ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । जलबिन्दु मुख्यतया दुई प्रकारका हुन्छन् । एउटा साँघुरो आँखामा हुने जलबिन्दु र अर्को खुला आँखामा हुने जलबिन्दु हुन्छ । साँघुरो आँखामा हुने जलबिन्दु थोरै व्यक्तिलाई मात्र लाग्छ भने खुला आँखामा लाग्ने जलबिन्दु धेरै व्यक्तिमा देखापर्छ ।
विशेष गरी रोग पत्ता लगाउने भनेको ४० वर्ष कटेपछी हरेक ६÷६ महिनामा आफ्नो आँखाको जाँच गराएर नै हो । जलबिन्दुको समयमै पहिचान गरी उपचार सुरु गरेमा पूर्ण निको नहुँदा पनि थप असरबाट जोगाउँन सकिन्छ ।
जलबिन्दुको समस्याबाट बच्नका लागि मुख्य कुरा जनचेतना आवश्यक छ। मानिसमा जनचेतना भयो भने उपचारमा आउँछन्। जलबिन्दु लागेको भए त्यसलाई पूर्णरुपमा निको पार्न नसके पनि रोकथाम गर्न सकिन्छ।
इतिहास यस्तो छ
नेपालमा सन् १९८१ मा पहिलो पटक जलबिन्दुबारे सर्भेक्षण भएको थियो । डक्टर थकालीका अनुसार त्यो बेला दृष्टिविहीन हुने कारणमध्ये ७१ प्रतिशत मोतिबिन्दु र ३ दशमलब २ प्रतिशमात्रै जलबिन्दुको कारण थियो । त्यो बेला नेपालमा नेत्र विशेषज्ञ ७ जना र आँखा अस्पताल एउटा मात्रै थियो ।
सन् २०१० मा गरिएको सर्भेक्षणले मोतिबिन्दुको कारण हुने दृष्टि विहीनको प्रतिशत ६२ दशमलब २ मा आयो भने जलबिन्दुको प्रतिशत बढेर ४ दशमलत ३ मा पुग्यो । जबकी यो बेला नेपालमा १४७ जान नेत्र रोग विशेषज्ञ र २० वटा आँखा अस्पताल थिए ।
अहिले देशभर ४५ वटाभन्दाबढी आँखा अस्पताल र ४५० जनाभन्दाबढी नेत्र राेग विशेषज्ञ छन् । र, अहिले दृष्टि विहीन हुने ५ प्रतिशत कारण जलबिन्दु हुन परगेकाे छ । यो तथ्याङ्कले देखाउँछ, मोतिबिन्दु नियन्त्रणमा आउँदै गर्दा जलबिन्दुको समस्या बढ्दो छ । मान्छेको आयुले पनि जलबिन्दुको संक्रमण बढ्ने डाक्टर थकाली बताउँछन् । “जति बुढौली उमेर भयो, उति यसको संभावना बढी हुन्छ” थकालीले भने “४० वर्ष उमेर कटेपछि अनिवार्य रुपमा आँखामा जलबिन्दुको परिक्षण गराउनु पछ ।” यहि अवस्थालाई मध्येजनर गरी हेटौंडा सामुदायिक आँखा अस्पतालले आधाभूत जाँचमा आँखाको प्रेसर जाँच्ने गरेको उनले बताए ।
विश्वमा सन् २०४० सम्म ११ करोड १८ लाखलाई जलबिन्दु हुने अनुमान गरिएको छ । हाल ९० प्रतिशत पत्ता नलागेको अवस्थामा रहेको छ । एक अर्ब जनसङ्ख्याको आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको बताइएको छ । अन्तर्राष्ट्रिय रुपमा १२ मार्चलाई विश्व जलबिन्दु दिवसको रुपमा मनाइन्छ भने मार्चको दोस्रो सातालाई जलबिन्दु सप्ताहको रुपमा मनाइन्छ ।
काठमाडौं, लुम्बिन र वीरेन्द्रनगर । काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरको अपरेसन थिएटरमा मस्तिष्कमा रहेको ट्युमर निकाल्नका लागि शल्यक्रिया गर्ने सुरसार हुँदै थियो । जटिल शल्यक्रियामा परिपक्व शल्य चिकित्सक, एनेस्थेसिस्ट र नर्ससहितको समूह खटिन्छ । अरू बेलाझै त्यस दिन पनि सो समूहको नेतृत्व प्रा.डा. राजीव झाले गर्नुपर्ने थियो । तर, उनले डा. नम्रता खड्कालाई अघि सार्दै भने, ‘यो शल्यक्रिया तपाईंहरूले गर्नूस् ।’
डा. नम्रताको अगुवाइमा त्यहाँ न्युरो सर्जन डा. पूजा चौरासिया, एनेस्थेसिस्ट डा. स्मृति आचार्य, एनेस्थेसिया नर्स पुनम महर्जन, नर्स ईश्वरी राजभण्डारी खटिए । बिरामीको टाउकाको बायाँ भागमा ट्युमर थियो । टाउको चिरफार गरेर होसियारीपूर्वक ट्युमर निकालियो । यस्तो अवस्थामा थोरै मात्र गडबडी भए दायाँ भाग नचल्ने हुन सक्थ्यो । केही घण्टाको अनवरत प्रयासपछि शल्यक्रिया सकियो । बिरामीको होस खुल्यो । सीटी स्क्यान गरेर हेर्दा सबै ठीक देखियो ।
न्युरो सर्जरीमा सेकेन्ड–सेकेन्डको पनि महत्त्व हुने अनुभव छ डा. पूजा चौरासियाको छ । ‘थोरै समयको फरकले बिरामीको स्थिति जे पनि हुन सक्छ,’ उनी भन्छिन्, ‘हामीले प्राण जानै आँटेका धेरै बिरामीलाई बचाएका छौं ।’ मस्तिष्क शरीरको अत्यन्तै संवेदनशील अंग हो । यसले मानव शरीरको सम्पूर्ण भागलाई नियन्त्रण गर्छ । ‘त्यसैले मस्तिष्कको शल्यक्रिया गरिरहँदा अरु अंगहरूमा क्षति पुग्न नदिन निकै सचेत हुनुपर्छ,’ उनी भन्छिन् ।
महिला शल्य चिकित्सकको यो टिममा डा. स्मृति आचार्यले एनेस्थेसिया अर्थात् बेहोस् बनाउने काम गर्छिन् । ‘बिरामीलाई बेहोस बनाउन सकिन्छ वा सकिँदैन भनेर हामीले विश्लेषण गर्छौं,’ उनी भन्छिन्, ‘शल्यक्रियाको तनाव धान्न सक्छ भने मात्र अरु प्रक्रिया अगाडि बढ्छ ।’ न्युरो सर्जरीको केस एनेस्थेसियाका लागि पनि निकै चुनौतीपूर्ण हुने उनको दाबी छ । ‘सर्जनहरूले मस्तिष्क चलाउनुहुन्छ, त्यहाँ शरीरका महत्त्वपूर्ण स्नायुतन्त्र हुन्छ,’ डा. स्मृतिले भनिन्, ‘यस्तो अवस्थामा बिरामीलाई सामान्य अवस्थामा राख्नुपर्ने हुन्छ । जबकि, मस्तिष्कको शल्यक्रिया गर्दा हृदयगति परिवर्तन हुने, श्वासप्रश्वासमा समस्या आउने, रक्तचाप तलमाथि हुने र रक्तस्राव बढी हुने खतरा रहन्छ ।’
‘दिनरात बिरामी हेर्न, सग्लो शरीरमा ‘स्क्यापल’ चलाउन, रगत हेर्न दह्रो मुटु चाहिन्छ,’ डा. नम्रताले भनिन् । आफ्नो रहर र दृढताले यति धेरै खटिएर शल्यक्रिया गर्दा पनि असहज महसुस नभएको उनले बताइन् । डा. नम्रताले शल्यक्रिया गर्न थालेको सात वर्ष भयो । न्युरो सर्जरीमा सहभागी हुन थालेको भने तीन वर्ष मात्रै भएको छ । भक्तपुर, दुवाकोटकी उनले छात्रवृत्तिमा चिकित्साशास्त्र अध्ययन गरेकी हुन् । ‘सानोमा खेल्दा पनि गुडियाको अपरेसन गरिदिन्थें,’ उनले हाँस्दै सुनाइन्, ‘सानैदेखि यसमै रहर र लगाव भएकाले गाह्रो लाग्दैन ।’
वीरगन्जमा जन्मिएकी डा. चौरासियालाई पनि सानैदेखि चिकित्सक बन्ने रहर थियो । ‘आमा गृहिणी, बुबा जागिरे । मलाई भने डाक्टर बन्ने रहर थियो । अवसर पाए न्युरोसर्जन नै बन्छु भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘सानैदेखिको रहर भएकाले होला, अहिले जतिसुकै खटिनुपरे पनि दुःख लाग्दैन ।’ डा. स्मृति आचार्यका बुबा अस्पतालमै काम गर्छन् र आमा पनि नर्स हुन् । ‘त्यसैले मलाई यस क्षेत्रमा लगाव बढेको हो,’ उनले भनिन् ।
धुलिखेल अस्पतालको एनेस्थेसिया विभागमा मेडिकल अफिसर भएर काम गर्दा उनलाई एनेस्थेसिस्ट नै हुने चाहना बढ्यो । उनले यसैमा आफ्नो करिअर बनाइन् । ‘शल्यक्रिया गर्दा सर्जनजसरी नै हामीहरू पनि खटिनुपर्छ,’ उनी सुनाउँछिन्, ‘मैले यो कामलाई रहरका रूपमा पनि लिएकी छु । त्यसैले गाह्रो लाग्दैन ।’ ‘भित्रैदेखिको लगाव र रहर’ का कारण न्युरो सर्जरी जस्तो जटिल विधामा आफूहरू अगाडि बढिरहेको उनीहरू बताउँछन् । ‘हामीलाई त आफूले सर्जरी गरेको बिरामी निको भएर घर फर्केको हेर्ने रहर हुन्छ,’ डा. नम्रता भन्छिन्, ‘त्यसबेला सबै दुःख बिर्सन्छौं ।’
तबस्सुमको संस्कृत प्रेम
मुस्लिम समुदायमा जन्मिएर घरबाहिर खुलेर हिँडडुल गर्नसमेत गाह्रो हुने समयमा उच्च शिक्षा हासिल गर्नु चानचुने कुरा थिएन । नेपालगन्ज–११ की तबस्सुम सिद्धिकी यस अर्थमा भाग्यमानी हुन् । परिवारका सदस्यले साथ दिए सबै कुरा सम्भव छ भन्ने तबस्सुमले हालै नेपाल संस्कृत विश्वविद्यालयबाट ‘हिन्दु वास्तुशास्त्र तथा इस्लामिक वास्तुकलाबीच तुलनात्मक अध्ययन र नेपाली वास्तुकलामा त्यसको प्रभाव’ विषयमा विद्यावारिधि पूरा गरेकी छन् । यो लामो यात्रा तय गर्न तबस्सुमले भारत, मलेसिया, पाकिस्तानसम्म पुगेर शोध पूरा गरेको बताइन् ।
बुबा डा. सलाउद्धिन अख्तर सिद्धिकी र आमा सरवर जहाँले जहिल्यै पढाइका लागि प्रेरित गरेको तबस्सुमले सुनाइन् । उनका बुबा पूर्वन्यायाधीश हुन् । अभिभावकको सही दिशानिर्देशले अध्ययनका लागि उत्साहित बनाएको तबस्सुमले बताइन् । समुदायका अन्य महिलाले आफूले जस्तो अवसर नपाएकामा उनलाई दुःख लाग्थ्यो । समुदायअनुसार संस्कृति जोगाउन इस्लामिक विद्यालय जानुपर्ने प्रचलन भए पनि तबस्सुम र उनका भाइबहिनीले बोर्डिङ स्कुलमा पढ्न पाए ।
तबस्सुम सिद्धिकी
ब्राइटल्यान्ड स्कुलबाट २०५३ सालमा एसएलसी सकेकी उनले स्थानीय महेन्द्र माविबाट प्लस टू गरेकी हुन् । सानैदेखि आफ्नो घर आफैंले गरेको डिजाइनमा बनाउन सके हुन्थ्यो भन्ने सोच राख्ने उनले त्यसपछि वास्तुकला अध्ययन गर्ने सोच बनाइन् । ‘बुबाले हुन्छ भन्नुभयो,’ उनले भनिन्, ‘मेरो र अन्य थुप्रैको घर मैले भनेअनुरूपका बन्ने भए भन्ने कुराले नै मन खुसी हुन्थ्यो ।’ त्यसपछि उनले पाकिस्तानको लाहोरस्थित नेसनल कलेज अफ आर्ट्सबाट स्नातकोत्तर सकिन् ।
विदेशमा अध्ययनका क्रममा अन्य देशका साथी भेट्दा, त्यहाँका संस्कृति र वास्तुबारे बुझ्दा आफूलाई अचम्म लागेको उनले बताइन् । अध्ययन सकेर नेपाल फर्किएपछि उनले काठमाडौंमा अध्यापन थालिन् । उनकी बहिनी मेडिकल डाक्टर हुन् भने भाइ इन्जिनियर । काठमाडौंस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा सन् २०१४ देखि वास्तुशास्त्र विषयमा अध्यापन गराइरहेकी तबस्सुमले मुस्लिम समुदायका महिलालाई अध्ययनका लागि पनि सहयोग गरिरहेकी छन् । यसअघि उनले पाकिस्तान, यूएई र नेपालकै अन्य कलेजमा समेत पढाउने र अनुसन्धाताका रूपमा काम गरेकी थिइन् ।
आफ्नो समुदायबाट संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो महिलाका रूपमा इतिहास रच्दा निकै खुसी लागेको उनी बताउँछिन् । आफ्नो देशका कला, वास्तुकलाबारे मुस्लिम राष्ट्रका जनतालाई सुसूचित गराउने तथा मुस्लिम कलासंस्कृतिलाई नेपालमा परिचित गराउने उद्देश्यले आफूले विद्यावारिधिको विषय छानेको उनको भनाइ छ । ‘बुबाले आफू अघि बढ्न आफू बसेको समाज बुझ्नुपर्छ भनेर सिकाउनु भएको थियो,’ उनले भनिन्, ‘हिन्दु समाज पढें, बुझें र बुझाउने अध्ययन गरें ।’ विद्यावारिधि सम्पन्न गर्ने क्रममा मलेसिया, पाकिस्तान, साउदी अरब, यूएई, भारतलगायतका देशमा पुगेर अध्ययन गरेको तबस्सुम बताउँछिन् ।
मानिसले सोचिरहेको भेदभावयुक्त मानसिकता बदल्न संस्कृत विश्वविद्यालयमै पढेको उनले बताइन् । उनका बुबाले समेत संस्कृत विश्वविद्यालयबाटै अध्ययन पूरा गरेका थिए । तबस्सुमले हिन्दु मात्र होइन, अध्ययन गर्न चाहने जोकोहीलाई विश्वविद्यालयले भेदभावबिना अध्ययनको वातावरण सिर्जना गर्छ भन्ने सन्देश दिन आफूले संस्कृत विश्वविद्यालय रोजेको बताइन् । वास्तुकलासम्बन्धी अध्ययनबारे धेरै विषय वेद सम्बन्धित रहेको र वेद संस्कृत भाषामा भएकाले पनि संस्कृत विश्वविद्यालय नै आफ्नो रोजाइमा परेको उनले सुनाइन् ।
तबस्सुमले विद्यावारिधि सकेसँगै उनको परिवारमा खुसीको माहोल छाएको छ । आफ्ना कारण अभिभावकले पाएको खुसीले थप ऊर्जा मिलेको उनी बताउँछिन् । ‘द मदर फाउन्डेसन नेपाल’ नामक संस्था दर्ता गरी छलफलमार्फत शिक्षाको कुरा बुझ्न, अघि बढ्न चाहनेलाई प्ल्याटफर्म तयार गरेको तबस्मुमले बताइन् ।
सुत्केरी स्याहार नै इलम
वीरेन्द्रनगर नगरपालिका–९ तिलपुरकी ७८ वर्षीया हीरामोती चौधरीलाई अहिलेसम्म कति सुत्केरी र बच्चालाई तेल मालिस गरें भन्ने सम्झना छैन । उनलाई त केवल अनेकौं रूपरंगका बच्चा, प्रसव वेदना झेलेर तंग्रिँदै गरेका आमाहरूको झल्याकझुलुक याद मात्रै छ । सुत्केरी स्याहारको ३७ वर्ष लामो अनुभव सँगालेकी हीरामोतीले यो काम जेठानी दिदीबाट सिकेकी हुन् । ‘लामो समय सुँडेनी भएर काम गरें । सुत्केरी हुन अस्पताल लैजाने चलन नभएकाले बच्चा निकाल्ने, नाल काट्नेदेखि सुत्केरी स्याहार्ने सबै काम गरें,’ उनले भनिन् ।
नवजात शिशु र सुत्केरीलाई तेल लगाउने काम सोचेजस्तो सजिलो भने छैन । तोरीको तेल तताएर मेथी र ज्वानो पड्काएर मालिस गर्ने, नवजात शिशुको संवेदनशीलता बुझेर कपडा फेरिदिनु, नुहाइदिनु र मिचिमिची मालिस गर्न अनुभव चाहिन्छ । यही काममा निपुण भएकैले हीरामोतीलाई वरपरका सबै टोलवासीले ‘सुत्केरी स्याहार्ने दिदी’ भनेर चिन्छन् । सुरुवाती दिनमा उनले जानेको सीपले पेसाको सम्मान पाएको थिएन । उनले एक साता सुत्केरी स्याहारेबापत नगन्य पारिश्रमिक पाउँथिन् । अहिले भने ५ हजारसम्म बुझ्छिन् । ‘अनि, एक जोर कपडा त सबैले दिन्छन् नै,’ पाँच छोरी र दुई छोरालाई सुत्केरी स्याहार्ने काम गरेरै हुर्काएको अनुभव सुनाउने हीरामोती भन्छिन्, ‘अहिले पो छोराबुहारीले मलाई हेरिरहेका छन् । पहिले घर–व्यवहार सबै यसरी कमाएरै धान्ने गरेकी थिएँ ।’
हीरामोतीले २ वर्षदेखि यो पेसा छोडेकी छन् । तर, अनुभवी भएकाले कसैकसैले हत्ते गरेर बोलाउँछन् । आफ्नै समुदायका एकाध महिला भने काम सिकाइ माग्न पनि आउँछन् ।
६३ वर्षकी लालु चौधरी अझै यही काममै छन् । तिलपुर घर भएकी लालुलाई सुत्केरी स्याहार्ने कामले फुर्सदै हुन्न । २०६३ सालमा नाति जन्मेपछि उनले सुत्केरी स्याहार्ने काम सुरु गरेकी हुन् । १७ वर्षअघि काम थाल्दा एक साता सुत्केरी स्याहारेको दुई हजार रुपैयाँ पारिश्रमिक लिन्थिन् । अहिले त्यति नै समयको ६ हजार लिन्छिन् । अनुभवी लालुलाई टाढाटाढाका मान्छेले पनि बोलाउँछन् । तर, जान र फर्किनका दुःखले सकभर टाढा जाँदिनन् ।
वीरेन्द्रनगर–२ कोलडाँडाकी ४१ वर्षकी नीता चौधरीलाई लगालग चार छोरी जन्मिएपछि श्रीमान्ले छोडे । अनि उनी अर्थोपार्जनको अवसर खोज्दै सुत्केरी स्याहार्ने पेसामा आइपुगिन् । दैनिक ७ सय रुपैयाँ ज्याला र कतिपयले दिने मिठोमसिनो खान्कीले उनलाई घर खर्च धान्न सहयोग पुगिरहेको छ । नीता जस्तै वीरेन्द्रनगर–९ कालीमाटीकी ४० वर्षीया कमला चौधरी पनि सात वर्षयता सुत्केरी स्याहार्ने काम गर्दै आएकी छन् । एक वर्षअघि श्रीमान्को मृत्यु भएपछि आइपरेको आर्थिक संकट टार्न उनलाई यही सीप उपयोगी भइरहेको छ । कमलाले यो काम आमाबाट सिकेकी हुन् । सुरुमा ५ सयमा काम गरेकी उनी अहिले दैनिक १ हजार रुपैयाँ लिन्छिन् ।
सुर्खेत आसपास सुत्केरी स्याहार्ने पेसामा अक्सर थारू समुदायका महिला संलग्न देखिन्छन् । यो कामले उनीहरूलाई अर्थोपार्जनसँगै परिवारको समस्या टार्न पनि भरथेग मिलिरहेको छ । परम्परागत रूपमै चलिरहेकाले यो पेसामा व्यावसायिकताको भने खाँचो देखिन्छ । सेवाग्राही र सेवा प्रदायकको आपसी विश्वासका भरमा चलिरहेकाले यो पेसाका आफ्नै व्यावहारिक कठिनाइहरू पनि छन् । सुत्केरी स्याहार्ने काममा संलग्न थारू महिलाहरू यो कामबाट मिल्ने सम्मान र पारिश्रमिक राम्रो भएको साझा अनुभव सुनाउँछन् ।
थारू समुदायका अगुवा मानबहादुर चौधरीले लामो समयदेखि थारू समुदायका महिलाले सुँडेनीको काम गर्दै आएको सुनाए । थारू समुदायमा सुँडेनीलाई सोरिन्या भन्ने चलन छ । ‘सोरिन्याहरूले गर्भवती भएबाटै महिलाको हेरविचार गर्थे । सुत्केरी हुने बेलामा पनि उनीहरूको उपस्थिति हुन्थ्यो । यो कामबापत धान र कपडाहरू दिइन्थ्यो ।’ मानबहादुरका अनुसार सुत्केरी स्याहार्ने पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै गएको छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ललितजंग शाहीले तेल तताएर मालिस गर्दा कमजोर शरीर तंग्रिन सहयोग पुग्ने बताए । ‘मसाजले थाकेको मसल पनि एक्टिभ हुन्छ । समग्रमा यो राम्रो हो,’ उनले भने, ‘तर धेरै तातो तेलको प्रयोग गर्दा भने सानो बच्चालाई असर पर्ने कुरामा ध्यान दिन उत्तिकै जरुरी छ ।
कान्तिपुरबाट साभार गरिएकाे ।