मकवानपुर । कति वर्ष हुनुभयो ? आँखाको जाँच नियमित गराइरहनु भएको छ ? सचेत बन्नुहोस् सुटुक्कै दृष्टि चोरिएला है ?
जलविन्दु अर्थात ‘सुटुक्क दुष्टि चोर्ने रोग’को नामले चिनिने रोगले सदाको लागि आँखाको ज्योति चोर्न सक्छ । पूर्वानुमान वा अड्कलबाजी गरेर ढुक्क हुन नसकिने ज्योति घातक रोग हो जलबिन्दु । आज १६ मार्च अर्थात जलविबन्दु सप्ताहकाे अन्तिम दिन । हरेका वर्ष मार्चको दोस्रो सातालाई जलविन्दुको रुपमा मनाइन्छ । आखाँको ज्योती गुम्ने ५ कारणहरु मध्येमा चौथो नम्बरका पर्छ जलबिन्दु । मोति बिन्दु, सुगरको कारण ज्योति गुम्न खतरा पहिलो र दोस्रो नम्बरमा छ ।
“जलबन्दिुको चर्चा मोतिबिन्दुको तुलनामा कमै हुन्छ तर, भविष्यमा भयाभव अवस्था आउन सक्ने रोगको रुपमा जलबिन्दुलाई लिन्छन्” हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली भन्छन् “बिरामीको भोगाई, अनुभुती शेयरीङले पनि सचेतनता बढाउन सकिन्छ, सचेतनाको पाटो अत्यवश्यक छ ।”
उनका अनुसार यो अस्पतालमा औषत दैनिक १० बिरामी जलबिन्दुको उपचारको लागि आउने गर्छन । आँखाको सामान्य नसा सुक्दै जाँदा यो समस्या हुन्छ । बिरामीले शंका नै गर्न नपाई ज्योति गुमिसक्ने खतरा अधिक हुन्छ । “अन्तिम अवस्थामा आउदा उपचार संभावना छैन” अस्पताल प्रमुख थकालीले भने “यही कारण विश्वमा वार्षिक ८० लाख जनसङ्ख्याको आँखाको ज्योती जान्छ ।”
थकालीका अनुसार आँखामा हुने पानीको उत्पादन र विषर्जनको सन्तुलन नमिल्दा यो समस्या हुन्छ । “सन्तुलत नहुँदा आँखाको प्रेसर बढ्छ अनि नसा सुक्छ, नसा सुकेपछि ज्योती गुम्दै जान्छ” थाकालीले भने । ‘दृष्टिको मौन चोर’ रोग पनि भन्ने गरिने जलबिन्दु हुुनुमा खानपानको भने कुनै कारण छैन ।
जलबिन्दुले गर्दा क्षति भइसकेको दृष्टि फर्काउन सकिँदैन तर समयमै नियमित उपचारले जलबिन्दुबाट हुनसक्ने अरु नोक्सानबाट बचाउन सकिने थकाली बताउँछन् । आँखाको प्रेसर कम राख्ने र अप्टिकल नर्वलाई अरु क्षतिग्रस्त हुन नदिनु जलबिन्दु उपचारको प्रमुख उद्देश्य हो।
विश्व स्वास्थ्य संगठनका अनुसार जलविन्दु, विश्वभर दृष्टिविहीन गराउने प्रमुख कारणहरु मध्ये दोस्रो समस्या हो । नेपालमा भने आँखाको उपचार सेवा प्रदायक विभिन्न अस्पतालमा हरेक बर्ष करिब २०० जनाको शल्यक्रिया हुने गरेको बताइएको छ।
डा. थकालीका अनुसार जलबिन्दु हुँदा आँखाको भित्री भागको आकार बढ्दै जान्छ र आँखाको नानीमा पानी जस्तो तरल पदार्थ देखा पर्न थाल्छ। कहिलेकाँही आँखाको भित्री भागमा रहेको तरल पदार्थ बढी मात्रामा उत्पादन पनि हुनसक्छ। यस्तो अवस्थामा आँखामा पे्रसर बढ्छ। यसले विस्तारै दृष्टिक्षमतालाई क्षति गर्दै जान्छ ।
नेपालमा ४० वर्ष माथिको उमेर समूहमा प्रत्येक २०० जनामध्ये एक जनालाई जलबिन्दुको समस्या देखिने गरेको छ । त्यस्तै ८० वर्षको उमेरभित्रमा प्रत्येक २०० जनामध्ये ८ जनालाई हुने गर्दछ ।
के हो जलबिन्दु, कसरी हुन्छ उपचार ?
जलबिन्दु जन्मजात नै समेत हुन्छ । यसैगरी बंशाणुगत पनि हुन सक्छ । यसको पूर्ण निदान नभएको तर रोकथाम संभव भएकोले उपचारमा ढीलाइन गर्न नहुने थकालीले बताए । उनका अनुसार सामान्य आँखाको प्रेसर १० देखि २१ मिलिमिटर मर्करी हुनुपर्छ । जलबिन्दु जाँचको लागि आर्थिक रुपमा समेत महङ्गो नभएकोले समयमै आँखाको सुरक्षा गर्न उनको सुझाव छ । जलबिन्दु भएका तेस्रो स्टेजको बिरामीलाई सल्यक्रिया वा लेजर उपचार नै अन्तिम हो । ज्योती गुमिसकेपछि कुनैपनि हालतमा फिर्ता गराउन सकिदैन ।

जलबिन्दुले आँखाको दृष्टि सम्बन्धी स्नायुमा क्षति पु¥याएपछि विस्तारै ज्योती कम हुँदै जान्छ । जलबिन्दुको प्रारम्भिक चरणमा सामान्य लक्षण मात्र देखिने वा कहिलेकाँही कुनै पनि लक्षण नदेखिने पनि हुने डक्टर थकाली बताउँछन् । उनका अनुसार परिवारमा कसैलाई जलविन्दु लागेको भए बंशाणुगतरुपमा पछिल्लो पुस्तामा सर्दै जाने हुनाले परिवारका नयाँ सदस्यहरुमा पनि यसको जोखिम रहन्छ ।
आँखा रोग विशेषज्ञहरुका अनुसार शरीरको जसरी प्रेसर हुन्छ त्यसरी नै आँखाको पनि प्रेसर हुन्छ । आँखाको चाप सामान्यबाट बढेर विस्तारै आँखाको दृष्टि कम हुँदै जाँदा जलबिन्दु हुन्छ । यो समस्या जन्मजात, बाल्यवस्था, वयस्क वा वृद्धवृद्धा सबैमा देखापर्न सक्छ । त्यस्तै धेरै पावर भएको चस्मा लगाउने, उच्च रक्तचाप, मधुमेह, आँखामा चोटपटक लाग्ने जस्ता कारणले जलबिन्दु हुने सभावना हुने नेत्र रोग विशेषज्ञहरु बताउँछन् ।
मोतिबिन्दु जस्तो विभिन्न भुगोलमा शिविर आयोजना गरी समस्या पहिचान र उपचारको दायरामा ल्याउनको लागि उपकरणको अभाव भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शुधिर श्रेष्ठले बताए । “समुदाय तहमा पुगेर आँखामा समस्या भए नभएको स्क्रिनिङ (जाँच पडताल) गर्ने उपकरणको अभाव छ” श्रेष्ठले भने । स्थानीय तहहरुसँग सहयोगको लागि अपिल गरिएको उनले बताए ।
जलबिन्दु कसरी थाहा पाउने, लक्षण कस्ता हुन्छ ?
प्राय मानिसमा यसका कुनै लक्षणहरु नै देखिँदैन । जब यसले आँखाको पुरै नसालाई छोप्छ तबमात्र जलबिन्दु भएको थाहा हुन्छ। त्यस्तो अवस्थामा यसको कुनै उपचार नै हुँदैन ।
यसबाहेक जुन आँखामा जलबिन्दु भएको छ त्यो पाटोको टाउँको दुख्ने, वा पुरै टाउको अत्यधिक दुख्ने, वान्ता आउने, ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । जलबिन्दु मुख्यतया दुई प्रकारका हुन्छन् । एउटा साँघुरो आँखामा हुने जलबिन्दु र अर्को खुला आँखामा हुने जलबिन्दु हुन्छ । साँघुरो आँखामा हुने जलबिन्दु थोरै व्यक्तिलाई मात्र लाग्छ भने खुला आँखामा लाग्ने जलबिन्दु धेरै व्यक्तिमा देखापर्छ ।
विशेष गरी रोग पत्ता लगाउने भनेको ४० वर्ष कटेपछी हरेक ६÷६ महिनामा आफ्नो आँखाको जाँच गराएर नै हो । जलबिन्दुको समयमै पहिचान गरी उपचार सुरु गरेमा पूर्ण निको नहुँदा पनि थप असरबाट जोगाउँन सकिन्छ ।
जलबिन्दुको समस्याबाट बच्नका लागि मुख्य कुरा जनचेतना आवश्यक छ। मानिसमा जनचेतना भयो भने उपचारमा आउँछन्। जलबिन्दु लागेको भए त्यसलाई पूर्णरुपमा निको पार्न नसके पनि रोकथाम गर्न सकिन्छ।
इतिहास यस्तो छ
नेपालमा सन् १९८१ मा पहिलो पटक जलबिन्दुबारे सर्भेक्षण भएको थियो । डक्टर थकालीका अनुसार त्यो बेला दृष्टिविहीन हुने कारणमध्ये ७१ प्रतिशत मोतिबिन्दु र ३ दशमलब २ प्रतिशमात्रै जलबिन्दुको कारण थियो । त्यो बेला नेपालमा नेत्र विशेषज्ञ ७ जना र आँखा अस्पताल एउटा मात्रै थियो ।
सन् २०१० मा गरिएको सर्भेक्षणले मोतिबिन्दुको कारण हुने दृष्टि विहीनको प्रतिशत ६२ दशमलब २ मा आयो भने जलबिन्दुको प्रतिशत बढेर ४ दशमलत ३ मा पुग्यो । जबकी यो बेला नेपालमा १४७ जान नेत्र रोग विशेषज्ञ र २० वटा आँखा अस्पताल थिए ।
अहिले देशभर ४५ वटाभन्दाबढी आँखा अस्पताल र ४५० जनाभन्दाबढी नेत्र राेग विशेषज्ञ छन् । र, अहिले दृष्टि विहीन हुने ५ प्रतिशत कारण जलबिन्दु हुन परगेकाे छ । यो तथ्याङ्कले देखाउँछ, मोतिबिन्दु नियन्त्रणमा आउँदै गर्दा जलबिन्दुको समस्या बढ्दो छ । मान्छेको आयुले पनि जलबिन्दुको संक्रमण बढ्ने डाक्टर थकाली बताउँछन् । “जति बुढौली उमेर भयो, उति यसको संभावना बढी हुन्छ” थकालीले भने “४० वर्ष उमेर कटेपछि अनिवार्य रुपमा आँखामा जलबिन्दुको परिक्षण गराउनु पछ ।” यहि अवस्थालाई मध्येजनर गरी हेटौंडा सामुदायिक आँखा अस्पतालले आधाभूत जाँचमा आँखाको प्रेसर जाँच्ने गरेको उनले बताए ।
विश्वमा सन् २०४० सम्म ११ करोड १८ लाखलाई जलबिन्दु हुने अनुमान गरिएको छ । हाल ९० प्रतिशत पत्ता नलागेको अवस्थामा रहेको छ । एक अर्ब जनसङ्ख्याको आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको बताइएको छ । अन्तर्राष्ट्रिय रुपमा १२ मार्चलाई विश्व जलबिन्दु दिवसको रुपमा मनाइन्छ भने मार्चको दोस्रो सातालाई जलबिन्दु सप्ताहको रुपमा मनाइन्छ ।

