फेन्चु लामा मकवानपुरका व्यवसायिक अगुवा कृषक अन्तरगत पर्दछन् । कृषिलाई पर्यटनसँग जोडेर अगाडि बढ्ने सोच सहित लागि परेका लामा र उनीकाे पत्नी सपनासँग सहीवार्ताको लागि गरेको कुराकानीको सारः
शिक्षण पेशा छाडेर किन कृषिमा आउनु भयो ?
शिक्षण पेशमा ६ वर्ष बिताए, कम्प्युटर विषयको शिक्षक । शिक्षण पेशा दीर्घकालिन भविष्य देखिन । निजामतिको जागिरे हुने भुत चढ्यो । काठामाडौ बसेर लोक सेवाको तयारी गरे । लोक सेवा आयोगको परीक्षा दिए, नाम निस्केन । बुबाले २७ वर्ष पहिले खुल्नु भएको एग्रोभेट पसल थियो । जहाँ म स्कुल पढ्दा देखि नै बुबालाई सघाउने क्रममा औषधिहरुबारे सतही ज्ञान हासिल गरिसकेको थिए । औषधिहरु चिन्थे, तिनीहरुको प्रयोगबारे पनि सतही जानकारी थियो ।
निजामतिमा नाम ननिस्केपछि बुबाको व्यवसाय सम्हाल्ने रुचि बढ्यो । यो बिचमा विवाह भइसेको थियो । बुबाको पसल श्रीमती (सपना) लाई जिम्मेवारी दिने हिसाबले श्रीमतीलाई कृषि तथा पशु भेटेरेनरी पढाउन सुरु गरिसकेको थिएँ । उनी जोड दुईसम्म वाणिज्य पढेको मान्छे । बाली तथा भेटेरेनरी पढ्न प्रोत्साहित गराएँ । उनले पनि रुचिका साथ पढीन् । कृषि तथा भेटेरेनरी पास गरेर पसलको जिम्मेवारी सम्हाल्ने भैसकेको थिइन् ।
निजामतीबाट सरकारी जागिरे हुन नसकेपछि म फर्केर फेरी बुबाकै व्यवसायमा आकर्षित भए । तर पुरानै ढर्रामा हैन, नयाँ शिराबाट कृषिमा केही गरौ भन्ने सोच आयो । बुबाले प्रसस्त जमिन जोड्नु भएको थियो । यसैबाट नयाँ कामको थालनी गरौं भन्ने सोच आयो ।
पढेको व्यक्तिले कृषि पेशा हत्तपत्त अवलम्बन गर्दैनन् तपाई पनि पहिले नोकरी कै खोजिमा हुनुहुँदो रहेछ, त्यही सोचाइले हो ?
पढेको छु किन कृषिमा लाग्नु भन्ने सोच त हैन, तर जागिर खाउँ भन्ने चाहि थियो त्यो बेला । तर, जागिर खाने सोच धेरै टिकेन । एक पटक नाम ननिस्केपछि फरक तरीकाले कृषिमा केही गर्न सकिन्छ भन्ने सपना सहित व्यवसायिक रुपमा कृषिमै लाग्ने सोच बनाएको हुँ । आफूले काम नगरी रियल किसानको पीडा के होला भन्ने भन्न सकिदैन । पहिले पनि हामीले ३० वटाभन्दा बढी बाख्रा पालेका थियौ ।

यसैलाई बढाएर ठुलो गरी बाख्रा फर्म खोल्ने तयारी ग-यौ । फार्मसँगै पसल गर्ने विचार आयो । कृषि पढ्दै नपढेको, अन्त जागिर नपाएपछि गर्ने पेशा हैन । भनेर अरुलाई पनि प्ररित गर्ने सोच आयो अहिले ७० वटा बाख्रा छन् । यसबाट वार्षिक रुपमा राम्रो आम्दानी छ । ड्रागन फुडको लागि झण्डै करोडको लगानी छ ।
गतसाल बाख्र फर्मसँगै मेवा खेती गरेको थिए राम्रो फाइदा बस्यो । यसबाट १ विगाहा भन्दा बढी जमिनमा ड्रागन फुड लगाएका छौ । वर्षमा वर्षैभरी दुख गर्नु नपर्ने कृषि खेतीको खोजिमा थिए । यसै बिचमा हामीले ड्रागन फुड खेतीले मन तान्यो । यो लगाएपछि २० वर्ष फल्छ, वर्षमा ३ पटक मल हाल्नुपर्छ, गोडमेल र सिचाइ दिनु पर्छ । अरु दुख छैन । राम्रो आम्दानी हुन्छ । ड्रागनमा अन्तरबालिको रुपमा मेवा, खोर्सानी, स्टोबेरी, खरबुजा पनि लगाउन सकिन्छ । यसपाली यस्तै भयो, अब ड्रागन फुड भित्र लोकल खुकुरा राख्ने सोच बनाएको छु ।
लगानी कति छ ड्रागनमा ?
हामीले यहाँ ६ हजार बोट रोपेका छौं । प्रति पोल ५ हजार लगानी भएको छ । यसबाट लगभग ७५ लाख लगानी भैसकेको छ । पहिलो बर्ष गुज्रिएको छ दोस्रो बर्ष २० लाख र तेस्रो बर्षबाट ५० लाख आम्दानी हुने निश्चित छ ।
यसको खेतिबाट कसरी प्रेरित हुनुभयो ? खेती गर्ने तरीका कहाँ सिक्नुभयो ?
मैले यसबारे यु टुबमा हेरे सिकेको हुँ । यसको जरा कतिमा जान्छ, माटो हावा पानी कस्तो हुनुपर्छ, प्रतिवोटमा कति केजी फल्छ भन्ने जस्ता बारेमा लकडाउनमा अनलाइन क्लास पनि लिएँ ।
बजारीकरणको लागि समस्या के छ ?
अहिले छैन, अब धेरैतिर लगाउनु थाल्नु भयो । सायद विस्तारै बजारीकरणको लागि समस्या हुने पक्का छ । अहिले राम्रो छ सहज छ । अबको ५ वर्ष ड्रागन फुडको बजारीकरणको लागि चिन्ता हुदैन होला सायद । त्यसपछि भने समस्या हुनेछ । किनकी अहिलेको आकर्षण भनेको यत्रतत्र ड्रागन फुडकै छ । एउटै प्रकारको खेतीमा सबैको आकर्षण हुनु राम्रो हैन । नेपालमा यसै कारण कृषि क्षेत्र पछाडि छ ।
कृषिमा मार्केट यसैले छैन । मैले ड्रागन फुड लगाए भने अर्कोले यसको प्रशोधन गर्ने सेकेण्डरी उपादन गर्ने काम गर्ने हो भने एक अर्कालाई सहज हुनेथ्यो । यसको सेकेण्डरी उत्पादनमा पनि प्रयाप्त हुन्छ । यसको मुन्टाको तरकारी, चियापत्ति, फलको बोक्राहरु कस्मेष्टिक उत्पादनहरु बन्छ । यस तर्फको सोच कसैले नल्याएको कारण खेर गइरहेको छ अहिले । यहाँ आपसमा देखासिकी बढी, लगाब कम हुने गरेको छ ।
नेपालमा नै कृषि अनुसन्धान कार्यलाई प्राथमिकता दिन पाए किसानहरु विस्थापित हुनु पर्दैनथ्यो । धेरै किसानहरुले हामीलाई नै कृषिमा यति धेरै लगानी किन गरेको डुबिन्छ भनेर सल्लाह दिने गरेको छन् । हामी हिम्मत हारेका छौनौं भोली के होला हेर्दै जाउँ ।
एग्रो–पर्यटनको रुपमा विकास गर्ने लक्ष्य लिनु भएको रहेछ । यसबारे पनि बताइदिनु होस् न ।
हो, हामीले कृषिलाई पर्यटनसँग जोडेर अगाडि बढ्न चाहेका हौं । कृषि कर्मले पनि पर्यटनलाई आकर्षित गर्न सकिने छ । एग्रोमार्टको रुपमा अगाडि बढ्दा हामीले कृषिको विद्यार्थीहरुलाई पनि ओजिटी गर्ने अवसर दिने गरेका छौं । अहिले पनि ४ जना विद्यार्थीहरु हामीसँगै बस्नु भएको छ । जनप्रिय प्राविधिक शिक्षालय हेटौंडाका ४ विद्यार्थी हाम्रो परिवारसँगै बस्नुहुन्छ । ६ महिना ओजीटी यहाँ गर्नुहुन्छ । उहाँहरुले पढेको कुरा हामी सिक्छौ, हामीले गर्दै आएको उहाँहरुले सिक्नुहुन्छ ।
खेती कसरी गर्ने, पशुपालन कसरी गर्ने भन्ने कुराको सिकाइ गर्ने थलोको रुपमा विकास गर्ने लक्ष्य छ।
यो ड्रागन फुडको बिचमा आन्तरबालिको रुपमा हामीले स्टोबेरी, खरबुजालगायत लगाउँदै छौं । विद्यार्थीहरुलाई फिल्डमै गएर सिक्ने अवसर दिने र आन्तरीक पर्यटन गर्न चाहनेहरुलाई कृषिको हराभरा भूमिमा पुगेर आनन्द लिने वातावरण हामी बनाउने छौ । यसैको तयारी गर्दै छु अहिले चाँही। ड्रागन फुड लगाएको जग्गा पुरै हेर्न मिल्ने गरी स्टोशन टावर बनाएको छु । यसलाई व्यवस्थापन गर्न बाँकी छ । यहाँ बसेर फलफूलको स्वाद लिंदै आनन्द लिन सकिन्छ ।

विदेश जाने मन चाँही लागेन ?
लागेन । केही कारण छन् । जस्तो कि एक त मलाई घरमा अभाव थिएन विदेश नै गएर जीवन चलाउने बाध्याता भएन । अर्को कुरा मेरो ३ दिदीहरु हुनुहुन्छ । ३ जनै भिनाजुहरु बाहिर हुनुहुन्छ । उहाँहरुको परिवारीक विखण्डन, दुर हुँदाको न्यास्रोपना, विदेशमा गर्नुपरेको दुख कष्ट आम्दानी जस्ता सबै थाहा पाएको छु । त्यसैले पनि केही गर्छु यही गर्छु भन्ने लाग्यो ।
नयाँ पुस्तालाई के सुझाव छ ?
कृषि कर्ममा आउनुस् । यो नै सबैभन्दा आनन्दाको कर्म हो । देशले काँचुली फेर्नको लागि कृषि मै कान्ति हुनुपर्छ । यसको कुनै विकल्प छैन । र कृषिमा कान्ति ल्याउने भनेको युवाले हो, नयाँ नयाँ पुस्तको आकर्षणले हो । निर्वाहमुखी, परम्परागत शैली हैन, प्रविधिको प्रयोग गरेर कृषि कर्म गरौं । इजरायलमा २ प्रतिशतले कृषि पेशा अवलम्बन गरेका छन्, ९८ प्रतिशतलाई खान पुगेको छ, उहाँहरुले अन्य देशमा पनि निर्यात गर्नुहुन्छ । तर हामी ६५ प्रतिशतले उत्पादन गरेको भन्छौ, ९० प्रतिशतको हाराहारीमा आयात गर्छौ, यो लाजैमर्दा अवस्था छ । दलहन, तेलहन, फलफूलहरु बाहिरबाटै ल्याउनु पर्छ । यो विडम्बना छ । नयाँ पुस्ताहरु सँग म हातेमालो गर्न चाहन्छु, नयाँसँग सिक्न चाहन्छु । सकेसम्म अरुको सिको नगरौ । नयाँ नयाँ काम गरौं भन्न चाहन्छु ।
सरकारसँग केही अपेक्षा छ ?
अरु त केही अपेक्षा छैन । सरकारले कृषिलाई पहिले जस्तो बेवास्ता गरेको छैन । अहिले अनुदान, सहुतियतमा ऋण जस्ता अवसरहरु पनि छन् । तर भन्नै पर्ने कुरो चाँही सरकारले कुन क्षेत्रमा कुन बाली कति लगाउने र कहाँ मार्केट गर्ने भन्ने निधो गरेन । यसले गर्दा उत्साही किसानहरु पनि केही समयमा विस्थापित हुनुपर्ने बाध्याता आउँछ । अब मैले ड्रागनमा करोड लगानी गरेको छु । अर्कोले यहीका यसैगरी लगानी गर्छ, अनि उस्को पनि मार्केट हुन्न मेरो पनि हुन्न । अन्नतः दुबै विस्थापित हुनुपर्छ । यस्तो नहोस् भनेर सरकारले आवश्यकता अनुसारको उत्पादनमा विविधिकरण र बजारीकरणमा सहयोग गरिदिए कृषकहरु विस्थापित हुने अवस्था आउने थिएन ।
काममा व्यस्त हुँदा त्यही रमाइलो लाग्छ: सपना लामा
बाख्रा फार्म तर्फ व्यस्त हुनुहुन्छ । कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
व्यक्तिगत रुपमा एकदम सन्तुष्ट छु । भन्नेहरुले, देख्नेहरुले दुख पाएको देख्छन्, दुख पाइस् भन्नुहुन्छ तर मलाई बाख्रासँगै रमाउने बानि परिसक्यो । ७० वटा बाख्रा छन् । यिनिहरुको उमेर समूह अनुसार छुट्टाछुट्टै खोरमा राखेर आहार दिने गरेको छौं । राम्रो उत्पादन हुन्छ । एक जनालाई रोजगारी दिएर राखेको थिएँ । अहिले उहाँ हुनुहुन्न र म अलि बढी व्यस्त हुनु परेको छ । तर मलाई त्यस्तो धेरै भ्याइ नभ्याइ छैन । एक दिन २÷३ जना मान्छे लगाएर घाँस काटेपछि एक सातालाई ढुक्क हुन्छ । झण्डै एक रोपनि जग्गा भाडामा लिएर घाँस लगाएका छौं ।

तपाई त कृषि, जेटिए नै पढेको मान्छे, भेटेरेनरी तर्फ सरकारी जागिरे हुने रहर जागेन ?
जागेन । आफ्नो एग्रोभेट छ । बिरामी पर्दा औषधिको के खुवाउने, कसरी स्याहार गर्ने भन्नेमा पनि चिन्ता हुन्न । आफूले पढेको विषयमा काम गर्न पाउँदा झनै राम्रो रमाइलो त हुन्छ नै । २ वर्ष युएसएडको कृषि परियोजनामा पनि काम गरे । अहिले यसैमा खुसी र व्यस्त छु । अब जीवनमा जागिरे हुने सपना छैन । मेरो लागि सबै थोक यही फार्म हो । परिवारसँगै बस्यो, परिवारसँगै काम ग¥यो, परिवारमै रमायो यही छ आनन्द ।

निर्वाहमुखि रुपमा कृषि गर्न रुचाउनेहरुलाई के भन्नु चाहनु हुन्छ ?
खासमा हाम्रो वरपरका दिदी बहिनीहरु चोकमा बसेर कुरा काट्नु हुन्छ । माइतीको एक्लो छोरी घरमा दुख पाई भन्नुहन्छ मलाई केही लाग्दैन । आफूले पहिले पनि यही गरेको भएर होला म खुसी छु । आफैंले केही गर्नुपर्छ । परिवारको भर परेर हात फैलाएर बस्नु हुदैन । कुल बाली लगाउने ? कुन प्रजातिको बाख्रा पाल्ने, कति पाल्ने भन्ने विषयमा हामी श्रमिान् श्रीमती मिलेर सल्लाह गर्छौ ।
हामीले जुन काम गरिरहेका छौ, त्यसैलाई अलि ठुलो परिमाणमा, अलि फरक ढंगले, प्रविधिको प्रयोग गरेर काम गर्दा नाफा हुन्छ । गुजारा चल्ने मात्रै हैन । उदारणीय पनि बन्न सकिन्छ भने किन नगर्ने त ? कुनै पनि काम ठुलो सानो हुदैन ।

मकवानपुरगढीका कृषि अधिकृत चौधरी ‘ईन्टीग्रेटी आईकन २०२१’बाट सम्मानित
Tags: No Comments
मकवानपुर/मकवानपुरगढी गाउँपालिकाका मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका छन् ।अकाउन्टविलिटी ल्याब नेपालले यसवर्षको अवार्ड सार्वजनिक गरेको हो ।
जेटिए अध्ययन गरेका चौधरी २०६० सालमा प्राविधिक चौथोबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । व्यवसायिक तरकारी खेतिको क्षेत्र बिस्तार गरे । थोरै क्षेत्रमा खेती गर्दा लगानी बढी लाग्ने र घर खर्चलाई मात्र पुग्ने हुन्छ । क्षेत्र विस्तार गरेर खेती गर्दा राम्रो कमाउन सकिन्छ भनेर उनले शुरुमा मकवानपुरगढी गाउँपालिका वडा नं. ३ का ५/७ जना किशानहरु भेला गरेर यसबारे ज्ञान दिलाए । उनकै ज्ञान र सल्लाहबाट बाँकी पेज ५ मा मकवानपुरगढी गाउँपालिकामा १० कठ्ठा जग्गामा खेती गर्ने कृषक अहिले ८/९ बिगाहामा खेती गर्ने भएका छन् ।

उनले वडा नं. ८ मा बेमौसमी तरकारी खेतीको सम्भावना राम्रो भएको देखे । २०७५ सालमा गाँउपालिकाबाट बजेट बिनियोजन गरेर बेमौसमी तरकारी क्षेत्र घोषणा भयो । हाल त्यस क्षेत्रका ८२ जना किशानहरु बेमौसमी खेती गरेर आमदानी लिईरहेकाछन् ।
स्थानीय तहमा माटो परिक्षणको प्रयोगशाला स्थापनामा पनि उनको योगदान छ । बागमती प्रदेश सरकारले माटो परीक्षण प्रयोगशालालाई सहयोग गर्ने कार्यक्रम थियो । प्रदेश सरकारले ५ स्थानीय तहलाई प्रयोगशालाका सामानहरु सहयोग ग¥यो । ५ वटा मध्ये सबै भन्दा पहिले मकवानपुरगढी गाउँपालिकाले ल्याब सञ्चालन ग¥यो । पहिले अदुवामा रोग लाग्ने समस्या थियो । अहिले माटो परीक्षण गरेर अदुवा लगाउदाँ उत्पादन बढेको छ । यसले गर्दा कृषकहरु अदुवा खेती प्रती आकर्षित भएका छन् ।
गाउँपालिकामा कृषकहरुको उत्पादनलाई सहकारी मार्फत बजारीकरण गर्ने भूमिकामा पनि उनी अगाडि देखिएका छन् ।कृषकले उत्पादन बढाए पनि उचित मुल्य नपाउने समस्या समाधान गर्न उनले सहकारी मार्फत बजारीकरण अवधारणा पालिकामा पेश गरे । पालिकाले बजेट छुट्यायो । त्यसपछि खुला प्रतिश्पर्धाबाट एउटा सहकारी पसल सञ्चालनमा आयो । त्यसपछि कृषकले कम मूल्य पाउने र उपोभोक्ताले बढी मूल्य तिर्नु पर्ने समस्या न्यूनीकरण भयो । त्यसमाथी कृषकलाई प्रोत्साहन गर्न धान, गँहु, मकै, कोदो, फापर जस्ता अन्न सहकारी मार्फत बिक्रि गर्दा पालिकाले किलोको २ रुपैया थप दिने र सहकारीले पनि भण्डारन गरे बापत किलोको २ दुई रुपैया पाउने व्यवस्था लागु गर्न पनि उनले नै पहल गरे ।
यसैगरी किसान क्रेडिट कार्ड सुविधा पनि गाउँपालिकाले ल्याएको छ । दुई लाखसम्म ऋण उपलब्ध हुने गरी किसान क्रेडिट कार्ड २५ जनालाई वितरण गरिएको छ । यसको फोकल पर्सन चौधरी आफै छन् । उनले करिब ७० जना किसानको लागि क्रेडिट कार्ड सिफारिस गरिसकेका छन् । नेपाल बंगलादेश बैंकले प्रकृया पुरा गरेर कार्ड मार्फत कर्जा उपलब्ध गराउँदछ । विशेष गरेर व्यवसाय सुरुवात गर्ने साना किसान जस्तै, २ वटा गाई पाल्ने, १० वटा बाख्रा पाल्ने कृषकहरुलाई लक्षित गरेर यो कार्यक्रम ल्याईएको हो ।

कृषक व्यवसायिक खेतिबाट मनग्गे आमदानी गररे खुसी अनुहार लिएर कार्यालय आउँदा रमाउने चौधरीले व्यवसाय, बजार र प्रविधीसँग किशानलाई अभ्यस्त बनाएर एक उदाहरणीय कृषि प्राविधिकको रुपमा आफुलाई प्रस्तुत गरेका छन् । प्रतिफलकाे आशा नराखी आफ्नाे जिम्मेरी पुरा गर्दा आफूले सम्मान पाउँदा कामप्रतिकाे लगावमा झनै हैसला मिलेनकाे उनले सहीखबरसँग बताए ।
चौधरी सहित नवलपुरासी पुर्व जिल्लाका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी,भेरी अस्पताल, नेपालगञ्ज बाँकेका नर्सिङ अधिकृत (कोभिड फोकल पर्सन) शिला शर्मा, भक्तपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम, र भाषा आयोगका उपससचिव डा. लोक बहादुर लोप्चनलाई ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मान गर्ने निर्णय भएको हो ।
तस्बिर साभार: चाैधरीकाे फेसबुक
मकवानपुर / प्रदेश सभा सदस्य मुनु सिग्देलले किसानको जीवनस्तर उकास्नको लागि सरकारले खासै ध्यान नदिएको बताएकी छिन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्वीकृत बार्षिक कार्यक्रम सार्वजनिकरण गोष्ठीमा सोमबार उनले यस्तो बताएकी हुन् ।
कार्यक्रम प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले कृषिप्रधान देशको कृषि क्षेत्रमा आधुनिकताको लागि सरकार आवश्यकता अनुसार गम्भीर नभएको बताए ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले स्थानीय तहहरुसँगको समन्वय गरेर कार्यक्रमहरू लक्ष्यित वर्गसम्म पुर्याउन पर्ने बताए । वास्तबिक किसानसम्म नपुग्दा अनुदानमा आधारित कार्यक्रमको प्रभावकारिता नहुने बिष्टले बताए । केन्द्रले पशुको शिविर सन्चालन गर्नुपर्ने आवश्यकता रहेको बिष्टले औल्याए । यसैगरी इन्द्र सरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले स्थानीय तहमा बजेट बिनियोजन हुंदा र कार्यान्वयनमा पठाउंदा राजनीतिक विभेद हुनेगरेको गुनासो गरे । गाउँपालिकामा पशु बीमालगायतको कार्यक्रम समन्वय र सहकार्य नभएको कारण पशुको लागि छुट्याइएको बजेट फ्रीज भएकोमा उनले आक्रोश व्यक्त गरे ।
कार्यक्रम बिज्ञ केन्द्रका प्रमुख सुशील केसी, डाक्टर ध्रुब डीसीले स्वीकृत कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम जिल्लाका स्थानीय तहका प्रमुखहरू तथा पत्रकारहरुको उपस्थिति रहेको विज्ञ केन्द्रका प्रदीप सापकाेटाले बताए ।

मकवानपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले चालु आर्थिक वर्षमा सम्पन्न गरेका कार्यक्रम र आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरिएको कार्यक्रमबारे समिक्षा तथा जानकारी गराएको छ ।
स्थानीय तहका पदाधिकारीहरू तथा पत्रकारहरूको उपस्थितिमा कार्यक्रमको बार्षिक प्रगति समीक्षा तथा आगामी आर्थिक वर्षको कार्यक्रम बारे अन्तरक्रिया कार्यक्रम गरेको हो । मंगलबार आयोजना गरिएको कार्यक्रममा केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत सुशील केसि र पशु विकास अधिकृत डाक्टर ध्रुव डीसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले केन्द्रबाट प्रवाह गर्दै आएको अनुदानमा आधारित कार्यक्रमहरु स्थानीय तहबाट प्रवाह हुनुपर्ने र केन्द्रबाट पशुस्वास्थ्य सेवाको कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । स्थानीय तहका पदाधिकारी र कर्मचारी प्रशासन बिच समन्वय नभएको कारण लक्षित प्रगति हासिल गर्न नसकिएको अन्तरक्रियामा बताइएको थियो ।गाईभैसी, बाख्रा, बंगुर, मस्त्य पालनको लागि स्थलगत तालिम, घाँसको लागि अनुदान प्रदान गर्दै आएको सेवा केन्द्रले संस्थागत संरचना अनुसारको कार्यक्षत्रलाई प्राथमिकता नदिएको थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले बताए । “व्यवसायिक कृषकहरुको लागि विभिन्न तालिमहरु स्थानीय तहहरुले गर्ने हो, भेटेरेनरी अस्पतालले आफ्नो प्रकारको सेवामा ध्यान दिनुपर्छ” प्रमुख विष्टले भने ।
डाक्टर डीसीका अनुसार अस्पतालले आगामी आ.वको लागि पहिलो पटक पशुमा हुनसक्ने महामारी नियन्त्रणको कार्यक्रम, मासु पसल सुधारको कार्यक्रम माग गरिएको छ । यसवर्ष १० वटा मासु पसल सुधार गर्ने कार्यक्रम माग केन्द्रले जनाएको छ । यसैगरी व्यवसायी पशुपालन, गोठ सुधार, किसानलाई अनुदान, रेन्बो ट्राउट माछापालन कार्यक्रमहरु पनि माग गरिएको केन्द्रले जनाएको छ ।
यसैगरी निजी सरकारी र सहकारी स्वामित्वमा रहेको बांझो बारीमा घाँस खेती कार्यक्रमलाई पनि यसवर्ष निरन्तरता दिने कार्यक्रम रहेको छ । केन्द्रले आगामी आवको लागि ५ करोड ४३ लाख बराबरको कार्यक्रम माग गरिएको डाक्टर डीसीले बताए ।
केन्द्रले हालै मात्र हेटौंडा उपमहानगरपालिका भित्र १०३ वटा कुकुरको बन्ध्याकरण गरेको डीसीले बताए । स्थानीय जनप्रतिनिधि र कर्मचारीतन्त्र बिचमा समन्वय नहुदा कार्यप्रगती अपेक्षाकृत उपलब्धि नभएको केन्द्र प्रमुख केसीले बताए । केन्द्रले चालु आर्थिक वर्षमा ७३ दशमलब २९ प्रतिशत भारित प्रगति र ७५ दशमलब ३१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाइएको छ।
त्यस्तै प्रधानमन्त्रीमन्त्री कृषि आधुनिकरण कार्यक्रम तर्फ ७० दशमलब ७७ प्रतिशत र बित्तीयतर्फ ६७ दशमलब २० प्रतिशत काम भएको जानकारी गराईएको थियो । यस्तै चालु आर्थिक बर्षमा गाई ब्लक कार्यक्रम अन्तरगत १३२, गोठ सुधार ४७ गरिएको थियो ।

कार्यक्रममा केसीले तिनै तहको सरकारसँग समन्वय नहुँदा कार्यक्रम कार्यान्वयनमा समस्या परेको बताए । कार्यक्रममा थाहानगर प्रमुख लबशेर बिष्ट, हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामाले मन्तव्य व्यक्त गरेका थिए ।
स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको सेवा गर्ने मौका पाएको तर अझै धेरै गर्न बाकी रहेको बताए । विषयगत कार्यालयहरुले अनुदानमा आधारित कार्यक्रम गर्दा जनप्रतिनिधिहरूसंगको सहकार्यलाई ध्यान दिन उनीहरूले आग्रह गरेका थिए ।
मकवानपुर । पर्यटकीय क्षेत्रकाे विस्तार तथा व्यवस्थापनकाे लागि प्रदेश सरकार सकारात्मक रहेकाे प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले बताएका छन् ।
बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा फरक ढंगले पर्यटक आकर्षण गर्न होमस्टे सञ्चालनमा ल्याईने तयारी भएको उनले बताएका छन् । विशेष गरी प्रदेश २, भारतीय पर्यटक र बागमती प्रदेशका स्थानीय पर्यटकलाई लक्षित गरेर हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडा ड्राइभर डाँडामा होमस्टे गाउँ निर्माण भईरहेको छ । शुक्रबार होमस्टे गाउँ निर्माण स्थल पुगेका मुख्यमन्त्री पाैडेलले यस्ताे बताएका हुन् ।
हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडाको ६ लाख र प्रदेश सरकारको ३० लाख लागतमा १० वटा होमस्टे निर्माण भईरहेको छ । होमस्टे सञ्चालन अब आउने आर्थिक वर्ष २०७८/०७९ भित्र हुने वडाध्यक्ष दिपक खड्काले बताए । उनले भने ‘हामीले १४ नम्बरमा १० वटा होमस्टे सञ्चालन गर्ने योजना बनाए अनुरुप यहाँका स्थानीयलाई लमजुङको घलेगाउँ र बन्दिपुरको होमस्टेमा लगेर तालिम दिएका छौं । सोहि अनुरुप होमस्टेको लागि आवश्यक भवनहरु निर्माण सम्पन्न हुने वित्तिकै सञ्चालन गर्नेछौं । ’
होमस्टको लागि आवश्यक अनुमतिको लागि उपमहानगरको पहलमा पर्यटन बोर्डमा पहल भईरहेको वडाध्यक्ष खड्काले बताए । उनले होमस्टे सञ्चालन भएपछि आवश्यकता र माग अनुसार होमस्टे थप्न सकिने बताए ।
होमस्टेमा स्थानीय परिकार, स्थानीय संस्कृती झल्कने गरी लोकल कुखुरा, ढिँडो, गुन्द्रुकलगायत हुने बताए । यस्तै गुन्द्री, सुकुल, चकटीहरु समेत प्रयोग गरेर स्थानीय झल्को दिने गरी निर्माण सम्पन्न हुने वडाध्यक्ष खड्का बताउँछन् । स्थानीय क्षेत्रमा बसाेबास गर्दै गर्दा स्थानीय परीकारकाे स्वादहरू चखाउने, संस्कारकाे प्रदर्शनी गर्दा स्वतः प्रचार हुने उनले बताए ।