मकवानपुर/भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाले पीपीआर खोप सन्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अभिमुखिकरण गरेको हो ।
आगामी २५ माघबाट सञ्चालन हुने सप्ताह व्यापि पीपीआर खोप अभियानलाई लक्ष्यित गरी जिल्लाको १० वटै स्थानीय तहका भ्याक्सिनेटरहरुलाई अभिमुखिकरण गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले आइतबार र सोमबार गरी सबै स्थानीय तहका भ्याक्सिनेटरहरुलाई पीपीआर खोपमा हुनुपर्ने आदर्श गुणहरु, खोप लगाउनु पूर्व सचेत हुनु पर्ने र खोप लगाए पश्चात आइपर्न सक्ने खतराजन्य अवस्था र त्यसको पूर्वतयारी बारे अभिमुखिकरण गरेको हो । कार्यालयले आगामी २५ माघ देखि २ फागुनसम्म भेडा बाख्रामा लाग्ने पीपीआर रोग विरुद्ध सप्ताह व्यापि खोप अभियान सञ्चालन गर्न लागेको छ ।

खोप लगाउने तरिका नमिल्दा पशुलाई एण्टिबडी निर्माणका लागि काम नगर्ने भएकोले अभियानको प्रभावकारीता बढाउन यस्तो अभिमुखिकरण गरिएको केन्द्र प्रमुख सुशिल केसीले बताए ।
कार्यक्रममा स्रोत व्यक्ति डाक्टर ब्रजकिशोर ठाकुरले सहजिकरण गरेका थिए । सहभागी भ्याक्सिनेटरहरुलाई खोपको प्रभावकारीता बढाउनको लागि निर्देशनको पालना गर्न उनले आग्रह गरे । पीपीआर खोपले भेडा बाख्राहरुमा रोगसँग लड्ने क्षमता वृद्धि गर्ने भएकोले आदर्श तरिका अपनाउन ठाकुरले आग्रह गरे । प्रयोग अगाडि भ्याक्सिन जांच गर्ने, चराएर ल्याएका भेडा बाख्रामा भ्याक्सिन लगाउन पुर्व केही बेर आराम गर्न दिने, खोप दिन साथै देखापर्न सक्ने नकारात्मक वा अन्य लक्ष्यणबाट पशु धनीलाई खोप लगाउनुभन्दा पहिले नै जानकारी दिनुपर्ने, खोपलाई मापदण्ड अनुसारको तापक्रममा राख्नुपर्ने ठाकुरले बताए ।

तरल खोपहरू घाममा नराख्न, एउटै खोप एकभन्दा बढी पशुमा प्रयोग नगर्न वा गर्नै परेमा उमालेर निर्मुलिकरण गरेर मात्रै प्रयोग गर्न, खोपको प्रयोग गर्नु पुर्व निर्देशनको अध्ययन र पालना गर्न निर्देशन ।
यस्तै खोप स्थानान्तरण गर्दा ध्यान दिनुपर्ने कुराहरूमा चनाखो बन्न, तरल खोपहरू घाममा नराख्न, एउटै खोप एकभन्दा बढी पशुमा प्रयोग नगर्न वा गर्नै परेमा उमालेर निर्मुलिकरण गरेर मात्रै प्रयोग गर्न, खोपको प्रयोग गर्नु पुर्व निर्देशनको अध्ययन र पालना गर्नुपर्न उनले भ्याक्सिनेटरहरुलाई आग्रह गरे ।
खोप लगाएपछि एलर्जी, खोपको कारण मस्तिष्क सुन्निने जस्ता खराबी हुन सक्ने भएकोले यसको निवारणको लागि पनि सचेत बन्न ठाकुरले आग्रह गरे ।
कार्यक्रममा केन्द्रका पशु विकास अधिकृत डाक्टर ध्रब डिसी, लेखा शाखा प्रमुख बिनिता सिंह, सहायत स्तर पाँचौ प्रदीप सापकोटालगायतको पनि उपस्थिती रहेको थियो ।
सरकारले दूधको मूल्य बढाएकोमा उपभोक्तकर्मीले आपत्ति जनाएका छन् । सोमबार सरकारले किसानको नाममा बढाएको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वास्तविक किसानको हातमा नपुग्ने र बिचौलियाको मात्र पोसिने उपभोक्ताकर्मीको भनाइ छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिचौलिया पोस्न सरकारले किसानको नाममा दूधको मूल्यवृद्धि गरेकोे आरोप लगाए । ‘एउटा गाईको गोठ, एउटा बाल्टिनसमेत नभएका बिचौलियालाई पोस्नु किसानको नाममा सरकारले दूधको मूल्यवृद्धि हो,’ अध्यक्ष महर्जन भने, ‘सरकारले दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पु¥याए पनि गाईको गोठमा गोबर सोहोर्ने किसानले पाउने मूल्य भनेको ४० देखि ४५ रुपैयाँ मात्र हो ।’
उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिना सरकारले कुनै अध्ययन अनुसन्धान नगरी हचुवाको भरमा दूधको मूल्य बढाएको बताउँछन् । किसानका नाममा सीमित व्यापारीलाई पोस्न सरकारले दूधको मूल्यवृद्धि गरेको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले सरकारले बढाएको मूल्य व्यापारीका लागि नभएर किसानले पाउने बताए । प्रवक्ता सन्जेलले उपभोक्ताले पाउने मूल्य अहिले नबढेको जानकारी दिए ।
‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको हो, अहिलेलाई उपभोक्ताका लागि मूल्य निर्धारण भएको छैन, ‘प्रवक्ता सन्जेलले भने ‘कच्चा दूधको मूल्यवृद्धि फ्याट र एसएनएफका आधारमा हुन्छ ।’ सरकारले दूधको न्यूनतम् फ्याट ४ प्रतिशत र एसएनएफ ८ प्रतिशत कायम गरेको छ । ‘फ्याट र एसएनएफ बढी भए किसानले दूधमा बढी मूल्य पाउँछन्,’ प्रवक्ता सन्जेलले बताए ।
किसानबाट खरिद गर्ने दूध प्रशोधनका लागि लाग्ने लागत जोडेर उपभोक्ता मूल्य मन्त्रालयले पछि तय गर्ने प्रवक्ता सन्जेलको भनाइ छ । राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान र मन्त्रालयको आपसी छलफलमा लागतका आधारमा उपभोक्ता मूल्यपछि निर्धारण हुने प्रवक्ता सन्जेलले जानकारी दिए ।
मन्त्रालयको सहमतिमा दुग्ध विकास बोर्डले मूल्य निर्धाण गरेको दूधको मूल्य दुग्ध विकास संस्थानलाई मात्र लागू हुने उनले बताए । ‘अन्य दुग्ध कम्पनीले सरकारले निर्धारण गरेको मूल्यका आधारमा मूल्य बढाउन सक्छन्,’ प्रवक्ता सन्जेलले भने । अन्य दुग्ध कम्पनीले दूधको गुणस्तरका आधारमा आप्mनो मूल्य निर्धाण गर्न सक्ने उनको भनाइ छ ।
दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थानका लागि दूधको मूल्य निर्धारण गर्न मन्त्रालयबाट अध्ययन प्रतिवेदन लिइसकेको र केही दिनमा मन्त्रालयको सहमतिमा मूल्य निर्धारण गर्ने प्रवक्ता सन्जेलले जानकारी दिए ।
राष्ट्रिय दूग्ध विकास बोर्डका कार्याकारी निर्देशक राजेन्द्र यादवले उपभोक्ता र उद्योगीका लागि दूधको मूल्य निर्धारण हुन केही समय लाग्ने जानकारी दिए । उनले सरकारले पहिलोपटक किसानको न्यूनमत मूल्य निर्धारण गरेको हुँदा केही अध्ययन गरेर मूल्य निर्धारण गर्नुपर्ने भएकाले केही समय लाग्ने बताए । बोर्डका कार्यकारी निर्देशक यादवले उद्योगी र उपभोक्तालाई असर नपर्ने गरी राम्रो अध्ययन गरी मूल्य निर्धारण हुने जानकारी दिए ।
उनले मूल्य निर्धारणका लागि पहिलो चरणको अध्ययन भइरहेको थप अध्ययन गरी मन्त्रालयको सहमतिमा बोर्डले दूधको मूल्य निर्धारण गर्ने बताए । निर्देशक यादवले भने, ‘सरकारले पहिलोपटक किसानले दूधको मूल्य निर्धारण गरेको हुँदा हामीलाई नयाँ भएको छ । बोर्डले पहिलो चरण पूरा गरेको भए पनि थप दोस्रो चरणको अध्ययन गर्नुपर्नेछ । सरकारले दूधको मूल्य १३.१७ प्रतिशत बढेको छ । उद्योगी र उपभोक्तालाई भार नपुग्नेगरी यो साताभित्र बोर्डले मूल्य निर्धारण गर्ने निर्देशक यादवले जानकारी दिए ।
दूधको मूल्यवृद्धि हुँदा किसान खुसी
सरकारले दूधको मूल्यवृद्धि गर्दा किसान खुसी भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा पु¥याएपछि किसान खुसी भएका हुन् । पछिल्लो समय पशुलाई खुवाउने दाना, चोक्कर, पराल र औषधिको समेतको मूल्य अत्यधिक बढेकाले उत्पादन लागत खर्च पनि उठाउन सक्दा किसान आप्mनो पेसाप्रति चिन्तित थिए । यसअघिको दूधको मूल्यभन्दा ६ रुपैयाँ ५२ पैसा प्रतिलिटर सरकारले बढाइदिएपछि किसान हर्षित भएका हुन् । यसअघि किसानले प्रतिलिटर न्यूनतम दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा पाउने गरेका थिए ।
केन्द्रीय दुग्ध सहकारी संघका महासचिव राम आचार्यले सोमबार सरकारले दूधको न्यूनमत मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गरेकाले किसान खुसी भएको बताए । ‘हामीले सरकारसँग किसानको दूधको प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने माग गरेका थियौं,’ आचार्यले भने, ‘सरकारले प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको छ । सरकारले गरेको यो निर्णयप्रति हामी खुसी नै छौं ।’ उनले भने, ‘पछिल्लो समय पशुहरूलाई खुवाउने दाना परालको मूल्य धेरै पढेको हुँदा किसानलाई आप्mनो लागत खर्च उठाउन मुस्किल भएर आप्mनो पेसाप्रति निराश भएका थिए ।
सोमबार सरकारले गरेको निर्णयले किसानमा केही आशा पलाएको छ । उनले भने, ‘किसानको दूधको मूल्यवृद्धि गर्दा सरकारले निर्धारण गरेको मूल्यमा किसानलाई नाफा नभए पनि लागत खर्च उठाउन सकिने महासचिव आचार्यको भनाइ छ । मूल्यसँग स्वच्छ र गुणस्तरीय दूध हुने पनि उत्तिकै आवश्यक भएको हुँदा उद्योगीहरूले उपभोेक्तालाई स्वच्छ र गुणस्तरीय दूध बिक्री वितरण ध्यान दिनु आवश्यक रहेको उनले बताए । राजधानी दैनिकमा प्रकाशित समाचार
मकवानपुर/मनमा सकारात्मक संकल्प छ भने, जस्तोसुकै समयमा पनि सकारात्मक योजना बुन्न सकिन्छ । यसको गतिलो उदाहरण बनेका छन्, हेटौंडा उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी । उनैको नेतृत्वमा विगतमा डरलाग्दो झाडीको रुपमा रहेको र वर्षायाममा स्थानीयवासीको लागि अभिसाप बनेको खहरेले पार्कको रुप लिदैंछ ।
एक स्थानीय तह एक पार्क निर्माण गर्ने अबधारण अनुसार पार्क निर्माणको खोजिमा रहेको वडा कार्यालयले खहरेको झाडी सफा गरेर पर्यटकीय स्थल बनाएको हो । जहाँ स्थानीय वडावासीदेखि सांसद र प्रदेश सरकारले हेस्टेमा हैंसे गरे ।
यसरी जन्मियो पार्कको अबधारण
पहिलो चरणमा कोरोना भाइरसको प्रकोपले देशव्यापी लकडाउन भयो । दैनिक ज्याला मजदुरी गरेर खाने वर्गहरुको चुल्हो बल्न छाड्यो । छाक टार्नकै लागि दैनिक ज्यालामजदुरीमा जानेहरुको बालबालिका भोकभोकै पर्न थालेपछि सबैजसो स्थानीय तहहरुले खाद्यान्न वितरणको कार्यक्रमहरु अघि सारे । हेटौंडा उपमहानगरपालिका –९ ले पनि खाद्यान्न वितरण ग-यो । स्वार्थ र लोभले भरीएका मानिस कोही न केही जहाँ पनि भेटिन्छन्, यहाँ पनि भेटिए । घरमा खाद्यान्न प्रर्याप्त भएका, काम गर्न लाज मान्नेहरु पनि राहत थाप्न आए । खानै पाइन भन्दै राहत लिन आउनेलाई दिनै प-यो । वडा अध्यक्ष भण्डारीलाई यसरी सही काम भएको लागेन । राहतमा वितरण गरेको चामल गाईलाई खुवाएको आफैंले देखे । “यस्तो चामल हामी खादैनौ, उर्जा खान्छौं भन्दै चामल गाईलाई खुवाए, अनि मैले राहत वितरण गर्ने सोच फेरे” भण्डारी भन्छन् । सित्तैमा पाएपछि लिने र फाल्ने परम्परा हटाउन श्रममा आधारीत राहत वितरण थाले उनले ।

पार्क निर्माणको सपनाले अब मुर्त रुप लिने यहि अवसर बन्न सक्छ भन्ने सोच झ्वाट्ट आयो । बजेटको अभावको कारण डरलाग्दो झाडी फाँड्न सकिएको थिएन । लकडाउनमा खाद्यान्नको समस्या हुनेले आफ्नो घरेलु हतियार प्रयोग गरेर झाडी फाँड्नमा सहभागी हुने र साँझ राहत लिएर फर्कने भन्ने उर्दी टोल विकास मार्फत उनले आफ्नो वडावासीलाई सुनाए । अनि साँच्चै राहत आवश्यक पर्नेहरु काममा आउन थाले । वडा अध्यक्ष भण्डारी आफ्नो निजी गाडीमा राहत बोकेर बाड्न थाले ।
अहिले त्यही विगतको डरलाग्दो झाडी सबैको आकर्षणको केन्द्र विन्दु अर्थात व्यवस्थित दिव्य बाल उद्यान बन्ने क्रममा छ । पिकनिक स्पोट सहितको पार्क । हेटौंडा–९ बेतखोल्सी सामुदायिक वन क्षेत्र र खोलाको किनारमा रहेको १८ बिगाहा जमिन अब विगतको जस्तो पस्नै डराउनु पर्ने झाडी छैन । बरु मन बहालाउने रहर लाग्दो पार्कमा परिणत हुँदै छ । पार्कको केही संरचना निर्माण भैसकेको छ ।

पार्क प्रवेश गर्ने मुख्य गेट निर्माण गरिएको छ । प्रवेश गर्ना साथ विभिन्न रङ्गको वाटर फाउण्डेसन निर्माण सम्पन्न छ । त्यसपछि बनेको छ कम्युनिष्ट नेता मदनकुमार भण्डारी र जीवराज आश्रितको आकर्षक प्रतिमा । यसैगरी शान्तिको प्रतिक गौतम बुद्धको प्रतिमा राखिएको छ ।
केही माथि नेपाल आमाको प्रतिमा राख्ने योजना रहेको वडा अध्यक्ष भण्डारीले बताए । “नेपाल आमाको प्रतिमा हामीले सबै भुगोलको सम्मान दर्शिने गरि राख्ने छौं” भण्डारीले भने । उनलका अनुसार नेपाल आमाको प्रतिमामा हिमाल पाहाड तराईवासीको भेषभुषा झल्कने गरी बनाइने छ । यसै गरी अन्य अन्य राष्ट्रिय बिभुतीहरुको प्रतिमा पनि राखिनेछ ।
एक स्थानीय तह एक बाल उद्यान नीति अनुसार यो पार्क निर्माण गर्न लागिएको हो । हालसम्म पार्क निर्माणको लागि गत आर्थिक वर्षमा ४५ लाख र चालु आर्थिक वर्षमा ३२ लाख खर्च भैसकेको छ । पार्क निर्माणको लागि बागमती प्रदेश सरकारले सबैभन्दा बढी लगानी गरेको छ । हेटौंडा उपमहानगरपालिका, ९ नम्बर वडाबाट पनि बजेट लगानी गरिएको भण्डारीले बताए । पार्कमा आन्तरीक तथा बाह्य रुपमा पिकनिक खाने रमाइलो गर्नको लागि स्पोट पनि तयारी रहेको छ ।

पार्क भित्र मानव सेवा आश्रमले गुलाब बगैँचा निर्माण गर्दै छ, जहाँ संसारमा पाइने सबै प्रजातिको गुलाबका फूलहरु फुल्नेछन् । वनस्पति कार्यालय हेटौंडा, सियान पुनस्र्थापना केन्द्र, गोर्खा लहरीले निश्चित स्थान लिएर आकर्षक व्यवस्थापन गर्ने काम जारी छ । “अहिले पनि मर्निङ वाक गर्न आउने आनन्द अनुभुति गर्छन” उनले भने । झाडीको रुपमा रहेको यो स्थानमा कोरोना महामारीको पहिलो लरहमा श्रममा आधारीत राहत वितरण कार्यक्रम गरेर झाडी हटाइएको थियो ।
खोलाको बगर भएकोले बिरुवा हुर्कने माटो भर्न समय लागेको उनले बताए । “बिरुवा हुर्काउन माटोकै अभाव छ, हामी आत्तिएका छैनौ, पानीको पूर्ण व्यवस्था भएकोले पनि अब धेरै समय लाग्दैन” उनले भने ।

“वर्षायाममा गाउँ नै बगाउला जस्तो गरी आउने खहरे खोलाको बगरमा पार्क बनाउने सपना देखेकै थिएनौ” स्थानीय आरबी पौडेलल भने “इच्छा भयो भने सकिने रहेछ ।” खोलाले बस्ती कटान गरेर आजित थियौ, तारबेर गरेर विस्तारै व्यवस्थित गर्दै थियौ अब त पर्यटकीय क्षेत्र बन्यो उनले भने ।
कोरोनाको समयमा दैनिक ३० जनाका दरले भौतिक दुरी कायम गर्दै काम गरिएको उनले सुनाए । झाडी सफा गर्न झण्डै २ सय जनाले श्रमदान गरेको बेतखोल्सी सामुदायिक वनका अध्यक्ष बासु प्याकुरेले बताए । त्यस लगतै लागत सहभागितासहित उपमहानगरपालिकाले प्रदान गरेको बजेटबाट पार्कमा बाटो खोल्ने, कम्पाउन्ड पर्खाल लगाउने कार्य भएका उनले बताए ।
भण्डारीले जहाँ हात हाल्छन्, त्यहाँ उदाहरणीय व्यवस्थापन गर्दछन् । उनले व्यवस्थापन गरेको बेतखोल्सी सावउस र यसै बाल उद्यानसंगै जोडिएको प्राथमिक बिद्यालय सुधार पनि उत्कृष्ट /उदाहरणीय छ।
मकवानपुर / कृषि तथा पशुपंछी मन्त्री बसुन्धरा हुमगाईले कृषि पेशालाई आधुनिकीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् ।
पशुपालक किसानलाई प्रोत्साहन गर्दै उनीहरुको समस्यालाई सम्बोधन गर्न सरकारले विशेष योजना बनाएको उनले बताए । पुश उपचारको लागि वडा वडामा पशु स्वास्थ क्लिनिक स्थापना गर्न प्रदेश सरकारले योजना बनाएको मन्त्री हुमगाइले बताए ।
यस बर्ष नै २० वटा क्लिनिक सन्चालनमा ल्याउने उनले बताए । हेटौंडा उपमहनगरपालिका १२ पदमपोखरी स्थित त्रिवेणी कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा उनले यस्तो बताए हुन् । किसानको वर्गीकरण गरेर सहुलियत दिने, कर्जा लगानी गर्नेलगायतको कार्यक्रम ल्याएको उनले बताए ।
प्रदेश सरकारले कृषि व्यवसाय गर्नको लागि लघुबिक्त कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएकोले उनले बताए । मन्त्री हुमगाईले युवा किसानलाई योजनामुताविक काम गर्दा सफलता मिल्ने हुंदा यसै अनुसार काम गर्न आग्रह गरे ।
कार्यक्रममा हेटौंडा उपहानरपालिका उपप्रमुख मिनाकुमारी लामाले वैदेशिक रोजगारभन्दा आफ्नो माटोमा पर्याप्त उत्पादन गर्न थालेको प्रती गौरव लागेको बताइन् । व्यवसायीक बन्नको लागि नगरपालिकाले आर्थिक लगानी सहजीकरण र प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने उनले बताइन् ।

कार्यक्रममा कृषि विकास बैंक लिमिटेड हेटौंडा कान्तिराजपथ शाखा प्रबन्धक नुरप्रसाद गौतमले युवालाई सहुलियतपुर्ण कर्जा प्रवाह गरेकोले सहभागी हुन सक्ने अवसर लिन आग्रह गरे । सरकारले किसानले उत्पादन गरेको उपजको न्युनतम मुल्य तोक्नुपर्ने नत्र उद्यमशीलता मर्दै जाने जोखिम रहेको बताउँदै प्रदेश तथा स्थानीय सरकारले यसतर्फ योजनाहरु बनाउनु पर्ने गौतमले बताए ।

साधारण सभामा संस्थाका अध्यक्ष सुरज थिङले आर्थिक, प्राबिधिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीले साधारणसभा कै अवसरमा हेटौंडा १२ का प्रकाश स्याङ्तान, हेटौंडा १३ की सुमित्रा कुमारी वाइबा र हेटौंडा १४ का जीवन थिङ्गलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरेको सहकारीका उपाध्यक्ष फेन्चु लामाले बताए ।
‘उहाँहरुको लगावलाई हेरर अरुले पनि सिक्न जोश मिलोस भनेर हामीले सम्मान कार्यक्रम पनि राखेका हौं’ उपाध्यक्ष लामाले भने ।

सहकारीमा आवद्ध युवाहरुले पदमपोखरीको २० बिगाहा जग्गामा व्यवसायीक मेवा उत्पादन गरि ५० लाखभन्दा बढी नाफा गरेको अध्यक्ष थिङले बताए । यसैगरी ४ सयभन्दा बढी युवाहरू कृषि कर्ममा जोडिएको उपाध्यक्ष फेन्चु लामाले बताए । यसैगरी सोही सहकारीसंग जोडिएर ५ जनाले व्यवसायी ड्रागन फूड खेती गरेको लामाले बताए ।
पदमपोखरी क्षेत्रमा खरभुजाको खेती सुरूवात गरेर गत बर्ष नै बजारमा लैजान थालेको अध्यक्ष थिङले बताए । कोभिडको बेलामा पनि अनलाइन मार्फत होम डेलिभरी गर्ने गरेको थिङ्गले बताए । १० बिगाहामा व्यवसायी तरकारी खेती, बाख्रा पालन, पाडापाडी पालनमा समेत युवालाई प्रोत्साहन गर्दै आएको थिङ्गले बताए ।
सहकारीले कुल ४१ लाख ८१ हजार २ सय ९९ रुपियाँ कारोवार गर्दै आएको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । सहकारीले पदमपोखरीमा कृषिमा धेरै सकारात्मक कामहरु गरेको छ । साधारण सभापछि सहकारीले कृषि मन्त्रीलगायत अतिथिहरुलाई स्थानीय क्षेत्रमा स्थापित होम स्टेको समेत अवलोकन गराएको थियो ।
कार्यक्रममा हेउमनपा १२ का वडा अध्यक्ष ललित घलान, वडा १३ का अध्यक्ष मनोज वाइबा, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक रामेश्वर अर्याललगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर/कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशका सचिब डाक्टर शरण कुमार पाण्डेले किसानको व्यवसायीतालाई हेरेर वर्गीकरण गर्ने योजनामा मन्त्रालयले तयारी थालेको बताएका छन् ।
किसानको कामलाई प्रोत्सहन गर्ने योजनाहरु आफूहरुले ल्याउन लागेको र किसानको योगदान, उनीहरुको लगावलाई मध्यजनर गर्दै वर्गीकरण गर्न लागिएको उनले बताए । ‘अब किसानलाई व्यवसायिकताको लागि लाईसन्सको अनिवार्य गर्दैछौं, लाइसन्सको लागि निर्देशित मापदण्ड पालना भएकै हुनु पर्छ, मापदण्ड लागु हुने भएपछी पशु पंन्छिलाई पनि न्याय गरेर पालिनु अनिवर्या हुन्छ’ सचिव पाण्डेले भने ।
स्नेहाज केयरको आयोजनामा हेटौंडामा मंगलबार भएको प्रदेश स्तरीय कार्यशालामा उनले यस्तो बताएका हुन् । कार्यक्रममा स्नेहाज केयरका बोर्ड सदस्य रुपक कोइरालाले पशु अधिकारको सवालमा न्युनतम मापदण्ड लागु हुनुपर्ने बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

हाल व्यवसायिक पशु पालक किसानहरुले दानाको व्यवस्थापन, खोरको व्यवस्थापन जस्ता सवालमा मापदण्ड ख्याल नगर्ने गरिएको, वृद्ध जनावरलाई सडकमा छोड्ने गरेको, बाच्छा बाच्छी,पाडापाडीको खोर व्यवस्थापन राम्रोसँग नगर्ने गरिएको अनुगमनको क्रममा पाइएको काइरालाले बताए ।
कार्यक्रममा पशुपालन गर्दा पशुहरुलाई विपत्तिमा भाग्नको लागि सहज हुने गरी ढोकाको व्यवस्थापन गर्नुपर्ने, दाम्लोले नबाधिकन पाल्ने बानिको विकास गर्नुपर्ने, लोड अनलोड ल्याबको व्यवस्थापन हुनु पर्ने, समयमै स्वास्थ्योपचार, नियमित खाद्य, पानीसँगै अन्य पौष्टिक आहारमा ध्यान दिनु पर्ने बारे सहभागीहरुले औल्याएका थिए ।
प्रदेश दुग्ध बिकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख डा सुशिल केसी, पशु विकास अधिकृत ध्रब डिसीलगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।