मकवानपुर / कृषि तथा पशुपंछी मन्त्री बसुन्धरा हुमगाईले कृषि पेशालाई आधुनिकीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् ।
पशुपालक किसानलाई प्रोत्साहन गर्दै उनीहरुको समस्यालाई सम्बोधन गर्न सरकारले विशेष योजना बनाएको उनले बताए । पुश उपचारको लागि वडा वडामा पशु स्वास्थ क्लिनिक स्थापना गर्न प्रदेश सरकारले योजना बनाएको मन्त्री हुमगाइले बताए ।
यस बर्ष नै २० वटा क्लिनिक सन्चालनमा ल्याउने उनले बताए । हेटौंडा उपमहनगरपालिका १२ पदमपोखरी स्थित त्रिवेणी कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा उनले यस्तो बताए हुन् । किसानको वर्गीकरण गरेर सहुलियत दिने, कर्जा लगानी गर्नेलगायतको कार्यक्रम ल्याएको उनले बताए ।
प्रदेश सरकारले कृषि व्यवसाय गर्नको लागि लघुबिक्त कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएकोले उनले बताए । मन्त्री हुमगाईले युवा किसानलाई योजनामुताविक काम गर्दा सफलता मिल्ने हुंदा यसै अनुसार काम गर्न आग्रह गरे ।
कार्यक्रममा हेटौंडा उपहानरपालिका उपप्रमुख मिनाकुमारी लामाले वैदेशिक रोजगारभन्दा आफ्नो माटोमा पर्याप्त उत्पादन गर्न थालेको प्रती गौरव लागेको बताइन् । व्यवसायीक बन्नको लागि नगरपालिकाले आर्थिक लगानी सहजीकरण र प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने उनले बताइन् ।

कार्यक्रममा कृषि विकास बैंक लिमिटेड हेटौंडा कान्तिराजपथ शाखा प्रबन्धक नुरप्रसाद गौतमले युवालाई सहुलियतपुर्ण कर्जा प्रवाह गरेकोले सहभागी हुन सक्ने अवसर लिन आग्रह गरे । सरकारले किसानले उत्पादन गरेको उपजको न्युनतम मुल्य तोक्नुपर्ने नत्र उद्यमशीलता मर्दै जाने जोखिम रहेको बताउँदै प्रदेश तथा स्थानीय सरकारले यसतर्फ योजनाहरु बनाउनु पर्ने गौतमले बताए ।

साधारण सभामा संस्थाका अध्यक्ष सुरज थिङले आर्थिक, प्राबिधिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीले साधारणसभा कै अवसरमा हेटौंडा १२ का प्रकाश स्याङ्तान, हेटौंडा १३ की सुमित्रा कुमारी वाइबा र हेटौंडा १४ का जीवन थिङ्गलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरेको सहकारीका उपाध्यक्ष फेन्चु लामाले बताए ।
‘उहाँहरुको लगावलाई हेरर अरुले पनि सिक्न जोश मिलोस भनेर हामीले सम्मान कार्यक्रम पनि राखेका हौं’ उपाध्यक्ष लामाले भने ।

सहकारीमा आवद्ध युवाहरुले पदमपोखरीको २० बिगाहा जग्गामा व्यवसायीक मेवा उत्पादन गरि ५० लाखभन्दा बढी नाफा गरेको अध्यक्ष थिङले बताए । यसैगरी ४ सयभन्दा बढी युवाहरू कृषि कर्ममा जोडिएको उपाध्यक्ष फेन्चु लामाले बताए । यसैगरी सोही सहकारीसंग जोडिएर ५ जनाले व्यवसायी ड्रागन फूड खेती गरेको लामाले बताए ।
पदमपोखरी क्षेत्रमा खरभुजाको खेती सुरूवात गरेर गत बर्ष नै बजारमा लैजान थालेको अध्यक्ष थिङले बताए । कोभिडको बेलामा पनि अनलाइन मार्फत होम डेलिभरी गर्ने गरेको थिङ्गले बताए । १० बिगाहामा व्यवसायी तरकारी खेती, बाख्रा पालन, पाडापाडी पालनमा समेत युवालाई प्रोत्साहन गर्दै आएको थिङ्गले बताए ।
सहकारीले कुल ४१ लाख ८१ हजार २ सय ९९ रुपियाँ कारोवार गर्दै आएको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । सहकारीले पदमपोखरीमा कृषिमा धेरै सकारात्मक कामहरु गरेको छ । साधारण सभापछि सहकारीले कृषि मन्त्रीलगायत अतिथिहरुलाई स्थानीय क्षेत्रमा स्थापित होम स्टेको समेत अवलोकन गराएको थियो ।
कार्यक्रममा हेउमनपा १२ का वडा अध्यक्ष ललित घलान, वडा १३ का अध्यक्ष मनोज वाइबा, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक रामेश्वर अर्याललगायतको उपस्थिति रहेको थियो ।

