मकवानपुर । नेपाल निजामती कर्मचारी संगठन, मकवानपुर कार्यसमितिले संगठन स्थापना दिवसकाे अवसरमा संस्कृत वेद विद्याश्रमलाई सहयोग गरेकाे छ ।
३५ औं संगठन स्थापना दिवसकाे अवसरमा आइतबार हेटौंडा – १० गोरक्षश्वरस्थित वेद विद्याश्रमलाई शैक्षिक, खाद्यान्नलगायतका सामाग्री सहयोग गरेकाे हाे । संगठन मकवानपुर अध्यक्ष यादविन्द्र पौडेलकाे नेतृत्वकाे समितिकाे टोलीले कापी, कलम,चामल, दाल, तेल, नुन र सिलिङ फाइन गरी ३३ हजार रुपैंया बराबरकाे सामग्री विद्याश्रमलाई हस्तान्तरण गरेकाे हाे ।
सहायोग कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति तथा राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था मकवानपुरबाट उक्त विद्याश्रमलाई प्रत्येक वर्ष २४ हजार रुपैंया सहयोग गर्ने निर्णय भएकाे अध्यक्ष पौडेलले जानकारी दिए ।
पौडेलकाे अध्यक्षता र संगठन केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद अर्यालकाे प्रमुख आतिथ्यतामा भएकाे सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी लगायतकाकाे सहभागिता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
शुक्रबार विहान १ बजेको समयमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानी स्थित कान्तिलोक पथ सडकखण्डमा काठमाडौं तर्फबाट हेटौंडा तर्फ आउदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा सर्लाही बागमती गाउँपालिका – ७ बस्ने १३ वर्षीय मानुसी मगरको घटनास्थलमानै मृत्यु भएको हो भने रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर–५ बस्ने ५० वर्षीय निलम देवी राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको अर्यालले बताए । मगरलाई प्रहरीले खोजतलास गर्ने क्रममा शुक्रबार बिहान दुर्घटनास्थल नजिक खोल्सामा मृत अबस्थामा फेला परेकाे थियो ।
दुर्घटनामा घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको गाडी मोडबाट करिब २ सय मिटर तल खसेकोमा पूर्णरुपमा क्षति भएको उनले जानकारी दिए । चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन् । उनको उपचार प्रहरीको निगरानीमा भइरहेको बताइएकाे छ ।
मकवानपुर । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ सुनाचुरीमा बिहीबार बिहान ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको छ ।
दुर्घटना भएको बसका चालक बारा जिल्ला कोल्हबी नगरपालिका–११ बस्ने २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसको स्टेरिङ लक भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ । घाइतेको विवरण तथा बसमा रहेको यात्रुको संख्या यकिन हुन सकेको छैन ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा खुला वक्तृत्वकला प्रतियोगिता हुने भएकाे छ ।
पारिजातको स्मृति दिवसको अवसरमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएकाे हाे । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको सहयोग रहने उक्त कार्यक्रम ५ वैशाख २०८२ मा आयोजना गरिने आँचलकी अध्यक्ष भावना सापकोटाले बताइन् ।
‘सामाजिक रूपान्तरणमा राजनैतिक आन्दोलन’ विषयमा खुला वक्तृत्वकला प्रतियोगिता हुने उनले जानकारी दिइन् । पारिजानकाे स्मृति दिवसमा आँचलले हरेक वर्ष विभिन्न कार्यक्रम संचालन गर्दै आएको उनले बताइन् ।प्रतियोगितामा सहभागी हुने प्रतियोगीहरुकाे छनोट भर्चुअल माध्यमबाट हुने बताइएको छ ।
कार्यक्रममा सहभागी हुन २ वैशाख साँझ ५ बजेसम्म आफ्नो नाम र आवश्यक विवरण टिपाइसक्नु पर्ने उनले जानकारी दिइन् । प्रतियोगीतामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार, ४ हजार र १ हजार रुपैयाँ प्रदान गरिने छ ।
मकवानपुर । हेटौंडा अस्पतालको बोर्ड तोडफोडप्रति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेश कुमार लम्साल र रजिष्ट्रार भीमसागर गुरागाईंले आइतबार विज्ञप्ति जारी गर्दै उक्त कार्य आपत्तीजनक भएकाे जनाउँदै दोषीलाई कारबाहीकाे माग गरेकाे छ ।
अस्पतालको साइनबोर्डमा गरिएको तोडफोड, केरमेट तथा अनधिकृत रूपमा अर्को बोर्ड टाँस्ने कार्य कानून विपरीत भएको विज्ञप्तिमा उल्लेख छ।
२ आश्विन २०७६ मा बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पताल सञ्चालन हुँदै आएकाे छ। प्रतिष्ठानले स्वास्थ्य विज्ञानको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्ने तथा सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य लिएको समेत विज्ञप्तिमा भनिएकाे छ।
प्रतिष्ठानका अनुसार हाल एक सय भन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट दैनिक एक हजार पाँच सय भन्दा बढी बिरामीलाई सेवा दिइँदै आएको अवस्थामा भएको यस प्रकारको गतिविधिले अस्पताललाई पुनः रेफर सेन्टरको रुपमा फर्काउने उद्देश्य राख्ने स्वार्थ समूहलाई मात्र लाभ पुग्ने देखिन्छ।
“स्वास्थ्य सेवा एक अत्यावश्यक सेवा हो,” विज्ञप्तिमा भनिएको छ “यस्ता गैरकानुनी कार्यले उपचाररत बिरामीहरू, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूमा त्रास, अन्योल र असुरक्षा उत्पन्न भएको छ।”
प्रतिष्ठानले घटनाका दोषीहरूलाई तुरुन्त छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, अस्पतालको सेवा प्रवाहमा अवरोध नआओस् भनेर सबै राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, बिरामी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको संयमता र सहयोगको अपेक्षा गरिएको छ।
यसैबीच अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि मकवानपुरले समेत मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान माथिको हुलहुज्जत, भाईरल र स्टन्डबाजी प्रति ध्यानाकर्षण भएको जनाएकाे छ । अनेरास्ववियु मकवानपुर अध्यक्ष अमृत बर्तौलाद्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ ‘अनेरास्ववियु मकवानपुर, स्वास्थ क्षेत्रमा गुणस्तरीय स्वास्थ सेवाको सम्बन्धमा अझ बलियो रुपमा मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालले सेवा दिनको लागि आवश्यक परेमा स्वयंमसेवकिय भूमिका निवार्ह गर्न जुनसुकै बेला तत्पर रहेको समेत अवगत गराउँछौं ।’
‘मानसिक समस्याका कारण यस्ता गतिविधिमा संलग्न भएको हुन सक्ने ठहर गर्दै, यस्ता गतिविधिमा संलग्न जो कोहि व्यक्तिको निशुल्क स्वास्थ परिक्षण गरी डिस्चार्ज गरिदिनुहुन वा शारिरिक समस्याका कारण यस्ता गतिविधि भएको भए दोषि उपर कडा कारबाहीको लागी सम्बन्धित निकाय समक्ष माग गर्दछौं’ ध्याकर्षण पत्रमा भनिएकाे छ ।
आइतबार बिहान युवाहरूको एक समूहले मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान लेखिएको नाम पोतेर बागमती प्रदेश सरकार हेटौंडा अस्पताल बनाएका थिए।
