मकवानपुर । हेटौंडा अस्पतालको बोर्ड तोडफोडप्रति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेश कुमार लम्साल र रजिष्ट्रार भीमसागर गुरागाईंले आइतबार विज्ञप्ति जारी गर्दै उक्त कार्य आपत्तीजनक भएकाे जनाउँदै दोषीलाई कारबाहीकाे माग गरेकाे छ ।
अस्पतालको साइनबोर्डमा गरिएको तोडफोड, केरमेट तथा अनधिकृत रूपमा अर्को बोर्ड टाँस्ने कार्य कानून विपरीत भएको विज्ञप्तिमा उल्लेख छ।
२ आश्विन २०७६ मा बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पताल सञ्चालन हुँदै आएकाे छ। प्रतिष्ठानले स्वास्थ्य विज्ञानको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्ने तथा सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य लिएको समेत विज्ञप्तिमा भनिएकाे छ।
प्रतिष्ठानका अनुसार हाल एक सय भन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट दैनिक एक हजार पाँच सय भन्दा बढी बिरामीलाई सेवा दिइँदै आएको अवस्थामा भएको यस प्रकारको गतिविधिले अस्पताललाई पुनः रेफर सेन्टरको रुपमा फर्काउने उद्देश्य राख्ने स्वार्थ समूहलाई मात्र लाभ पुग्ने देखिन्छ।
“स्वास्थ्य सेवा एक अत्यावश्यक सेवा हो,” विज्ञप्तिमा भनिएको छ “यस्ता गैरकानुनी कार्यले उपचाररत बिरामीहरू, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूमा त्रास, अन्योल र असुरक्षा उत्पन्न भएको छ।”
प्रतिष्ठानले घटनाका दोषीहरूलाई तुरुन्त छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, अस्पतालको सेवा प्रवाहमा अवरोध नआओस् भनेर सबै राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, बिरामी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको संयमता र सहयोगको अपेक्षा गरिएको छ।
यसैबीच अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि मकवानपुरले समेत मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान माथिको हुलहुज्जत, भाईरल र स्टन्डबाजी प्रति ध्यानाकर्षण भएको जनाएकाे छ । अनेरास्ववियु मकवानपुर अध्यक्ष अमृत बर्तौलाद्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ ‘अनेरास्ववियु मकवानपुर, स्वास्थ क्षेत्रमा गुणस्तरीय स्वास्थ सेवाको सम्बन्धमा अझ बलियो रुपमा मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालले सेवा दिनको लागि आवश्यक परेमा स्वयंमसेवकिय भूमिका निवार्ह गर्न जुनसुकै बेला तत्पर रहेको समेत अवगत गराउँछौं ।’
‘मानसिक समस्याका कारण यस्ता गतिविधिमा संलग्न भएको हुन सक्ने ठहर गर्दै, यस्ता गतिविधिमा संलग्न जो कोहि व्यक्तिको निशुल्क स्वास्थ परिक्षण गरी डिस्चार्ज गरिदिनुहुन वा शारिरिक समस्याका कारण यस्ता गतिविधि भएको भए दोषि उपर कडा कारबाहीको लागी सम्बन्धित निकाय समक्ष माग गर्दछौं’ ध्याकर्षण पत्रमा भनिएकाे छ ।
आइतबार बिहान युवाहरूको एक समूहले मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान लेखिएको नाम पोतेर बागमती प्रदेश सरकार हेटौंडा अस्पताल बनाएका थिए।


