मकवानपुर । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ सुनाचुरीमा बिहीबार बिहान ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको छ ।
दुर्घटना भएको बसका चालक बारा जिल्ला कोल्हबी नगरपालिका–११ बस्ने २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसको स्टेरिङ लक भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ । घाइतेको विवरण तथा बसमा रहेको यात्रुको संख्या यकिन हुन सकेको छैन ।

