मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
शुक्रबार विहान १ बजेको समयमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानी स्थित कान्तिलोक पथ सडकखण्डमा काठमाडौं तर्फबाट हेटौंडा तर्फ आउदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा सर्लाही बागमती गाउँपालिका – ७ बस्ने १३ वर्षीय मानुसी मगरको घटनास्थलमानै मृत्यु भएको हो भने रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर–५ बस्ने ५० वर्षीय निलम देवी राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको अर्यालले बताए । मगरलाई प्रहरीले खोजतलास गर्ने क्रममा शुक्रबार बिहान दुर्घटनास्थल नजिक खोल्सामा मृत अबस्थामा फेला परेकाे थियो ।
दुर्घटनामा घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको गाडी मोडबाट करिब २ सय मिटर तल खसेकोमा पूर्णरुपमा क्षति भएको उनले जानकारी दिए । चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन् । उनको उपचार प्रहरीको निगरानीमा भइरहेको बताइएकाे छ ।

