भरतपुर, चितवन । चितवनकाे भरतपुर महानगरपालिका स्थित विस्तारित पुलचोक–गोन्द्राङ सडक खण्डको प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान श्रेष्ठ, बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा लगायतलेउद्घाटन गरेका छन् ।
सडकको उद्घाटन लगायत चितवन–नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन प्रम ओली नेपालीको सेनाको हेलिकप्टरमा चितवन आएका थिए ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रम ओलीले यसअघि सुरुमा इच्छाकामना गाउँपालिकाको नयाँ प्रशासकीत भवनको उद्घाटन गरेका थिए । त्यसपछि भरतपुर आएर पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गरे ।१७ माघ २०७७ मा सडक विस्तारको शिलान्यास तत्कालीन प्रधानमन्त्री ओलीले नै गरेका थिए ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार २०८१ साल पुस मसान्तमा उक्त सडक खण्ड निर्माण सम्पन्न भएकाे हाे । २६ असोज २०७७ मा ठेक्का सम्झौता भएको नारायणगढको पुल्चोकदेखि पूर्वतर्फ गोन्द्राङसम्मको यो सडक एसियन मापदण्डमा निर्माण पूरा भएको सडक डिभिजन कार्यालय चितवनका प्रमुख तथा वरिष्ठ इन्जिनियर नारायणप्रसाद लामिछानेले जानकारी दिए ।
दुई वर्ष चार महिनामा निर्माण सम्पन्न गर्नेगरी सगुन कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । तर, सडक विस्तारका क्रममा सडकमा बनाइएका भौतिक पूर्वाधारका कारण विभिन्न झन्झट झेल्नुपरेको थियो । दुई पटक म्याद थप गरेपछि सडक विस्तारको काम सम्पन्न भएको इन्जिनियर लामिछानेले बताए ।

फुटपाथ सहित ५० मिटर चौडाइको सडक निर्माण भएको छ । जसमा दुई सहायक लेन सहित ६ लेनको सडक बनेको हो । सडकखण्डमा ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुलीको तार भूमिगत गरिएको छ । चौबिसकोठी देखि भरतपुर ओरालोसम्मको सडकको पानी लायन्सचोकको खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा लैजाने गरी ढल निर्माण गरिएको छ ।
सडकको बिचमा दुबो लगाउने र आकर्षक फूलका बिरुवा रोप्ने काम भएको छ । सडकमा ट्राफिक चिह्न राख्ने, जेब्रा क्रसलगायत लाइनिङका कामले सडक आकर्षक देखिएको छ । स्थानीय रुटमा चल्ने सवारीलाई सर्भिस लेनबाट चलाउनुपर्नेमा मुख्य सडक क्षेत्रमा नै अटो, म्याजिक तथा स्थानीय रुटका सवारी गुडिरहेका छन् ।
“विकास निर्माण भएको छ भनेर देखाउन हैन, यो हाम्रो कर्तव्य हो” सडक उद्घाटन पछि ओलिले भने, “काम रफ्तारमा छ,सबैको सहकार्यले अझै रफ्तार हुन्छ ।” सदक निर्माण अघि यससंग जोडिएका अन्य विकास पनि अनिवार्य गर्न उनले निर्देशन दिए ।
सङ्घीय सरकारको बजेटमा निर्माण भएको सडकलाई महानगरपालिकाले आफ्नो गौरवको योजना भएको बताएको छ । विशेषगरी नेकपा (माओवादी केन्द्र) ले यस सडकलाई रेनु दाहालको प्रयासमा बनेको बताएको छ । तर, अन्य राजनीतिक दलले यसको खण्डन गर्दै आएका छन् । सडकको शिलान्यास गर्दा अनुपस्थित रहेकी महानगरपालिका प्रमुख दाहाल उद्घाटनमा सहभागी भइन् । प्रधानमन्त्रीले सडकको उद्घाटन गर्नु महानगरका लागि गौरवको विषय भएको उनले बताइन् ।
नेकपा एमाले निकट युवा संगठनले सडक उदघाटन पूर्व र्याली समेत निकालेको थियो ।
यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अन्तरगत गैँडाकोट खण्डको शुक्रबार निरीक्षण समेत गरेका छन् । प्रधानमन्त्री ओलीले अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुने बताए । प्रम ओलीले शुक्रबार नै नेकपा (एमाले) भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरेका छन् ।

