हेटौंडाबाट काठमाडौं जाने अधिकांश सडक अवरुद्ध
Tags: No Comments
मकवानपुर । अविरल वर्षाका कारण हेटौंडा हुँदै काठमाडौं जोड्ने अधिकांश सडकखण्डमा अबरुद्ध भएकाे छ । पहिरो, सडक भासिदाँ सडक अवरुद्ध भएकाे हाे । त्रिभुवन राजपथ मात्रै सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ।
हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति राजपथको ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे र टाँकुरे क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडकखण्डबाट काठमाडौंतर्फको आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी मकवानपुरकाे भिमफेदी ८ बगुवा खोला नजिकै कान्तिलोकपथ सडक खण्डको खहरे खोल्सामा ढुङ्गा बालुवा सहित लेदो आई बाटो पुर्णरुपमा अवरोध भएको छ । सडक विभागसँग समन्वय गरि बाटो सुचारु गर्ने पहल भईरहेको प्रहरीले जनाएकाे छ ।
हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ किटनीमा सडक भासिएपछि एकतर्फी आवागमनसमेत जोखिमपूर्ण बनेको छ । जोखिमलाई ध्यानमा राख्दै चालकलाई सिस्नेरी वा खानीखेततर्फको वैकल्पिक मार्ग प्रयोग गर्न जानकारी गराइएको प्रहरीले जनाएकाे छ ।
हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–२ ज्यालटार, भीमफेदी–६ जुरीखेत र इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा लेदोसहितको पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको छ । तीनवटै स्थानमा जेसीबी परिचालन गरी पहिरो हटाउने काम सुरु गरिएको छ ।
यसैगरी धरान–चतरा सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१६ हटियामा १० वटा विद्युतका पोल ढलेपछि सडक पूर्णरूपमा अवरुद्ध भएकोमा विद्युतका तारहरु काटी एकतर्फी संचालनमा ल्याइएकाे छ । सडक पूर्ण रुपमा खुलाउन विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको जनाइएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी, रजैया नजिकै सडक माथिबाट पहिरो तथा ढुंगा खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । पहिरो हटाउन जेसीबी परिचालन गरिएको छ ।
त्रिभुवन राजपथ सुचारु
हेटौंडाबाट काठमाडौं जाने प्रमुख वैकल्पिक मार्ग त्रिभुवन राजपथ भने हाल सुचारु रहेको छ । अन्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएपछि अत्यावश्यक सामग्री बोकेका सवारीसहित काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथ महत्वपूर्ण मार्ग बनेको छ । त्रिभुवन राजपथकाे त्रिभुवन राजपथमा साना तथा यात्रुवाहक सवारी साधनका लागि निश्चित समय तालिका तोकिएको छ भने १० चक्काभन्दा लामा र १५ टनभन्दा भारी मालवाहक सवारी (इन्धन/ग्यास बाहेक) लाई पूर्ण निषेध गरिएको छ।
यसैगरी नारायणगढ-मुग्लिन सडककाे चितवन र आसपासका क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द गरिएको छ। यस्तै पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर र ज्यामिरे क्षेत्रमा पहिरो खसेपछि सडक दुवैतर्फबाट अवरुद्ध भएको छ । चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको जानकारी प्राप्त भएको छ ।
टोखा-छहरे सडक वर्षातका कारण जोखिम बढेकाले अर्को सूचना नभएसम्मका लागि राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। लगातारको वर्षाका कारण विभिन्न सडकखण्डमा थप पहिरो तथा क्षति हुन सक्ने भएकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।
मकवानपुर । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत मकवानपुरकाे हेटाैडा उपमहानगरपालिका सभापतिमा रामकृष्ण काेइराला निर्वाचित हुनु भएकाे छ । बुधबार भएकाे निर्वाचनमा सभापतिका अर्का उम्मेदवार कविन सांगामीलाई हराउँदै कोइराला निर्वाचित हुनु भएकाे हाे ।
कोइराला कूल खसेको ५८१ मतमध्ये २८४ मत सहित निर्वाचित हुनु भएकाे हाे भने । सांगामीले २७५ मत प्राप्त गर्नु भएकाे थियाे । त्यस्तै उपसभापति पदमा कुलप्रसाद चौलागाईं (३०७ मत) निर्वाचित हुनु भएकाे हाे । चौलागाईंले कृष्णप्रसाद दुलाललाई २४१ सहित हराउनु भएकाे हाे । नगर सचिव पदमा भने विजय पुडासैनी सर्वसम्मत चयन भएका छन् । सचिव पदमा उम्मेदवारी घाेषणा गरेका रामकृष्ण थापाले उम्मेदवारी फिर्ता लिएका थिए ।
काँग्रेस मकवानपुरकाे १० वटै स्थानीय तहको अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिकांश पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएका छन् । केही पालिकामा निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।
जिल्लाको ७ वटा पालिकाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा ३ वटा पालिकामा भने निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो । हेटौँडा उपमहानगरपालिकासहित राक्सिराङ, बागमती, बकैया र मनहरि गाउँपालिकामा सभापतिसहित केही पदका लागि निर्वाचित भएको थियो भने केही पदमा पदाधिकारीहरू निर्विरोध रूपमा निर्वाचित भएका थिए ।
यसैगरी काँग्रेस थाहा नगरपालिका समितिको सभापतिमा राजेन्द्रभक्त श्रेष्ठ चयन हुनु भएकाे छ । उपसभापतिमा सुरेश लामिछाने र इन्दीरा गोपाली, सचिवमा विरुजु लाल थिङ, सहसचिवमा विजय मल्ल तथा कोषाध्यक्षमा धनश्याम बलामी चयन भएका छन् । यस्तै, मकवानपुरगढी गाउँपालिकामा आकाशकुमार गोले सभापतिमा चयन हुनुभ भएकाे छ । यसअघि सभापतिका लागि आकाश गोले, आइत सिंह लो र बलराम घिमिरेको नाम चर्चामा रहे पनि अन्तिममा गोलेलाई चयन गरिएको हो । उपसभापतिमा सदीप अधिकारी र सुशीला फुयाँल, सचिवमा आइत सिंह लो तथा सहसचिवमा रामप्रसाद चौरेल चयन भएका छन् ।
कैलाश गाउँपालिकामा उदास कुमार ब्लोन सभापतिमा निर्विरोध चयन हुनु भएकाे छ । उपसभापतिमा भुवन सिंह घलान र लक्ष्मी तामाङ, सचिवमा तेजबहादुर ब्लोन तथा सहसचिवमा कृष्ण मोक्तान चयन हुनु भएकाे हाे । भीमफेदी गाउँपालिकामा मित्रबन्दु सिजाली सभापति चयन हुनु भएकाे छ । उपसभापतिमा सुमित्रा नेगी र रमेशकुमार थिङ, सचिवमा हरि लामा तथा सहसचिवमा जीतकुमार बल चयन हुनु भएकाे हाे ।
इन्द्रसरोवर गाउँपालिकामा सुमन श्रेष्ठ सभापतिमा चयन हुनु भएकाे छ । श्रेष्ठको सभापतित्वमा २४ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन गरेको हो । बागमती गाउँपालिकाको सभापतिमा चोकबहादुर ठाडा मगर निर्वाचित हुनु भएकाे छ । ठाडा मगरले आफ्ना निकटतम प्रतिस्पर्धी दीपप्रसाद घोरासैनीलाई एक मतको अन्तरले पराजित गर्नु भएकाे हाे । मगरले ७५ मत प्राप्त गर्दा घोरासैनीले ७४ मत प्राप्त गरे ।उपसभापतिमा कुमारबहादुर केसी र अप्सरा थोकर, सचिवमा सुदीप पाख्रिन तथा सहसचिवमा राजु लोप्चन चयन भएका छन् ।
त्यसैगरी मनहरि गाउँपालिकामा राजकुमार श्रेष्ठ निर्वाचित हुनु भएकाे छ । प्रतिस्पर्धी राजेश अधिकारी र विष्णप्रसाद उप्रेतीलाई पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित हुनु भएकाे हाे । श्रेष्ठले १३९ मत प्राप्त गरेका थिए भने अधिकारीले ६१ मत र उप्रेतीले ४ मत मात्र प्राप्त गरेका थिए । उपसभापतिमा अन्ततप्रसाद अर्याल पुरुषतर्फ र शान्ति अधिकारी महिलातर्फ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा दीपकप्रसाद रिमाल र सहसचिवमा विष्णुमाया बल चयन भएका छन् ।
राक्सिराङ गाउँपालिकाको सभापतिमा देव लामा निर्वाचित हुनु भएकाे छ । निर्वाचनमा १२४ मत प्राप्त गर्दै सभापति बनेका लामा दोस्रो प्रयासमा निर्वाचित हुनु भएकाे हाे । यसअघि १४ औँ महाधिवेशन अन्तर्गत लामाले राक्सिराङको सभापतिमा वीरेन्द्र जिम्बासँग पराजित हुनु परेकाे थियाे ।बुधबारकाे निर्वाचनमा लामाले प्रतिस्पर्धी वर्तमान उपसभापति बुद्धराम मोक्तानलाई ५८ मत पराजित गर्नु भएकाे हाे । उपसभापतिमा महिलातर्फ दीपा सुनार निर्वाचित हुनु भएकाे छ भने उपसभापतिमा पुरुषतर्फ रामचन्द्र ब्लोन निर्वाचित हुनु भएकाे छ । सचिवमा टीकाराम थिङ निर्वाचित हुनु भएकाे छ ।
बकैया गाउँपालिकाको सभापतितर्फ मात्र भएको निर्वाचनमा विजय लामा थिङ र सुनिल भोम्जनलाई हराउँदै गोपालबहादुर न्यासुर निर्वाचित हुनु भएकाे छ । न्यासुरले १३९ मत प्राप्त गर्दै विजयी हासिल गर्दा प्रतिस्पर्धी सुनिल भोम्जनले ४५ मत र विजय लामा थिङ ३७ मत प्राप्त गरेका थिए ।
उपसभापति (पुरुषतर्फ) ज्ञानेन्द्र बजागाईं र उपसभापति (महिलातर्फ) सरिता सञ्जेल निर्वाचित हुनु भएकाे छ । सचिवमा सुशासन्त ब्लोन र सहसचिवमा गणेश सेञ्चुरी चयन हुनु भएकाे छ ।
मकवानपुर । मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा न २ सुकौरामा मंगलबार इभी (EV) दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
हेटौंडा – भिमफेदी- कुलेखानी – फाखेल सडक खण्ड अन्तरगत सुकौरामा ev दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ४ जना घाइते भएका छन् ।
काठमाडौबाट बिरगंज तर्फ जान आउदै गरेको मधेश प्रदेश०३-००१ ज ०७२० नं.को यात्रु बाहक इभी सडकबाट अन्दाजी १ किलोमीटर तल झरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते मध्ये काठमाडौ २ जना पुरुष,१ जना महिला तथा १ जना महिलालाई हेटौडा पठाइएको प्रहरीले जनाएको छ । इभीमा चालक सहित ८ जना सवार थिए ।
घाइते/मृतकहरुको विवरण :
१. चालक बारा कलैया उ.म.न.पा.२४ बस्ने बर्ष अं.२० को अमिर अन्सारीको टाउको दाईने खुट्टा र शरिरको बिभिन्न भागमा चोट अबस्थाम गम्भीर भइ उपचारको लागि ट्रमा सेन्टर काठमाडौ तर्फ पठाईएको ।
२. मकवानपुर हेटौडा उ.म.न.पा.११ बस्ने बर्ष अं.२३ कि कल्पना तामाङको ढाड खुट्टा र शरीरको विभिन्न भागमा चोट अबस्था गम्भिर भइ उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौ इन भइ उपचार हुदै । बारा महागढीमाई न.पा.११ बस्ने बर्ष अं.२१ की बबिया कुमारी यादवको दाईने खुट्टा,शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम उपचारको लागि हेटौडा अस्पताल इन भइ उपचार हुदै ।
३. हाल नाम थर वतन नखुलेको बर्ष अं.३४/३५को जस्तो देखिने पुरुष बोल्न नसक्ने गम्भिर घाईते भई उपचारको लागि ट्रमा सेन्टर इन भइ उपचार हुदै ।
४. हाल नामथर वतन नखुलेको ४ जना पुरुषको घट्नामा नै मृत्यु भएको, उद्धार कार्य हुदै सनाखत हुन बाकी ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं. १८ फुर्केचौरमा रहेकाे गोरक्ष ताल वर्षामा परेको पानीलाई जम्मा गरेर बनाएको ताल हो । वर्षाको पानीलाई जम्मा गरेर हिउँदमा सिँचाइ गर्ने उद्देश्य अनुरूप तालको निर्माण सुरु गरिएको थियो ।
यहाँको पानी ८० मिटर लामो भूमिगत सुरुङको निर्माण गरेर एक ठाउँबाट अर्को ठाउँमा लगि सिचाइ गर्ने गरी बनाइएकाे हाे । पछिल्लो समय सुरुङबाट पानी लगिएकाे छैन । सुरुमा यहाँ सानो खोल्सोबाट पानी बग्ने गरेकामा २०६० सालमा स्थानीयवासीको पहल तथा जिल्ला विकास समितिको सहयोगमा हर्ना फाँटमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले बाँध निर्माण गरी पानी जम्मा गरिएपछि यो ताल निर्माण भएको हो ।
२०७० सालमा यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ गोरक्षताल संरक्षण समिति गठन गर्दै यहाँको पर्यटकीय विकासको पहल थालिएको थियो । चारै तर्फबाट सालको जङ्गलले घेरेको यो ठाउँ पछिल्लो समय हेटौंडाकाे रमणीय पर्यटकीय स्थलको रूपमा विकास भइरहेको छ ।
ताल घुम्न सार्वजनिक विदाकाे दिन नगर तथा आसपासका क्षेत्रबाट मानिसहरुकाे आगमन हुने गरेको स्थानीय ज्वाला पराजुली बताउँछन् । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र नजिकै रहेको गुम्बा डाँडाका कारणले समेत यो क्षेत्रमा अवलोकनकर्ताका लागि आकर्षक केन्द्र बनेकाे छ।
हेटौंडा – सिन्धली – उदयपुर – चतरा जाने मुख्य राजमार्गकाे हुँदै करिब २० किलोमिटर पूर्वमा यो ताल अवस्थित छ । गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले गत साउन ३१ गते हिमालयन राइडर्स सोसाइटी हेटौँडाले अभियान सुरु गरेको थियो । पर्यटकीय सम्भावना रहेकाे गोरक्षतालको प्रवर्द्धन गर्न प्रचारप्रसारमा कमी भएकाे स्थानीय परशुराम कार्कीकाे भनाई रहेकाे छ ।


तस्विरः आरपी गुरागाईं/सहीखबर
मकवानपुर । विद्युतीय गाडीमा मकवानपुर हुदै काठमाडौं जाने क्रममा बेहोस भएका एक युवाको उपचारकाे क्रममा ज्यान गएको छ ।
भदौ २२ गते विहान ९:३० बजेकाे समयमा भीमफेदी-दक्षिणकाली सडकखण्ड अन्तरगत मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी पुग्दा बेहोस भएका १९ वर्षीय युवाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बीरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०७७५ नं.को विद्युतीय गाडी (इभी) मा बारा जिल्ला सिम्रनगढ नगरपालिका ११ बस्ने अन्दाजी १९ को प्रदिप पटेल सिस्नेरीको टेकरमा पुग्दा एक्कासी बेहोस भएका थिए ।
प्रहरी चौकी सिस्नेरी मकवानपुरबाट खटिएको टोलीले तत्काल उपचारको लागि स्वास्थ्य चौकी सिस्नेरी मकवानपुरमा लगेको थियो । सामान्य उपचार पश्चात सामान्य बोलेका पटेलले श्वास फेर्न गाह्रो भएको बताएका थिए । थप उपचारको लागि बयोधा अस्पताल बल्खु काठमाण्डौं लगिएको उनकाे चेकजाँचको क्रममा ११ बजे डाक्टरले मृत घोषणा गरेकाे बताइएको छ ।
विद्युतीय गाडी र चालक बारा कलैया १९ बस्ने बर्ष अन्दाजी २९ को तितेश राउत कुर्मीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।