मकवानपुर । अविरल वर्षाका कारण हेटौंडा हुँदै काठमाडौं जोड्ने अधिकांश सडकखण्डमा अबरुद्ध भएकाे छ । पहिरो, सडक भासिदाँ सडक अवरुद्ध भएकाे हाे । त्रिभुवन राजपथ मात्रै सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ।
हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति राजपथको ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे र टाँकुरे क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडकखण्डबाट काठमाडौंतर्फको आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी मकवानपुरकाे भिमफेदी ८ बगुवा खोला नजिकै कान्तिलोकपथ सडक खण्डको खहरे खोल्सामा ढुङ्गा बालुवा सहित लेदो आई बाटो पुर्णरुपमा अवरोध भएको छ । सडक विभागसँग समन्वय गरि बाटो सुचारु गर्ने पहल भईरहेको प्रहरीले जनाएकाे छ ।
हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ किटनीमा सडक भासिएपछि एकतर्फी आवागमनसमेत जोखिमपूर्ण बनेको छ । जोखिमलाई ध्यानमा राख्दै चालकलाई सिस्नेरी वा खानीखेततर्फको वैकल्पिक मार्ग प्रयोग गर्न जानकारी गराइएको प्रहरीले जनाएकाे छ ।
हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–२ ज्यालटार, भीमफेदी–६ जुरीखेत र इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा लेदोसहितको पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको छ । तीनवटै स्थानमा जेसीबी परिचालन गरी पहिरो हटाउने काम सुरु गरिएको छ ।
यसैगरी धरान–चतरा सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१६ हटियामा १० वटा विद्युतका पोल ढलेपछि सडक पूर्णरूपमा अवरुद्ध भएकोमा विद्युतका तारहरु काटी एकतर्फी संचालनमा ल्याइएकाे छ । सडक पूर्ण रुपमा खुलाउन विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको जनाइएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी, रजैया नजिकै सडक माथिबाट पहिरो तथा ढुंगा खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । पहिरो हटाउन जेसीबी परिचालन गरिएको छ ।
त्रिभुवन राजपथ सुचारु
हेटौंडाबाट काठमाडौं जाने प्रमुख वैकल्पिक मार्ग त्रिभुवन राजपथ भने हाल सुचारु रहेको छ । अन्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएपछि अत्यावश्यक सामग्री बोकेका सवारीसहित काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथ महत्वपूर्ण मार्ग बनेको छ । त्रिभुवन राजपथकाे त्रिभुवन राजपथमा साना तथा यात्रुवाहक सवारी साधनका लागि निश्चित समय तालिका तोकिएको छ भने १० चक्काभन्दा लामा र १५ टनभन्दा भारी मालवाहक सवारी (इन्धन/ग्यास बाहेक) लाई पूर्ण निषेध गरिएको छ।
यसैगरी नारायणगढ-मुग्लिन सडककाे चितवन र आसपासका क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द गरिएको छ। यस्तै पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर र ज्यामिरे क्षेत्रमा पहिरो खसेपछि सडक दुवैतर्फबाट अवरुद्ध भएको छ । चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको जानकारी प्राप्त भएको छ ।
टोखा-छहरे सडक वर्षातका कारण जोखिम बढेकाले अर्को सूचना नभएसम्मका लागि राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। लगातारको वर्षाका कारण विभिन्न सडकखण्डमा थप पहिरो तथा क्षति हुन सक्ने भएकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

