मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा चट्याङ लागेर १ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार राती हेटौंडा –१५ कमेरोपानीमा चट्याङ लागेर हेटौंडा–१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्ध बहादुर प्रजाकाे मृत्युकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर हाल बारा निजगढ नगरपालिका–१३, बस्ने प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो । स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर उनकाे मृत्यु भएको हो । प्रहरीका अनुसार शव परीक्षणका लागि हेटौंडा अस्पताल ल्याइएकाे छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आगलागी हुँदा नगद १५ लाखसहित २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बकैया–५, गरगरेमा रहेकाे किराना पसलमा शुक्रबार आगलागी भएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागीमा परी पसल सञ्चालक गम्भीर घाइते भएका छन् । स्थानीय लिलाराम जिम्बाको २ तल्ले पक्की घरमा रहेको किराना पसलमा शुक्रबार बिहान आगलागी भएकोमा नगदसहितकाे धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार घर अगाडि बालेको दियोबाट पेट्रोलमा आगो सल्किँदा उक्त दुर्घटना भएको हाे । पसल सञ्चालक जिम्बाले पेट्रोलको ड्रमबाट पेट्रोल खन्याउने क्रममा ड्रम पल्टिँदा आगो फैलिएको बताइएकाे छ । आगो निभाउने क्रममा ४५ वर्षीय लिलाराम जिम्बाको दुवै हात र खुट्टा जलेर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा पछि थप उपचारका लागि चुरेहिल अस्पतालमा भर्ना गरिएको थियाे ।
जिम्बाकाे शरीरको अगाडिको भाग ४० प्रतिशत जलेकोले थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएकाे छ । इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोस्ट गरगरेबाट खटिएकाे प्रहरी टोलीसहित हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको दमकल स्थानीयवासीको संयुक्त प्रयासमा २ घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार आगलागीबाट जिम्बाको दुई तल्ले पक्की घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेको नगद १५ लाख रुपैयाँ, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायतका सामान जलेर नष्ट भएको छ । आगलागीबाट बा.प्र.०३–००६ प १८९७ र ना ४९ प १३ नम्बरको पल्सर मोटरसाइकल जलेकाे छ ।
मकवानपुर। नेकपा (एमाले)ले भीमफेदी गाउँपालिकामा आफ्नो गतिविधि बढाएको छ । एमालेको जनतासँग घर, टोलमा पुगेर संवाद गर्दै गुनासाहरु सुन्ने, सुझावहरु संकलन गर्ने तथा आफ्ना विषय वस्तु जनतालाई वताउने गरि सकृयता बढाएको हो ।
एमालेको भीमफेदी पालिका कमिटीका उपसचिव आशिष अस्लामीका अनुसार अहिले पार्टीको वैचारिक तथा नीति कार्यक्रम बारे कार्यकर्ता प्रशिक्षण र पार्टीलाई फङ्सनमा राख्नका लागि बैठक, भेला तथा कार्य योजना निर्माण गरि त्यसको कार्यान्वयनलाई जोड दिईएको छ । गत श्रावण ३० गते पालिका कमिटीको वैठकले निर्माण गरेका कार्य योजना अनुसार हालसम्म ९ वटा वडा मध्य ७ वटा वडामा अभियानहरु संचालन भई रहेका छन् ।
बाँकी रहेका २ वटा वडाहरु ४ र ८ नम्बर वडामा पनि केहि दिनमा अभियानको सुरुवात हुने अस्लामीले वताए । उनका अनुसार अहिले भीमफेदीका टोल कमिटीहरु पनि विभिन्न समाजिक कामहरु तथा जनतासँग प्रत्यक्ष जोडिने काममा सकृय रहेका छन् ।
मकवानपुर । चेपाङ समुदायले मनार्ने न्वागी पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिएको छ । राक्सिराङ गाउँपालिकाले २१, २२ र २३ भदौमा सूचना जारी गर्दै न्वागी (छोनाम) पर्वको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले चेपाङ समुदायको बाहुल्य रहेकाले राक्सिराङमा न्वागी पर्वका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए।
गाउँपालिका अध्यक्ष मल्लद्वारा जारी गरिएकाे न्वागी पर्वकाे शुभकामनामा भनिएकाे छ ‘बहु-जातीय, बहुभाषिक, बहु-धार्मिक र बहुसांस्कृतिक राष्ट्र रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्वपूर्ण अङ्गको रुपमा प्रकृति पुजक अति सीमान्तकृत चेपाङ्ग जातिको महत्वपूर्ण पर्व न्वागी (छोनाम) को अवसरमा यहि मिति २०८२ भाद्र २१,२२ र २३ गते ३ (तिन) दिन राक्सिराङ्ग गाउँपालिका भरी स्थानीय सार्वजनिक विदा दिने निर्णय भएको हुँदा उक्त दिन गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्थाहरुमा सार्वजनिक विदा हुने भएकोले सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
राक्सिराङले चेपाङ समुदायको संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि विशेष पहल गर्दै आएको उनले बताए । मल्लले भनेका छन् ‘चेपाङ्ग समुदायको महत्वपूर्ण न्वागी पर्वको अवसरमा सम्पूर्णमा सुख, शान्ति, सम्वृद्धिको कामना गर्दै उक्त पर्व हर्षोल्लासका साथ मनाउनुहुन सम्पूर्ण राक्सिराङ्ग वासी तथा देश विदेशमा रहनु भएका चेपाङ्ग सामुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
मकवानपुर । मकवानपुरको हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा आँखा जाँच शिविर भएको छ ।
भुटनदेवि एल्मुनाई एशाेसिएसन, राेटरी क्लब लफ हेटौंडाकाे आयाेजना र हेटौंडा सामुदायिक आंखा अस्पतालकाे प्राविधिक सहयाेगमा भुटन देवि माविमा आइतबार एक दिने आँखा जांच शिविर भएको हो । शिविरमा ६ सय ६ जनाको आँखा जाँच गरिएकाे थियो ।
त्यस मध्ये थप उपचारकाे लागि ५४ जनालाई आँखा अस्पताल रिफर गरिएकाे कार्यक्रम संयोजक शुदर्शन ढकालले जानकारी दिए । शिविर उद्घाटन भुटनदेवि माविका प्र.अ माधव दाहालको अध्यक्षता, भुटनदेवि एलल्मुनाई एशाेसिएसनका अध्यक्ष बिष्णु गाेपाल महर्जनको प्रमुख आतिथ्यमा भएको थियो ।