मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आगलागी हुँदा नगद १५ लाखसहित २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बकैया–५, गरगरेमा रहेकाे किराना पसलमा शुक्रबार आगलागी भएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागीमा परी पसल सञ्चालक गम्भीर घाइते भएका छन् । स्थानीय लिलाराम जिम्बाको २ तल्ले पक्की घरमा रहेको किराना पसलमा शुक्रबार बिहान आगलागी भएकोमा नगदसहितकाे धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार घर अगाडि बालेको दियोबाट पेट्रोलमा आगो सल्किँदा उक्त दुर्घटना भएको हाे । पसल सञ्चालक जिम्बाले पेट्रोलको ड्रमबाट पेट्रोल खन्याउने क्रममा ड्रम पल्टिँदा आगो फैलिएको बताइएकाे छ । आगो निभाउने क्रममा ४५ वर्षीय लिलाराम जिम्बाको दुवै हात र खुट्टा जलेर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा पछि थप उपचारका लागि चुरेहिल अस्पतालमा भर्ना गरिएको थियाे ।
जिम्बाकाे शरीरको अगाडिको भाग ४० प्रतिशत जलेकोले थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएकाे छ । इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोस्ट गरगरेबाट खटिएकाे प्रहरी टोलीसहित हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको दमकल स्थानीयवासीको संयुक्त प्रयासमा २ घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार आगलागीबाट जिम्बाको दुई तल्ले पक्की घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेको नगद १५ लाख रुपैयाँ, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायतका सामान जलेर नष्ट भएको छ । आगलागीबाट बा.प्र.०३–००६ प १८९७ र ना ४९ प १३ नम्बरको पल्सर मोटरसाइकल जलेकाे छ ।

