मकवानपुर । विकासकाे लागि शिक्षा पहिलाे प्राथमिकता रहेकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले बताएका छन् । वडाकाे शैक्षिक गुणस्तर सुधार समितिकाे बैठकमा अध्यक्ष सिग्देलले यस्तो बताएका हुन् ।
‘हेटाैंडाकाे ४ नं. वडा बागमती प्रदेशकाे राजधानीकाे शैक्षिक केन्द्र भएकाेले शिक्षालाई पहिलाे प्राथमिकता दिईएकाे छ’ उनले भने ‘वडा कार्यालयले शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियाेजन गर्दै आएकाे छ ।’ शुक्रबारकाे समिति बैठकले हेटाैंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयद्वारा विनियाेजित शैक्षिक कार्यक्रम कार्यान्वयनबारे ६ महिने (मंसिर-बैशाख) कार्ययाेजना बनाएकाे छ ।
वडा कार्यालयमा भएकाे बैठकले शिक्षक तालिम तथा उत्प्रेरणा कार्यक्रम, बृहत् शैक्षिक तथा साँस्कृतिक मेला, वडास्तरीय बृहद खेलकुद प्रतियाेगिता, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम, विद्यार्थी उद्यमशीलता कार्यक्रम, विद्यालयमा विनियाेजित पूर्वाधार निर्माण कार्य अगाडि बढाउने लगायतकाे निर्णयहरू गरेकाे छ ।
भुटनदेवी माविका प्रअ माधवप्रसाद दाहालकाे अनिवार्य अवकाशपछि शैक्षिक गुणस्तर सुधार समितिकाे रिक्त रहेकाे काेषाध्यक्ष पदमा भुटनदेवी माविका निमित्त प्रअ सूर्यप्रसाद घिमीरेलाई मनाेनित गरिएकाे समितिका सचिव रामसागर गुरागाईंले जानकारी दिए । बैठकले काेषाध्यक्ष दाहालले समितिमा रहेर पुर्याउनु भएकाे याेगदानकाे कदरसहित आभार व्यक्त गर्दै भुटनदेवी माविका निमित्ति प्रअ सूर्यप्रसाद घिमीरेलाई बधाई ज्ञापन गरेकाे छ ।
समितिका अध्यक्ष तथा श्रमिक माविका प्रअ श्रीराम दाहालकाे अध्यक्षतामा बसेकाे बैठकमा वडा सदस्य गीता त्रिपाठी भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, श्रमिक मावि, नवाेदय बाेर्डिङ्ग स्कुल, ब्रम्हदीक एकेडेमी, सत्यम् जेभियर्स, आमसाई बाेडिङ्ग स्कुल, राेज एकेडेमीका प्रिन्सिपल तथा प्रतिनिधि र वडाका कर्मचारीहरुकाे उपस्थित रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा पुजारीको गोली हानी हत्या भएको छ । शुक्रबार बिहान राक्सिराङ–१, कोलगैरी ठकुरीडाँडास्थित कुलदेवी मन्दिरकाे ६४ वर्षीय पुजारी ठूले गोलेको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
गोली प्रहारबाट पुजारी गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पुजारीको हत्या गरेको अभियोगमा प्रहरीले ७५ वर्षीय इमान सिंह थोकरलाई नियन्त्रणमा लिएको छ । थोकरको साथबाट कटुवा पेस्तोल १ थान, पेस्तोलमा लाग्ने २ राउण्ड गोली, खोका १ थान र १९० ग्राम गन पाउडर बरामद गरेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
घटना पश्चात इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुर सादा पोशाकका प्रहरी समेत खटिएर थोकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा पुरानो सिरइवीका कारण थोकरले गोलेलाई गोली प्रहार गरेको देखिएकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ८ हजार क्याप्सुल ट्रामाडोलसहित ५ जना पक्राउ गरेकाे छ । बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सानो पोखराबाट ८ हजार ३ सय क्याप्सुल ट्रामाडोलसहित कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय राजीव लामा, बकैया गाउँपालिका–१२ घर भएका १९ वर्षीय अशोक स्याङतान, हेटौंडा–१७ बस्ने २० वर्षीय प्रवेश बरैली, हेटौंडा–४ बस्ने २० वर्षीय निशान कोइराला र मकवानपुरगढी गाउँपालिका–२ बस्ने २३ वर्षीय दीपेश सञ्जेल रहेकाे प्रहरीले जनाएकाे छ ।
खाल्डो खनेर ट्रामाडोल लुकाउन लागेको अवस्थामा विशेष सुराकको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । उनीहरुले प्रयोग गरेकाे ना.३२ प ३२४४ र बा. प्रदेश ००५ प १८५ नं. को मोटरसाइकल समेत बरामद गरी प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको जनाएकाे छ ।
मकवानपुर । गत भदौ २४ गते भएकाे जेनजी आन्दोलनमा हेटौंडामा आपराधिक उपद्र तथा आगजनी गर्ने ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे छ । व्यक्ति तथा सरकारी भवनमा आगजनी तथा तोडफोड गरेकाे कसुरमा उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
आन्दोलनकाे क्रममा हेटौडा उपमहानगरपालिका वडा नं. ११ नवलपुर बस्ने ४५ वर्षीय सुशिल पौडेलको घरमा आगजनी तथा तोडफोड गरेको आरोपमा हेटौंडा ११ का ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ । अधिकारी र मगरलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट आपराधिक उपद्र तथा लुटपाटको अपराध कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यसैगरी आन्दोलनकै क्रममा मकवानपुर जिल्ला स्थित बागमती प्रदेश सभा सचिवालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनमा तोडफोड र आगजनी गरेकाे आरोपमा जिल्ला सर्लाही बरथवा नगरपालिका वडा नं. १ बस्ने २७ वर्षीय पुनम ठाकुर तथा २७ वर्षीय प्रमोद महतो र हेटौंडा ८ बस्ने ४३ वर्षीय सागर घताने भन्ने रोम बहादुर घतानेलाई पक्राउ गरिएकाे हाे । उनीहरूमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौंडा–सिन्धुली सडकखण्डको हात्तिसुडेमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ ।
मंगलबार हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले पैदलयात्री ७१ वर्षीय खडक बहादुर घलानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते घलानको उपचारको क्रममा राती ७ बजेर ४५ मिनेटको समयमा हेटौंडास्थित चुरेहिल हस्पिटलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक देवराज विक र मोटरसाइकलमा सवार २० वर्षीय देवराज धानुकी सामान्य घाइते भएका थिए । प्रहरीले मोटरसाइकल चालक बकैया गाउँपालिका–७ का २५ वर्षीय विकलाई नियन्त्रणमा लिएको छ ।