मकवानपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौंडा–सिन्धुली सडकखण्डको हात्तिसुडेमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ ।
मंगलबार हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले पैदलयात्री ७१ वर्षीय खडक बहादुर घलानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते घलानको उपचारको क्रममा राती ७ बजेर ४५ मिनेटको समयमा हेटौंडास्थित चुरेहिल हस्पिटलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक देवराज विक र मोटरसाइकलमा सवार २० वर्षीय देवराज धानुकी सामान्य घाइते भएका थिए । प्रहरीले मोटरसाइकल चालक बकैया गाउँपालिका–७ का २५ वर्षीय विकलाई नियन्त्रणमा लिएको छ ।

