मकवानपुर । गत भदौ २४ गते भएकाे जेनजी आन्दोलनमा हेटौंडामा आपराधिक उपद्र तथा आगजनी गर्ने ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे छ । व्यक्ति तथा सरकारी भवनमा आगजनी तथा तोडफोड गरेकाे कसुरमा उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
आन्दोलनकाे क्रममा हेटौडा उपमहानगरपालिका वडा नं. ११ नवलपुर बस्ने ४५ वर्षीय सुशिल पौडेलको घरमा आगजनी तथा तोडफोड गरेको आरोपमा हेटौंडा ११ का ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ । अधिकारी र मगरलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट आपराधिक उपद्र तथा लुटपाटको अपराध कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यसैगरी आन्दोलनकै क्रममा मकवानपुर जिल्ला स्थित बागमती प्रदेश सभा सचिवालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनमा तोडफोड र आगजनी गरेकाे आरोपमा जिल्ला सर्लाही बरथवा नगरपालिका वडा नं. १ बस्ने २७ वर्षीय पुनम ठाकुर तथा २७ वर्षीय प्रमोद महतो र हेटौंडा ८ बस्ने ४३ वर्षीय सागर घताने भन्ने रोम बहादुर घतानेलाई पक्राउ गरिएकाे हाे । उनीहरूमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

