मकवानपुर । भेटेरेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र हेटौंडाले स्थानीय तहको सिफारिसमा मात्र किसानलाई सहुलियत प्रदान गर्ने भएको छ । केन्द्रले आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत कार्यक्रम तथा प्रथम चौमासिक समीक्षा गर्दै उक्त कुराको जानकारी गराएको हो ।
मकवानपुर जिल्लाका १० वटै स्थानीय तहका कृषि तथा पशु शाखा प्रमुख, योजना शाखा प्रमुख स्थानीय तहका वडा अध्यक्षहरुको उपस्थितिमा समीक्षा तथा जानकारी कार्यक्रम भएको हो ।
केन्द्रबाट चालु आर्थिक वर्षमा किसानको लागि पशु तथा पन्छि व्यबसाय गर्न प्रदान गरिने बिउ पुजि सहुलिएन ऋण प्राप्त प्रक्रियाको जानकारी गराइएको निमित्त प्रमुख ब्रज किशोर ठाकुरले बताए ।
कृषकहरुलाई स्थानीय पालिका र बिज्ञ केन्द्रबाट प्रदान गरिने सहुलियतमा दोहोरोपना आए पछि यस वर्षदेखि स्थानीय तहको सिफारिसमा मात्रै सहुलियत प्रदान गरिने गरि कार्यबिधि बनाइएको बिज्ञ केन्द्रका योजना शाखा प्रमुख डा. आभाष कोइरालाले बताए ।
केन्द्रले किसानको लागि प्रदान गरिने कार्यक्रम बारे सूचना यसै साताबाट जिल्लाको सम्बन्धित स्थानीय तहबाट प्रकाशन गरिने तयारी भएकाले सम्बन्धित किसानहरुलाई सेवा लिन केन्द्रका पशु सेवा प्राबिधिक प्रदीप सापकोटाले बताए ।
मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदबार महालक्ष्मी उपाध्याय डिनाले आफ्नो संकल्प सार्वजनिक गरेकी छिन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डिनाले सार्वजनिक गरेकाे संकल्पमा सबल महिला, अवसरमा पहिला भन्दै महिला सशक्तिकरणलाई प्राथमिकतामा राखेकी छिन् ।
नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री समेत रहेकी उनले संकल्पमा युवा रोजगारलाई प्राथमिकता दिएकी छिन् । हेटौंडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोड दिएकी छिन् । विद्यार्थी राजनीति हुँदै संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनले संकल्पमा समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान गर्ने उल्लेख गरेकी छिन् ।
त्यसैगरी उनले शान्ति र समृद्धिको पहिचान, गठबन्धनको सरकार निर्माणमा जोड दिएकी छिन् । डिनाले सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाहलाई पनि प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाबाट रोजगारी दिने आधारहरु प्रस्तुत गरेकी छिन् । सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न प्रदेश राजधानी बनाउने, विकट भेगमा समेत आवश्यक भौतिक संरचनाको निर्माणमा डिनाले प्रतिबद्धता जनाएकी छिन् । पूर्व राज्यमन्त्री भएर समेत काम गरिसकेकी उनले सुशासन, दिगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान र सरोकार रहने उल्लेख गरेकी छिन् ।
विद्यार्थी र महिला नेतृ हुँदै कुशल सहकारीकर्मीको परिचय समेत बनाइसकेकी उनले शिक्षाको क्षेत्रमा समेत योगदान पु¥याएकी छिन् । संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवम् सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि नेपाली कांग्रेसको सिफारिसमा सत्तारुढ गठबन्धनले आफूलाई मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको उनको दाबी रहेकाे छ ।
प्रत्यक्ष जनताको सुखदुःखमा रहेर काम गर्न र महिला नेतृत्वका लागि भन्दै समानुपातिकतर्फको पहिलो नम्बरमा रहेको आफ्नो नाम छोडेर प्रत्यक्षतर्फ चुनावमा आफू होमिएकाे डिना बताउँछिन ।
मकवानपुर । हेटौंडा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएकाे छ । हेटौंडामा रगतको चरम अभाव भएकाे भन्दै शनिबार युवा रेडक्रस सर्कल हेटौंडा एवं नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको हाे ।
हेटौंडा उपशाखाले हेटौंडाको पशुपति मन्दिर परिसरमा गरेकाे रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । हेटौंडाका विभिन्न अस्पताल एवं रक्तसञ्चार केन्द्रमा रगतको अभाव भैरहेकाले आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले बताए ।
युवा रेडक्रस सर्कल, हेटौंडाका अध्यक्ष सुजन खतिवडाको अध्यक्षता एवं रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा ४ का वडा सदस्य जगन्नाथ पान्डे, उपशाखाका सचिब किशन घिसिङ्ग, सल्लाहकार हरि प्रसाद रिजाल लगायतकाको उपस्थिति रहेको थियो ।
मकवानपुर । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी चहलपहल पनि बढेको छ । नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलोदेखि विविध कार्यक्रममा व्यस्त छन् । प्रतिनिधीसभाको दुईवटा क्षेत्र रहेको मकवानपुरमा जनताको घरदैलोमा नेता कार्यकर्ताको दौडधुप चलिरहेको छ ।
मकवापुरको प्रतिनिधिसभा क्षेत्र नम्वर– १ को प्रदेशसभा सदस्य ‘क’ नेकपा एमालेतर्फका उम्मेद्वार कमल विष्ट चुनावी मैदानमा छन् । विष्ट यतिबेला चुनावी अभियानमा मतदाताको घरघरमा पुग्न व्यस्त छन् । पाँच दलिय गठबन्ध विरुद्धको एमालेतर्फका उम्मेद्वार विष्टले गाविस अध्यक्ष देखि विभिन्न सामाजिक अभियानता रुपमा अनुभव प्रयोग गरेर प्रदेशसभाको नेतृत्व लिने दौडमा यतिबेला होमिएका छन् ।
बुवा नर बहादुर विष्ट र आमा पदम कुमारी विष्टको छोराको रुपमा २०१४ साल चैत्र १० गते जन्म भएको कमल विष्टको बाल्यकाल अवस्था सामान्य साधरण रुपमा बित्यो । विष्टले २०३४ सालमा झापाबाट राजनितीमा यात्रा सुरु गरेर २०३६ सालको जनआन्दोलनमा सक्रिय रहि भारत निर्वासित भएका थिए । २०४६ सालको आन्दोलनमा नेतृत्व गर्दै आन्दोलनमा सक्रिय रहेको विष्टले २०४९ देखि २०७८ सम्म गाउ कमिटी/इलाका कमिटी, जिल्ला कमिटी सदस्य रहि काम गरेर अघि बढेका थिए ।
२०७८ देखि प्रदेश कमिटी सदस्य रहेको विष्ट २०४९–२०५४ हटिया गा.वि.स.अध्यक्षमा निर्वाचित भएर उनले गाविसकै सफल अध्यक्षका रुपमा काम गरिसकेका छन् । गा. वि. स. महासंघ जिल्ला अध्यक्षसमेत रहेको विष्ट २०६२–०६३ को आन्दोलनमा सक्रिय रुपमा सहभागि हुँदै उनले ठाउँठाउँको आन्दोलनको नेतृत्व गरेको छन् ।
संघसंस्थामा आवद्धता–खानेपानी महासङ्घको जिल्ला अध्यक्ष र जनप्रिय प्राविधिक शिक्षालय व्यवस्थापन अध्यक्षमा ४ वर्षको कार्यकाल र बालबोध मा.वि. विधालय व्यवस्थापन अध्यक्ष १२ वर्ष रहि उनले महत्वपुर्ण भुमिका खेलेका छन् । विधालय व्यवस्थापन जिल्ला अध्यक्ष ५ वर्ष काम गरेको उनले बिभीन्न सहकारी सामाजिक संघ–संस्था मा काम गर्दै सहकारी अभियानमा जोडिएर महिलाहरुलाई सिपमुलक कार्यक्रमहरु प्रदान गरेका छन् ।
उनले विभिन्न कार्यक्रममा भारत , युएईको भ्रमणसमेत गरेका छन् ।
असल आचरण भएका विष्ट आफुले सामाजिक क्षेत्रमा खेलेको भुमिका राजनीतिक क्षेत्रमा आफुले निर्वाह गरिरहेको भुमिका र नेकपा एमालेतर्फबाट उम्मेद्वार बनेपछि जनताले विश्वास गरेर आफ्नो क्षेत्रका जनताले विजयी गराउने बताउँछन् ।
मकवानपुर । पञ्चायतकालमा मकवानपुरको तत्कालिन धियाँल बरबोटमा करिब ७ सय घरमा आगजनी भएको थियो । वन क्षेत्रमा बस्ती बसेको भन्दै पञ्चायत सरकारले उक्त वस्तीमा आगजनी गरी हटाइएको थियो ।
पञ्चायतकालको २०४४ सालले दिएको स्थानीयवासीको पीडामा मलम लगाउने गरी मकवानपुरका प्रतिनिधि सभा क्षेत्र १ तथा प्रदेश सभा १ क का उम्मेदवारले प्रतिवद्धता व्यक्त गरेका छन् । चुनावी प्रचारप्रसारको क्रममा हालको बकैया गाउपालिका १ धियाँलको बरबोट चिसापानी सभामा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार नेपाली काँग्रेसका महालक्ष्मी उपाध्याय डिना तथा प्रदेश सभा १ क का उम्मेवार प्रेम बहादुर पुलामी छिन्तुले आफुहरु बस्तीको संरक्षण र विकासको लागि आएको बताएका थिए । ‘हामी यो बस्तीलाई बचाउन आएका छौं यहाँको लालपूर्जा र सीमाको समस्या हामी समाधान गर्छौ’ उम्मेदवारद्वयले भने ‘हामीलाई जिताउनुस् यस ठाउँको विकास गर्ने जिम्मा हाम्रो भयो ।’
के भएको थियो २०४४ सालमा?
२०४४ सालमा बस्ती हटाउने हल्ला चलेपछि तत्कालिन धियाँल गाउँ पञ्चायतमा पर्ने हाल बकैया गाउँपालिका १ स्थित बरबोटका स्थानीय त्रसित थिए । बर्षौदेखि बसोबास गर्दै आएको थातथलो छाड्नुपर्ने पीडाले स्थानीयलाई चिन्तित बनाएको थियो ।
वन क्षेत्रमा वस्ती बसेकोले हटाउनु पर्ने विषयमा छलफल गर्न यस क्षेत्रबाट निर्वाचित सांसद कमल थापाले स्थानीयलाई हेटौंडा बोलाए । गाउँघरका भद्रभलादमी र युवाहरु सबैलाई छलफलको लागि भन्दै हेटौंडा बोलाईयो । २०४४ सालको त्यो घटनाले दिएको पीडा अझै पनि बकैया गाउँपालिका १ स्थानीयले भुलेका छैनन् ।
२०४४ सालमा पञ्चायत सरकारका बन मन्त्री हेमबहादुर मल्ल र त्यस समयमा मकवानपुरको यसै क्षेत्रबाट निर्वाचित हालका राप्रपा नेपालका अध्यक्ष थापाले बन क्षेत्रमा बस्ती बसेको भन्दै करिब सातसय घरमा आगजनी गरेका थिए । त्यसबेला आगजनीसँगै हात्ती लगाएर घरहरु भत्काइएको थियो । हाल बकैया १ नम्बर वडाको धियाँल डाँडा, माहादेव डाँडा, रजुवाई, इपिलघारी, हिलेखोला लगायत बस्ती आगजनी गरेर हटाएको तत्कालिन धियाँल गाउँ पञ्चालय प्रमुख शेर बहादुर भ्लोनले बताए ।
भागदौडको समयमा कोक्रोमा रहेको बच्चा सहित महिला र बालवालिकाहरुले ज्यान गुमाएका थिए । बस्तीको बारेमा छलफल गर्न भन्दै यस क्षेत्रका सांसद थापाले गाउँका जान्नेसुन्ने र युवाहरुलाई हेटौंडा बोलाएर गाउँमा महिला, बालवालिका मात्र भएको मौका छोपेर आगो लगाएको स्थानीय ८१ वर्षीय कान्छीमाया हिमडुङले बताइन् । ‘हाम्रो गाउँ खरानी भएको, बालबच्चा मरेको अझै बिर्सेको छैन हामीले’, उनले भनिन् ।
बि.सं. १९९३ सालको नम्बरी जग्गा समेत बस्ती उठाएर एलानी बनाएपछि यहाँका करिब सातसय परिवार सुकुम्बासी बनेका थिए । बिस्ताथित यो गाउँमा नेकपा माओवादीको पहलमा जनयुद्धको समयमा पुनः बस्ती बसालिएको स्थानीय बताउँछन् । बारा र रौतहटको सीमानामा पर्ने यो गाउँमा हाल करिब पच्चिससय परिवार बसोबास गर्दै आएका छन् ।

यसै क्षेत्रबाट फेरि कमल थापा यो पटक नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । यसै गाउँमा पुगेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले बस्ती संरक्षणको बाचा गरेका छन् । सभालाई सम्बोधन गर्दै मकवानपुर १(क) प्रदेशसभाका उम्मेदवार नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका उपाध्यक्ष प्रेम बहादुर पुलामीले मतदातालाई सचेत भएर जनताको पक्षमा काम गर्नेहरुलाई विजयी गराउन अनुरोध गरे ।
यस क्षेत्रको विकासमा आफूले लामो समयदेखि काम गर्दै आएको बताउँदै उनले जग्गाधनी पूर्जा बितरणको काम अघि बढेको बताए । साथै उनले छिमेकी जिल्लासँगको सीमा बिवादबारे पनि केन्द्र सरकारसँग पहल गरेर छिट्टै समाधान गरिने प्रतिबद्धता ब्यक्त गरे ।
