मकवानपुर । भेटेरेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र हेटौंडाले स्थानीय तहको सिफारिसमा मात्र किसानलाई सहुलियत प्रदान गर्ने भएको छ । केन्द्रले आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत कार्यक्रम तथा प्रथम चौमासिक समीक्षा गर्दै उक्त कुराको जानकारी गराएको हो ।
मकवानपुर जिल्लाका १० वटै स्थानीय तहका कृषि तथा पशु शाखा प्रमुख, योजना शाखा प्रमुख स्थानीय तहका वडा अध्यक्षहरुको उपस्थितिमा समीक्षा तथा जानकारी कार्यक्रम भएको हो ।
केन्द्रबाट चालु आर्थिक वर्षमा किसानको लागि पशु तथा पन्छि व्यबसाय गर्न प्रदान गरिने बिउ पुजि सहुलिएन ऋण प्राप्त प्रक्रियाको जानकारी गराइएको निमित्त प्रमुख ब्रज किशोर ठाकुरले बताए ।
कृषकहरुलाई स्थानीय पालिका र बिज्ञ केन्द्रबाट प्रदान गरिने सहुलियतमा दोहोरोपना आए पछि यस वर्षदेखि स्थानीय तहको सिफारिसमा मात्रै सहुलियत प्रदान गरिने गरि कार्यबिधि बनाइएको बिज्ञ केन्द्रका योजना शाखा प्रमुख डा. आभाष कोइरालाले बताए ।
केन्द्रले किसानको लागि प्रदान गरिने कार्यक्रम बारे सूचना यसै साताबाट जिल्लाको सम्बन्धित स्थानीय तहबाट प्रकाशन गरिने तयारी भएकाले सम्बन्धित किसानहरुलाई सेवा लिन केन्द्रका पशु सेवा प्राबिधिक प्रदीप सापकोटाले बताए ।

