मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदबार महालक्ष्मी उपाध्याय डिनाले आफ्नो संकल्प सार्वजनिक गरेकी छिन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डिनाले सार्वजनिक गरेकाे संकल्पमा सबल महिला, अवसरमा पहिला भन्दै महिला सशक्तिकरणलाई प्राथमिकतामा राखेकी छिन् ।
नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री समेत रहेकी उनले संकल्पमा युवा रोजगारलाई प्राथमिकता दिएकी छिन् । हेटौंडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोड दिएकी छिन् । विद्यार्थी राजनीति हुँदै संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनले संकल्पमा समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान गर्ने उल्लेख गरेकी छिन् ।
त्यसैगरी उनले शान्ति र समृद्धिको पहिचान, गठबन्धनको सरकार निर्माणमा जोड दिएकी छिन् । डिनाले सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाहलाई पनि प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाबाट रोजगारी दिने आधारहरु प्रस्तुत गरेकी छिन् । सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न प्रदेश राजधानी बनाउने, विकट भेगमा समेत आवश्यक भौतिक संरचनाको निर्माणमा डिनाले प्रतिबद्धता जनाएकी छिन् । पूर्व राज्यमन्त्री भएर समेत काम गरिसकेकी उनले सुशासन, दिगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान र सरोकार रहने उल्लेख गरेकी छिन् ।
विद्यार्थी र महिला नेतृ हुँदै कुशल सहकारीकर्मीको परिचय समेत बनाइसकेकी उनले शिक्षाको क्षेत्रमा समेत योगदान पु¥याएकी छिन् । संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवम् सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि नेपाली कांग्रेसको सिफारिसमा सत्तारुढ गठबन्धनले आफूलाई मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको उनको दाबी रहेकाे छ ।
प्रत्यक्ष जनताको सुखदुःखमा रहेर काम गर्न र महिला नेतृत्वका लागि भन्दै समानुपातिकतर्फको पहिलो नम्बरमा रहेको आफ्नो नाम छोडेर प्रत्यक्षतर्फ चुनावमा आफू होमिएकाे डिना बताउँछिन ।

