मकवानपुर । पञ्चायतकालमा मकवानपुरको तत्कालिन धियाँल बरबोटमा करिब ७ सय घरमा आगजनी भएको थियो । वन क्षेत्रमा बस्ती बसेको भन्दै पञ्चायत सरकारले उक्त वस्तीमा आगजनी गरी हटाइएको थियो ।
पञ्चायतकालको २०४४ सालले दिएको स्थानीयवासीको पीडामा मलम लगाउने गरी मकवानपुरका प्रतिनिधि सभा क्षेत्र १ तथा प्रदेश सभा १ क का उम्मेदवारले प्रतिवद्धता व्यक्त गरेका छन् । चुनावी प्रचारप्रसारको क्रममा हालको बकैया गाउपालिका १ धियाँलको बरबोट चिसापानी सभामा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार नेपाली काँग्रेसका महालक्ष्मी उपाध्याय डिना तथा प्रदेश सभा १ क का उम्मेवार प्रेम बहादुर पुलामी छिन्तुले आफुहरु बस्तीको संरक्षण र विकासको लागि आएको बताएका थिए । ‘हामी यो बस्तीलाई बचाउन आएका छौं यहाँको लालपूर्जा र सीमाको समस्या हामी समाधान गर्छौ’ उम्मेदवारद्वयले भने ‘हामीलाई जिताउनुस् यस ठाउँको विकास गर्ने जिम्मा हाम्रो भयो ।’
के भएको थियो २०४४ सालमा?
२०४४ सालमा बस्ती हटाउने हल्ला चलेपछि तत्कालिन धियाँल गाउँ पञ्चायतमा पर्ने हाल बकैया गाउँपालिका १ स्थित बरबोटका स्थानीय त्रसित थिए । बर्षौदेखि बसोबास गर्दै आएको थातथलो छाड्नुपर्ने पीडाले स्थानीयलाई चिन्तित बनाएको थियो ।
वन क्षेत्रमा वस्ती बसेकोले हटाउनु पर्ने विषयमा छलफल गर्न यस क्षेत्रबाट निर्वाचित सांसद कमल थापाले स्थानीयलाई हेटौंडा बोलाए । गाउँघरका भद्रभलादमी र युवाहरु सबैलाई छलफलको लागि भन्दै हेटौंडा बोलाईयो । २०४४ सालको त्यो घटनाले दिएको पीडा अझै पनि बकैया गाउँपालिका १ स्थानीयले भुलेका छैनन् ।
२०४४ सालमा पञ्चायत सरकारका बन मन्त्री हेमबहादुर मल्ल र त्यस समयमा मकवानपुरको यसै क्षेत्रबाट निर्वाचित हालका राप्रपा नेपालका अध्यक्ष थापाले बन क्षेत्रमा बस्ती बसेको भन्दै करिब सातसय घरमा आगजनी गरेका थिए । त्यसबेला आगजनीसँगै हात्ती लगाएर घरहरु भत्काइएको थियो । हाल बकैया १ नम्बर वडाको धियाँल डाँडा, माहादेव डाँडा, रजुवाई, इपिलघारी, हिलेखोला लगायत बस्ती आगजनी गरेर हटाएको तत्कालिन धियाँल गाउँ पञ्चालय प्रमुख शेर बहादुर भ्लोनले बताए ।
भागदौडको समयमा कोक्रोमा रहेको बच्चा सहित महिला र बालवालिकाहरुले ज्यान गुमाएका थिए । बस्तीको बारेमा छलफल गर्न भन्दै यस क्षेत्रका सांसद थापाले गाउँका जान्नेसुन्ने र युवाहरुलाई हेटौंडा बोलाएर गाउँमा महिला, बालवालिका मात्र भएको मौका छोपेर आगो लगाएको स्थानीय ८१ वर्षीय कान्छीमाया हिमडुङले बताइन् । ‘हाम्रो गाउँ खरानी भएको, बालबच्चा मरेको अझै बिर्सेको छैन हामीले’, उनले भनिन् ।
बि.सं. १९९३ सालको नम्बरी जग्गा समेत बस्ती उठाएर एलानी बनाएपछि यहाँका करिब सातसय परिवार सुकुम्बासी बनेका थिए । बिस्ताथित यो गाउँमा नेकपा माओवादीको पहलमा जनयुद्धको समयमा पुनः बस्ती बसालिएको स्थानीय बताउँछन् । बारा र रौतहटको सीमानामा पर्ने यो गाउँमा हाल करिब पच्चिससय परिवार बसोबास गर्दै आएका छन् ।

यसै क्षेत्रबाट फेरि कमल थापा यो पटक नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । यसै गाउँमा पुगेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले बस्ती संरक्षणको बाचा गरेका छन् । सभालाई सम्बोधन गर्दै मकवानपुर १(क) प्रदेशसभाका उम्मेदवार नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका उपाध्यक्ष प्रेम बहादुर पुलामीले मतदातालाई सचेत भएर जनताको पक्षमा काम गर्नेहरुलाई विजयी गराउन अनुरोध गरे ।
यस क्षेत्रको विकासमा आफूले लामो समयदेखि काम गर्दै आएको बताउँदै उनले जग्गाधनी पूर्जा बितरणको काम अघि बढेको बताए । साथै उनले छिमेकी जिल्लासँगको सीमा बिवादबारे पनि केन्द्र सरकारसँग पहल गरेर छिट्टै समाधान गरिने प्रतिबद्धता ब्यक्त गरे ।

