मकवानपुर । मकवानपुरमा राहदानी सम्बन्धी सेवा स्थगित गरिएको छ । सिस्टममा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरि अर्को सूचना नभएसम्मका लागि राहदानीको कार्य स्थगित गरिएको जनाएको छ ।
प्रशासन कार्यायलले जारी गरेको सूचनामा भनिएको छ, ‘विद्युतीय राहदानी प्रणाली सम्बन्धी मिति २०७९–०९–१९ गतेदेखि राहदानी विभागको अनलाईन सर्भरमा समस्या उत्पनन्न भएकोले अर्को सूचना नभएसम्मको लागि यस कार्यालयबाट प्रवाह हुने राहदानी सम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको व्यहोरा सेवाग्राहीको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विभागले राहदानी वितरण कार्य बन्द गर्यो
राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो ।
सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो ।
सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्काे सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको विभागले जनाएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्रमा देखिएका समस्या समाधान गरी चुस्तदुरुस्त सेवा दिने निर्णय गरेको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेर सेवाग्राही र विभागको अवस्था’को सम्बन्धमा जानकारी लिएका थिए ।
तर, विभागले भने सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण कार्य नै अनिश्चितकालका लागि बन्द गरेको हो । विभागमा सेवाग्राही सेवा लिन रातिदेखि नै लाइनमा बस्ने गरेका थिए। लाइन बस्दा समेत पालो नआउने, सेवा प्रवाह चुस्त नभएको गुनासाेका बीच सेवा प्रवाह नै बन्द गरिएकाे हाे ।

मकवानपुर । गुणस्तरीय शिक्षा हासिल गर्न गराउन मकवानपुरका सरोकारवालाहरू बिच १६ बुदे सहमति भएको छ ।
मकवानपुर जिल्लाका दुई स्थानीय तहहरू हेटौँडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाबीच सहमति भएको हो ।
नेपालका शिक्षक सङ्घ, संगठनहरू र स्थानीय सरकारहरूबीच संवाद र सहकार्य गर्दै शैक्षिक गुणस्तर सुधारको लागो सहमति गरिएको हो।
शैक्षिक सरोकारवाला सङ्घ, सङ्गठनहरूको अनिवार्य सहभागितामा उपमहानगर तथा गाउँपालिकास्तरीय शैक्षिक संवाद समिति गठन गरी नियमित छलफल गर्न सहमत हुँदै बजेट निर्माण तथा पालिकाको शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्नुपूर्व शिक्षकका सङ्घ, सङ्गठनहरूसँग छलफल गरिने, यस्तो बैठक र संवाद वर्षमा कम्तीमा दुई पटक गरिने, अनिवार्य, निःशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा एवम् सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका पेसागत समस्या हल गर्नका लागि शैक्षिक संवाद समितिलाई क्रियाशील बनाइने सहमति भएको हो ।
यसैगरी संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई शिक्षा ऐन, नियमावलीमा तोकिएबमोजिम नियुक्तिपत्र, तलब, भत्तालगायत सुविधा उपलब्ध गराउन आवश्यक वातावरण निर्माण गरिने, पालिकाभित्र सञ्चालित विद्यालयमा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न पहल गरिने,पालिकाभित्र बसोबास गर्ने कुनै पनि बालबालिकालाई विद्यालयीय तहको शिक्षा आर्जन गर्नबाट वञ्चित नगरिने सहमति भएको हो ।
यसैगरी विद्यालयमा प्रदान गरिँदै आएको दिवा खाजालाई अझ व्यावहारिक, पोषणयुक्त र पर्याप्त बनाइने,बालमैत्री, अपाङ्गमैत्री तथा महिलामैत्री विद्यालय बनाउनका लागि लगानीमा वृद्धि गरिने,प्रविधिमैत्री विद्यालय, पोसाक, छात्रवृत्ति, पाठ्यपुस्तक वितरण तथा न्यायिक विद्यालय स्थापनामा जोड दिइने सहमति भएको हेटौंडा मेयर मिना लामाले बताइन ।
संवैधानिक व्यवस्थाअनुसार सङ्घीय र प्रदेश शिक्षा ऐनसँग अनुकूल हुने गरी समयसापेक्ष, शिक्षक र विद्यार्थीमैत्री शिक्षा ऐन, नियमावली ल्याइने, आपतकालीन सिकाइलाई निरन्तरता र गुणस्तरीय शिक्षा प्राप्तिका लागि शिक्षकहरूलाई प्रविधि प्रशिक्षण र आवश्यक पेसागत विकास तालिम प्रदान गरिने, बजेट निर्माणमा स्थापित चरण र प्रक्रियाको पालना गर्दै विद्यालय विकासका लागि आवश्यक बजेट विनियोजन गरिने भएको छ ।
यसअघि यी पालिकाभित्र वसोवास गर्ने निम्न आय भएका विपन्न परिवारका बालबालिकाहरूलाई निःशुल्क उच्च शिक्षा अध्ययनका लागि गरिएको व्यवस्थालाई निरन्तरता दिइने, शिक्षक सुत्केरी बिदामा बस्दा पठनपाठनको निरन्तरताका लागि बिदा अवधिको समयमा विद्यालयमा स्वयमसेवक शिक्षकको व्यवस्था गरिने भनिएको छ । सहमति पत्र अनुसार १० वर्षे शिक्षा योजना बनाई कार्यान्वयनमा ल्याइनेछ ।
यसैगरी भयरहित सिकाइ वातावरण निर्माणका लागि आवश्यक वातावरण निर्माण गरिने, जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग लड्दै पर्यावरणमैत्री शैक्षिक वातावरण निर्माणका लागि कदम चालिने भनिएको छ ।
सहमति पत्रमा नेपाल शिक्षक महासङ्घका जिधराज ढकाल, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, मकवानपुरगढी गाउंपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानलगायत सरोकारवालाहरूले हस्ताक्षर गरेका छन् ।


मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा पाचौ बागमती गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिताको पाँचौ संस्करण पुष २४ गतेदेखि माघ ३ गतेसम्म जनता माविको खेल मैदान फापरवारीमा हुने भएको हो ।
बागमती गाउँपालिका खेलकुद विकास समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी गराएको हो । प्रतियोगिता संयोजक टीकलाल श्रेष्ठले बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने जानकारी दिए ।
‘फुटबल खेलको विकास, स्थानीय खेलाडीहरुको प्रोत्साहन र खेलाडीको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनाप्रतियोगिताको मुख्य उद्देश्य हो’ श्रेष्ठले भने । खेलकुद स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ सुरु हुने प्रतियोगिताका बिजेताले नगद ८ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै द्वितीय हुनेले नगद ४ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०/१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र,
हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगिताको लागत करिव ७१ लाख हुने अनुमान आयोजकले गरेको छ । वागमती गाउँपालिकाबाट ३५ लाख प्राप्त हुने तथा अन्य खर्च प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोगको लागि अनुरोध भैरहेको बताइएको छ ।
प्रतियोगितामा एक विदेशी, ७ वटा ए डिभिजन क्लव र २ वटा मोफसलको क्लवको सहभागिता रहने छ । प्रतियोगितामा आयोजक बागमती क्लब सहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब,मछिन्द्र युवा क्लब,हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर हेटौंडा ११,जाउलाखेल युथ क्लब र भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकनको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको २०७८ को चौथो संस्करण अफ्रिकन स्ट्स एशोसिएसन क्यामरुनलाई हराउँदै थ्रीस्टार क्लवले जितेको थियो । गत बिजेता टोली पाचौ सस्करणमा सहभागी नहुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने दर्शकको लागि टिकटको व्यवस्था गरिएको छ । वागमती गोल्डकपलाई सफल बनाउनका लागि विभिन्न समितिहरु निर्माण गरि प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले सहकारी सम्बन्धी आवश्यक नीति बनाउने भएकाे छ । उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले उपमहानगरले सहकारीसम्बन्धी नीति बनाउने तयारी गरेको बताएकी हुन् ।
नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले २७ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार लामाले आर्थिक उद्यम विकासमा सहकारीहरुले भूमिका खेल्नुपर्ने बताएकी हुन् । सहकारीले ऋण लगानी गर्दा सचेत हुनुपर्ने भन्दै उनले एक जना ऋणी घाटामा जाँदा समग्र सहकारीमा असरपर्नेमा गम्भीर हुनुपर्ने बताएकी हुन् । सहकारीले महिलालाई आर्थिक उपार्जन तथा आत्मनिर्भतामा जाेड्नु पर्ने बताइन् ।
‘कोभिड, डेंगु जस्ता रोगबाट नगरवासीलाई जोगाउन स्थानीय तहकाे भूमिका महत्वपूर्ण रहेकाे बताउँदै प्रमुख लामाले भनिन्– ‘सफा हेटौंडा, स्वच्छ हेटौंडा भन्ने अभियानमा जोडिन सहकारी र सहकारीकर्मीलाई आग्रह पनि गर्दछु ।’ बचत, ऋण लगानीसँगै सहकारीहरु समाज परिवर्तनकाे वाहक वन्नु पर्ने उनले बताएकी छिन् ।
कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश सांसद एकालाल श्रेष्ठले सहकारी सामाजिक संस्था भएकाले जागरण र समाजको विकासको महत्वपूर्ण काम गर्नुपर्ने बताए । ‘सहकारीहरुको सामाजिक गतिविधि प्रसंशनीय भएपनि अझै धेरै काम गर्नुपर्छ,’ उनले भने, ‘सहकारी र यस क्षेत्रको विकास मैले सक्दो सहयाेग गर्नेछु ।
कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, सहकारीका सल्लाहकार प्रकाश पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ९ की अध्यक्ष रमिला सापकोटा लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
पत्रकार श्रेष्ठसहित अन्य व्यक्तित्व सम्मानीत
नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले २७ औं बार्षिकोत्सवको अवसरमा मकवानपुरका पत्रकार अशाेक सुजन श्रेष्ठ सहित विभिन्न व्यक्तित्वलाई सम्मानीत गरेकाे छ । सहरकारीले मंसिर ४ गतेकाे निर्वाचनमा मकवानपुरबाट नवनिर्वाचित प्रदेशसभा सांसदलाई सम्मान गरेकाे छ ।

यसैगरी असल बचतकर्ता, ऋणी, जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्य, कर्मचारी तथा सहयोगीहरुलाई सम्मान गरेकाे सहकारी अध्यक्ष रामहरी न्यौपानेले बताए । बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ र समानुपातिक प्रदेश सांसद लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओडाएर बधाई तथा सम्मान गरिएको थियो । यस्तै सहकारीका असल बचतकर्ता प्रतिमा बाबु श्रेष्ठ, असल मासिक बचतकर्ता सोमबहादुर दोङ्ग लामा, असल ऋणी सुशिला कमिनी, बृद्ध भत्ता प्राप्त गर्ने सदस्यहरु, वडाको जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्यहरुलाई नगद तथा उपहारसहित सम्मान गरिएको थियो ।
त्यस्तै, सहकारीको खुत्रुके बचतकर्ता, उत्कृष्ट बचत समूह, सहकारीको दैनिक निर्माण सामग्री लोड अनलोड गर्ने सहयोगीहरु, संस्थाबाट सम्पूर्ण निर्माण सामग्री प्रयोग गरी घर निर्माण गर्ने सदस्यहरु, नियमित कारोबारीहरु, निर्माण सामग्री बिक्रीमा बिशेष भुमिका खेल्नेहरु, सहकारीका विशेष सहयोगी लगायतलाई पनि सम्मान गरिएको अध्यक्ष न्याैपानेले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा ९ का वडा अध्यक्ष शुकराम केसी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडा, नारायणी बहुउद्धेश्यीय सहकारीका पूर्व अध्यक्ष निरञ्जन ढकाल, सल्लाहकार विजेन्द्र अग्रवाल, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाकी उपाध्यक्ष सति खड्का न्यौपाने, उपभोक्ता मञ्च हेटौंडाका अध्यक्ष कुमार प्रसाद पौडेल, कु्श्माण्ड सरोवर त्रिवेणीधामका अध्यक्ष ईश्वरी न्यौपाने लगायतको आतिथ्य रहेको थियो ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन । दुर्घटनामा ४ जना घाइते भएकोमा १ जनाको उपचारक्रममा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बकैया वडा नम्वर ५ तिनतलेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार,बिहान ७ बजेर ४५ मिनेको समयमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्वरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्वरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा ४ जना घाइते भएका थिए ।
घाइतेमध्ये हेटौंडा अस्पतालमा उपचाररत मोटरसाइकल चालक भम्जनको बिहान ९ बजेर २१ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त दुर्घटनामा परेर घाइते भएका ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुषको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ
ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षीय सुर्यबहादुर घिमिरे र मोटरसाइकलमा सवार हेटौंडा– १८ फुर्केचौर बस्ने अन्दाजी ३५ वर्षीया हिरामाया लोप्चनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।