मकवानपुर । मकवानपुरमा राहदानी सम्बन्धी सेवा स्थगित गरिएको छ । सिस्टममा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरि अर्को सूचना नभएसम्मका लागि राहदानीको कार्य स्थगित गरिएको जनाएको छ ।
प्रशासन कार्यायलले जारी गरेको सूचनामा भनिएको छ, ‘विद्युतीय राहदानी प्रणाली सम्बन्धी मिति २०७९–०९–१९ गतेदेखि राहदानी विभागको अनलाईन सर्भरमा समस्या उत्पनन्न भएकोले अर्को सूचना नभएसम्मको लागि यस कार्यालयबाट प्रवाह हुने राहदानी सम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको व्यहोरा सेवाग्राहीको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विभागले राहदानी वितरण कार्य बन्द गर्यो
राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो ।
सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो ।
सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्काे सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको विभागले जनाएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्रमा देखिएका समस्या समाधान गरी चुस्तदुरुस्त सेवा दिने निर्णय गरेको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेर सेवाग्राही र विभागको अवस्था’को सम्बन्धमा जानकारी लिएका थिए ।
तर, विभागले भने सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण कार्य नै अनिश्चितकालका लागि बन्द गरेको हो । विभागमा सेवाग्राही सेवा लिन रातिदेखि नै लाइनमा बस्ने गरेका थिए। लाइन बस्दा समेत पालो नआउने, सेवा प्रवाह चुस्त नभएको गुनासाेका बीच सेवा प्रवाह नै बन्द गरिएकाे हाे ।


