मकवानपुर । नवौं याेग दिवसकाे अवसरमा हेटौंडामा रक्तदान गरिएको छ ।
पतन्जली योग समिति मकवानपुरको आयोजनामा मंगलबार भएको कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए । रक्तदानमा ब्लड बैंक हेटौंडाले सहजीकरण गरेको थियो ।
यसैगरी ‘गरौ योग, रहौ निरोग’ भन्ने मुल नाराका साथ नवौ माघ १ गते राष्ट्रिय योग दिवस मनाइएको छ ।
हेटौंडा उपमहानगरपालिका र पतंजलि योग समिति मकवानपुरको आयोजनामा योग दिवसको अवसरमा योग ध्यान प्राणायाम गरिएको थियो । यस्तै सोही अवसरमा तरुल, घ्यू र चाकुका साथ माघे सक्रान्ति समेत मनाइएको थियो ।
थाहानगर । मकवानपुरको थाहानगरको चित्लाङमा सञ्चालित २७ औं जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि विनयबाबु स्मृति प्रतिष्ठानकाे पाेल्टामा परेको छ । थाहानगरको विनयबाबु स्मृति प्रतिष्ठानले हेटौंडाको छहारी युवा समाजलाई २५–१९, २५–२२ र २७–२५को सोझो सेटमा पराजित गर्दे उपाधी हात पारेकाे हो ।
स्वच्छन्द भैरव युवा क्लब चित्लाङकाे आयोजनामा भएकाे प्रतियोगिताकाे विजयी बन्दै प्रतिष्ठानले नगद ६० हजार १ रुपियाँँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता चित्त बुझाएकाे समाज हेटौंडाले नगद ३० हजार रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा तृतीय स्थानमा रहेकाे खेलकुद विकास समिति चित्लाङले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगिताको बिधागत पुरस्कार तर्फ वेस्ट स्पाइकर छहारीका निश्चल रानामगर, वेस्ट सेटर छहारीकै निश्चल काउचा घोषित भए । त्यस्तै वेस्ट लिबेरो विनयबाबुका उज्वल लामा, बेस्ट ब्लकर विनयबाबुका उपास विष्ट र वेस्ट प्लेयर निराजन गुरुङ र वेस्ट कोच विनयबाबुकै शंकर कार्की घोषित भएका थिए ।
प्रतियोगितामा मकवानपुर जिल्लाका १५ वटा टिमले सहभागिता जनाएका थिए ।
मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा जारी ८ ए साइड फुटबल प्रतियोगितामा फायरलाइन, मर्निङ स्टार र राम नगर बिजयी भएका छन् ।
कर्णावती युवा क्लबको आयोजनामा सुरु ६० केजी मुनि तौल समूह नकआउट प्रतियोगिता अन्तरगत सोमबारको खेलबाट फायरलाइन, मर्निङ स्टार र राम नगर बिजयी भएको हो ।
सोमबार भएको तितेपनी एफसी र फायरलाइन एफसी बिचको पहिलो खेलमा पेनाल्टी मार्फत फायरलाइन बिजयी भएको हो । निर्धारित समयमा दुबै समूहले २/२ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा फायरलाइनले एफसीले तितेपानी एफसी ३-२ गोल अन्तरले हराएको हो ।
यसैगरी प्रतियोगिता अन्तरगत सोमबारनै भएको दोश्रो खेलमा मर्निङ स्टार र नागस्वती युवा क्लबले निर्धारित समयमा १-१ गोल गर्दै बराबरी खेलेका थिए । निर्धारित समय बराबरी हुँदा खेल पेनाल्टीमा धकेलियो । पेनाल्टी सुटआउटमा मर्निङ स्टारले नागस्वती युवा क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै सोमबारको तेस्रो खेलमा राम नगर युवा क्लबले मनकामनालाई २-० ले पराजित भएको थियो। माघ २ गते मङ्गलबारबाट क्वाटरफाइनलका खेल हुने आयोजकले जनाएको छ । मंगलबार दिउँसो १ बजे पहिलो क्वाटरफाइनल खेल देवनगर एफसी र हुप्रा सिटी बीच हुनेछ । यस्तै दोस्रो क्वाटरफाइनल खेल दिउँसो ३ बजे कालिकामाई टोल र आयोजक कर्णावती युवा क्लब बिच हुनेछ।
कर्णावती युवा क्लबको आयोजना भएको प्रतियोगितामा १५ वटा टोलीको सहभागी रहेको छ । प्रतियोगिता उपाधि विजेता टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
मकवानपुर । हत्या गरी फरार रहेकाे आराेप लागेका २ जनालाई मकवानपुर प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय राम चन्द्र स्याङ्तन र ५० वर्षीय कालु गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार आइतबार दुबै जनालाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल जेठ १९ गते थाहा–१२ स्थित गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेको ठहर अदालतले गरेकाे छ ।
उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ साल असोज ८ गते २० वर्षको कैद सजाय तोकेको थियो । जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भएर फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले आइतबार घरबाटै पक्राउ गरेको भण्डारीले जानकारी दिए ।
पक्राउ परेको दुबैजनालाई जिल्ला अदालत मकवानपुरमा आइतबार नै उपस्थित गराएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा माघ १ गते छैठौं माघी महोत्सव हुने भएको छ । शनिबार महोत्सव सम्बन्धी जानकरी पत्रकार भेटघाट गरी गराइएकाे हाे ।
थारु जातिको साँस्कृतिक, लोक कला, भाषा दर्शन, साहित्य, रितिरिवाज, र थारु परिकारहरुको व्यवसायिकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको माघी महोत्सव मूल आयोजक समिति मकवानपुर सचिव चन्द्रकान्त चौधरीले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्ने महाे्सव सोमबार विहानबाट हेटौडा ४ स्थित भुटनदेवी माध्यामिक विद्यालयकाे प्राङ्गणमा हुनेछ । उद्घाटन अघि थारु जातिको पहिचान भल्किने भेषभुषा र साँस्कृतिक झाँकीसहित सिमाचोक, बुद्धचोक, कान्तिलोकपथ हुदै पुनः भुटनदेवी विद्यालयको चौरमा पुगी मूल समारोह सभामा परिणत हुने कार्यक्रम रहेको चौधरीले बताए ।
महोत्सवमा थारु जातिको विशेष परिकारहरु घुगी, तिलको लड्डु, बरी, अदौरी, गँगटो, अमादीके, आदिको सःशूल्क स्टल रहने छ । साथै थारु जातिको साँस्कृतिक नाचँगानको साथै आन्तरिक तथा बाह्य कलाकारहरुको गीत र नृत्यबाट दर्शकहरुलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

महोत्सवमा करिब ७ लाख ५० हजार खर्च हुने अनुमान गरिएकोे छ । साथै महोत्सवलाई करिब ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सहसचिव रामानन्द चौधरीले बताए । सरकारले हरेक वर्ष माघी पर्व माघ १ गतेका दिनमा सार्वजनिक विदा दिने गरेको छ ।
महोत्सवकाे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा माघी महोत्सव मूल आयोजक समिति मकवानपुरका सभापति सचिदानन्द चौधरी, उपसभापति शिला चौधरी, सचिव चन्द्रकान्त चौधरी, सहसचिव रामानन्द चोधरी, कोषाध्यक्ष उमा चौधरी, साथै सदस्यहरु रिना चौधरी, सिया चौधरी, रञ्जु चौधरी, ललित चौधरी, सन्दिप चौधरी र सरोज चौधरी लगायतको उपस्थिति रहेको थियो ।