मकवानपुर । मकवानपुरको हेटौंडामा डेङ्गुविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ ।
आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्ने नाराका साथ हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा डेङ्गुविरुद्ध सचेतनामूलक अभियान सुरु गरिएको हो ।
हेटौंडा ४ नम्बर वडाले सरोकारवालाको संयुक्त प्रयासमा हेटौंडामा शुक्रबार सचेतनामूलक र्याली सहित अभियान सुरु गरेको हो । स्वास्थ केन्द्र, रेडक्रस, महिला समूह, विद्यार्थी, शिक्षक, क्याम्पसका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी र प्रतिनिधिसहित सचेतनामूलक र्याली हेटौँडाको पारिजातपथ, कर्रा, गर्दोइ हुँदै हुप्रचौरसम्म सचेतना र्याली गरिएको वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
मकवानपुरको हेटौंडामा गत वर्ष डेङ्गुबाट प्रभावित भइ उच्च जोखीममा परेको बताउदै अहिले सुरुवातदेखि नै वडावासीलाई सुरक्षित हुन अभियान सुरु गरिएको वडा अध्यक्ष सिग्देलले बताए ।
मकवानपुरमा १ साउनदेखि १८ गतेसम्म २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ११ पुरुष र १८ महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा २३ जनामा डेङ्गु सङ्क्रमित भेटिएका छन् ।
गत आव २०८०/८१ मा मकवानपुरमा ८९१ जना डेँगुबाट प्रभावित भएका थिए भने डेङ्गु सङ्क्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको थियो ।
डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । उक्त लामखुट्टे पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्याङ्कीमा बस्ने गर्छ । यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिराहरू देखापर्ने लगायत लक्षण यसमा देखिन्छन् ।
मकवानपुर । मकवानपुरको हेटौडाबाटबाट लागुऔषध चरेशसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएकाे छ । मकवानपुर प्रहरीका अनुसार पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ का २६ वर्षीय हरी गौरव र नवलपरासीको पण्डितपुर वनगरिया गाउँपालिका–१ का ४३ वर्षीय अनिल भर चौधरीलाई १० किलो २५० ग्राम चरेश सहित नियन्त्रणमा लिइएकाे हाे ।
बिहिबार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा–१५, चुरीमाईस्थित पुर्व–पश्चिम सडक खण्डमा हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना ६ ख ५८३९ नम्बरको यात्रुबाहक बसलाई सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणकाे लागुऔषध चरेशसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुकाे झोलाभित्र लुकाएर राखिएको चरेश १० किलो २ सय ५० ग्राम फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) ले शुक्रबार हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ का लागि करका दरमा अस्वभाविक रुपले बढाएकाे भन्दै संघका अध्यक्ष कृष्णकुमार गुप्ताको नेतृत्वमा व्यवसायीले उपप्रमुख राजेश बानियाँलाई ज्ञापनपत्र बुझाएको छ ।
उपमहानगरले व्यवसाय कर तथा घरबहालकरकाे दरमा अस्वभाविक वृद्धि गरेकाेमा नगर प्रमुख मीना कुमारी लामालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकाेमा लामा कार्यकक्षमा अनुपस्थित भएपछि व्यवसायीले उपप्रमुख बानियाँलाई ज्ञापनपत्र बुझाएकाे हाे ।
व्यवसाय, उद्यम शिथिल र कमजोर अवस्थामा हेटौंडा उपमहानगरपालिकाले एकपक्षीय रुपमा विभिन्न शीर्षकमा भएका राजश्व, कर र घरबहालदरमा बृद्धि भएको भन्दै वृद्धि भएको कर भुक्तान गर्न नसक्ने ज्ञापनपत्रमा उल्लेख छ । उपमहानगरले अस्वभाविकरुपमा बढाएको करहरु तुरुन्त फिर्ता लिई साविककै दरमा राख्न संघले आग्रह समेत गरेकाे छ । उद्योगी, व्यवसायीको आग्रहलाई बेवास्ता गरिए आन्दोलन गर्ने समेत संघले ज्ञापनपत्र मार्फत चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्र बुझेपछि उपप्रमुख बानियाँले उपमहानगरकाे आय स्राेत कम भएकाेले करकाे दर बढाइएकाे जानकारी दिए । अहिले व्यवसाय धरासायी हुदैँ गएकाे विषय जानकारी रहेकाे पनि करको दर हेरफेर गर्न नगर सभा नै बोलाउनु पर्ने उनले बताए ।
व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थाका व्यवसायीमाथि स्थानीय सरकारले करको दर बढाएर थप पीडा थपिदिएको मउवासंघका प्रतिनिधिहरुले गुनासो गरेका छन् । संघले करकाे दर हाेइन दायरा बढाएर नगरकाे स्राेत सुनिश्चित गर्न समेत सुझाव दिएकाे छ ।
उपप्रमुखकाे नेतृत्वमा रहने राजश्व परामर्श समितिले करकाे दर नबढाउने निर्णय गरेपनि नगर सभाबाट करकाे दरमा बृद्धि गरिएकाे बताइएकाे छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे छ । शनिबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गरेकी हुन् ।
हेटौडा–२ नगरको दोस्रो बालमैत्री वडा घोषणा भएको छ । हेटौंडा २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनले २०७९ साल मंसिरदेखि सुरु भएको बालमैत्री घोषणा अभियानदेखि हालसम्मका प्रगति विवरण प्रस्तुत गरेका थिए । महर्जनका अनुसार वडाले ५१ सूचक पुरा गरेकाेले वडालाई बालमैत्री शासनयुक्त घोषणा गरिएकाे बताए । वडाले बालबालिकाको क्षेत्रमा काम गर्न पञ्चवर्षीय लगानी योजना तथा रणनीतिक योजना तयारी गरी दिगोपनकाे लागि काम गर्ने उनले बताए ।
‘अब वडाले पूरा गरेको सूचकहरुको दिगोपनाका लागि सरकार, जनप्रतिनिधि, अभिभावक र टोल विकास संस्थाहरु लगायतकाकाे उत्तिकै महत्वपूर्ण भूमिका रहने छ’ उनले भने । बालमैत्री स्थानीय शासनकाे लागि तोकिएकाे सूचकमध्ये ४५ वटा सूचक सतप्रतिशत, ३ वटा ९६ प्रतिशत १ वटा ९५ प्रतिशत र १ वटा ९० प्रतिशत पूरा भएकाेले घोषणा गरिएकाे हाे ।
बालमैत्री घोषणा कार्यक्रममा वडा अध्यक्ष महर्जनले वडामा १८ वर्षमुनिका १ हजार ८ सय ११ बालबालिका रहेकाेमा ९ सय ४४ जना अर्थात ५२.१३ प्रतिशत बालक र ८सय ६७ जना अर्थात ४७.८७ प्रतिशत बालिका रहेकाे जानकारी दिए । बालबालिकाको सक्रिय सहभागिताका लागि १९ वटा बालसमूह र १ वटा वडा बालसञ्जाल गठन गरि बालमैत्रीकाे लागि तयारी गरिएकाे थियाे । वडाका बाल सञ्जालमा ४ सय ६० बालबालिका आबद्ध रहेका छन् । विभिन्न संरचनागत समितिमा थप २५ जनासहित कुल ४ सय ८५ बालबालिकाको प्रत्यक्ष सहभागिता रहेककाे छ ।
वडामा १ सामुदायिक र २ संस्थागत गरी ३ विद्यालय र २ वटा बालविकास केन्द्र सञ्चालनमा छन् भने ३ वटै विद्यालय बालमैत्री स्थानीय शासन युक्त घोषणा भइ सकेकाे छ ।
हेटौंडा उपमहानगरपालिकाले २०८० को मंसिरसम्ममा नगरलाई नै बालमैत्री घोषणा गर्ने तयारी गरेपनि २ नम्बर समेत हालसम्म दुई वटा वडा मात्रै बालमैत्री घोषणा भएको छ । यसअघि वडा नम्बर ८ बालमैत्री शासनयुक्त वडा घोषणा भइसकेको छ । बालमैत्री वडा घोषणाकाे लागि र्याली समेत निकालिएको थियो । र्याली २ नम्बर वडाका विभिन्न स्थानकाे परिक्रमा गर्दै कार्यक्रम स्थल पुगेकाे थियाे ।
घोषणा कार्यक्रममा वडा, सिविन बालहेल्पलाइन, सिद्धार्थ माध्यमिक विद्यालय, बाल जागृति बाेर्डिङ स्कुल र ज्ञानोदय बालबाटिका एकेडेमीले बालमैत्री शासनकाे हालसम्मकाे क्रियाकलापहरु तथा अन्य गतिविधि समेटिएकाे प्रदर्शनी समेत गरिएकाे थियाे ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य तारा ढुङ्गाना, नगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, वडा अध्यक्षहरु, महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतको आतिथ्य रहेको थियो ।
मकवानपुर । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवालाई सिप सिकाएर दक्ष बनाउन सके देशको भविष्य उज्वल रहेको बताएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा विहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रदेश युवा परिषद बागमतीले टेलरिङ, फेसन डिजाइन, व्युटिसियन, मन्टेश्वरी, डकर्मी, प्लाम्बिङ,मोटरसाइकल मर्मत, कुक, मौरी पालन, बारिष्टालगायत २६ बिधामा बागमती प्रदेशको १३ जिल्लाका ५ हजार जना युवालाई प्रदान गरिएको सिप मुलक तालिमको सहभागीहरु दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन् ।
देशमा आर्थिक मन्दी लगायतको चुनौतिबारे चर्चा भइरहेको बेला सभामुख घिमिरेले चुनौती आफैमा एक अवसर भएको बताए । “चुनौतिलाई सही ढंगले सामना गर्न सक्नु पर्छ” उनले भन् “विश्वको मुलकमा हुने विविध चुनौति सामाना गर्ने युवा नै हो ।” राजनीतिक उदेश्य पूरा गर्न मात्रै हैन, राज्यको समृद्धिमा युवा लागाउनु पर्ने बताउँदै उनले भने “अब विकासमा युवा परिचालन अपरिहार्य छ ।”
कार्यक्रममा संघीय सांसद महेशकुमार बर्तौलाले युवालाई सिपले दक्ष बनाउन सकिने बताए । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले युवा लक्ष्यित कार्यक्रम सरकारको ध्यान रहेको बताए ।
यसैगरी बागमती प्रदेश आर्थिक मामिला मन्त्रालयका पुर्व मन्त्री जगन्नाथ थपलियालेयुवालाई स्वरोजगार बन्नको लागि पैसाको व्यवस्थापन सरकारले गर्ने बताए । जनतामा नेतृत्वको भरोसा टुट्दै आएको नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले बताए ।
व्युटिसियन तालिमको सहभागी बिष्णु कुमारी परियारले लेभल २ तालिम आवश्यक भएको बताइन् । सरकारले गरेको लगानी व्याज सहित काम गरेर देखाउँने प्रतिबद्धता व्यक्त गरिन । सिपले बाँच्ने आधार दिएको उनले बताइन् । “देशले लगानी ग¥यो अब बिदेश जान्न“ उनले भनिन् । यसैगरी ट्रेनिङ सेन्टर नेपालका प्रशिक्षक णराज सिलवालले दक्ष जनशक्तिको लागि लगानी बढाउन पर्ने बताए । उद्योग धन्दा दक्ष जनशक्ति नपाएरै बन्द हुने, युवा चै किन विदेश जाने क्रम रोकिनु पर्ने उनले बताए ।
बागमती प्रदेश युवा परिषद्को आयोजनामा सञ्चालन भएका तालिममा सहभागि युवाहरुलाई हेटौंडामा एकै पटक प्रमाणपत्र वितरण गरिएको थियो। बागमती प्रदेश युवा परिषद्को आयोजनामा सञ्चालन भएका विभिन्न तालिममा सहभागि २ हजार जना युवाहरुलाई हेटौंडामा प्रमाणपत्र वितरण गरिएको हो ।
मकवानपुर, चितवन र सिंधुली जिल्लामा युवा परिषद् मार्फत सिप सिकेका युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । युवा सिप वर्ष २०८१ अन्तरगत ति तालिमहरु निःशुल्क प्रदान गरिएको थियो । कार्यक्रम प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष सन्तोष चौलागाइले युवाशक्तिलाई स्वदेशमा टिकाउन र वैदेशीक रोजगारीमा जाँदा पनि समस्यामा नपर्ने गरी जानको लागि ति सिपहरु सहयोगी हुने बताए ।