मकवानपुर । मकवानपुरको हेटौंडामा डेङ्गुविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ ।
आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्ने नाराका साथ हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा डेङ्गुविरुद्ध सचेतनामूलक अभियान सुरु गरिएको हो ।
हेटौंडा ४ नम्बर वडाले सरोकारवालाको संयुक्त प्रयासमा हेटौंडामा शुक्रबार सचेतनामूलक र्याली सहित अभियान सुरु गरेको हो । स्वास्थ केन्द्र, रेडक्रस, महिला समूह, विद्यार्थी, शिक्षक, क्याम्पसका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी र प्रतिनिधिसहित सचेतनामूलक र्याली हेटौँडाको पारिजातपथ, कर्रा, गर्दोइ हुँदै हुप्रचौरसम्म सचेतना र्याली गरिएको वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
मकवानपुरको हेटौंडामा गत वर्ष डेङ्गुबाट प्रभावित भइ उच्च जोखीममा परेको बताउदै अहिले सुरुवातदेखि नै वडावासीलाई सुरक्षित हुन अभियान सुरु गरिएको वडा अध्यक्ष सिग्देलले बताए ।
मकवानपुरमा १ साउनदेखि १८ गतेसम्म २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ११ पुरुष र १८ महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा २३ जनामा डेङ्गु सङ्क्रमित भेटिएका छन् ।
गत आव २०८०/८१ मा मकवानपुरमा ८९१ जना डेँगुबाट प्रभावित भएका थिए भने डेङ्गु सङ्क्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको थियो ।
डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । उक्त लामखुट्टे पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्याङ्कीमा बस्ने गर्छ । यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिराहरू देखापर्ने लगायत लक्षण यसमा देखिन्छन् ।

