मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) ले शुक्रबार हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ का लागि करका दरमा अस्वभाविक रुपले बढाएकाे भन्दै संघका अध्यक्ष कृष्णकुमार गुप्ताको नेतृत्वमा व्यवसायीले उपप्रमुख राजेश बानियाँलाई ज्ञापनपत्र बुझाएको छ ।
उपमहानगरले व्यवसाय कर तथा घरबहालकरकाे दरमा अस्वभाविक वृद्धि गरेकाेमा नगर प्रमुख मीना कुमारी लामालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकाेमा लामा कार्यकक्षमा अनुपस्थित भएपछि व्यवसायीले उपप्रमुख बानियाँलाई ज्ञापनपत्र बुझाएकाे हाे ।
व्यवसाय, उद्यम शिथिल र कमजोर अवस्थामा हेटौंडा उपमहानगरपालिकाले एकपक्षीय रुपमा विभिन्न शीर्षकमा भएका राजश्व, कर र घरबहालदरमा बृद्धि भएको भन्दै वृद्धि भएको कर भुक्तान गर्न नसक्ने ज्ञापनपत्रमा उल्लेख छ । उपमहानगरले अस्वभाविकरुपमा बढाएको करहरु तुरुन्त फिर्ता लिई साविककै दरमा राख्न संघले आग्रह समेत गरेकाे छ । उद्योगी, व्यवसायीको आग्रहलाई बेवास्ता गरिए आन्दोलन गर्ने समेत संघले ज्ञापनपत्र मार्फत चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्र बुझेपछि उपप्रमुख बानियाँले उपमहानगरकाे आय स्राेत कम भएकाेले करकाे दर बढाइएकाे जानकारी दिए । अहिले व्यवसाय धरासायी हुदैँ गएकाे विषय जानकारी रहेकाे पनि करको दर हेरफेर गर्न नगर सभा नै बोलाउनु पर्ने उनले बताए ।
व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थाका व्यवसायीमाथि स्थानीय सरकारले करको दर बढाएर थप पीडा थपिदिएको मउवासंघका प्रतिनिधिहरुले गुनासो गरेका छन् । संघले करकाे दर हाेइन दायरा बढाएर नगरकाे स्राेत सुनिश्चित गर्न समेत सुझाव दिएकाे छ ।
उपप्रमुखकाे नेतृत्वमा रहने राजश्व परामर्श समितिले करकाे दर नबढाउने निर्णय गरेपनि नगर सभाबाट करकाे दरमा बृद्धि गरिएकाे बताइएकाे छ ।

