मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित बहादुर घलानले सामुदायिक वनलाई बजेटकाे आवश्यक रहेकाे बताएका छन् । सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आयोजना गरेकाे विचार गोष्ठी तथा प्रशंशा-पत्र बितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘सामुदायिक वनलाई बजेटकाे व्यवस्था भएमा आम्दानीसँगै आयाअर्जनको लागि थप टेवा पुग्छ’ प्रमुख घलानले भने । आम्दानी भएकाे वन समूहले कम आम्दानी भएकाे वा आम्दानी नभएकाे वन सँग समन्वय गर्न सके क्षमता अभिबृदी भई अगाडी बढ्ने उनले बताए । ‘न्युनतम ५ हेक्टर क्षेत्रफल रहेको वनलाई आयअर्जन सँग जोड्न सकिन्छ, पर्यटन सग जोड्न सकिन्छ’ उनले भने ‘सामुदायिक वनको लगानी स्थानीय तहले बुझ्न जरुरी रहेको तथा प्रदेश तथा स्थानीय तहमा जोडिनुपर्छ ।’
नेपालमा ४५ प्रतिशत वन क्षेत्र रहेकोमा मकवानपुर जिल्लामा ६७ प्रतिशत रहेको बताउँदै प्रमुख घलानले भने बिज्ञहरुले ३० प्रतिशत वन क्षेत्र आवश्यक रहेकाे बताउँछन् । विपद्को क्षेत्रमा वनले धेरै सहयोग गरिरहेको उनले बताए । ‘वन क्षेत्रमा १० प्रतिशत स्थानीय तहले लगानी गरिरहेको छ’ उनले भने ‘सरकारी कार्यलयमा अनिवार्य रुपमा काठकाे सामग्री प्रयोग गर्नुपर्छ भन्ने नीति लिइएकाे छ ।’
‘अहिलेको समयमा बृक्षारोपण गरिनुका साथसाथै त्यसको संरक्षणमा समेत ध्यान दिनुपर्ने देखिन्छ’ उनले भने । ‘तपाईंहरुको मेहनत सराहनीय छ, डाडा काँडा हरियाली भएको छ’ उनले भने ‘निरन्तर अन्तरक्रिया, छ्लफलबाट समन्वय गरी अगाडी बढ्न जरुरी रहेको छ ।’
कार्यक्रममा वन समुह, वन अभियान्ताहरु र सञ्चारकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सामुदायिक उपभोक्ता वन समुहतर्फ हेटौंडा ६ काे चुच्चेखोला वन समुह, हेटौडा ५ काे पिप्लेपोखरा वन समुह, हेटौडा १९ काे चनौटा वन समुह, हेटौडा ६ काे रानी वन समुह, मकवानपुरगढी ५ काे बुङदल वन समुह र थाहा नगर स्थानीय महासंघ रहेकाे छ। यस्तै वन अभियन्ता बुद्धि प्रसाद पौडेल र बाल कुमारी थापालाई सम्मान गरेकाे छ । सञ्चारकर्मीतर्फ सुरेश श्रेष्ठ र भीमसेन पौडेललाई सम्मान गरिएकाे छ ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साघुराम चौलागाईंको सभाधक्षता तथा जिल्ला समन्वय समिती प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा डिभिजन वन कार्यलय हेटौंडाका प्रमुख राकेश चन्द्रबन्शी, वनस्पति अनुसन्धान केन्द्र प्रमुख रघुराम पराजुली, सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश सदस्य केशव प्रसाद न्यौपाने, सब डिभिजन कार्यलय हेटौंडा प्रमुख यदु कुमार घिमिरे, जिल्लाका विभिन्न वन उपभोक्ता समुहका पदाधिकारीलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरगढी मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमल्टारमा साउन २५ गते बिहीबारबाट श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएकाे छ ।
महायज्ञकाे तयारी पुरा भएको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेले बताए । महायज्ञमा युवा पण्डित कपिलदेव भट्टले कथा वाचन गर्ने घिमिरेले बताए । जलेश्वर महादेव मन्दिरको पञ्चमुखी शिवलिङ्ग स्थापना तथा बुद्ध मूर्ति निर्माण कार्यका लागि महायज्ञ आयोजना गरिएको उनले जानकारी दिए ।
घिमेरेका अनुसार हिन्दुधर्मालम्बी र बौद्ध धर्मालम्बीले महादेव र गौतम बुद्धको पुजा गर्ने स्थान एकै क्षेत्रमा रहोस् भन्ने साझा उद्देश्यले महायज्ञको आयोजना गरिएको हाे । २५ गते विहान ८ बजे कलश यात्रा गर्ने र १२ बजे उद्घाटन हुने महायज्ञ भाद्र १ गते समापन हुने जनाइएको छ ।
महायज्ञको उद्घाटन मकवानपुर प्रतिनिधि सभा क्षेत्र १ का सदस्य महेश कुमार बर्तौलाले गर्ने कार्यतालिका रहेको आयोजकले जनाएको छ । देशव्यापी धार्मिक अनुष्ठान महाअभियान १००८ भागवत संकल्पका साथ महायज्ञ आयोजना गरिएको जनाइएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडाबाट अनलाइनमार्फत ठगी गर्ने ९ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–४ स्थित पारिजात पथमा रहेको प्रमोद वाग्लेको घर भाडामा लिएर अनलाइनमार्फत ठगी गर्ने उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२१ साउन बेलुका ६ बजेको समयमा वाग्लेको घरको पाँचौं तलाको फ्ल्याट भाडामा लिई मेडि असिष्ट नामको कम्पनी मार्फत अनलाइन ठगीको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुधबार पत्रकार सम्मेलन मार्फत प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए ।
प्रहरी प्रमुख रिजालका अनुसार पक्राउ पर्नेहरूमा सबै भारतीय नागरिक रहेका छन् । पक्राउ पर्नेहरूमा भारत पटना थाना आलमगंज वडा नम्बर–५७ बस्ने २८ वर्षीय नवनित कुमार, भारत स्वाग कोल्लिएरी, बोकरो झारखण्ड बस्ने २७ वर्षीय शाहरुख खान, भारत करवा बलराम अरवल करपी बिहार बस्ने २९ वर्षीय कुन्दन कुमार, भारत कृष्ण कालोनी छोटी मुखानी हल्द्धानी नैनिताल उत्ताराखण्ड बस्ने २६ वर्षीय आशिष कब्डौला, भारत काजु बागाना रोड सुन्दर नगर, हेहल राँची झारखण्ड बस्ने ३४ वर्षीय विशाल कक्कड, भारत केशवनगर पहाडी टोल रातु रोड राँची झारखण्ड बस्ने ३८ वर्षीय लोकेशकुमार दुवे, भारत लोवर वर्दवान कम्पाउड लालपुर राँची झारखण्ड बस्ने २९ वर्षीय विकासकुमार सिंह, भारत नांगलोड वेस्टी देल्ही बस्ने २८ वर्षीय अरुणकुमार, भारत बैशाली गजियावाद उत्तर प्रदेश बस्ने ४० वर्षीय कुनाल शर्मा रहेका छन् ।
पक्राउ परेका उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप ७ थान, राउटर ३ थान, मोबाइल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान बरामद गरिएकाे रिजालले जानकारी दिए ।
प्रहरी उपरीक्षक रिजालका अनुसार १० फागुन २०८० मा हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा भारत पुष्प बिहार जिल्ला नयाँ दिल्ली स्थायी बसोबास गर्ने द्रबिन कुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने गरी वाग्लेको घरमा फ्ल्याट भाडामा लिई सञ्चलन गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सिंहले आन्तरिक राजश्व कार्यालय हेटौंडाबाट मेडि असिष्ट कम्पनी देखाएर मानव स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने गरी पान नम्बर दर्ता गरिएको र उक्त कम्पनीमा १२ जना व्यक्तिहरूलाई काममा राखेको उनले बताए ।
१२ जनामध्ये ३ जना (द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश) फरार रहेको रिजालले बताए । सो कम्पनीमा कार्यरत व्यक्तिहरूले १८ देखि ५० हजार भारतीय रुपैयाँ नगदमा तलब बुझ्ने गरेको खुले पनि भुक्तानीको कुनै पनि अभिलेख फेला नपरेको उनले बताए । भारतको राचीस्थित हेड अफिसमा मेन सर्भर राखी क्विक कल क्लाइन्ट सफ्टवेयर मार्फत काम गर्ने गरेको खुल्न आएको उनले बताए । सो सफ्टवेयर मार्फत टार्गेट ग्रुप पहिचान गरी सम्पर्क गर्ने र सम्पूर्ण विवरण भारत ट्रान्सफर गर्ने गरिएको रिजालले जानकारी दिए ।
अनुसन्धानका क्रममा कम्पनीद्वारा कुनै पनि आर्थिक कारोबार कानुन बमोजिम नगरिएको र अभिलेखीकरण नभेटिएको उनले बताए । उक्त कम्पनीबाट हुने गरेको काम कारबाहीको डाटा समेत हेड अफिसको सरभरमा राख्ने गरेको उनको भनाई छ । सो कम्पनीले अधिकांश रातको समयमा मात्र काम गर्ने गरेको अनुसन्धानमा खुलेको उनले बताए ।
पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१), (२) विपरीत कसुर अपराध गरेको मुद्दा दायर गरी मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए । उनीहरूमाथि सोही ऐनको परिच्छेद ३ को दफा ३४ को उपदफा ३ बमोजिम दण्ड सजाय माग गरी मुद्दा दर्ता गरिने बताइएकाे छ।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ का सांसद दीपक बहादुर सिंहले एक वर्षको तलब रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् ।
प्रतिनिधि सभा पुर्वाधार विकास समिति सभापति समेत रहेका सिंहले मंगलबार तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइत समेतको उपस्थितीमा ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गरे ।
सांसद सिंहले एक वर्षको तलब ६ लाख १२ हजारमा ३ लाख ८७ हजार रुपैयाँ थप गरी आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा सांसद सिंहले आफूले निर्वाचनका बेला जनतासँग गरेको मध्य एउटा बाचा पहिलो वर्षको तलब हेटौंडा सामुदायिक आँखा अस्पताल मार्फत उपलब्ध गराउने पुरा गरेको बताए ।
कार्यक्रममा डाक्टर रुइतले सांसद सिंहले गरेको सहयोग अन्तरआत्माबाट आएको मनोभावनाका रुपमा लिनु पर्ने जानकारी दिए । सांसद सिंहले गर्नु भएको सहयोग गरिब जनतामा पुर्याउने उनले बताए । मकवानपुरकाे हेटौंडा ३ बसामाडीमा निर्माणधिन आँखाको लेन्स उत्पादन गर्ने भवनको लागि पनि सो रकम प्रयोग गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पताल व्यवस्थापन समितीका संरक्षक सिद्धीलाल श्रेष्ठ, अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली, हेटौडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरिबोल महत, हेटौंडा वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामालगायतको उपस्थिति रहेको थियो ।
मकवानपुरकाे हेटाैडामा रहेकाे सामुदाियक आँखा अस्पतालमा दैनिक १ हजारभन्दा बढी सेवा ग्राहीले सेवा लिने गरेका छन् । यहाँ मधेश प्रदेश र बागमती प्रदेशमा रहेका आँखा सम्बन्धी समस्या भएकाहरुलाई याे अस्पतालले सेवा प्रदान गर्दै आएकाे अस्पतालका प्रशासकीय प्रमुख सुधिर श्रेष्ठले बताए ।
मकवानपुर । बागमती प्रदेशका पुर्व मन्त्री एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले स्थायीत्वको लागि बर्तमान गठबन्धन बनेको बताएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसद्वारा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा थपलियाले उक्त कुरा बताएका हुन् । स्थायी सरकार बनाएर जनताको विश्वास जितेर काम गर्ने बताउँदै उनले भने ‘बर्तमान सरकारले स्वदेशमा रोजगार पाउने वातावरणको सुरुवात गर्दै लैजाने छ ।’
‘प्रदेश सरकारले स्वरोजगार बन्न अभिप्रेरित गर्नेगरी बजेट छुट्टाएको छ’ उनले भने ‘जनताले सरकार छ भन्ने महसुस गराउने गरी हामी काम गर्छौं ।’ बिदेश जाने क्रम बढीरहेकोले यसको न्यूनीकरण गर्नेतर्फ सरकार उन्मुख रहेको उनले जानकारी दिए । स्वतन्त्र विद्यार्थी युनियन धेरै तर राम्रा काम गर्ने गरेको भन्दै फोटोग्राफीको समेतकाे तालिम गरेकोमा उनले खुशी व्यक्त गरे ।
संसारमा परिचय बनाउन फोटोग्राफीले मद्दत गर्ने भएकाेले तालिमलाई सार्थक बानाउने गरी उपयोग गर्न उनले सुझाव समेत दिए । स्ववियु हेटौंडा क्याम्पसले ७ दिनसम्म संचालन गरेकाे तालिममा ७५ जना सहभागी रहेकाे थियाे ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा, गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, जिल्ला युवा समिति अध्यक्ष शिबहरि दाहाल, विद्यार्थी नेता आकाश अधिकारीलगायतकाे उपस्थिति रहेकाे थियाे ।