मकवानपुर । बागमती प्रदेशका पुर्व मन्त्री एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले स्थायीत्वको लागि बर्तमान गठबन्धन बनेको बताएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसद्वारा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा थपलियाले उक्त कुरा बताएका हुन् । स्थायी सरकार बनाएर जनताको विश्वास जितेर काम गर्ने बताउँदै उनले भने ‘बर्तमान सरकारले स्वदेशमा रोजगार पाउने वातावरणको सुरुवात गर्दै लैजाने छ ।’
‘प्रदेश सरकारले स्वरोजगार बन्न अभिप्रेरित गर्नेगरी बजेट छुट्टाएको छ’ उनले भने ‘जनताले सरकार छ भन्ने महसुस गराउने गरी हामी काम गर्छौं ।’ बिदेश जाने क्रम बढीरहेकोले यसको न्यूनीकरण गर्नेतर्फ सरकार उन्मुख रहेको उनले जानकारी दिए । स्वतन्त्र विद्यार्थी युनियन धेरै तर राम्रा काम गर्ने गरेको भन्दै फोटोग्राफीको समेतकाे तालिम गरेकोमा उनले खुशी व्यक्त गरे ।
संसारमा परिचय बनाउन फोटोग्राफीले मद्दत गर्ने भएकाेले तालिमलाई सार्थक बानाउने गरी उपयोग गर्न उनले सुझाव समेत दिए । स्ववियु हेटौंडा क्याम्पसले ७ दिनसम्म संचालन गरेकाे तालिममा ७५ जना सहभागी रहेकाे थियाे ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा, गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, जिल्ला युवा समिति अध्यक्ष शिबहरि दाहाल, विद्यार्थी नेता आकाश अधिकारीलगायतकाे उपस्थिति रहेकाे थियाे ।

