मकवानपुर । मकवानपुर हेटौंडामा रही पत्रकारितामा सक्रिय नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमकाे पुस्तक “प्रवासका फूलहरु” विमाेचन भएकाे छ । गौतमकाे उक्त पुस्तक आइतबार बेल्जियममा बिमोचन गरिएको हाे ।
अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतकाले पुस्तकको बिमोचन गरेका थिए ।
पुस्तक बिमोचन कार्यक्रममा राजदुत राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभबलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश बिकासमा सहयोग पुग्ने बताए । ‘पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्नेछ’ उनले भने ‘पुस्तक मार्फत बिदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश छ ।’
यस्तै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले बिदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतिका बिचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेको बताइन् । सापकाेटाले सबैका आ-आफ्नै भोगाई हुने, ति भाेगाइलाई पुस्तासामु जानकारी दिन पुस्तकले भूमिका खेल्ने बताइन् । नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले गौतमकाे पुस्तकमा सुन्दर भविश्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका सत्य कथाहरु संकलन गरेको बताए । ‘आफ्नो जनभूमि छोडेर फरक भूगोल संस्कार र संस्कृतिमा आफूलाई स्थापित गर्न नेपालीहरुले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्नेछ’ उनले भने ।
अन्तरराष्ट्रीय नेपाली साहित्य समाज केन्द्रिय उपाध्यक्ष डिल्ली अंमाईले गौतमले युरोप भित्रका अधिकतम देशका बिभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरुसँग प्रत्यक्ष सम्बाद गरेर प्रकाशन गरेकाे “प्रवासका फूलहरु” पुस्तक अभिलेखका रुपमा रहने भएकाले यसको महत्व उच्च्तम हुने बताए । अनेसास बेल्जियमका महासचिब गोपाल दाहालले निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताए ।
यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथामा तयार गरिएकाे पुस्तकले युरोपमा नेपालीहरुका दिब्य आशा, उन्मुक्त मनोभाब, उत्तेजना, सफलता-असफलताका कथा र संकल्पहरु समाबेश गरिएको कलात्मक कृतिका रुपमा रहकाे बताए ।
लेखक गौतमले नेपाल बाहिर रहेका असल छोराछोरीका जीवन्त कथा लेखिएको अनुभव सुनाउँदै भने ‘करिब डेढ बर्षको अन्तरालमा पुस्तक तयार गरेर बिदेशी भूमिमा बिमोचन गर्ने अबसर पाएकोमा अनेसास प्रति आभार ब्यक्त गर्दछु ।’ पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल,शैक्षिक अबस्था,राजनीति,परिबारिक अबस्था, बैदेशिक संघर्ष लगायतका वास्तविक कथा समावेश गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापती बिराट जोशी लगायतले कृति सफलताको शुभकामना दिए । दुई सय अठासी पेज रहेको पुस्तक अन्तर्वार्तामा आधारित रहेकाे छ ।
पुस्तकमा लेखक संघ केन्द्रिय सदस्य हयागृब आचार्यको भाषा सम्पादन,मकवानपुरे कवि,लेखक सम्प्रस पौडेलको कथा सम्पादन, श्रीराम दहाल र बिना देबकोटाको श्रुति लेखन रहेको छ । प्रकाशन,लेआउट डिजाइन आकृति क्रियसनका राम अबिकासले गरेकाे पुस्तकको बितरकमा किताब घर हेटौंडा रहेको छ ।
मकवानपुर । पुष्पाञ्जली आमा रात्री गस्ती समुहकाे अध्यक्षमा पुनः कल्पना थापा मगर चयन भएकी छन् । समुहकाे तेश्रो साधारण सभाले थापा मगरलाई पुनः अध्यक्षमा चयन गरेकाे हाे ।
यसैगरी उपाध्यक्षमा धन मुक्तान, सचिव शुशीला कुमारी गौतम, कोषाध्यक्ष गोमा शाह, सदस्यहरु बिना रिजाल, ज्ञानु जोशी, गोमा क्षेत्री, बिमला भारती, शारदा कार्की, बेली लामा चयन भएका छन् । एक जना सदस्य पछि मनोनित गर्ने गरी दश सदस्यीय कार्य समिति सर्व सम्मत चयन भएकाे हाे । सभामा समुहको प्रगति प्रतिवेदन सचिव शुशीला कुमारी गौतम र आर्थिक प्रतिवेदन कार्यवाहक कोषाध्यक्ष गोमा शाहले प्रस्तत गरेका थिए ।
समूह रात्रीकालिन सडक सुरक्षा र हिंसामुक्त सडक अभियानका साथ युवाहरुलाई लागुपदार्थ दुर्व्यसनीबाट मुक्त गर्दे हिंसाजन्य घटनाको दर शुन्यतामा लैजाने उद्देश्यका साथ २०७४ सालमा स्थापना भएको हाे । मकवानपुर जिल्लामै रातको समयमा आमाहरुको समुह बनाएर राजमार्ग र वडाका विभिन्न टोलमा दुर्व्यसन र हिंसा रहित समाज निर्माणको लागि गस्ती गर्दे आएकाे छ । समुदाय स्तरबाट नियमित गस्ती गरेर सुरक्षा निकायको सहयात्रीको रुपमा काम गर्दे आएको गस्ती समुहले शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुगेको वडा अध्यक्ष सुकराम केसीले बताए ।
सुमदायलाई अनुशासित राख्न दुर्व्यसन र हिंसा रहित समाजले धेरै सहयोग पुर्याउछ र घरकै आमाहरु नै सडकमा हिंसाजन्य घटनादर न्युनीकरण गर्न र युवाहरुलाई कुलतमा लाग्न नदिन अहोरात्र रातिको समयमा पहरा दिनु निकै प्रंसशायोग्य काम भएको अध्यक्ष केसीले जानकारी दिए । समुहको कामलाई अवलम्बन गर्दे टोल विकाश संस्थाहरुकाे समेत रात्रिकालीन गस्ती समुह बन्दै गएकाे छ’ उनले भने ‘यसले समाजलाई झैझगडा कम हुने, अव्यवस्थित मदिरा बिक्री वितरण, लागुपदार्थ दुर्व्यसन तथा घरेलु हिसांको घटना समेत न्युनिकरण हुदै गएकाे छ ।’
मकवानपुर । वर्षाकाे कारण अबरुद्ध हेटौंडाबाट काठमाडौं जाने ३ वटा छोटो मार्ग संचालनमा आएकाे छ ।
१०–१२ असोजमा परेको अविरल वर्षाकाे कारंण आएको बाढीपहिरोले बागमती प्रदेश राजधानी हेटौडालाई संघीय राजधानी काठमाडौ जोड्ने छोटो दुरीका ३ वटा मार्ग ९ दिनदेखि अवरुद्ध रहेकाे थियाे ।
हेटौंडा- कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं, कुलेखानी-फाखेल-हुमानेभन्ज्याङ्ग-काठमाडौं, कुलेखानी- महालक्ष्मी-चखेल-मातातिर्थ-काठमाडौं मार्ग आइतवारबाट संचालनमा आएको हाे। यसैगरी मार्खु-चित्लाङ्ग-चन्द्रागिरी-काठमाडौं सडक बुधबारदेखि नै खुलेको हाे। कुलेखानी ड्याममुनिको डाइभर्सनको काम सकिएपछि फाखेल र सिस्नेरीको दुवैतर्फको मोटरबाटो आइतबारबाट संचालनमा आएको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले जनाकारी दिए ।
मन्त्री मास्केका अनुसार दसैंकाे चहलपहल सुरु भएकाेले सवारी साधनको आवागमनको चाप अत्याधिक हुने हुँदा सिस्नेरी र फाखेलकाे बाटो मध्ये आउँदा एकातर्फबाट जाँदा अर्कोतर्फबाट जाने गरी सवारी साधन चलाउने विषयमा छलफल भइरहेको छ। दक्षिणकालीबाट सिस्नेरीसम्मकाे खण्ड भने शुक्रबार नै खुलेको थियाे ।
बाढीपहिरोले क्षतिग्रस्त हटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ भने केही दिनमा संचालन हुने बताइएकाे छ । त्रिभुवन राजपथ हुँदै दामन–पालुङ्ग –चित्लाङ–चन्द्रागिरी–काठमाडौं सडक भने १४ असोजबाट संचालन आएकाे थियाे । बाटो अवरुद्ध हुँदा त्रिभुवन राजपथमा सवारीको चाप बढेको थियो।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि हेटौडाकाे पदमपोखरी युथ क्लबले हात पारेकाे छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा शहीद स्मृति क्लबलाई ३–१ गोलअन्तरले हराउँदै पदमपोखरीले उपाधि जितेको हो ।
प्रतियोगिताको उपाधि विजेतासँगै पदमपोखरीले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएकाे बागमती गाउँपालिकाको शहीद स्मृतिले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
पदमपोखरीको जितमा दिवस गोलेले पहिलो हाफको २४ औं मिनेटमा, विजेश तितुङ्ले दोस्रो हाफको २१औं मिनेटमा र अमीत स्याङ्तानले इन्जुरी समयमा १ गोल गर्दै पदमपोखरीको जित सुनिश्चित गरेका थिए । एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शहीद स्मृतिका उप्रान्त आले मगरले पहिलो हाफकाे ३९औं मिनेटमा १ मात्र गोल गरेका थिए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पदमपोखरीका रोजक थिङ, फर्वार्ड शहीद स्मृतिका उप्रान्त आले मगर, पदमपोखरीका प्रशिक्षक ज्ञानु मुक्तान, मिडफिल्डर नवराज थिङ, गोलरक्षक रोजक थिङ र उत्कृष्ट डिफेन्डर अरूण आले मगर घोषित भए । उनीहरुले ट्रफि प्राप्त गरेका छन् ।
शहीद स्मृति जिल्ला लिगमा पहिलो पटक सहभागी भएको हो भने पदमपाेखरी पहिलाेपटक लिग विजेता भएकाे हाे । १४ भदौबाट सुरु लिग जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी संचालन गरिएको थियाे । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन भएकाे हाे ।
यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्पोटर्स एकेडेमी उपविजेता रहेकाे थियो।विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, प्रतियोगिता संयोजक युवराज लामालगायतले पुरस्कार प्रदान गरेका हुन् ।
मकवानपुर । मकवानपुर क्योकुशिन कराँते संघ बालकुमारीको आयोजनामा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । शनिबार क्योकुशिन कराँते बालकुमारीले हेटौंडा–४, स्थित हुप्रचौरमा गरेकाे ५ औं खुला रक्तदान कार्यक्रममा १७ जना पुरुष र ४ जना महिलाले रक्तदान गरेका हुन् ।
संघले वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष दशैंको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको जनाएकाे छ । दशैंको समयमा अत्याधिक मात्रामा सवारी दुर्घटना हुने भएकोले घाइतेहरुले रगतको अभावमा ज्यान गुमाउने गरेकाेले ५ वर्षदेखि रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको संघका केन्द्रीय उपाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।
रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम हेटौंडा उपमहानगरपालिका–१८, का वडाध्यक्ष अनिल बानियाँको प्रमुख अतिथ्यता तथा कराँते संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षमा भएकाे थियाे ।