मकवानपुर । वर्षाकाे कारण अबरुद्ध हेटौंडाबाट काठमाडौं जाने ३ वटा छोटो मार्ग संचालनमा आएकाे छ ।
१०–१२ असोजमा परेको अविरल वर्षाकाे कारंण आएको बाढीपहिरोले बागमती प्रदेश राजधानी हेटौडालाई संघीय राजधानी काठमाडौ जोड्ने छोटो दुरीका ३ वटा मार्ग ९ दिनदेखि अवरुद्ध रहेकाे थियाे ।
हेटौंडा- कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं, कुलेखानी-फाखेल-हुमानेभन्ज्याङ्ग-काठमाडौं, कुलेखानी- महालक्ष्मी-चखेल-मातातिर्थ-काठमाडौं मार्ग आइतवारबाट संचालनमा आएको हाे। यसैगरी मार्खु-चित्लाङ्ग-चन्द्रागिरी-काठमाडौं सडक बुधबारदेखि नै खुलेको हाे। कुलेखानी ड्याममुनिको डाइभर्सनको काम सकिएपछि फाखेल र सिस्नेरीको दुवैतर्फको मोटरबाटो आइतबारबाट संचालनमा आएको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले जनाकारी दिए ।
मन्त्री मास्केका अनुसार दसैंकाे चहलपहल सुरु भएकाेले सवारी साधनको आवागमनको चाप अत्याधिक हुने हुँदा सिस्नेरी र फाखेलकाे बाटो मध्ये आउँदा एकातर्फबाट जाँदा अर्कोतर्फबाट जाने गरी सवारी साधन चलाउने विषयमा छलफल भइरहेको छ। दक्षिणकालीबाट सिस्नेरीसम्मकाे खण्ड भने शुक्रबार नै खुलेको थियाे ।
बाढीपहिरोले क्षतिग्रस्त हटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ भने केही दिनमा संचालन हुने बताइएकाे छ । त्रिभुवन राजपथ हुँदै दामन–पालुङ्ग –चित्लाङ–चन्द्रागिरी–काठमाडौं सडक भने १४ असोजबाट संचालन आएकाे थियाे । बाटो अवरुद्ध हुँदा त्रिभुवन राजपथमा सवारीको चाप बढेको थियो।

