मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि हेटौडाकाे पदमपोखरी युथ क्लबले हात पारेकाे छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा शहीद स्मृति क्लबलाई ३–१ गोलअन्तरले हराउँदै पदमपोखरीले उपाधि जितेको हो ।
प्रतियोगिताको उपाधि विजेतासँगै पदमपोखरीले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएकाे बागमती गाउँपालिकाको शहीद स्मृतिले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
पदमपोखरीको जितमा दिवस गोलेले पहिलो हाफको २४ औं मिनेटमा, विजेश तितुङ्ले दोस्रो हाफको २१औं मिनेटमा र अमीत स्याङ्तानले इन्जुरी समयमा १ गोल गर्दै पदमपोखरीको जित सुनिश्चित गरेका थिए । एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शहीद स्मृतिका उप्रान्त आले मगरले पहिलो हाफकाे ३९औं मिनेटमा १ मात्र गोल गरेका थिए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पदमपोखरीका रोजक थिङ, फर्वार्ड शहीद स्मृतिका उप्रान्त आले मगर, पदमपोखरीका प्रशिक्षक ज्ञानु मुक्तान, मिडफिल्डर नवराज थिङ, गोलरक्षक रोजक थिङ र उत्कृष्ट डिफेन्डर अरूण आले मगर घोषित भए । उनीहरुले ट्रफि प्राप्त गरेका छन् ।
शहीद स्मृति जिल्ला लिगमा पहिलो पटक सहभागी भएको हो भने पदमपाेखरी पहिलाेपटक लिग विजेता भएकाे हाे । १४ भदौबाट सुरु लिग जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी संचालन गरिएको थियाे । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन भएकाे हाे ।
यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्पोटर्स एकेडेमी उपविजेता रहेकाे थियो।विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, प्रतियोगिता संयोजक युवराज लामालगायतले पुरस्कार प्रदान गरेका हुन् ।

