मकवानपुर । पुष्पाञ्जली आमा रात्री गस्ती समुहकाे अध्यक्षमा पुनः कल्पना थापा मगर चयन भएकी छन् । समुहकाे तेश्रो साधारण सभाले थापा मगरलाई पुनः अध्यक्षमा चयन गरेकाे हाे ।
यसैगरी उपाध्यक्षमा धन मुक्तान, सचिव शुशीला कुमारी गौतम, कोषाध्यक्ष गोमा शाह, सदस्यहरु बिना रिजाल, ज्ञानु जोशी, गोमा क्षेत्री, बिमला भारती, शारदा कार्की, बेली लामा चयन भएका छन् । एक जना सदस्य पछि मनोनित गर्ने गरी दश सदस्यीय कार्य समिति सर्व सम्मत चयन भएकाे हाे । सभामा समुहको प्रगति प्रतिवेदन सचिव शुशीला कुमारी गौतम र आर्थिक प्रतिवेदन कार्यवाहक कोषाध्यक्ष गोमा शाहले प्रस्तत गरेका थिए ।
समूह रात्रीकालिन सडक सुरक्षा र हिंसामुक्त सडक अभियानका साथ युवाहरुलाई लागुपदार्थ दुर्व्यसनीबाट मुक्त गर्दे हिंसाजन्य घटनाको दर शुन्यतामा लैजाने उद्देश्यका साथ २०७४ सालमा स्थापना भएको हाे । मकवानपुर जिल्लामै रातको समयमा आमाहरुको समुह बनाएर राजमार्ग र वडाका विभिन्न टोलमा दुर्व्यसन र हिंसा रहित समाज निर्माणको लागि गस्ती गर्दे आएकाे छ । समुदाय स्तरबाट नियमित गस्ती गरेर सुरक्षा निकायको सहयात्रीको रुपमा काम गर्दे आएको गस्ती समुहले शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुगेको वडा अध्यक्ष सुकराम केसीले बताए ।
सुमदायलाई अनुशासित राख्न दुर्व्यसन र हिंसा रहित समाजले धेरै सहयोग पुर्याउछ र घरकै आमाहरु नै सडकमा हिंसाजन्य घटनादर न्युनीकरण गर्न र युवाहरुलाई कुलतमा लाग्न नदिन अहोरात्र रातिको समयमा पहरा दिनु निकै प्रंसशायोग्य काम भएको अध्यक्ष केसीले जानकारी दिए । समुहको कामलाई अवलम्बन गर्दे टोल विकाश संस्थाहरुकाे समेत रात्रिकालीन गस्ती समुह बन्दै गएकाे छ’ उनले भने ‘यसले समाजलाई झैझगडा कम हुने, अव्यवस्थित मदिरा बिक्री वितरण, लागुपदार्थ दुर्व्यसन तथा घरेलु हिसांको घटना समेत न्युनिकरण हुदै गएकाे छ ।’

