मकवानपुर । १६ मंसिर २०८१ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका २५ दल उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएकाे निर्वाचन आयोगले जनाएकाे छ । संसदको चौथो ठुलो दल रास्वपा पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको हो ।
निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेका थियाे । आयोगकाे सूचना अनुसार २६ राजनीतिक दलले निवेदन दिएकाेमा कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई दर्ता गरिएकाे आयोगले जनाएकाे छ । राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम आयोगको आइतबारको निर्णयअनुसार २५ वटा दल स्थानीय तह उपनिर्वाचनकाे लागि दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
आयोगले यसअघि सार्वजनिक निर्वाचन तालिका अनुसार २ मंसिर २०८१ मा बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन बेलुका ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि ३ मंसिर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने गरी तालिका सार्वजनिक भइ समेकाे छ । त्यही दिन दिउँसो ३ बजेपछि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
अहिले स्थानीय तहका ३९ पद रिक्त छन्। जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, गाउँपालिका वडाध्यक्ष नौ, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्षका २१ पद रिक्त छन्। नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पदावधि समाप्त नहुँदै पद रिक्त भएमा र एक वर्षभन्दा बढी समय बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ।


